उज्यालोको पर्व तिहार आजदेखि सुरु, मनाइँदै धनत्रयोदशी
काठमाडौं । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ ।प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । काग तिहार भने आइतबार परेको उनले बताए । बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ । धनवन्तरी जयन्ती भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ । कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष ढकालले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने मान्यता छ । कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको हो । रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहेको छ । यस वर्ष कात्तिक ४ गते मङ्गलबार औँसी तिथि दिउँसो ४ः२९ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व परेको छैन । कात्तिक ४ गते यमपञ्चक अर्थात् तिहारको मध्य समय परेपनि शास्त्रले तोके अनुसार कुनै कर्म परेको छैन । गाईगोरु एवं गोवद्र्धन पूजा कात्तिक ५ गते बुधबार परेको छ । हलितिहार, बलीपूजा र आत्म ९म्ह० पूजा र नेपाल संवत् ११४६ आरम्भ यसै दिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४५ यसै दिनदेखि सुरु हुन्छ । कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्केर बस्नुपर्छ । लगाइदिने दिदीबहिनी भने पूर्व फर्कनुपर्ने जनाइएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने उनले सुनाए। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक ६ गते गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । झिलीमिलीको चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि राजधानीलगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजा गरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिने क्रम पनि शहरी क्षेत्रमा बढ्न थालेको छ । बडादसैँमा सुनसान प्रायः हुने काठमाडौँ उपत्यका तिहारमा झिलीमिलीले उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिनदेखि देउसी भैलो खेल्ने परम्परा पनि छ । कौडा, लंगुरबुर्जा, तासलगायत विभिन्न स्वरुपका जुवा तिहारका अवसरमा खेल्ने गरिन्छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पड्काउन भने छाडिएको छैन । रासस
विद्युत महसुल विवादले बढायो उद्योग क्षेत्रमा असन्तुष्टि, सरकारसमक्ष उद्योगीहरूको ध्यानाकर्षण
काठमाडौं । विभिन्न उद्योगीहरूले ट्रंकलाइन र डेडिकेटेड लाइनको विशेष महसुल विवादलाई लिएर सरकार र नेपाल विद्युत प्राधिकरणविरुद्ध आपत्ति जनाएका छन् । उद्योगीहरूको तर्फबाट संयुक्त रूपमा प्रस्तुत गरिएको निवेदनमा विगतदेखि नै गरिएको विद्युत उपभोग अनुसार मात्र महसुल तिर्नुपर्ने र अनावश्यक बक्यौता दावी गरेर उद्योगहरूको मानमर्दन गरिएको विषय उठाइएको छ । उद्योगीहरूले २०७२ देखि २०७५ सम्मको टीओडी मिटर विवरण र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर मात्र विशेष दरमा महसुल लिनुपर्ने भएता पनि प्राधिकरणले बिना प्रमाणबिना सहमति बक्यौता रकम माग गरिरहेको आरोप लगाएका छन् । साथै लोडसेडिङको अवस्थामा पनि ट्रंकलाइन र डेडिकेटेड लाइन ग्राहकहरूलाई विशेष दरमा महसुल तिर्न बाध्य पारिनु गैरकानुनी र असंवैधानिक भएको उद्योगीहरूको भनाइ छ । उद्योगीहरूले हजारौं श्रमिकलाई रोजगारी दिँदै आइरहेको, विद्युत उपभोगको सम्पूर्ण रकम तिरेको र उद्योग सञ्चालनमा कुनै अवरोध नआओस भनी वैकल्पिक व्यवस्थाहरु समेत अपनाएको उल्लेख गर्दै प्राधिकरणबाट जारी धम्कीपत्रले उद्योगीहरूको आत्मसम्मानमा ठेस पुर्याएको जनाएका छन् । यसले उद्योग क्षेत्रलाई मात्र नभएर समग्र रोजगार र आर्थिक विकासमा नकारात्मक प्रभाव पर्ने चिन्ता पनि व्यक्त गरिएको छ । उद्योगीहरूले अर्थ, ऊर्जा, उद्योग, कानुन, श्रम, गृह मन्त्रालयसहित नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसिएसन, उद्योग वाणिज्य संघ र उद्योग परिसंघलगायत प्रमुख निकायहरूलाई समेत ध्यानाकर्षण गराइएका छन् । उद्योगीहरुले तत्काल विवाद समाधान गरी न्यायसंगत महसुल निर्धारण गरी उद्योगधन्दा सुचारु राख्न सरकारसँग आग्रह गरेका छन् । निवेदन दिने उद्योगमा शिवम् सिमेन्ट, मारुती सिमेन्ट, निगाले सिमेन्ट, कसमस सिमेन्ट, युनाइटेड सिमेन्ट, घोराही सिमेन्ट लगायत दर्जनौं उद्योगहरुको नाम उल्लेख गरिएको छ । जसमा त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्टील, अशोक स्टील स्टील, हुलास स्टील, हामा आइरन, एभरेष्ट पेपर मिल, एभरेष्ट रोलिङ मिल्स, जगदम्बा सिन्थेटिक, एसआर फुड्स, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, गोयन्का फुड्स, भलवारी स्वचालित कारखाना, श्याम प्लास्टिक उद्योग, पन्चकन्या प्लाष्टिक इण्डष्ट्रिज, पञ्चकन्या स्टील, एसआर स्टील इन्डष्ट्रिज, लक्ष्मी स्टील तथा सोनापुर मिनरल्स एण्ड आयल रहेका छन् । यी उद्योगहरूले अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, उद्योग मन्त्रालय, कानुन न्याय मन्त्रालय, श्रम मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट बैंक, नेपाल बैंकर एसोशेसन, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघको ध्यानार्कष गराएका छन् । उद्योगीहरू सबै कानूनी प्रक्रिया र पारदर्शिता अपनाएर आफ्नो हक सुरक्षित गर्ने पक्षमा रहेको पनि प्रष्ट पारेका छन् । सरकार र ऊर्जा मन्त्रालयबाट यसबारे औद्योगिक क्षेत्रमा सकारात्मक पहल हुने अपेक्षा गरिएको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार सिंहदरबारमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू : सार्वजनिक वित्त व्यवस्थापन परियोजनाको लागि विश्व बैंकको व्यवस्थापनमा मल्टिडोनर ट्रष्ट फण्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने । विद्युत उत्पादन, प्रशारण र वितरण लगायतका विभिन्न आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने । इनरुवा पूर्णीया ४ सय के। भि। अन्तरदेशीय प्रशारण लाइन तथा दोधारा ९बरेली ४०० के। भि। अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुई वटा संयुक्त कम्पनीहरू स्थापना गर्ने र उल्लिखित दुई वटा संयुक्त कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणबाट क्रमशः एक अर्ब तथा दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्न स्वीकृति प्रदान गर्ने । नेपाल र भारतबिच पारस्परिक कानूनी सहायता सन्धिसम्बन्धी एग्रिमेण्ट बिटुइन द गभमेंण्ट अफ नेपाल एण्ड गभमेण्ट अफ द रिपब्लिक इण्डिया अन म्युचअल लिगल एसिस्टेन्स म्याटर्स विषयक सम्झौता स्वीकृत गर्ने । नेपालले अन्य मुलुकसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सन्धि गर्न वार्ताको लागि प्रश्ताव गर्नेसम्बन्धी ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स स्वीकृत गर्ने । विशेष अदालतमा कार्यरत नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका रजिस्ट्रार श्री जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने । उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री चन्द्रवहादुर सारूलाई सो अदालतको कामकाजसमेत गर्ने गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने । २०८२ असोज ३१ मा भारतमा सञ्चालन हुने दिक्षान्त परेड समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई सहभागी हुन स्वीकृति दिने । मित्रराष्ट्रहरू चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतको रुपमा कार्यरत नेपाली राजदूतहरुलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने । २०८२ कात्तिक १७ र १८ मा भारतको नयाँदिल्लीमा आयोजना हुने सेकेण्ड एशिया प्यासिफिक इकमर्स पोलिसी समिट, २०२५ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मीकुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । कार्यक्रमहरूको सत्या ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतका आ।व। २०८२र८३ का लागि अधिकृतस्तरका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने । नेपाली सेनातर्फ एकजना रथीको सरुवा गर्ने, एकजना उपरथीको रथीमा बढुवा गर्ने, पाँचजना सहायक रथीहरूको सरुवा गर्ने र पच्चीसजना महासेनानीहरूको सरुवा गर्ने । २०८२ कात्तिक १७ देखि २१ गतेसम्म भियतनामको हनोईमा आयोजना हुने आइएइए टेक्निकल कोप्रेशन प्रोजेक्ट, आरएएस ७०४३, रेजिनल मिड टिम रिभ्यु मिटिङ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री विश्ववावु पुडासैनीलाई सहभागी हुन स्वीकृति दिने । २०८२ कात्तिक ९ देखि ११ गतेसम्म इण्डोनेसियामा आयोजना हुने ४५ औं सिटीनेट एक्ज्युकिटिभ कमिटी मिटिङमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति दिने । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अध्ययन निर्देशक पदमा लोक सेवा आयोगका सहसचिव श्री यज्ञप्रसाद ढुङ्गेललाई काजमा पठाउन स्वीकृति दिने । २०८२ कात्तिक १६ देखि २३ गतेसम्म संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने वल्र्ड ट्राभल मार्के, २०२५ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री हरिप्रसाद मैनालीलाई सहभागी हुन स्वीकृति दिने । २०८२ कात्तिक २६ मा गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ग्लोवल आइसिटी लिडरसिप फोरममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय जगदीश खरेललाई स्वीकृति प्रदान गर्ने । त्रिभूवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रङ्गशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने । नेपाल न्याय सेवा, सरकारी वकील समूहका का।मु। नायबमहान्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने । नेपाल न्याय सेवा, सरकारी वकील समूहका बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव श्री सूर्यराज दाहाललाई महान्यायाधिवक्ताको कार्यालयको नायबमहान्यायाधिवक्ता पदमा सरुवा गर्ने ।
सिंहदरबारको आगो सेनाले किन निभाएन ? यस्तो दियो जवाफ
काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे धारणा सार्वजनिक गरेको छ । शुक्रबार पत्रकारसँग कुरा युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले सो घटनाबारे सेनामाथि उठेको प्रश्नहरुको जवाफ दिँदै भने, ‘राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो ।’ उनले स्थिति तनावपूर्ण भएको र सेनाले कम घातक नीति अपनाएको बताए । उनले २ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको पनि धारणा राखेका छन् । उनले कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नगरेको पनि स्पष्ट पारे । सेनाले त्यतिबेला राष्ट्र सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको डेटा सेन्टरलाई मुख्य प्राथमिकता दिएर सुरक्षामा ध्यान केन्द्रित गरेको उनले बताए । उनका अनुसार, सेनाका जवान र दमकल टोली निरन्तर प्रयासरत रहेर आगो निभाउने क्रममा अर्थ मन्त्रालयको डेटा सेन्टर अन्ततः जोगाउन सफल भएका बताए ।
काठमाडौंमा ९ बजेपछि देउसी–भैलो खेल्न निषेध
काठमाडौं । काठमाडौं जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध गरिएको छ। शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो । जिप्रकाले मर्यादित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरेको छ ।
ओली भन्छन् : फागुनको चुनावमा सहभागी हुन्नौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने बताएका छन् । शुक्रबार सम्मपन्न भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले निर्वाचनमा सहभागी नहुने बताएका हुन् । उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे पनि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उनको प्रतिवाद गरेका छन् ।
एमालेको १०औं केन्द्रीय कमिटी बैठकमा आत्मसमीक्षा र बहस, ओलीले गरे नेतृत्व हस्तान्तरण गर्ने संकेत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलमा मंसिरमा महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । एमालेले आफ्नो ११ औ महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने भएको छ । नेपालको समसामयिक राजनीतिक परिदृश्य, विशेषतः भदौ २३ को जेनजी प्रदर्शन पछिको यो बैठक पार्टीका लागि गहिरो समीक्षा, चिन्तन र पुनर्संरचनाको अवसर बन्न पुगेको छ । यो बैठक केवल आन्तरिक छलफलको औपचारिकता मात्रै थिएन, यसले एमालेको भविष्यको दिशा, नेतृत्वको मर्म र संगठनात्मक आधारमा पुनरावलोकन गर्ने महत्त्वपूर्ण क्षण सिर्जना गरेको एमाले नेताहरूले बताउँछन् । बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन, संगठनात्मक समीक्षा, आगामी महाधिवेशनको तयारी मुख्य कार्यसूची थिए । यस्तै, समसामयिक राजनीतिक मूल्यांकनका विषयमा एमाले नेताहरूले खुलेर छलफल गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक सम्बोधनमा पार्टीलाई अनुशासित, समर्पित र व्यवहारिक ढंगले अघि बढाउने विषयमा जोड दिए । उनले स्पष्ट रूपमा भनेका छन्, ‘हामी केवल प्रतिक्रिया होइन, नेतृत्वको जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा छौं ।’ बैठकमा पोलिटब्युरो र स्थायी कमिटीसहित १५० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पहिलो दिनमै ५० जनाले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए । बैठकमा उठेका विचारहरू बौद्धिक, आत्मसमीक्षात्मक र केही स्थानमा आलोचनात्मक पनि रहेको नेताहरूले बताएका छन् । अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भदौ २४ को प्रदर्शनलाई राष्ट्र, संविधान र लोकतन्त्रविरुद्धको सुव्यवस्थित षड्यन्त्रका रूपमा व्याख्या गर्दै त्यसलाई प्रतिगमनको निरन्तरता भएको बताए । तर केही नेताहरूले यो विश्लेषणलाई अति एकपक्षीय भएको ठहर गर्दै जनआक्रोशलाई बुझ्ने प्रयास हुनु आवश्यक रहेको धारणा राखे । जनमत, असन्तुष्टि र विरोधको प्रकृतिलाई समग्र रूपमा अध्ययन गर्नुपर्ने सुझाब पनि बैठकमा आएको अर्का एक नेताले बताए । ती नेताका अनुसार भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र राजनीतिक जवाफदेहिताका सवाल बैठकमा विशेष रूपमा उठेका थिए । ओलीको प्रतिवेदनले कानुनी संरचना सुदृढीकरण र निष्पक्ष कारबाहीका विषय उठाए पनि नेताहरूको चिन्ता थियो– कथन धेरै, काम कम भयो । धेरैजसो नेताका धारणा कार्यान्वयन तहमा ध्यान केन्द्रित गर्नुपर्ने पक्षमा केन्द्रित रहेको ति नेताले बताए । बैठकमा केही सदस्यहरूले प्रत्यक्ष रूपमा ओलीको नेतृत्व अब बोझ हुँदै गएको भन्दै वैकल्पिक नेतृत्वबारे सोच्नुपर्ने र त्यसका लागि ओलीले मार्ग प्रशस्त गर्नुपर्ने रायसमेत राखेको नेताहरूले बताएका छन् । अध्यक्ष ओलीले त्यसप्रति प्रतिक्रिया दिँदै भने, ‘सामाजिक सञ्जालले भनेर होइन, पार्टीको निर्णयले म पदमा बस्ने या नबस्ने हो । यदि केन्द्रीय कमिटीले निर्णय गर्यो भने म एक मिनेट पनि यो कुर्सीमा बस्दिनँ ।’ अध्यक्ष ओलीले अहिल्यै राजीनामा नदिनेसमेत बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काँधमा केही जिम्मेवारी रहेको दोहोर्याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्न सक्ने संकेत गरे ।
ओलीले गरे महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्ने संकेत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काधमा केही जिम्मेवारी रहेको दोहा¥याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि हस्तान्तरण गर्न सक्ने संकेत गरे।