इलामका बाढीपीडितका लागि मोरङ उद्योग व्यापार संघले गर्यो २५० थान कम्बल हस्तान्तरण
विराटनगर । हालैको भीषण वर्षा र बाढी–पहिरोबाट प्रभावित इलामका बाढीपीडितका लागि मोरङ उद्योग व्यापार संघले २५० थान कम्बल सहयोग गरेको छ। संघले बिहीबार राहत स्वरूप पठाइएका कम्बलहरू उद्धार कार्यमा संलग्न स्रष्टा नेपालकी अध्यक्ष बिन्दीया कार्कीमार्फत हस्तान्तरण गरेको हो । कम्बल हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालका साथै संघका अन्य पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो । अध्यक्ष राठीले सहयोग सानो भए पनि पीडित समुदायको दु:खमा सघाउने प्रयास भएको बताए । त्यस्तै, निवर्तमान अध्यक्ष रिजालले इलाममा दर्जनौं नागरिकले ज्यान गुमाउनु परेकोप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले राहत र पुनःस्थापनामा तीव्रता ल्याउनुपर्ने बताए ।
बीवाइडीको १ करोड ४० लाख गाडी उत्पादन
काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बीवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी सहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बीवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भालाई हस्तान्तरण गरिएको थियो । बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्त्वपूर्ण चरण हो । कामाकारीमा रहेको कारखाना एसियाभन्दा बाहिर बीवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ । समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरूको उपस्थिति थियो । बीवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय बताएको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । हालसम्म बीवाइडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् । ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बीवाइडीले जनाएको छ ।
डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा, प्रथम पुरस्कार २ लाख रुपैयाँ
काठमाडौं । बाह्रखरी मिडियाले ‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का लागि कथा आह्वान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता घोषणा गरेको हो । यस वर्ष बाह्रखरी मिडियाले पुरस्कार राशिमा बृद्धि गरेको छ । प्रतियोगितामा उत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । साथै संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप दिइनेछ । बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि कथा लेखनको सम्वर्धन र प्रवर्द्धनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न र नेपाली कथालेखनलाई थप प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुल बक्यौता
काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । यसैगरी, १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको सिमराकै अर्को अशोक स्टीलले पनि पहिलो किस्ता बुझाएको छ । अशोकले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा, कति दिने भयो ?
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव गोपी भण्डारीले जानकारी दिए ।
कांग्रेस बैठकमा बैशाखसम्म चुनाव सार्ने प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन सार्ने प्रस्ताव आएको छ । पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले फागुनको सट्टा बैशाखमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । जारी बैठकमा बोल्दै उनले हिमाल र उच्च पहाडका १६ जिल्लामा फागुन २१ मा निर्वाचन सम्भव नहुने बताएका हुन्। बैठकस्थलबाटै संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले ती १६ जिल्लामा बैशाखको अन्तिम नभई निर्वाचन गर्न नसकिने आफूले विचार प्रस्तुत गरेको बताए ।
नगद अनुदान रोकिने वित्तीय वर्षमै निर्यात घट्ने चेतावनी
काठमाडौं । सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेको छ । गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुनेगरी निवेदन नलिने भनेसँगै निर्यात व्यवसायीहरू यसबाट प्रभावित हुँदैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१/८२ को स्वघोषणाको विवरण उद्योग विभागमा नगर्न पनि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । यसरी विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पाउने अवस्था छैन । निर्यात व्यवसायीका अनुसार मुलुकमा दिनप्रतिदिन व्यापार घाटा बढिरहेको छ । निर्यात बढाएर नेपालको वैदेशिक व्यापार नाफामा लैजानसक्ने क्षेत्रलाई नै सरकारले प्रभावित हुनेगरी निर्णय लिएको छ । सरकारी निर्णय यो मुलुककै लागि घाटा हुने खालको छ। आर्थिक वर्ष ०६८/६९ मा कुल निर्यात ७४ अर्ब रुपैयाँ रहेकोमा आव ०८१/८२ मा यो बढेर दुई खर्ब ७७ अर्ब पुगेको छ । सोही आवमा देशको व्यापार घाटा वार्षिक १५ खर्ब २७ अर्ब रहेको छ र निर्यात–आयात अनुपात १ः६.५ रहेको छ । साथै चालु आवको प्रथम दुई महिनाको व्यापार घाटा दुई खर्ब ५७ अर्ब रुपैयाँ र निर्यात–आयात अनुपात १ः१०.५ रहेको छ । यस्तो अवस्थामा सरकारले दिँदै आएको निर्यातमा अनुदान रोक्न नहुने उद्योगी व्यवसायी बताउँछन् । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्ष पशुपतिदेव पाण्डे नगद अनुदानका लागि निवेदन नलिने सरकारी निर्णयले दीर्घकालीन रूपमा निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने बताउँछन् । उनका अनुसार नेपाली उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्ने अवसरबाट पनि सरकारी निर्णयले वञ्चित गराउन सक्छ । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पाण्डेका अनुसार निर्यात प्रवर्द्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत रूपमा सुचारु सरकारले गर्नुपर्छ । सुचारु नगरे लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पार्नेछ ।
ईदी हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार आफ्नो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सभामा कम्पनीका सञ्चालक, सेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो । कम्पनीले सञ्चालनमा ल्याएको जलविद्युत आयोजना मिति २०८२ बैशाखदेखि नै विद्युत् उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्दै आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिएको छ । त्यस्तै, कम्पनीले आईपीओ जारी गर्ने तयारीका साथै व्यक्ती वा संस्थागत लगानीकर्तालाई रणनीतिक साझेदारका रूपमा संस्थापक सेयरधनीभित्र भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ । यसका अतिरिक्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ऐजेन्डा पनि सभाले सर्वसम्मत पारित गरेको छ । सभाबाट नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ। नयाँ समितिमा युरेसमान कायस्थ, आनन्द चौधरी, कृष्ण प्रसाद खाताखो, तीर्थराज पुरी र दीपिका प्रधान चयन भएका छन् । सभामा अध्यक्षले कम्पनीले आगामी दिनमा अन्य जलविद्युत् आयोजनामा पनि लगानी विस्तार गर्ने योजना रहेको जानकारी गराएका छन् । ईदी हाइड्रोपावरले आफ्नो उत्पादन क्षमताको दायरा बढाउँदै लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने लक्ष्य लिएको छ ।