ईदी हाइड्रोपावरको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार आफ्नो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सभामा कम्पनीका सञ्चालक, सेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो । कम्पनीले सञ्चालनमा ल्याएको जलविद्युत आयोजना मिति २०८२ बैशाखदेखि नै विद्युत् उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्दै आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिएको छ । त्यस्तै, कम्पनीले आईपीओ जारी गर्ने तयारीका साथै व्यक्ती वा संस्थागत लगानीकर्तालाई रणनीतिक साझेदारका रूपमा संस्थापक सेयरधनीभित्र भित्र्याउने प्रस्ताव पनि पारित गरेको छ । यसका अतिरिक्त कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ऐजेन्डा पनि सभाले सर्वसम्मत पारित गरेको छ । सभाबाट नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ। नयाँ समितिमा युरेसमान कायस्थ, आनन्द चौधरी, कृष्ण प्रसाद खाताखो, तीर्थराज पुरी र दीपिका प्रधान चयन भएका छन् । सभामा अध्यक्षले कम्पनीले आगामी दिनमा अन्य जलविद्युत् आयोजनामा पनि लगानी विस्तार गर्ने योजना रहेको जानकारी गराएका छन् । ईदी हाइड्रोपावरले आफ्नो उत्पादन क्षमताको दायरा बढाउँदै लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने लक्ष्य लिएको छ ।
दर्ता नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा हेमराज बडाल पक्राउ
काठमाडौं । दर्ता नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल बिहीबार पक्राउ परेका हुन् । भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । बडाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । २४ असोजमा उनकी श्रीमती सुना सुवेदी पनि पक्राउ परेकी थिइन् । उनको बयानको आधारमा बिहीबार हेमराज पक्राउ परेका हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि एससीटी युनियन पे कार्ड सेवा सुरु
काठमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सञ्चालन गर्दै आएको एससीटी युनियन पे काडको सेवा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ । एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विचमार्फत एससीटी युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, आरयुपे, मास्टरकार्ड तथा डिस्कोभर कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे आईबीएफटी (अन्तर बैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
इतिहासमै पहिलोपटक सुनको साम्राज्य ३० ट्रिलियन पार, एनभीडीयाको भन्दा सात गुणा बढी
काठमाडौं । सुनको मूल्यले दिनहुँ नयाँ–नयाँ रेकर्ड तोड्दैछ । यो वर्ष अहिलेसम्म सुनको मूल्यमा करिब ६० प्रतिशतको वृद्धि भइसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर पार गरेको छ । यससँगै सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । बिहीबार सुनको मूल्य ३.१२ प्रतिशतले बढ्दै प्रतिऔंस ४ हजार ३३३ अमेरिकी डलर पुग्यो । यस आधारमा सुनको बजार पूँजीकरण (मार्केट क्याप) ३०.१२४ ट्रिलियन डलर पुगेको छ । एआई चिप उत्पादन गर्ने अमेरिकी कम्पनी एनभीडीयाको मार्केट क्याप ४.४२६ ट्रिलियन डलर छ । माइक्रोसफ्टको ३.८०२ ट्रिलियन, आइफोन बनाउने एप्पलको ३.६७२ ट्रिलियन, गुगलकी मातृ कम्पनी अल्फाबेटको ३.०४१ ट्रिलियन र चाँदीको बजार मूल्य ३.००१ ट्रिलियन डलर पुगेको छ । यसरी हेर्दा चाँदी विश्वको छैटौं सबैभन्दा मूल्यवान एसेट बनेको छ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो । यो वर्षमात्र सुनको बजार मूल्यमा ११ ट्रिलियन डलरको वृद्धि भएको छ । गोल्डम्यान स्याचका अनुसार सन् २०२६ डिसेम्बरसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९०० डलर पुग्न सक्छ । सुनको माग तीव्र रूपमा बढ्नुका केही प्रमुख कारण छन् । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । दोस्रो अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् ।
सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ
काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा तोलामा ७ हजार १०० रुपैयाँ बढी सुनले नयाँ कीर्तिमान कायम राखेको हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश घोषणा, कात्तिक ३० गते डाक्यो सभा
काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते रजिस्टर्ड कार्यालय, वीरगञ्ज, पर्सामा २५औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ। लाभांश तथा साधारण सभा वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। त्यसैले कात्तिक १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कात्तिकमा थप घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिकमा पनि ब्याजदर घटाएका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । कात्तिक महिनाका लागि बैंकहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर औसत ५.२० प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो । यस्तै, कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत ब्याजदर थियो । कात्तिक महिनाका लागि १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । यस्तै, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने कात्तिकमा ब्याजदर स्थिर राखेका छन् ।
सडक रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै
काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रूग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभाग अन्तर्गत हुलाकी सडक निर्देशनालय, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र इटहरी मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका १७ वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनीगाहपुर तथा निर्देशनालयले ५/५ र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन् । ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रूग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सडक अन्तर्गत २५८ ठेक्का रूग्ण छन् । ठेक्का सम्झौता तोड्न लागिएकोमा सबैभन्दा ठूलो झापाको कन्काई पुलको रहेको छ । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ कन्काई पुलको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ । पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयुक्त उपक्रम (जेभी)सँग ठेक्का सम्झौता भएको थियो । १४ वर्षमा पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ । मन्त्री घिसिङले २६ असोजमा उक्त पुल निर्माणबाट छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । ठेक्का तोड्न लागिएका सबै परियोजनामा ठेक्का तथा योजनाको पटकपटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रुपमा उपस्थित नभएको उल्लेख गरिएको छ । विभिन्न मितिमा लिखित तथा मौखि रुपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाइको ठेक्का समझौता उल्लंघन गरिएको जनाइएको छ । सूचना प्रकाशित भएको १५ दिनभित्र का सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ । उक्त अवधमिा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।