मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ ।
बाढीले झापामा पाँच करोडको धान नष्ट
झापा । यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको पाँच करोड ७५ लाख २३ हजार रुपैयाँ बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए । 'बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन', उनले भने, 'पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।' वर्षाका कारण कनकाई र विरिङ नदीमा आएको बाढीले सबैभन्दा बढी धान खेत बगाएको छ । बाढीले गौरीगञ्ज, झापा गाउँपालिका, भद्रपुर, कनकाई, शिवसताक्षी र गौरादह नगरपालिकाको पाँच हजार १२ दशमलव ६३ हेक्टर जमिनमा लगाएको कृषिजन्य वस्तु बगाएको प्रमुख विष्टले बताए । उनले अन्य पालिकाको तुलनामा झापा गाउँपालिकामा धेरै क्षति भएको जानकारी दिए । यो पालिकाको वडा नं १,२ र ३ का ४३१ किसानको रु पाँच करोड १४ लाख ४७ हजार बराबरको धान, आलु र केरा नष्ट भएको छ ।
काम सन्तोषजनक नभएका २१ कम्पनी कालोसूचीमा सूचीकृत
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार ३ कम्पनीलाई दुई वर्षका लागि र १९ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । कार्यालयका अनुसार काम सन्तोषजनक नभएका कम्पनीहरूलाई नियमअनुसार कालोसूचीमा राख्ने गरिएको छ। कालोसूचीमा परेका कम्पनीहरूले सो अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ ।
कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकका चेकबाट भुक्तानी नहुने
काठमाडौं । कात्तिक ११ गतेदेखि साविक सिभिल बैंकले जारी गरेका चेकबाट भुक्तानी नहुने भएको छ । हिमालयन बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएकाले साविक सिभिल बैंक र सो बैंकसँग मर्ज तथा प्राप्ति गरेका बैंकले जारी गरेको चेकबाट भुक्तानी नहुने जनाएको हो । बैंकका अनुसार कोर बैंकिङ सफ्टवेयर कात्तिक ११ गतेदेखि टी२४ रिलिज आर२३मा स्तरोन्नति हुने भएको हुँदा उक्त मिति पश्चात् हिलमायन बैंकले प्राप्ति गरेको साविक सिभिल बैंक लगायत साविक सिभिल बैंकमा मर्ज भएका र प्राप्ति गरेका साविक वित्तीय संस्थाहरूले जारी गरेको कुनै पनि चेकहरूबाट भुक्तानी हुनेछैन,’ हिमालयन बैंकले भनेको छ । साविक सिभिल बैंक तथा बैंकले प्राप्ति गरेको र मर्ज भएको वित्तीय संस्थाका ग्राहकहरुले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ चेक बुक लिन बैंकले आग्रह गरेको छ । साथै, कोर बैंकिङ सफ्टवेयर टी२४ रिलिज आर२३मा स्तरोन्नति गर्ने प्रकृयामा बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाहरु कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्म उपलब्ध नहुने बैंकले जनाएको छ । यद्यपि सो अवधिमा एटीएम तथा डेबिट तथा क्रेडिट कार्ड सेवा भने सुचारु रहनेछ ।
अन्नपूर्ण आधार शिविर पदमार्गमा सञ्चार सुविधाको अभाव, पर्यटकलाई सास्ती
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाव भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले सास्ती पाएका छन् । असोजको सुरुआतदेखि दैनिक १५० देखि ३०० जनासम्म पर्यटक आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहुँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसँग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहेका पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत् र मोबाइल फोनको पहुँच पुगेको छ । 'हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोबाइल फोनको सञ्चार र विद्युत् पहुँच पुग्न सकेको छैन, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोबाइल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्कविच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ', पर्यटन व्यवसायी गुरुङले भने । विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्माण सुरु भएको थियो । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसँगै झरना, खोला र रमणीय भू–वनोटका कारण पर्यटकको आगमन बढेको छ । होटलको क्षमताभन्दा बढी पर्यटक आउँदा होटल व्यवसायीलाई पर्यटकको खाना र बसोबासको प्रबन्ध मिलाउन हम्मेहम्मे हुने गरेको छ । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहे पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गरे । पदमार्ग क्षेत्रमा रहेका होटलमा बुकिङ गर्न मोबाइल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार तथा सरोकारवालाको ध्यान जानुपर्ने उनले बताए । यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधासहितका होटल सञ्चालनमा रहेका छन् । सञ्चारसँगै विद्युत् सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तीको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो तथा झण्झट व्यहोर्नुपरेको होटल व्यवसायी बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटक सञ्चार सम्पर्कबाट विच्छेद हुँदा बिरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमासमेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरे पनि अन्य पर्यटकमाझ सञ्चार सम्पर्कको माध्यम र पहुँच छैन । हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहेका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताए । 'पर्यटक घुम्न आएको समयमा बेमौसममा हिमपात हुनसक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपत्कालीन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकको हराएको समयमा धेरै पटक खोजीकार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आवश्यक छ', उनले भने । नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचारप्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका वर्षमा खाना र बस्नका लागि आफैँ बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै हटे पनि सञ्चार र विद्युत्को पहुँच विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको छ । रासस
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभा डाकेकाे छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । पुँजी वृद्धि पश्चात् नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
पूर्वाञ्चल ल्युव आयलको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । पूर्वाञ्चल ल्युव आयलले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको करसहित १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २३ गते मोरङमा २६औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयन गर्ने, सञ्चालक समितिको भत्ता, प्रबन्ध निर्देशकहरूको पारिश्रमिक सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले डाक्यो कात्तिक २६ गते १९औँ वार्षिक साधारण सभा
काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन कमलादी काठमाडौंमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली व्यवसायीक उद्देश्यहरू थप वा संशोधन गर्ने र नियामकबाट थप केही निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सञ्चालक समितिको गत आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त र ग्लोबल आइएमई सेक्युरिटिजको आव २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण र चालु आव २०८२/८३ को लागि लेखापरीक्षण नियक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।