नेपालको अपराजित यात्रा, ओमानलाई ३८ रनले हरायो
काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले २ छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए । ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान २/२ विकेट लिए । यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल ८ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।
हलेसी डेकोरले सुरु गर्यो डिजिटल बिलिङ प्रणाली
काठमाडौं । हलेसी डेकोरले आफ्नो व्यापारिक यात्राको १५औं वर्ष पूरा गर्दै अब डिजिटल कम्प्युटराइज्ड बिल प्रणाली लागू गरेको छ । कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानि, बेडसिटलगायतका सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले निरन्तर १५ वर्षको सफल सेवालाई पारदर्शी र विश्वसनीय कारोबारतर्फ रूपान्तरण गर्ने उद्देश्यसहित यो प्रणाली सुरु गरेको हो । ‘व्यापारमा इमान्दारिता, हाम्रो प्रतिवद्धता’ भन्ने मूल नारासहित सुरु गरिएको नयाँ अभियानअन्तर्गत अबदेखि कम्पनीका सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत हुनेछन् । साथै प्रत्येक सामानमा एमआरपी (अधिकतम खुद्रा मूल्य) स्पष्ट रूपमा उल्लेख गरिनेछ। यसले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ सुरक्षित, प्रमाणित र विश्वासिलो बनाउने कम्पनीको दाबी छ । हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, ग्राहकअनुकूल सेवा र ‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’ भन्ने अडानका साथ पारदर्शी व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
कामना सेवा ‘डुअर स्टेप बैंकिङ’ : अब बैंक धाउनु पर्दैन, बैंक नै तपाईंको घर पुग्छ
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैंकिङ सुविधा लिन चाहने ग्राहकका लागि प्रत्यक्ष रूपमा फाइदाजनक हुने बैंकले जनाएको छ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत ग्राहकले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा गर्ने, खातावाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर प्राप्त गर्न सक्नेछन् । यी सुविधाहरू निःशुल्क रूपमा प्रदान गरिएको छ । ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक सेवा अनुरोध गर्न सक्ने र अनुरोध प्राप्त भएपश्चात बैंक प्रतिनिधिले अनुरोध गरिएको स्थानसम्म नै पुगी उक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ। यसले डिजिटल बैंकिङको प्रर्वद्धन गर्दै बैंकिङ पहुँचलाई अझ सहज, सरल र प्रविधिमैत्री वनार्ईको छ । नेपाल राष्ट्र बैंकवाट स्वीकृति लिई सुरुवात गरिएको यो सुविधा नेपालकै पहिलो ‘डुअर स्टेप बैंकिङ सर्भिस’ हो । विश्वका केही विकशित देशहरूमा ग्राहकको घरमै पुगेर बैंकिङ सुविधा प्रदान गर्ने प्रचलन रहेता पनि नेपालको बैंकिङ इतिहासमा पहिलो भएको र कामना सेवाले यस्तो सुविधा ल्याएर नेपालको बैंकिङ क्षेत्रमा नवीनतम सुविधाको थालनी गरेको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले जनाए । प्रमुख मार्केटिङ अधिकृत सुवेदीका अनुसार बैंकले यो सुविधाले ग्राहकको सन्तुष्टीलार्य मुख्य प्राथमिकता मान्दै डिजिटल प्रविधिमा आधारित सुविधास्वरूप डुअर स्टेप बैंकिङ सर्भिसको सुरुवात गरिएको हो । यो सुविधा दैनिक रूपमा व्यस्त रहने व्यवसायी, कार्यालयका कर्मचारी, गृहिणी, ज्येष्ठ नागरिकहरूका लागि अत्यन्त उपयोगी हुने विश्वास बैंकले लिएको छ । ग्राहकको लामो लाइन, बैंकसम्म पुग्ने समय तथा कागजी झन्झट नलिई घरमै वसेर बैंकका सुविधाहरू उपभोग गर्न सकिने छ । यो सुविधा अन्तर्गत बैंकको लकर सुविधा, एटिएम डेविट कार्ड, मोवाईल बैंकिङ सुविधासमेत नि:शुल्क रहेको छ । हाल यो सुविधा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरुवात गरिएको र विस्तारै देशैभर यो सुविधा विस्तार गर्ने बैंकले जनाएको छ ।
पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो । अदालतको आदेश बमोजिम उनलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।
विनोद, रविभक्त र रमेशको व्यावसायिक सहयात्रा, साढे ११ अर्ब लगानीमा कुपन्डोलमा होटल र अपार्टमेन्ट
काठमाडौं । तीन ठूला व्यवसायीले व्यावसायिक सहयात्रा गरेका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ र शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्माबीच व्यावसायिक साझेदारी भएको हो । उनीहरुले मिलेर अहिले ललितपुरको कुपण्डोलमा समिट होटल र अपार्टमेन्टहरु निर्माण गरिरहेका छन् । उनीहरुले समिट होटल प्राइभेट लिमिटेड नामक कम्पनीबाट पुरानो समिट होटललाई भत्काएर नयाँ संरचना बनाइरहेका छन् । कम्पनीका अनुसार हाल कम्पनीले पुरानो सञ्चालनमा रहेको होटल भवनलाई भत्काएर नयाँ संरचना निर्माण गर्ने कार्य सुरु गरेको छ । नयाँ निर्माण अन्तर्गत १२० कोठे होटल भवन र १५० एकाइ मिलेर बनेका दुईवटा आवासीय अपार्टमेन्ट टावरहरू निर्माण गरिँदैछन् । सन् २०२५ अप्रिलको मध्यसम्म कम्पनीको चुक्ता पूँजी ४१ करोड ६० रुपैयाँ रहेको छ । जसको करिब ५१ प्रतिशत हिस्सा आर एण्ड आर हेरिटेज प्रालिले (चौधरी समूह र आईजे समूहबीचको संयुक्त लगानी) स्वामित्व गरेको छ । करिब ३४ प्रतिशत हिस्सा जेन इन्फ्रा एण्ड बिल्डर्स प्रालिले (इम्प्लिमेन्टिङ एक्सपट्र्स ग्रुप) र बाँकी करिब १५ प्रतिशत हिस्सा रमेश शर्माको रहेको छ । यद्यपि, रेटिङ एजेन्सी इक्रा नेपालले भने यस कम्पनीको रेटिङ घटाएको छ । इक्रा नेपालले यस कम्पनीलाई दीर्घकालिन ऋणको लागि एलबी प्लस र अल्पकालिन ऋणको लागि ए फोर रेटिङ प्रदान गरेको छ । रेटिङ घट्नुको मुख्य कारण कम्पनीको समग्र परियोजना लागतमा करिब ६८ प्रतिशत वृद्धि हुनु र परियोजनाको प्रगति ढिलो हुनु रहेको इक्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले हालसम्मको अनुमान अनुसार परियोजनाको लागत ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँबाट बढेर ११ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको जनाएको छ । लागत बढ्नुमा अपार्टमेन्टको निर्मित क्षेत्रफल विस्तार (करिब २८ प्रतिशत वृद्धि) भए पनि बिक्रीयोग्य क्षेत्रफल नबढ्नु र विगतको जमिन धसाइ समस्या समाधान गर्न अतिरिक्त जग निर्माण गर्नुपर्ने अवस्थाले थप खर्च बढाएको उल्लेख छ । मध्य अप्रिल २०२५ सम्म परियोजनाको समग्र भौतिक प्रगति २३ प्रतिशत मात्र पुगेको छ, जबकि अपार्टमेन्ट खण्डको प्रगति करिब ३९ प्रतिशत छ । होटल खण्ड अझै डिजाइन चरणमै रहेको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाको रियल स्टेट र होटल क्षेत्रमा तीव्र प्रतिस्पर्धा बढ्दै गएकाले समिट होटल परियोजना सञ्चालन भएपछि पनि स्थायित्वमा चुनौती रहने इक्राले विश्लेषण गरेको छ । विशेष गरी अन्तर्राष्ट्रिय ब्रान्डसमेत प्रवेश गरिरहेका बेला मूल्य र आम्दानीमा दबाब पर्ने सम्भावना छ । यद्यपि, परियोजना ललितपुरको आकर्षक स्थानमा रहेको र अनुभवी प्रवर्तक समूहहरू– चौधरी समूह, आईजे समूह, इम्प्लिमेन्टिङ एक्सपट्र्स समूह र शर्मा एण्ड कम्पनी प्रालिको संलग्नता रहेकोले दीर्घकालीन रूपमा यसले राम्रो परिणाम दिन सक्ने अपेक्षा गरिएको छ ।
४८औँ सार्क वित्त गभर्नर समूहको बैठक सम्पन्न, वित्तीय सहकार्य सुदृढीकरणमा जोड
काठमाडौं । सार्क वित्त गभर्नरहरूको समूहको ४८औँ बैठक हालै श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको छ । बैठकमा सदस्य मुलुकहरूका केन्द्रीय बैंकका गभर्नरहरू तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सहभागिता रहेको थियो । गभर्नर अधिकारीले सार्क क्षेत्रका मुलुकहरूबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल निरन्तर प्रतिबद्ध रहेको बताए । बैठकमा क्षेत्रीय वित्तीय स्थिरता, मौद्रिक नीति समन्वय, वित्तीय समावेशन, र सरोकारवाला संस्थाबीचको ज्ञान–अदला–बदली लगायतका विषयमा छलफल भएको थियो । सहभागीहरूले सार्क वित्त समूहमार्फत आर्थिक नीति र वित्तीय प्रणालीमा पारदर्शिता र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । बैठकको अध्यक्षता श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले गरेका थिए भने, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरूले नेपालमा भैरहेको डिजिटल वित्तीय प्रणालीको प्रगति, मुद्रास्फीति नियन्त्रणका उपाय, र वित्तीय समावेशीकरणका कार्यक्रमहरूबारे प्रस्तुति दिएका थिए । बैठकमा सहभागी गभर्नरहरूले सार्क वित्त समूहको आगामी कार्यसूची, अनुसन्धान, क्षमता विकास र प्राविधिक सहयोगका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।
२ महिनामा १५ हजार बीमितले त्यागे बीमा पोलिसी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (भदौ) सम्ममा १५ हजार ८९८ बीमितले २ अर्ब ५० करोड ७ लाख रुपैयाँ पोलिसी सरेण्डर अर्थात बीमालेख समर्पण गरेका छन् । चालु आवको २ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको सोही अवधिको तुलनामा ९.१८ प्रतिशतले र पोलिसी सरेण्डर संख्या १९.४७ प्रतिशतले घटेको छ । प्राधिकरणले प्रकाशन गरेको बीमा प्रतिबिम्मअनुसार गत आवको यही अवधिमा १९ हजार ७४१ बीमितले २ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए । दुई महिनाको अवधिमा तोकिएको समयमा पोलिसी नवीकरण र किस्ता नतिर्ने बीमितको संख्यामा वृद्धि भएको छ । प्राधिकरणको तथ्यांकअनुसार चालु आवको २ महिनामा १२ लाख १३ हजार ५६२ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ४३ करोड ४७ लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । गत आवको यही अवधिमा ११ लाख ८० हजार ६१६ बीमालेख व्यतित भएका थिए । व्यतित बीमालेख रकम ३४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ थियो ।
जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नु पर्ने आवश्यकता औंल्याए । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए । आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले भने, ‘सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ, त्यसैगरी जलविद्युत आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न, प्रक्रियालाई स्तरीय बनाएर पिपिए प्रतिस्पर्धाबाट गर्न आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस् ।’ नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ । जलविद्युत आयोजनाको पिपिए दर वर्षा र हिउँदयामका लागि प्रतियुनिट दर क्रमश : ४.८० र ८.४० रुपैयाँ रहेको छ । नियमनकारी निकायले गर्ने कामलाई प्रभावकारी बनाउन आयोगका पदाधिकारीलाई निर्देशन दिंदै मन्त्री घिसिङले निजी क्षेत्रलाई प्रवर्धन एवम् प्रोत्साहन र प्राधिकरणलाई दीगो बनाउने गरी आफ्ना क्रियाकलापमा केन्द्रीत हुन आग्रह गरे ।