विकासन्युज

विदेश पढ्न जानेले लगे ३२ अर्ब ७६ करोड रुपैयाँ

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार भदौमा विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २८ अर्ब २० करोड रुपैयाँ थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । यस्तै, खुद सेवा आय ३१ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९.८ प्रतिशतले वृद्धि भई ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

मेची राजमार्गको विकल्प तिल्केनी-सिमलगो सडक आजदेखि सञ्चालनमा आउने

काठमाडौं । मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी-सिमलगोलाई सडक खण्ड बुधबारदेखि सञ्चालनमा आउने भएको छ । सडक खण्ड अन्तर्गत माइजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि आज बुधबारदेखि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।  ‘जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ । बुधबारदेखि सो सडकमा साना खालका सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं,’ उनले भने ।  उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ । डाइभर्सन निर्माणका लागि चारवटा एक्साभेटर परिचालन गरिएको थियो । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी-सिमलगोलाई सडक खण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । त्यहाँको जोगमाई खोलाको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो । ११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालका लागि प्रमुख विकल्प मानिएको छ । आइतबारदेखि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजीअ नेपालले बताइन् । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ । वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम-राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भू-संरचनाका कारण सो सडक तत्काल खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए । 

बझाङमा भूकम्पको धक्का महसुस, स्थानीयबासीमा त्रास

काठमाडौं । बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १:०८ मा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ  । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको छ ।  भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको छ । स्थानीय प्रहरीले भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको जनाएको छ । 

कालीगण्डकी करिडोरमा १४ अर्ब रुपैयाँ खर्च, १ दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौं । कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले दुःख दिन थालेको ५ वर्ष पुग्यो । हरेक बर्खामा एउटै स्थानबाट पहिरो खस्दा सडकमा यातायात अवरुद्ध हुँदै आएको छ । यस वर्षको बर्खामा भने बागलुङ नगरपालिका-१३ कालाखोला बगरमा ठूलो पहिरो थपिएको छ । उक्त स्थानमा पहिरोले सडकको ५० मिटर ट्रयाक नै क्षति पुर्याएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट-राम्दी-मालढुङ्गा खण्ड ठूला चट्टान काटेर सडक स्तरोन्नति गरिएकाले ठूला पहिरो खसिरहेको छ । कालीगण्डकी करिडोरको गैडाकोट-राम्दी-मालढुङ्गा खण्डमा पर्ने २४० किमिमा १ दर्जनभन्दा बढी स्थानमा पहिरोको समस्या रहेको आयोजना कार्यालय पाल्पाका इञ्जिनियर उत्सव बस्यालले बताए ।  गैडाकोट-राम्दी-मालढुङ्गा खण्डमा पर्ने २४० किमि र कालीगण्डकी लोकमार्गको मिर्मि-सेतिवेनी-अर्मादी-कुश्माको ५३ सहित जम्मा २९३ किमि सडक रहेकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति सम्पन्न भएको इञ्जिनियर उत्सव बस्यालले बताए । उक्त खण्डमा पहिरो मर्मतमै ८० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट सुरु भएको गैँडाकोट-राम्दी-मालढुङ्गा खण्ड २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य छ । २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त खण्डको ८० प्रतिशत भौतिक प्रगति सम्पन्न गर्न १४ अर्ब ७ करोड रुपैयाँ खर्च भइसकेको छ । अन्तिम चरणमा आएको आयोजनामा चट्टानसहितको पहिरोको चुनौती थपिएको भन्दै पहिरो रोकथामका लागि मात्रै झण्डै ८० करोड रुपैयाँ खर्च लाग्ने देखिएको उनको भनाइ छ । ‘बागलुङमा तीन ठाउँमा पहिरोले सडकको ट्रयाक नै बगाएको छ, पुरानै अवस्थामा फर्काउन ठूलो खर्च लाग्छ, अहिले कालोपत्र सम्पन्न भइसकेको खण्डमा समेत चट्टानसहितको पहिरोले समस्या बनाएको छ, पन्छाउने मात्रै काम भइरहेको छ,’ इञ्जिनियर बस्यालले भने, ‘अक्करे भीर काटेर बनाइएको सडकमा चट्टानसहितको पहिरो खस्ने काम निरन्तर चलिरहेको छ, बजेट हुँदा साथ पहिरो मर्मततर्फ आयोजनाको ध्यान जान्छ ।’ गैँडाकोट-राम्दी-मालढुङ्गा खण्डमध्ये बागलुङ खण्डमा ३४.७० किमि सडक पर्दछ । जसमध्ये बलेवा-जैमिनी खण्डको २४ किमि सडक कालोपत्र सम्पन्न भइसकेको छ भने बलेवा-मालढुङ्गा सडकको १० किमि सडक कालोपत्रको चरणमा छ । बलेवा-मालढुङ्गा खण्डमा भने बल्ल ५६ प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०७९ मङ्सिर २६ गते ३६ महिनामा निर्माण सक्ने गरी कालिका कन्ट्रक्सनले करिडोरको बलेवा हर्मिचौर खण्डको जिम्मा लिए र सम्पन्न गरेको छ भने बलेवा मालढुङ्गा खण्डको १० किमि सडक खड्का, कृष्ण बिएन जेभीले २०७९ मङ्सिर २९ गते २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । ठेक्का नसक्दा म्याद थप गरेर काम गरिरहेको छ । चालु आर्थिक वर्षमा समेत उक्त खण्डको काम सम्पन्न गरिने र करिडोरको ध्यान ठूला पहिरो मर्मतमा जाने इञ्जिनियर बस्यालको भनाइ छ ।

स्याउ बिक्रीबाट मुस्ताङमा भित्रियो १.१० अर्ब रुपैयाँ, १० प्रतिशत हार्भेस्ट गर्न बाँकी

काठमाडौं । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष ७ हजार २३८ मेट्रिक टन स्याउ उत्पादन भएकामा यस वर्ष ७ हजार ६३६ मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएकामा यस वर्ष १ अर्ब १० करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक/फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र यहाँका किसानका आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताए ।  यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्र प्रमुख गुरुङको भनाइ छ । यसवर्ष ६ हजार १०८ मेट्रिक टन बढी स्याउ जिल्ला बाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार रुपैयाँ मुस्ताङ भित्रिएको केन्द्र प्रमुख गुरुङले बताए । साथै ७६३ मेट्रिक टन अर्थात् ११ करोड २ लाख ३० हजार रुपैयाँ बराबर स्याउ जिल्लामै खपत भएको छ । अब ७६३ मेट्रिक टन स्याउ हार्भेस्ट गर्न बाँकी छ । यहाँ कूल ८३२ हेक्टर क्षेत्रफलमा स्थानीय जातको स्याउ र ६० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र छ । जसमा स्थानीय स्याउ ६ हजार ६९ मेट्रिक टन र हाइब्रिड स्याउ १ हजार ५६७ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले बताएको छ । यहाँ स्थानीय स्याउ ७८ करोड ८९ लाख ७० हजार रुपैयाँ बराबरको उत्पादन भएको हो । हाइब्रिडतर्फ ३१ करोड ३४ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको केन्द्रले उल्लेख गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकेजी १३० रुपैयाँ र हाइब्रिड स्याउ प्रतिकेजी २०० रुपैयाँमा बिक्री भइरहेको छ । यसवर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १०.४१ मेट्रिक टन र हाइब्रिड स्याउको प्रतिहेक्टर उत्पादकत्व २६.१२ मेट्रिक टनले उत्पादन भएको केन्द्रले जनाएको छ । गत वर्ष स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्व १०.७४ मेट्रिक टन भएकोमा यसवर्ष ०.३३ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व घटेको छ । यसैगरी गतवर्ष उच्च घनत्वको हाइब्रिड स्याउ प्रतिहेक्टर उत्पादकत्व २५ मेट्रिनटनले उत्पादन भएकोमा यसवर्ष प्रतिहेक्टर उत्पादकत्व १.१२ मेट्रिक टन वृद्धि भएको छ । यहाँ स्थानीय र हाइब्रिड गरी समग्रतामा प्रतिहेक्टर उत्पादकत्व ११.८७ मेट्रिक टन रहेको केन्द्रले जनाएको छ । यसवर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनमा आंशिक ह्रास आएको देखिए माथिल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा कुनै असर नपुगेको कार्यालय प्रमुख राजेश गुरुङले बताए ।  यसवर्ष स्याउ उत्पादनशील क्षेत्र वृद्धि भएकै कारण स्याउ उत्पादन बढेको हो । गतवर्ष ५६६ हेक्टर स्थानीय जातका स्याउ उत्पादनशील क्षेत्र रहेकामा १३ हेक्टर क्षेत्रफल विस्तार हुँदै यसवर्ष ५८३ हेक्टर क्षेत्रफल पुगेको हो । यसैगरी गतवर्ष ५० हेक्टर क्षेत्रफलमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा १० हेक्टर क्षेत्रफल विस्तार हुँदै ६० हेक्टर क्षेत्रफल पुगेको हो ।

बैंकहरुले सीएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन) गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व बापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको १ प्रतिशत बराबरको रकम अनिवार्य रुपमा सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । केन्द्रीय बैंकले मार्गदर्शनमा संशोधन गर्दै भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारका लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च’ गर्न सकिनेछ ।’ यस्तै जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जनको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्चलाई पनि उल्लेख गर्न सकिने प्रबन्ध गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा, साँझ ७ बजेसम्म दुई सिफ्ट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि  राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो ।   सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे अनलाइन स्लट खुल्नेछ । सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको  समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयको भवनमा आगजनी र तोडफोडका कारण सेवा प्रभावित भएको थियो ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार आजदेखि राहदानी सेवा दुई सिफ्टमा सञ्चालन हुनेछ ।

कोप्चे-बराह क्षेत्रमा मोटरबोट सञ्चालनमा, ३/४ घण्टाकाे यात्रा २०/२५ मिनेटमा

काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिका-९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म जलयात्रा अर्थात् मोटरबोट पुनः सञ्चालन भएको छ । नदीमा पानीको बहाव बढेसँगै गत असार महिनादेखि रोकिएको जलयात्रा अब पुनः सञ्चालनमा आएको हो ।  दक्षिणी क्षेत्रका स्थानीयका लागि अरुण र दूधकोसी नदीमा पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएको छ । हाल नदीको बहाव घटेसँगै जेटबोट सञ्चालन भएपछि यात्रुलाई सहजता मिलेको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए ।  ‘नदीको बहाव घटेसँगै जलयात्रा पुनः सञ्चालन भएको छ । अहिले कोप्चेबाट बराह क्षेत्रसम्म बोट चल्न थालेको छ । पानी अझ कम भएमा चतरा पुलसम्म जलयात्रा सम्भव हुन्छ,’ उनले भने ।  दक्षिणी भेगका स्थानीय अब जेटबोट चढेर धरान, इटहरी, विराटनगर लगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि ३/४ घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने अवस्थामा अहिले करिब १९ किलोमिटर दूरी २०/२५ मिनेटमा पार गर्न सकिने भएको छ । कोप्चे-बराह क्षेत्रबीचको भाडा ५ सय रुपैयाँ र चतरा पुग्न ७ सय रुपैयाँ तोकिएको छ । जेटबोट सञ्चालनले बिरामी परेका नागरिकलाई सहरका ठूला अस्पतालसम्म छिटो पु¥याएर उपचार गर्न सहज भएको स्थानीय लाल बहादुर प्रधानले बताए ।  ‘चाडपर्वको समयमा जेटबोट सञ्चालनले विशेष सुविधा भएको छ । भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपर्थ्यो । अहिले जलमार्गले त्यही दुरी छोट्याइ दिएको छ,’ उनले भने ।  गाउँपालिकाले यस जलयात्रालाई पर्यटनसँग जोड्ने उद्देश्य राख्दै पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, जलयात्रा सञ्चालनले हतुवागढी क्षेत्र र तराईका जिल्लाबीचको दुरी घटाउने मात्र नभई स्थानीय पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्याउनेछ ।