विकासन्युज

२ महिनामा मोबाइल बैंकिङमा साढे ४ खर्ब रुपैयाँको कारोबार

काठमाडौं । २ महिनाको अवधिमा मोबाइल बैंकिङ मार्फत साढे ४ खर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा मोबाइल बैंकिङ अन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको भदौसम्ममा क्युआर कोड भुक्तानी अन्तर्गत ४ करोड १० लाख वटा कारोबार मार्फत १ खर्ब १ अर्ब २३ करोड रुपैयाँ कारोबार भएका छन् । २ महिनाको अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबार मार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ । 

मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत

जनकपुर । मधेस  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।  मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो ।  यसैगरी नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जेनजी आन्दोलनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आगामी बुधबारदेखि ललितपुरको जावलाखेलस्थित रामबाग महलमा सुरु हुँदैछ । तीन दिन चल्ने बैठकमा पार्टीभित्रको तयारीदेखि राष्ट्रिय राजनीति, संसद पुनःस्थापनाको रणनीति र आगामी महाधिवेशनका एजेन्डासम्म गहन छलफल हुने भएको छ । नेकपा एमालेले असोज २९ गतेबाट सुरु हुने १० औं केन्द्रीय कमिटी बैठकका सबै तयारी पूरा गरेको जनाएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक जावलाखेलको भनीमण्डलस्थित रामबाग महलमा तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ । बैठकको प्रारम्भमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको राजनीतिक परिस्थितिमाथि विस्तृत राजनीतिक प्रतिवेदन पेश गर्ने तय भएको गौतमले जानकारी दिए ।  गौतमका अनुसार उक्त प्रतिवेदनमा सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, प्रधानमन्त्रीको संवादहीनता र निष्पक्ष निर्वाचनबारे बढ्दो शंका जस्ता विषयहरू समेटिएको छ । उनका अनुसार ओलीको प्रतिवेदनले हालको सत्तारूढ गठबन्धनको व्यवहार, शान्ति र स्थायित्वका चुनौती र नयाँ पुस्ताको आन्दोलनले ल्याएको राजनीतिक चेतनालाई समेत सम्बोधन गर्नेछ । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको तयारी र संगठन सुदृढीकरणका कार्यक्रमहरूमा अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ । प्रचार प्रमुख गौतमले भने, ‘बैठकले संविधान, लोकतान्त्रिक गणतन्त्र र सुधारमुखी शक्तिसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेन्डालाई सशक्त रूपमा अघि बढाउने निर्णय गर्नेछ ।’  उनका अनुसार बैठकमा विभिन्न केन्द्रीय सदस्यहरूले आफ्नो सुझाव राख्ने छन् र छलफलका क्रममा बिबिध प्रस्तावहरूमाथि निर्णय हुने कार्यसूची रहेको छ ।  जेनजी आन्दोलनपछि एमालेको यो पहिलो पूर्ण बैठक हुन लागेको हो । पार्टीभित्र नयाँ पुस्ताको भूमिका, संगठनात्मक पुनर्संरचना र आगामी चुनावी तयारीबारे समेत बैठकमा गम्भीर बहस हुने अनुमान गरिएको छ । एमाले नेतृत्वले यो बैठकलाई राजनीतिक दिशा निर्धारणको निर्णायक मोडका रूपमा लिएको छ । अध्यक्ष ओलीले बैठकमार्फत पार्टीलाई पुनःसङ्गठित गर्दै सरकारविरुद्ध प्रतिपक्षको भूमिकालाई अझ प्रभावकारी बनाउने सन्देश दिने तयारी गरेको बुझिएको छ ।

क्षतिग्रस्त व्यवसायिक भवनको सर्भेको लागि विदेशी सर्भेयर खटाइने

काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त व्यावसायिक भवन तथा भौतिक क्षतिको मूल्यांकनको लागि विदेशी सर्भेयर खटाउने भएको छ । हिल्टन, भाटभटेनीजस्ता ठूलो क्षति भएका व्यवसायिक भवनहरूको मूल्यांकनको लागि बीमा कम्पनीहरूले विदेशी सर्भेयर खटाइने भएका हुन् ।  नेपाल बीमा प्राधिकरणका अनुसार विदेशी सर्भेयर ल्याउनका लागि प्राधिकरणमा दुइटा निवेदन परेको छ ।  बीमा कम्पनीहरूले क्षति भइसकेपछि आवश्यकताअनुसार फिल्डमा स्थानीय सर्भेयर खटाउँछन् । तर ठूलो क्षति भएको अवस्थामा कम्पनीहरूले पुनर्बीमा कम्पनीहरूसँग समन्वय गरेर जोइन्ट सर्भेयर खटाउने गरेको छ । गत भदौमा जेनजी प्रर्दशनको क्रमममा देशमा ठूलो धनजनको क्षति भएको छ । हिल्टन, भाटभटेनीलगायतका व्यवसायिक भवनहरू पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको कारण जोइन्ट सर्भेयर आवश्यक परेको बीमा कम्पनीहरूले बताएका छन् । प्राधिकरणको बुधबार (असोज २२ गते) सम्मको तथ्यांकअनुसार जेनजी आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको दाबी परेको छ ।  प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका ३ हजार ९९ वटा दाबीका आधारमा उक्त रकम बराबरको दाबी परेको हो ।

शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा, चालु खाताको अवस्था के छ ?

काठमाडौं । चालु खाता १ खर्ब ३० अर्ब रुपैयाँ र शोधनान्तर स्थिति डेढ १ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को भदौसम्ममा चालु खाता १ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ ।  अघिल्लो वर्षको भदौमा चालु खाता ५४ अर्ब ४१ करोड रुपैयाँ र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।  अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।  यसैगरी, समीक्षा अवधिमा १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । 

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ ।      अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।      चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।      गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।      गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड रुपैयाँ र ऋण एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो ।      घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।

पौने २९ खर्ब रुपैयाँ पुग्यो विदेशी मुद्रा सञ्चिति, बैंकसँग कति छ ?

काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति पौने २९ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनाको तथ्याङ्क अनुसार गत असारको तुलनामा ७.६ प्रतिशत बढेर भदौमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चित रहेको छ । जबकी गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा १९ अर्ब ५० करोड रहेकोमा भदौमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २५ खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुसँग २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।  गत असारमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरूसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । २ महिनामा राष्ट्र बैंकमा ६.९ प्रतिशत र बैंकमा १३.७ प्रतिशत मुद्रा सञ्चिति बढेको हो ।  २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को २ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।  

एक वर्ष अगाडिकै कविता फेरि पोस्ट गर्दा बालेन विवादमा, किसानप्रति अपमानजनक टिप्पणी गरेको भन्दै आलोचना

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह फेरि एकपटक सामाजिक सञ्जालमा आलोचनाको घेरामा परेका छन् । एक वर्षभन्दा अगाडि लेखिएको कविता फेरि सम्पादन गरी पोस्ट गरेपछि उनीमाथि किसानप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेको छ । बालेनले २०८१ साउन १ गते सामाजिक सञ्जालमार्फत पोस्ट गरेको उक्त कविता अहिले फेरि केही शब्द थपथाप गरी सोमबार पुनः सार्वजनिक गरेका हुन् । कवितामा किसानलाई फोहोरजस्तै उल्लेख गरिएको पंक्तिप्रति विभिन्न पक्षले आपत्ति जनाएका छन् । अखिल नेपाल किसान महासंघले संस्थागत रूपमै कडा प्रतिक्रिया जनाउँदै उक्त स्टाटस तत्काल हटाउन र बालेनले सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । महासंघले भनेको छ, ‘किसान देशका मेरुदण्ड हुन्, तिनको सम्मान गर्नुको साटो अपमानजनक शब्द प्रयोग गर्नु निन्दनीय छ ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि बालेनप्रति तीव्र प्रतिक्रिया जनाइरहेका छन् । गत साल सोही कवितामा वाहवाह गरेका पाठकहरूले यस पटक भने उनको कटु आलोचना गरेका हुन् । जनप्रतिनिधिको कुर्सीमा बसेर जनताको मेहनत र माटोलाई हेप्ने कुरा गर्नु लाजमर्दो हो भन्नेजस्ता टिप्पणीहरू यस पटकको प्रतिक्रियामा देख्न सकिन्छ । धेरैले बालेनलाई उक्त स्टाटस हटाउन वा माफी माग्नसमेत भनेका छन् । तर अहिलेसम्म मेयर शाहले न त स्टाटस हटाएका छन् न कुनै क्षमायाचनासहितको प्रतिक्रिया दिएका छन् । आलोचना चुलिँदै जाँदा अब बालेनको अर्को कदम के हुन्छ भने प्रतीक्षाकै विषय रहेको छ ।