अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते
काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धीखर्क-ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोट दह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने-७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।
यस वर्ष ५ हजार रुपैयाँसम्म सस्तियो भेडा च्याङ्ग्राको मूल्य
काठमाडौं । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडा च्याङ्ग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडा च्याङ्ग्राको मूल्य ५ हजार रुपैयाँ र प्रतिकिलोग्राम जिउँदाको मूल्य ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष ४० हजार रुपैयाँ तिरेर भेडा च्याङ्ग्रा किनेकोमा यसपालि ३५ हजार रुपैयाँमै पाइएको बताए । ‘३ वर्षअघि रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ५२ हजार रुपैयाँ र च्यालु (हिमाली भेडा) को मूल्य ४०/४२ रुपैयाँ हजार थियो,’ उनले भने, ‘मूल्य सस्तीएपछि लेकाली भेडा च्याङ्ग्राको मासुका परिकार खाएर दसैँ मनाउने मध्यम वर्गका उपभोक्ताको रहर पुरा गर्न सहज भएको छ ।’ नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतबाट पनि च्याङ्ग्रा आउनु, मुस्ताङमा च्याङ्ग्रा पालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए । श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट २ हजार ५ सय च्याङ्ग्रा काठमाडौं पुर्याएका छन् । गत वर्ष काठमाडौंमा जिउँदो च्याङ्ग्रा प्रतिकिलो १ हजार ३ सय रुपैयाँका दरले बिक्री गरेकोमा यसपालि १ हजार २५० रुपैयाँका दरले बिक्री गरेको श्रेष्ठले बताए । दसैँका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौं, चितवन र बुटवलका बजारमा झारिएका भेडा च्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो । तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपालि मुस्ताङबाट मात्र भेडा च्याङ्ग्रा मात्र झरेका छन् । पोषिलो, स्वास्थ्य प्रवर्द्धक, शक्ति वर्द्धक, स्वादिलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताए । यस बर्ष ३५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको १४ हजार ६६८ भेडा च्याङ्ग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ । ७ हजार ६६८ मुस्ताङका किसानले पालेका, ६ हजार ८६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणि अर्यालले बताए । किसानले अधिकतम च्याङ्ग्रालाई ३५ हजार रुपैयाँ र भेडा (च्यालु) लाई २८ हजार रुपैयाँमा बेचेका छन् । पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपभोगी मानिन्छ । शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन् । तिब्बतबाट ल्याएको च्याङ्ग्राको शरिरमा रौ छोटो हुन्छ । लोमानथाङ गाउँपालिका-३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङ्ग्रा पालनबाट जीविकोपार्जन गरेको बताए । यसपाली ५० वटा च्याङ्ग्रा बिक्री गरेको बताए । मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडा च्याङ्ग्राको खपत बढी हुने गरेको छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमानथाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रा पालन हो । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु च्याङ्ग्रा पालक किसानको प्रमुख चुनौती हो । यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिएकाले भेडा च्याङ्ग्राको लागि आहाराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडा बाख्रा आहाराको अभावमा मर्ने समस्या पनि छ ।
दुर्गा पक्षको आठौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको हो । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौ दिन शुक्रबार सूर्योदय कालमा चौथी तिथि रहेकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको छ । छैटौँ दिन शनिबार स्कन्दमाता र सातौँ दिन आइतबार कात्यायनी देवीको पूजा आराधना गरियो । आठौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् । आश्विन शुक्ल सप्तमीका दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ । फूलपाती भित्र्याउन साइत नचाहिने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
जेनजी आन्दोलनका घाइतेलाई सरकारको २० हजार सहयोग, परिचयपत्र पनि वितरण गरिने
काठमाडौं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आइतबार गृहमन्त्रालयले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई उपचार गर्न २० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २०८२ असोज १२ गतेको निर्णयअनुसार घाइते व्यक्तिहरूको पहिचान र सहज उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आजैदेखि परिचयपत्र वितरणको काम सुरु गरिएको उल्लेख गरेको छ । सरकारले प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेलाई रकम निकासा गरिएको जानकारी गराएको छ ।
देउवाको साला भुषण राणाको घरमा प्रहरीको छापा, सामान बरामद
काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनको घरमा छापा मारेको हो । प्रहरी स्रोतका अनुसार प्रहरी जावलाखेलस्थित भुषणको घरमा पुगेर सामानहरू खानतलासी तथा बरामद गर्ने काम गरेको छ । राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् । अहिले सरकारले देउवाको घरमा भेटिएको नोटको विषयमा अनुसन्धान गरिरहेको छ । त्यसैको सिलसिलामा गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको बुझिएको छ ।
फागुनमा घोषणा भएको चुनावमा भाग नलिने एमालेको संकेत, यस्तो गर्यो निर्णय
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते तय भएको चुनावमा भाग नलिने संकेत देखाएको छ । आइतबार बसेको एमालेको सचिवालय बैठकले चुनावमा चाग नलिने संकेत देखाएको हो । सचिवालय बैठकले वर्तमान सरकार प्रतिशोधको बाटोमा जान खोजेको टिप्पणी गर्दै चुनावमा सक्रिय सहभागिता नहुने संकेत गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार प्रतिसोधको बाटोमा लागेको बताएका हुन् । ‘वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत हामीले देखेका छौं, सरकारले दलहरूलाई पन्छाएर निषेधको क्रियाकलाप गरेको देखिन्छ,’ उनले भने । उनले वर्तमान सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको वा नचाहेको मात्रै नभइ निषेधको बाटोमा हिँडेको देखिएको बताए । उनले फागुन २१ गते घोषणा भएको निर्वाचनमा राजनीतिक दलहरूलाई निषेध गर्न खोजेको आशंका पनि व्यक्त गरे । ‘सरकारले राजनीतिक दलहरूसँग परामर्श नगरेको मात्र होइन, निषेधको बाटोबाट हिड्न खोजेको छ,’ उनले भने, ‘राजनीतिक दललाई लक्षित गरेर भौतिक रूपमै क्षति पुर्याउने धम्की आइरहेका छन् ।’ उनले पाँच महिनाभित्र निर्वाचन हुनेमा संशय व्यक्त गरे । एमालेले केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।
ओली र लेखकसहित पाँच जनाको राहदानी रोक्का, उपत्यका बाहिर जान पनि नपाउने
काठमाडौं । जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको राहदानी रोक्का गरेको छ । आयोगले आइतबार सूचना जारी गर्दै ओलीसहित निवर्तमान गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न निर्देशन दिएको हो । उनीहरु अब विदेश जान पाउने छैनन् । आयोगले उनीहरूलाई स्वीकृती बेगर काठमाडौं उपत्यका पनि छाड्न नपाउने व्यवस्था गरेको छ । गत २३ भदौको जेन-जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो । हालसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको बताइएको छ ।
स्रोत नखुलेको नगद भेटिए अनुसन्धान हुनेछ : अर्थ मन्त्रालय
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने समाचारप्रति अर्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा यस विषयलाई लिएर आवश्यक जानकारीसमेत दिएको छ । अर्थ मन्त्रालयले नेपाल सरकारले वित्तीय कारोबारलाई विद्युतीय प्रणालीमार्फत गर्न प्रोत्साहित गरिरहेको पुनः स्मरण गराएको छ । सूचनामा भनिएको छ– 'विद्युतीय भुक्तानी प्रणालीमार्फत जुनसुकै परिमाणको कारोबार गर्न सकिने भएकाले ठूलो मात्रामा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन । सम्भव भएसम्म सम्पूर्ण कारोबार विद्युतीय माध्यमबाट गर्न सबैमा आग्रह गरिएको छ ।' मन्त्रालयले प्रचलित कानुनबमोजिम आर्जन भएको र स्रोत खुलेको रकम जुनसुकै परिमाणमा सुरक्षित राख्न वा उपयोग गर्न कुनै वाधा नभएको स्पष्ट पारेको छ । तर, स्रोत नखुलेको रकम लुकाइराखेको वा सुरक्षित राखेको आशंकामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको पनि सूचनामा उल्लेख छ । विद्यमान कानुनी व्यवस्था अनुसार कुनै व्यक्ति, फर्म वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तु खरिद–विक्री गर्दा अनिवार्य रूपमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्नेछ । त्यस्तै, नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजार वा सो बराबरको भारतीय रुपैयाँ तथा अन्य विदेशी मुद्रा घोषणा नगरी ल्याउन सक्नेछन् । सोभन्दा बढी रकम भएमा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्नेछ । यस्तै, नेपाली नागरिकले विदेशमा रोजगारी, व्यवसाय वा सटही सुविधाबाट प्राप्त विदेशी मुद्रा मध्ये अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भविष्य उपयोगका लागि नगदमा राख्न सक्ने कानुनी व्यवस्था छ । यी कानुनी व्यवस्थाबाहेक स्रोत नखुलेको नगद भेटिएमा प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही गरिने मन्त्रालयले जानकारी गराएको छ ।