दशैंमा हुन्डाईको 'हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सुरु
काठमाडौं । दशैंका अवसरमा हुन्डाई गाडी प्रयोगकर्ताका लागि लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई गाडीको आधिकारिक विक्रेता) ले 'हुन्डाई हाईवे एस्सुरेन्स केयर फ्री राइड टु होम' अभियान सञ्चालन गर्ने भएको छ । असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत मुख्य राजमार्गका विभिन्न स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध हुनेछ । कम्पनीका अनुसार हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँलगायत ११ स्थानमा दक्ष प्राविधिकमार्फत २६–प्वाइन्ट निःशुल्क चेकअप सुविधा दिइनेछ । साथै, गाडीका लागि आवश्यक लुब्रिकेन्ट र कुलेन्ट निःशुल्क उपलब्ध गराइनेछ भने विद्युतीय सवारीका लागि पोर्टेबल डीसी चार्जर पनि उपलब्ध हुनेछ । २०१४ देखि सञ्चालनमा आएको यो अभियान हुन्डाईको बिक्रीपछिको सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको कम्पनीले जनाएको छ । चाडपर्वको यात्रामा ग्राहकलाई सुरक्षित, सहज र झन्झटरहित बनाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
ज्ञानेन्द्रले पहिलो पटक स्वीकारे आफूलाई ‘पूर्वराजा’
काठमाडौं । विज्ञान भन्छ समय परिवर्तनशील छ । यस्तै परिवर्तन भएको छ पूर्वराजा ज्ञानेन्द्र शाहको दशैं शुभकामनामा पनि । गत सालको दशैं शुभकामनाको लेटरहेड र शाहले यस वर्ष प्रयोग गरेको शुभकामनामा धेरै फरक देखिएको छ । गएको वर्ष सामान्य कागजमा आमदेशवासीलाई शुभकामना दिएका शाहले यसपटक आफू राजा हुँदा प्रयोग गर्ने लेटर प्रयोग गरेका छन् । पछिल्लोपटक तत्कालीन केपी ओली सरकारले ज्ञानेन्द्रलाई आफूलाई राजा नभन्न आग्रह गरेका थिए । यसअघि ज्ञानेन्द्रले दिएका हरेक सन्देशहरूमा आफूलाई श्री ५ महाराजधिराज भनेर लेखिएको हुन्थ्यो । यसपटक भने उनले आफूलाई पूर्वराजा भनेका छन् । अगिल्लाे वर्षको लेटर
मुक्तिनाथ वाणिज्य बैंक बन्ने, चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ
काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने भएको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले वाणिज्य बैंकमा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैंकको बोनस सेयर वितरण र अग्राधिकार सेयर जारी पश्चात् चुक्ता पुँजी ९ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्ने भएपछि वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको हो । बैंकको कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा बस्ने १९औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८८ हजार रुपैयाँ पुग्नेछ भने गत वर्ष पारित भएको १ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भए पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ पुग्नेछ । पुँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नति र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको सेवा सुविधा पुनरावलोकन गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिनेछ । यस्तै, बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाडाको निवासमा सुरु भएको उक्त बैठक ढिलागरी सुरु भएको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका एक सचिवालय सदस्यले जानकारी गराए । ती सदस्यका अनुसार बैठकमा पछिल्लो जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीमा पारेको प्रभावबारे छलफल हुनेछ । भदौ १९ पछि पहिलो पटक बस्दै गरेको सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने बताइएको छ । सचिवालय बैठकमा पछिल्लो घटनाक्रमको सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल हुने ती नेताले बताए ।
२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो कात्तिक १२ गते सेयरधनी भेला
काठमाडौं । २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंक सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावली संशोधन र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
आरएसडिसी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज ११ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
आइजीआई प्रुडेन्सियलले विदेशी पर्यटकका लागि सुरु गर्यो नयाँ बीमालेख
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउनका लागि विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमालेख सुरु गरेको छ । कम्पनीले हिमालयन गार्डियन नेपाल ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँग सहकार्य गर्दै बीमालेख सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठका अनुसार बीमालेखमार्फत नेपाल भ्रमण, पदयात्रा तथा हिमाल आरोहणका लागि आउने पर्यटकलाई सुरक्षित र ढुक्क भएर यात्रा गर्न प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । बीमालेखमा सांस्कृतिक, शैक्षिक तथा अवकाश यात्रुका लागि पहिलो तह, पदयात्राका लागि दोस्रो तह र हिमाल आरोहणका लागि तेस्रो तहको सुविधा समावेश गरिएको छ । यस योजनाअनुसार दुर्घटना भएमा सहज र नगदरहित उपचारको सुविधा उपलब्ध हुनेछ । बीमा लिने प्रत्येक पर्यटकलाई सेटेलाइट जडित विशेष उपकरण प्रदान गरिनेछ जसबाट आपतकालीन अवस्थामा सिधै सेवा प्रदायक तथा चिकित्सकसँग सम्पर्क गरी तत्काल उद्धार सम्भव हुनेछ । बीमालेख अन्तर्गत आपतकालीन उद्धार खर्च, अस्पताल उपचार खर्च, उच्च जोखिम क्षेत्रमा हुने स्वास्थ्य समस्याको सुरक्षा, दुर्घटनाबाट अपाङ्गता वा मृत्यु भएमा बीमा लाभ तथा २४ सै घण्टा आपतकालीन सहायता सेवा समावेश हुने जनाइएको छ । कम्पनीले यस बीमालेखले पर्यटक संख्या वृद्धि र बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ । साथै, यसले नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित गराउने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट, के भयो कुराकानी ?
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत महामहिम माइडीया टोरुबीच आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालमा जापानले पुर्याउँदै आएको सहयोग तथा नेपालको हालको परिवर्तित अवस्थाबारे छलफल भएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणसहितका आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिइने बताएका छन् । उक्त अवसरमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना, तनहुँ जलविद्युत आयोजना, निकट भविष्यमा सम्झौता हुन लागेको कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना तथा आपतकालीन पुनःनिर्माण कार्यक्रमअन्तर्गतको सिन्धुली सडक पुनर्संरचना लगायतका विषयमा पनि कुराकानी भएको जनाइएको छ । भेटवार्तामा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माको पनि उपस्थिति रहेको थियो ।