हिमालबाट नयाँ गाडीको ताँती
काठमाडौं । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि हिमाली जिल्ला मुस्ताङबाट चिनिया गाडीहरू धमाधम भित्रिरहेका छन् । मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) सञ्चालनमा आएपछि ५ दिनमा ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागको तथ्याङ्क अनुसार कोरला नाका सञ्चालनमा आएदेखि २०९ वटा विद्युतीय सवारी साधन (ईभी)सहित ३१६ वटा गाडी नेपाल भित्रिएका हुन् । गत असार २४ गते रसुवास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रुपमा बन्द भएको र तातोपानी भन्सार कार्यालयतर्फ कोदारी राजमार्गमा आएको पहिरोको कारण अवरोध छ । तर, चीन र नेपालबीचको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङस्थित मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका) गत भदौ ३० गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । पूर्णरुपमा संचालन आएदेखि असोज ४ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट २०९ वटा विद्युतीय गाडी र १०७ वटा माल बाहक ढुवानी साधनमा रहेका माल वस्तु जाँच पास गरी ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैंया राजस्व संकलन भएको विभागका सूचना अधिकारी समेत रहेका निर्देशक किशोर बर्ताैलाले बताए । उनका अनुसार हाल कोरला नाकामा आशिकुडा प्रणाली समेत संचालन भइसकेको र नेपाल राष्ट्र बैंकको भदौ ३१ गतेको परिपत्र अनुसार मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग भई प्रतितपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरिसकेको छ । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौंमा चिनियाँ सामग्री आयात तथा निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो । भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ बताउँछन् । ‘कोरला नाका सञ्चालनपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ । गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरला नाकाबाट सामान ल्याउँदा सस्तो पर्छ,’ उनले भने । समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत वर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले बताए ।
विद्युत बक्यौता उठाउन प्राधिकरण सक्रिय
काठमाडौं । अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले उर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत वक्यौता उठाउनेसम्बन्धि पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार यसै साता बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै बक्यौता उठाउन लाग्ने समेत बताए । उनले भने, ‘बक्यौतासम्बन्धि जुन मन्त्रीज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौं । बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छाैं। बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सी बोर्ड बैठक बस्छ ।’ बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत उनले बताए । घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर वक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए । तर उद्योगीहरुको विरोध र सरकारको असहयोगका कारण प्राधिकरणले भुक्तानी असुल नगरीकनै लाइन जोडिदिएको थियो । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।
लघु बीमकमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सरकारी गाडीको दाबी सबैभन्दा धेरै
काठमाडौं । गत भदौ २२ र २३ गते जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको ९ वटा दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सबैभन्दा धेरै सरकारी गाडीको दाबी परेको कम्पनीले जानकारी दिएको छ । मोटर बीमाको मात्रै १ करोड रुपैयाँको दाबी परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेश रोकाले बताए । उनका अनुसार कम्पनीमा चारवटा सरकारी गाडीको बीमा दाबी परेको छ । जसमा चितवनको इच्छाकामना गाउँपालिकाको २ वटा, झापाको गाैरदह नगरपालिकाको एउटा र दाङको निर्वाचन कार्यालयको एउटा सवारी रहेको छ । कम्पनीमा बीमा दाबी आउने क्रम अझै जारी भएकोले दाबी रकम बढ्न सक्ने सीईओ रोकाले जानकारी दिए । बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनको क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिबाट बीमा कम्पनीहरूमा २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँको दाबी परेको छ ।
जीर्ण आयोजनाका ठेक्का पूर्वाग्रहले होइन, कामको आधारमा तोड्छौंः मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका विकास आयोजनाका ठेक्का नतोड्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङ काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारे । ‘अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति व्यापक छ । कम रकम कबोल गरेर ठेक्का लिएमा मेरो घरबार जान्छ, बैंक जमानत जफत हुन्छ, जरिवाना (पेनाल्टी) हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन । ठेक्का सम्झौता गर्ने तर लामो समयदेखि काम नभई जीर्ण भएका आयोजना अब राख्न हुँदैन,’ उनले भने । ‘म आफै पनि इन्जिनियर भएकाले सम्पूर्ण ठेक्का प्रक्रियाको पूर्ण जानकार छु, आयोजनातर्फबाट पनि गर्नु पर्ने काम नगरेको पनि त्यो पनि हेर्छौं, अन्यायपूर्वक कसैलाई कारबाही गर्दैनौं,’ उनले थपे । विदेशमा राम्रो काम गरिरहेका निर्माण व्यवसायी नेपालमा काम गर्दा भने असफल नदेखिएको उल्लेख गर्दै मन्त्री घिसिङले आफूले लिएका आयोजना तोकिएको समय र गुणस्तरमा निर्माण सम्पन्न गरी नेपालका निर्माण व्यवसायी पनि सक्षम रहेको सन्देश दिन आग्रह गरे । ‘निर्माण क्षेत्रमा अनियमिता र भ्रष्टाचार रहेका आम बुझाइ छ, जेनजी आन्दोलनपछि गठन भएको अहिलेको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण रहेकाले निर्माण व्यवसायी पनि भ्रष्टाचार निर्मूल गर्नेतर्फ लाग्नुहोस्,’उनले भने । महासंघका तर्फबाट मन्त्री घिसिङसमक्ष निर्माण क्षेत्रका विद्यमान समस्यका विषयमा ज्ञापनपत्र पेश गरिएको थियो।
रााष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । उक्त विधेयकलाई राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।
७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ
सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो
काठमाडौं । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । तर, उक्त विधिका कारण सेयर मूल्यमा म्यानुपुलेट भएको भन्दै लगानीकर्ताले हटाउनुपर्ने माग गरिरहेका थिए । प्रवक्ता पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ । तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ ।
१ हजार १ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० ले बढेको छ । आइतबार सुन प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख १६ हजारमा खरिद बिक्री भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला २ हजार छ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।