सिद्धि गणेश सहकारीको एकैचोटि ३ ठाउँमा साधारणसभा, नाफा साढे ४ करोड रुपैयाँ
भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रूपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । संस्थाले पहिलो पटक संस्था बाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा सम्पन्न गरेको हो । १७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिबार क्षेत्रगत रूपमा साधारणसभा गरेको हो । संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को स्रोत तथा उपयोगतर्फ ३ अर्ब २६ करोड ३१ लाख ४३ हजार १०९ रुपैयाँ र आय तथा व्ययतर्फ २५ करोड ४० लाख ९७ हजार ८५५ रुपैयाँको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो । आव २०८२/०८३ को स्रोत तथा उपयोग तर्फ ३ अर्ब ३६ करोड रुपैयाँ र आय तथा व्ययतर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित गरेको थियो । सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णुप्रसाद दुमरुद्वारा प्रस्तुत आव २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आव २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित गरेको छ । सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत आव २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को सेयर पूँजीमा ६ प्रतिशत कर कट्टीसहितको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ । यसैगरी, संस्थाका सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुसी प्रकट गरे । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययिता पूर्वक सम्पन्न गरेको जानकारी दिए । सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिँदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारे । संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको सेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६१३, सहकारी प्रवर्द्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरू २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरे । सिद्धि गणेश सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा अन्तर्गत कमल विनायक स्टार बैंक्वेटमा संस्थाका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ। कार्यक्रममा पूर्व अध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले गत आवमा सेयर अन्तर्गत ७२ लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्ति तर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिए । साथै, १७ हजार शेयर बाँकी रहेकाले आवश्यक परे थप सेयर निकाल्न सकिने जानकारी बताए । सञ्चालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१/८२ को प्रगति प्रतिवेदन र आव २०८२/८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरे । उनले सम्पत्ति शुद्धीकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरूबारे स्पष्ट पारे । यसैबीच संस्थाको क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरूको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरू समस्यामा पर्दै आएको बताए ।
हेटौंडा औद्योगिक क्षेत्रमा गतिविधि बढ्दै, चकलेट र एसीपी बोर्ड उद्योग सुरु हुने
हेटौंडा । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन्। हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उद्योग) केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए । ‘सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्, ‘उनले भने, ‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछान् ।’ यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको आएको थियो । गत २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योगसमेत सञ्चालनमा आएको थियो । उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । यस्तै, लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काँटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए । विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए । उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ । अमेरिका सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् । यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौंडा शाखालगायतका कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए । कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी छ ।
सानिमा बैंकको १ अर्ब ७ लाख रुपैयाँ लाभांश घोषणा
काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले ७.३६८५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५.२६ प्रतिशत, आर्थिक वर्ष २०७९/८० मा १४.७ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १०.९८ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १७.८९ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७२/७३ मा १५.७९ प्रतिशत, आव २०७१/७२ मा २१.०५ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत, आव २०६९/७० मा १०.५३ प्रतिशत, आव २०६८/६९ मा ५.५ प्रतिशत, आव २०६७/६८ मा ६.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बिहानैदेखि ३ मेसिन लगाएर तुइन खोलाको पहिरो पच्छ्याइँदै, अलपत्र यात्रुलाई निःशुल्क खाना
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदा समेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसि रहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने काम थालिएको छ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुइवटा उपकरण प्रयोग गरिएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ खसेको पहिरो पन्छाउने कार्य जारी रहेको हो । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उहाँले दावी गर्नुभयो । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अलपत्र यात्रुलाई निःशुल्क खाना यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा यहाँका शनिबार निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए । जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए । पहिरोका कारण सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । मुग्लिन र नारायणगढ दुवै तर्फबाट तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए । जिल्ला प्रशासनको अगुवाइमा पनि शनिबार अलपत्र यात्रुलाई पानी र खाद्यान्न बाँडिएको थियो ।
यस्तो छ विभिन्न देशका लागि दशैँको टीका लगाउने साइत
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिको आज यहाँ बसेको बैठकबाट विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीय मानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको उनले बताए । समितिले नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे, दिल्ली, भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ः४९, न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ः२५, फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ः५७, वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ः०५, टेक्सासका लागि अक्टोबार ११ः३३, वासिङ्गटन डिसीका लागि ११ः३५, क्यालिफोर्नियाका लागि बिहान ११ः११, कोलोराडोका लागि ११ः२९ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए । यसैगरी, टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ः५५, भ्यानकुभरका लागि ११ः३३, टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ः३१, सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ः४३, मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ः१९, व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ः५३, एडिलेटका लागि ११ः३५, क्यानबेराका लागि ११ः५१, तास्मानियाका लागि ११ः४५, पर्थका लागि ११ः२५ र डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको छ । यस्तै, बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ः२३, लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ः२३, लण्डन बेलायतका लागि बिहान ०९ः१७, पेरिस, फ्रान्सका लागि बिहान ०९ः५७, नर्वेको ओस्लोका लागि बिहान १०ः०३, क्वालालम्पुर मलेसियाका लागि बिहान ११ः११, अवुधावी युएइका लागि बिहान १०ः५५, दोहा कतारका लागि बिहान १०ः१३, बैंकक थाइल्याण्डका लागि बिहान १०ः४५, सियोल दक्षिण कोरियाका लागि बिहान १०ः५७, तेल अभिभ इजरायलका लागि बिहान ११ः३५, सिङ्गापुरका लागि बिहान ११ः०९, हङ्गकङ्गका लागि बिहान ११ः४५, साउदी अरेबियाका लागि बिहान १०ः५५, याङ्गून म्यानमारका लागि बिहान १०ः२७, जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १०ः२५ र माल्टाका लागि बिहान १०ः५५ बजेको साइत स्थानीय समय अनुसार शुभ रहेकाले प्रकाशन गरिएको समितिका उपसभापति प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
चाडपर्वमा अवरुद्ध हुन नदिन बीपी राजमार्ग पुनः मर्मत गरिँदै
काठमाडौं । एक वर्ष अघिको बाढी पहिरोले क्षतविक्षत भएपछि अस्थायी रूपमा निर्माण गरिएको बीपी राजमार्ग चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । राजमार्गको क्षतिग्रस्त सडक पुनः मर्मत गर्ने गरी काम अगाडि बढाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले बाढी पहिरोपश्चात पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरेको थियो । यसपटकको वर्षामा थप क्षति हुन नदिन सतर्कता अपनाउँदै स्रोत साधन तयारी अवस्थामा राखेर खाल्डा खुल्डी पुरेर यात्रा सहज बनाइने कार्यालयले जनाएको छ । यसपालिको क्षति रोक्न काभ्रेपलाञ्चोक तर्फको चौकीडाँडा, कटुञ्जे बेँसी, मङ्गलटार र माम्तीमा ग्याबिन जालीसहित पर्खाल लगाइएको र सडक अवरुद्ध भइहाले पन्छाउन विभिन्न उपकरण तयारी अवस्थामा राखिएका छन् । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै तत्काल हटाउन सडक पुनः निर्माणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएका बताए । ‘दसैँ तिहारलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन सजगता अपनाइएको छ, एक/दुई दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर सडक सुधार गर्दै यात्रा सहज बनाउन लागिएको छ,’ उनले भने । उनका अनुसार सडकलाई ‘ग्रेडिङ’ गरेर ‘रोलिङ’ गर्न लागिएको हो । विसं २०८१ असोजको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत २९ किलोमिटर सडक खण्डलाई चार खण्डमा पुनः निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । बाढी पहिरोले ८ किलोमिटर सडक पूरै बगाएको थियो । क्षतिग्रस्त बीपी राजमार्ग पुनः निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । उक्त सडक खण्ड क्षतिग्रस्त भएपछि गत सालको दसैँमा त्यस मार्ग भएर पूर्वतर्फ घर जान चाहनेले वैकल्पिक मार्ग प्रयोग गरेका थिए । ‘यो मनसुनमा राजमार्ग अवरुद्ध हुन दिइएन, अब दशैँलगायत चाडपर्वमा अवरुद्ध हुन नदिन पुनः मर्मत थाल्दैछौँ, वैकल्पिक सडक गर्नुपर्ने बाध्यता हुन नदिनेगरी मर्मत गर्दैछौँ,’ योगेशले भने । उनका अनुसार बाढीपहिरो आए निर्माण व्यवसायीले नै खुलाउने सम्झौता भएको छ । यसका लागि ठेक्का लागेका व्यवसायी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगेशको भनाइ छ । उक्त राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । त्यसअघि राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म १२ घण्टा राजमार्गमा यात्रु बाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आएको थियो । हाल दैनिक करिब ३ हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडपर्वका बखत तेबर सवारी साधन ओहोरदोहोर गर्छन् । उक्त राजमार्ग दुई वर्षमा पुनः निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको छ । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडक खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्ने छ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३.२ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताए । बाँकी सिन्धुली तर्फको एक सडक खण्ड र काभ्रेपलाञ्चोक तर्फको दुई सडक खण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ । उक्त यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब २ लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई ७ अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको खुर्कोट सडक खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्ड खण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । रासस
सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ३० गतेदेखि बिक्री खुला गरिएको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आज असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
काठमाडौं-ग्वाञ्जाओ सिधा उडान, ९ देशका ११ गन्तव्यमा नेपाल एयरलाइन्स
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडा दर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए । निगमले निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं-ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । ९ देशका ११ गन्तव्यमा उडान नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब ९ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ । देशको सान र पहिचानसँग जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजा वाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।