अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
नेपाल बैंकका नव नियुक्त अध्यक्ष शर्माले लिए शपथ
काठमाडौं । नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डिल्लीराम शर्माले शपथ लिएका छन् । भदौ २० गतेको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा पदमा नियुक्त भएका शर्माले असोज २ गते राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
नेप्सेमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेट रोकियो कारोबार
काठमाडौं । नेप्से कारोबार फेरि केही समयका लागि स्थगित भएको छ । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत घट्दा २० मिनेट स्थगित भएको दोस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार रोकिएको हो । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि अर्थात् ११ः२३ मिनेटमा पुनः सेयर कारोबार ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । नेप्से परिसूचक २ हजार ५३८.६३ अंकमा झरेको छ । नेप्सेका अनुसार १९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ११ कम्पनीको सेयर मूल्य भने बढेको छ । हालसम्म २८ करोड ७५ लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
दशौं संविधान दिवस मनाउन एमालेको आह्वान
काठमाडौं । नेकपा एमालेले दशौं संविधान दिवस भव्य रूपमा मनाउन आह्वान गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले संविधान दिवस मनाउन सबै जिल्ला तथा प्रदेश कमिटीहरूलाई संविधान दिवस मनाउन आह्वान गरेका छन् । उनले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख गर्दै संविधान दिवस भव्यरूपमा मनाउन निर्देशन गरेका छन् । पोखरेलले निर्देशनमा भनेका छन्, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना गरिएको हो ।’ नेकपा एमालेले काठमाडौंको हकमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजे संविधान दिवस मनाउने भएको छ । अन्यको हकमा पार्टीका प्रदेश तथा जिल्ला कार्यालयमा दशौं संविधान दिवस मनाउने तयारी गरेको छ ।
चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट
काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङले चीनमा अमेरिकी प्रविधि कम्पनीले भोगिरहेको समस्याबारे प्रतिक्रिया जनाएका छन् । बुधवार फाइनान्सियल टाइम्सले चीनको साइबरस्पेस प्रशासनले टिकटकको मालिक कम्पनी बाइटडान्स र अलीबाबालगायतलाई एनभीडीयाको RTX Pro 6000 D चीनका लागि विशेष रूपमा बनाइएको चिप किन्न आदेश नदिएको खबर प्रकाशित गरेपछि हुवाङले आफू निराश भएको बताए । फाइनान्सियल टाइम्सको रिपोर्टबारे सोधिएको प्रश्नमा हुवाङले भने, ‘हामी केवल त्यही बजारमा सेवा गर्न सक्छौं, जहाँ त्यो देशले हामीलाई चाहन्छ ।’ ‘हामीले चीन बजारका लागि धेरै योगदान दिएका छौं, धेरै देशहरूले दिएकोभन्दा बढी । मैले देखिरहेको कुराले मलाई निराश बनाएको छ । तर चीन र अमेरिकाबीच ठूलो राजनीतिक एजेन्डा छन्, जसलाई मैले बुझ्ने प्रयास गरेको छु,’ उनले थपे । यो समाचार एनभीडीयाको चीनमा भइरहेको उतार-चढावपूर्ण व्यापारिक अवस्थापछि आएको हो । लन्डनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले सबै वित्तीय विश्लेषकलाई चीनलाई वित्तीय पूर्वानुमानमा समावेश नगर्न मार्गदर्शन दिएका छौं । यसको कारण के भने यो मुख्यतया अमेरिकी र चिनियाँ सरकारबीचको छलफलमा रहने विषय हो ।’ यसअघि अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको चिन्ताका कारण एनभीडीयाका एआई चिप्स चीन पठाउन प्रतिबन्ध लगाएको थियो– जसमा कम शक्ति भएको सर्भर चिप H20 पनि थियो । तर, गत अगस्टमा ह्वाइट हाउसले घोषणा गरेको थियो कि राष्ट्रपति डोनाल्ड ट्रम्प र हुवाङबीच भएको सम्झौताअनुसार एनभीडीयाले निर्यात अनुमति पाउनेछ र चीनमा बिक्री भएको H20 चिप्सको १५ प्रतिशत अमेरिकी सरकारलाई जानेछ । बुधबारको यो समाचारले फेरि एकपटक एनभीडीयाको चीन व्यवसायमा ठुलो धक्का दिएको छ । यसअघि चीनको राज्य बजार नियामक प्रशासनले एनभीडीयाले इजरायली प्रविधि कम्पनी मेलानक्स (डेटा सेन्टर र सर्भरका लागि नेटवर्क समाधान बनाउने कम्पनी) खरिद गरेको विषयमा एक एन्टिट्रस्ट (एकाधिकार विरोधी) छानबिन सुरु गरेको थियो । मंगलबार एनभीडीयाले बेलायतमा ११ अर्ब पाउण्ड (१५ अर्ब डलर) को लगानी गर्दै एआई पूर्वाधार विकास गर्ने घोषणा गर्यो । माइक्रोसफ्ट, गूगल र सेल्सफोर्सलगायत अन्य अमेरिकी प्रविधि कम्पनीहरूले पनि बेलायतमा बहुअर्ब डलरको एआई लगानी गर्ने घोषणा गरेका छन् । भू–राजनीतिक परिस्थितिका बाबजुद हुवाङले चीनको एआई बजारको महत्त्वलाई जोड दिए। ‘चिनियाँ बजार महत्त्वपूर्ण छ। यो ठूलो छ। प्रविधि उद्योग धेरै सक्रिय छ । हामी ३० वर्षदेखि यसको सेवा गर्दै आएका छौं,’ उनले भने । ‘एनभीडीयाले चिनियाँ सरकार र चिनियाँ कम्पनीलाई उनीहरूलाई चाहिने रूपमै समर्थन गर्न जारी राख्नेछ र हामी अमेरिकी सरकारलाई पनि निरन्तर समर्थन गर्नेछौं, जबसम्म यी भू-राजनीतिक नीतिहरू समाधान हुँदैनन्,’उनले थपे । एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ? चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा
अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरणको प्रस्ताव असोज १ गते बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो । कम्पनीका अनुसार सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
सेयर कारोबार हल्ट, २ मिनेटमै १०७.०४ अंक घट्यो
काठमाडौं । सेयर कारोबार हल्ट भएको छ । सेयर कारोबार खुलेको केही समयमै सेयर कारोबार हल्ट भएको हो । जेनजी आन्दोलनपश्चात् पहिलो पटक खुलेको सेयर कारोबार २ मिनेटमा १०७.०४ अंक घटेर केही समयका लागि बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०७.०४ अंक घटेर २ हजार ५६५.२१ अंकमा रोकिएको छ । सेयर कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत भन्दा बढी घटेपछि २० मिनेटको लागि स्थगित भएको नेप्सेले जनाएको छ ।
बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट, कति जनाले पाए सेयर ?
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहीबार बिहान बाँडफाँट गरिएको हो । कम्पनीले गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो आईपीओमा २१ लाख ७५ हजार ८८८ जनाले करिब २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन् । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । सो अनुसार १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट आवेदकहरूले विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका लागि हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, वा मेरो सेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ । आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी तथा अन्य आवश्यक विवरण प्रविष्ट गरेपछि नतिजा सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ । बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट आवेदकहरूले विभिन्न माध्यममार्फत नतिजा हेर्न सक्नेछन् । नतिजा हेर्नका लागि हिमालयन क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएससीको आईपीओ रिजल्ट पोर्टल, वा मेरो सेयर एकाउन्ट प्रयोग गर्न सकिन्छ। आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।