विकासन्युज

इजिप्टमा डोङफेङ मोटरका ९ नयाँ मोडेल सार्वजनिक

काठमाडौं । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक कार्यक्रममा आफ्ना ९ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।  उक्त कार्यक्रममा 'इस्ट विन्ड इन्फिनिट वर्ल्ड' भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो । यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएका मोडेलहरूमा MAGE ICE र SHINE ICE समावेश थिए भने DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू पनि प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइल प्रेमीहरूको ठूलो सहभागिता रहेको थियो ।  आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकै बाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए ।  प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागत देखि लिएर न्यू इनर्जी गाडीहरू विशेष रूपमा प्रदर्शन गरिएका थिए ।

मुक्तिनाथ फाउन्डेसनको चौथो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ फाउन्डेसनले चौथो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक तथा आर्थिक रुपमा पछाडि परेका व्यक्तिहरू र समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको मुनाफा वितरण नगर्ने यस संस्थाले कार्यक्रमको माध्यमबाट समाजसेवामा आफ्नो प्रतिबद्धता जनाएको हो । २०७८ असोज १ गते दर्ता भएको यस संस्थाले लक्षित वर्गका व्यक्तिहरू र समुदायलाई सशक्त बनाउने उद्देश्य राख्दै सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यसअघिका सामाजिक कार्यहरुमा बागमती सरसफाई अभियान, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकासहित देशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम, वृद्धवृद्धालाई सम्मान र आवश्यक खाद्य सामाग्री वितरण लगायतका कार्यहरू रहेका छन् । चौथो वार्षिकोत्सवको अवसरमा सम्पन्न रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । साथै, मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि, मुक्तिनाथ क्यापिटल, रोयल सहकारी, र विन्द्यवासिनी म्यूजिकको सहभागिता र समन्वयमा कार्यक्रम सफल भएको थियो ।

दुई महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ दशमलव ६७, पुँजीगततर्फ एक दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा एक खर्ब ८० अर्ब १७ करोड चार लाख रुपैयाँ खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा हालसम्म एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।  त्यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा छ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको वार्षिक विनियोजन रहेकोमा भदौ मसान्तसम्ममा ५९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ । यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा हालसम्म एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ असुली भएको हो । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने वार्षिक लक्ष्य रहेकोमा ११ दशमलव ३५ प्रतिशतअर्थात् एक खर्ब ५० अर्ब ४० करोड १३ लाख रुपैयाँ कर असुली भएको छ । त्यस्तै, गैरकरतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ असुली गर्ने वार्षिक लक्ष्य रहेकोमा चार दशमलव ६२ प्रतिशतअर्थात् सात अर्ब १३ करोड २१ लाख रुपैयाँ उठेको छ । त्यस्तै, चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा हालसम्म दुई दशमलव ३८ प्रतिशतअर्थात् एक अर्ब २७ करोड ३७ लाख रुपैयाँ अनुदान उठेको छ ।

हितेन्द्रदेवलाई हटाउने ऊर्जामन्त्री घिसिङको तयारी, मार्गप्रशस्त गर्न आग्रह

काठमाडौं । ऊर्जामन्त्री ​​कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले प्राधिकरणका प्रमुख शाक्यलाई हटाउने तयारी गरेका हुन् । यो घटनाक्रम राजनीतिक र प्राधिकरण भित्रको शक्ति समीकरणसँग जोडिएको मानिएको छ ।  प्राधिकरणमा घिसिङको पहिलो कार्यकाल अत्यन्त सफल मानिएको थियो । उनको दोस्रो कार्यकाल सकिन ६ महिना बाँकी रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए।  सत्ता फेरिएसँगै मन्त्री बनेका घिसिङले प्राधिकरणभित्र नेतृत्व परिवर्तन गर्न लागेको स्रोतले जानकारी दियो ।  स्रोतका अनुसार मन्त्री घिसिङ प्राधिकरणलाई पुनः सशक्त बनाउने योजना लिएर अगाडि बढेका छन् । घिसिङको पहिलो कार्यकाल २०७७ भदौमा सकिएको थियो । उनी २०७८ साउनमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका थिए ।  उनको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणको नेतृत्वमा शाक्य थिए । करिब ३३ वर्षदेखि विद्युत प्राधिकरण अन्तर्गतका निकायमा काम गरेका शाक्यलाई २०७७ कात्तिक ११ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।  २०७७ मंसिरमा उनलाई प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशको जिम्मेवारी दिइएको थियो । त्यस्तै, २०७७ फागुनमा उनले चार वर्षका लागि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका थिए। उनलाई यसअघि कार्यकारी निर्देशक नियुक्त गर्दा पनि केपी ओली नै प्रधानमन्त्री थिए । सरकार परिवर्तन भएपछि उनलाई २०७८ साउनमै कार्यकारी निर्देशकबाट हटाइएको थियो ।  आफूलाई हटाउनुको स्पष्ट कारण नभएको भन्दै शाक्यले सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए ।

एसवाई प्यानलले असोज ७ गतेदेखि आइपीओ निष्काशन गर्दै

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्काशनको तयारी गरेपनि देशको विषम परिस्थितिका कारण असोज ७ गतेदेखि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ ।  उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

चार्ली किर्क हत्या प्रकरणमा बाहिरियो गोप्य नोट, अभियुक्तले के लेखेका थिए ?

काठमाडौं । अमेरिकामा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कलाई गोली हानी हत्या गर्ने अभियुक्तबारे सरकारी वकिलहरूले ठूलो दाबी गरेका छन् । सरकारी अभियोजन पक्षका वकिलहरूका अनुसार अभियुक्तले आफ्नै कोठामा बस्ने साथीलाई लेखेको गोप्य सन्देशमा अपराध स्वीकार गरेका थिए । २२ वर्षका टायलर रोबिन्सनमाथि किर्कको हत्या गरेको आरोप लगाइएको छ । युटाका अधिवक्ता जेफ्री ग्रेले बताएअनुसार अभियुक्तले आफ्नो कोठामा बस्ने साथीका लागि कम्प्युटरको किबोर्ड मुनि नोट छोडेका थिए । उनले यो पनि बताएका थिए कि सो साथी अभियुक्तको प्रेमसम्बन्धी पार्टनर थिए। ग्रेअनुसार सो नोटमा लेखिएको थियो, ‘मलाई चार्ली कर्कलाई समाप्त गर्ने मौका मिलेको छ र म यो गर्न जाँदैछु ।’ अभियोजन पक्षले दुबै कोठासाथीबीच भएका टेक्स्ट सन्देशहरू पनि प्रस्तुत गरेका छन् । तीमध्ये एकमा अभियुक्तले कर्कलाई गोली हानेको स्वीकार गर्दै भनेका थिए कि उनी ‘उनको घृणाबाट दिक्क भएका कारण’ यस्तो कदम चालेका थिए । चार्ली किर्क अमेरिकाका सबैभन्दा चर्चित कन्जर्भेटिभ कार्यकर्ता र मिडिया हस्तीहरूमध्ये एक थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भरपर्दा सहयोगी मानिन्थे । गत हप्ता बुधबार युटाको एक कलेजमा उनलाई गोली हानी हत्या गरिएको थियो ।

ठूला व्यावसायिक कम्पनी र ६ वटा बीमा कम्पनी ‘नेगेटिभ वाचलिष्ट’मा, रेटिङ खस्किने त्रास

काठमाडौं । जेनजी आन्दोलनले ठूलो क्षति बेहोरेका एक दर्जन कम्पनीहरु रेटिङ एजेन्सीको वाचलिष्टमा परेका छन् । यसअघि रेटिङ गराएका ती कम्पनीहरूलाई रेटिङ एजेन्सी इक्रा नेपालले नकारात्मक प्रभावको निगरानीमा राखेको हो ।  इक्रा नेपालले बुधबार विज्ञप्ति जारी गर्दै १३ वटा कम्पनीलाई नकारात्मक प्रभावको निगरानीमा राखेको जानकारी दिएको हो ।  इक्रा नेपालले ६ वटा बीमा कम्पनीलाई पनि सो सूचीमा राखेको छ । व्यावसायिक कम्प्लेक्समा ठूलो क्षति हुँदा ती कम्पनीहरूले ठूलो परिमाणमा बीमा दाबीको माग गर्छन् । ठूलो रकममा दाबी परेपछि त्यसको प्रत्यक्ष प्रभाव बीमा कम्पनीमा पर्ने गर्दछ । सोही कारण इक्रा नेपालले नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सलाई नकारात्मक प्रभावको निगरानीमा राखेको छ ।  विज्ञप्तिमा सम्बन्धित बीमा कम्पनीहरूको वित्तीय अवस्थामाथि परेको प्रभावलाई इक्रा नेपालले निरन्तर निगरानी गर्ने उल्लेख छ । परिस्थिति प्रष्ट हुँदै जाँदा रेटिङ निगरानी हटाउने वा आवश्यक रेटिङ कदम चाल्ने जानकारी पनि दिएको छ ।  एक्राले सीजी इम्पेक्स प्रा.लि., आईओएल प्रा.लि. भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स लिमिटेड, मौलाकाली केबलकार लिमिटेड, कैलाश हेलिकप्टर र ओरियन्टल होटललाई पनि सो सूचीमा राखेको जानकारी दिएको हो । विज्ञप्तिमा यी रेटिङ प्राप्त संस्थाहरूमा भौतिक क्षति निकै गम्भीर भएको र यसले व्यवसाय सञ्चालन, आम्दानी क्षमता र ऋण भुक्तानी क्षमतालाई असर पार्ने देखिएको उल्लेख छ ।  यी संस्थाहरूका लागि इक्रा नेपालले सञ्चालन पुनः सुरु हुने समयसीमा, भएको क्षतिको परिमाण र बीमाबाट पाउने वास्तविक क्षतिपूर्तिलगायत विषयहरू निगरानी गर्ने जानकारी दिएको छ । यसका साथै पर्यटन पूर्वाधारहरू (तारे होटल, केबलकार परियोजनाहरू) मा भएको क्षतिले नेपालको पर्यटन क्षेत्रमा असर पार्ने सम्भावना रहेको उल्लेख छ ।  सेप्टेम्बरदेखि नोभेम्बरसम्मको प्रमुख पर्यटन सिजन भइरहेको बेला यी घटनाले विदेशी पर्यटकको आगमन घट्ने अनुमान इक्रा नेपालको छ । यसले विदेशी पर्यटकमा बढी भर पर्ने संस्थाहरूमा ठूलो असर पार्न सक्ने अनुमान इक्राको छ ।

मन्त्री घिसिङले जलेका सवारीसाधन व्यवस्थापन गर्न दिए निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।   जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले बुधबार निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ  ।   'कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ,' मन्त्री घिसिङले भनेका छन् ।    उनले  विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।  मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे ।   सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।