सुनको मूल्य तोलामा एक हजार घट्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बुधबारका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० रुपैयाँमा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन् । उनले लोकतन्त्रको खम्बालाई कत्तै पनि कमजोर पार्न नहुने उल्लेख गरे । उनले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनःसंरचना गर्नेमा शंका रहेको टिप्पणी गरे । पुराना पार्टीहरूमा अझै पनि पुराना नेताहरूको उकुसमुकुस रहेको भन्दै आगामी दिनमा एउटा वृहत खालको राजनीतिक पुनःसंरचना हुनुपर्ने जरुरी देखिएको बताए । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव हुने जिकिर गरे । उनले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो। निश्चित मितिमै चुनाव गर्नुपर्छ । पुराना दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुनःसंरचना हुन्छ जस्तो मलाई लाग्दैन । जेन–जेड भनिने २८ वर्षभन्दा मुनिका युवाहरूले दबाब सिर्जना गरे राजनीतिक पुनःसंरचना सम्भव छ । कहिलेकाहीँ भुइँको टिप्छु भन्दा पोल्टाको पनि खस्छ, त्यसमा मैले सतर्क गराउँदै आएको छु ।’ अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधिसभा विघटनलाई गलत निर्णय बताउँदै आएका छन् ।
शहीदको सपना र नयाँ नेपालको यात्रामा लेमिनार टायल्सको प्रतिज्ञा
काठमाडौं । नेपालको युवापुस्ता ‘जेनजी’ को साहस र नेतृत्वले राष्ट्रको इतिहासमा नयाँ अध्याय सुरु भएको भन्दै लेमिनार टायल्सले शहीदहरूको बलिदानलाई स्मरण गर्दै परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी सबै नेपालीसँग मिलेर यो परिवर्तनलाई स्वागत गर्दछौं । यो यात्राले अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो कामना छ।’ लामिनार टायल्सले प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई दिंदै नेपाललाई उज्ज्वल भविष्यतर्फ अघि बढाउन उनलाई सबैको सद्भाव र समर्थन मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । स्वदेशी ब्रान्डका रूपमा लामिनार टायल्सले पुन: निर्माण, प्रगति र सबैका लागि अझै राम्रो भोलिको यात्रामा निरन्तर योगदान दिने प्रतिबद्धतासमेत जनाएको छ ।
दुर्लभ खनिजमा चिनियाँ नियन्त्रणले युरोपेली कम्पनीलाई ‘लाखौं युरो’ घाटा, विश्व उद्योगमा असर
बेइजिङ । चीनको युरोपेली च्याम्बर अफ कमर्सका अनुसार बेइजिङले अझै पनि विदेशी कम्पनीहरूलाई आवश्यक दुर्लभ खनिज (रेअर अर्थ्स) मा पहुँच दिएको छैन । च्याम्बरले सोमबार पत्रकारहरूलाई बताएअनुसार कम्तीमा एक सदस्य कम्पनीले यस कारण ‘लाखौं युरो’ घाटा बेहोर्नुपरेको छ । करिब २५ वर्ष पुरानो व्यवसायिक संस्थाले प्रभावित कम्पनीको नाम भने सार्वजनिक गरेन, तर अरू सदस्यहरूले पनि यी खनिजहरूमा पहुँच पाउने स्पष्ट र स्थायी प्रक्रिया अझै पत्ता नलाएको बताएको छ । दुर्लभ खनिजहरू कारदेखि लिएर सेमिकन्डक्टरसम्मका उत्पादनहरूका लागि अत्यन्तै महत्त्वपूर्ण कच्चा पदार्थ मानिन्छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार २०२४ मा चीनले विश्वका कुल दुर्लभ खनिज खानी उत्पादनको करिब ६९ प्रतिशत नियन्त्रण गरेको थियो र विश्वका करिब आधा भण्डारहरू पनि चीनमै छन् । चीनले यस नियन्त्रणलाई अमेरिका र अन्य साझेदारहरूसँगको व्यापार वार्तामा प्रयोग गर्दै आएको छ । गत वर्षको अन्त्यदेखि चीनले दुर्लभ खनिजहरूको निर्यातमा कडाइ बढाएको छ र तिनको सैन्य प्रयोजनमा प्रयोग नहुने प्रमाणसमेत माग्न थालेको छ । मे महिनाको मध्यतिर अमेरिकासँग भएको व्यापार सम्झौतापछि चीनले एकपटक प्रयोग गर्न पाइने निर्यात अनुमतिपत्र जारी गर्न थालेको हो । जर्मन कार निर्माता फक्सवागनका प्रवक्ताले भने, ‘हाम्रो दुर्लभ खनिजयुक्त पाट्र्सको आपूर्ति स्थिर छ र हामीलाई कुनै अभावको समस्या छैन । हाम्रा आपूर्तिकर्ताहरूले आवश्यक निर्यात अनुमति प्राप्त गर्न आफ्ना सब–कन्ट्र्याक्टरहरूसँग निरन्तर सहकार्य गरिरहेका छन्,’ भने । तर युरोपेली च्याम्बरका अनुसार जून र जुलाईमा अनुमति स्वीकृतिमा केही सुधार देखिए पनि पछिल्ला महिनामा अनुमति पाउन अझै बढी कठिनाइ भइरहेको छ । च्याम्बरले अनुमति पाउनु पनि स्थिर आपूर्ति सुनिश्चित नगर्ने र यसले व्यवसायिक अनिश्चितता बढाउने जोड दिएको छ । गत वर्ष युरोपेली सङ्घ (ईयू) का करिब आधा दुर्लभ खनिज आयात चीनबाट आएका थिए, त्यसपछि रुस र मलेसिया प्रमुख आपूर्तिकर्ता थिए । दुर्लभ खनिजमा पहुँचमा बढ्दो प्रतिबन्ध अन्तर्राष्ट्रिय व्यापार तनावबीच व्यवसायका लागि पछिल्लो चुनौती हो । कोभिड–१९ पछि चीनमा विदेशी लगानीकर्ता र व्यवसायिक विश्वास घटेको छ किनकि महामारीका रोकथाम उपायहरूले आपूर्ति श्रृंखला प्रभावित पारेका थिए । घरेलु अर्थतन्त्र अझै सुस्त छ, विशेषगरी रियल इस्टेट संकट र उद्योगमा अतिउत्पादनका कारण । गत हप्ता अमेरिकन च्याम्बर अफ कमर्स इन साङ्घाईले मे र जून बीचको आफ्ना सदस्य सर्वेक्षण सार्वजनिक गर्दै आगामी पाँच वर्षका लागि व्यवसायिक विश्वास नयाँ न्यूनतममा पुगेको जनाएको छ । अध्ययनले देखाएको छ कि करिब आधा सदस्यहरूले चीनका लागि योजनाबद्ध लगानी अन्य क्षेत्रमा, मुख्यतः दक्षिणपूर्वी एसियामा सारिसकेका छन् । युरोपेली र अमेरिकी व्यवसायहरूले चेतावनी दिएका छन् कि दुर्लभ खनिजको अभाव यस वर्षको तेस्रो त्रैमासिकदेखि उत्पादनमा थप अवरोध ल्याउन सक्छ । युरोपेली च्याम्बरले भने अर्को हप्ता ब्रुसेल्समा ईयूका नीतिनिर्माताहरूसँग भेटेर वर्तमान व्यवसायिक स्थिति बारे जानकारी दिने योजना बनाएको छ । बुधबार सार्वजनिक गरिएको आफ्नो वार्षिक स्थिति पत्रमा चीनलाई आगामी पाँच वर्षे योजना तयार पार्दै गर्दा केही सुधारका सुझाव पनि दिएको छ । च्याम्बरले चीनलाई अतिउत्पादनका जरा कारणहरू समाधान गर्ने र स्वास्थ्यजस्ता मुख्य उद्योगमा निजी क्षेत्रलाई अझ ठूलो भूमिका दिने सुझाव दिएको छ, जहाँ हाल राज्य संस्थाहरूको ठूलो नियन्त्रण छ । च्याम्बरका अध्यक्ष जेन्स एस्केलुन्डले पत्रकारलाई भने, ‘चीनको वाणिज्य मन्त्रालयसँगको हालको बैठकमा हामीले मुख्यतया दुर्लभ खनिजको पहुँचबारे छलफल गरेका छौं ।’ चीनका शीर्ष नेताहरू आगामी अक्टोबरमा २०२६ देखि २०३० को लागि विकास लक्ष्य तय गर्न बैठक बस्ने भएका छन् । चीनले हरेक पाँच वर्षमा यस्ता योजना बनाउने गरेको छ । २०२१ मा सुरु भएको १४ औं संस्करण यो वर्षको अन्त्यमा सकिँदैछ र १५ औं योजना अर्को वर्षदेखि लागू हुनेछ । युरोपेली व्यवसायहरू उक्त बैठकलाई ध्यानपूर्वक हेर्नेछन् किनकि चीन युरोपेली सङ्घको दोस्रो ठूलो व्यापारिक साझेदार हो र २०२४ मा दुबै बीचको व्यापार ७३२ अर्ब युरोको स्तरमा पुगेको थियो । एस्केलुन्डले भने, ‘मेड इन चाइना २०२५ जस्ता योजनालाई पछाडि फर्केर हेर्दा अहिले हामीले भोगिरहेका धेरै चुनौतीहरू यिनै नीतिगत निर्णयको परिणाम हुन् । त्यसैले यी योजनाहरू साँच्चै महत्त्वपूर्ण छन् ... यीले दिशानिर्देश तय गर्छन् ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित) सान्दर्भिक सामग्री : मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारीमा निराशाजनक तथ्यांक गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा
काठमाडौं । आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गरिन्छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजाआराधना गर्ने प्रचलन छ । आज नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । काठमाडौंको भद्रकाली, दक्षिणकाली लगायतका मन्दिरमा सवारीसाधानको पूजा गर्नका लागि दर्शनार्थीहरु पुगेका छन् ।
सन नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । यो सुविधा ई–सेवा र खल्ती मार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई उपलब्ध हुनेछ । कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने छ । कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री हुने विश्वास व्यक्त गरेको छ ।
गरिमा विकास बैंकले सुरु गर्यो ‘गरिमा डिजी बटुवा’ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा मोबाइल बैंकिङ एप 'गरिमा डिजि बटुवा' मार्फत भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । यससँगै बैंकका ग्राहकहरूले आफ्नै मोबाइलमार्फत नयाँ प्रकारको डिजिटल भुक्तानी सुविधा उपभोग गर्न सक्ने भएका छन् । ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपछि उक्त सेवा आफ्नो मोबाइल बैंकिङ एपमा सक्रिय गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे नेटवर्कमा उपलब्ध कुनै पनि क्यूआर कोडमार्फत सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यो भर्चुअल क्रेडिट कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहनेछ । साथै, ग्राहकले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नेछन् । हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प पनि उपलब्ध छ । भौतिक कार्ड नभई मोबाइल बैंकिङ एपमार्फत भर्चुअल रूपमा उपलब्ध हुने यस सेवाले ग्राहकलाई थप सुरक्षित, सहज र आधुनिक डिजिटल बैंकिङ अनुभव दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । गरिमा विकास बैंकले हाल देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटिएमसहित नवीनतम डिजिटल बैंकिङमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
रौतहटमा प्राइम सिरामिकको १.३ मेगावाट सौर्य ऊर्जा परियोजना कार्यान्वयन सुरु
काठमाडौं । हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनतर्फ थप कदम चालेको घोषणा गरेको छ । कम्पनीले रौतहटस्थित आफ्नै कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना स्थापना गर्ने कार्य सुरु गरेको हो । यस प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । यसले करिब ८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नेछ भने हरेक वर्ष २१ हजार रुख बचत गर्ने बराबरको योगदान पुग्ने कम्पनीले जनाएको छ । उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले यसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई थप उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ । 'दिगोपनासँग घर फर्कनुहोस्... आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्' भन्ने मूल नारासहित कम्पनीले यस परियोजनाबाट हरित प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। सौर्य ऊर्जा परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले डीकेटीआइ कार्यक्रमअन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ । सहयोग सम्झौता कार्यक्रममा एइपिसीका कार्यक्रम अधिकृत निरज सापकोटा, कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्राको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।