सवारीसाधन लोन टु भ्यालु अनुपात ८० प्रतिशत पुर्याउन नाडाको माग
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी मुलुकको वर्तमान जटिल अवस्थाबारे छलफल गरेको छ । छलफलमा अध्यक्ष चौधरीले देशको शान्ति, अमनचयन र व्यवसायीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिँदै खस्किँदो अर्थतन्त्रलाई उकास्न सरकारले व्यवसायीमैत्री नीतिहरु ल्याउनुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रले भन्सार राजस्वमा २७ प्रतिशत योगदान दिँदै आएको उल्लेख गर्दै, नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ कार्यान्वयनपछि मूल्यवृद्धि हुने र लगानीकर्ताहरू नेपालमा विश्वस्त हुन नसक्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे । नाडाले सरकारलाई २२ बुँदे सुझाव प्रस्तुत गर्दै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि बैंकबाट प्रवाह हुने हायर पर्चेज लोनको लोन टु भ्यालु अनुपात ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउन आग्रह गर्यो । छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रनुका कारण तातोपानी भन्सारबाट सवारीसाधन नेपाल प्रवेशमा अवरोध भएको भए पनि चाँडै सञ्चालन हुने जानकारी दिए । साथै, प्रदूषण मापदण्ड कार्यान्वयनका असरबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल हुने र व्यवसायीका लागि प्रोत्साहन प्याकेज ल्याइने आश्वासन समेत दिए । अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका सुझावलाई मनन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनबाट भएको क्षति सम्बन्धी तथ्याङ्क संकलन गरी आवश्यक कदम चालिने बताए। उनले बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सुविधा उपलब्ध गराइने र कर प्रणालीमा राहतका उपायबारे मन्त्रिपरिषदमा छलफल गरिने जानकारी दिए । उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति उपस्थित थिए ।
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाएको छ ।
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
नोटबन्दीलाई हल्का रुपले नलिउ, सोच्दै नसोचौँ: अर्थविद् डा. गौचन
काठमाडौं । अर्थविद् डा. विश्वास गौचन नोटबन्दीको बारेमा सोच्दै नसोच्नु पर्ने बताएका छन् । केही नेताहरूको घरमा ठूलो मात्रामा नोट जलेको अवस्थामा भेटिएपछि ५ सय र १ हजारको नोटबन्दी गर्नु पर्ने धारणा आइरहेको बेला उनले भने नोटबन्दी आवश्यक नरहेको बताए । साथै, केही व्यक्तिले नष्ट भएको मुद्राको हिस्सा २० प्रतिशतदेखि २५ प्रतिशतसम्म अर्थात् १ खर्ब ३५ रुपैयाँदेखि १ खर्ब ७० अर्ब रुपैयाँसम्म रहेको आँकलन गर्नु अत्यन्तै हास्यास्पद एवं अतिरञ्जित भएको उनको भनाइ छ । यस्ता गम्भीर विषयमा बिना अध्ययन एवं प्रमाण प्रतिशत नै तोकेर आँकलन गर्नु उपयुक्त नहुने र यस्ता सूचनाले गलत निर्णय लिन सक्ने गम्भीर अवस्था सृजना हुन सक्ने उनले बताए । कालो धन जोड्ने, लुकाउने वा सोलाई सेतो बनाउने अन्य विविध सहज उपायहरू रहेको र ठूला नोट लुकाएर राख्नु मात्र विकल्प नभएको उनले बताए । राष्ट्र बैंकको वासलात अनुसार २०८१ असार मसान्तमा नेपालको अर्थतन्त्रमा कुल ६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको मुद्रा परिचालन भएको देखिन्छ । नेपालको सन्दर्भमा कालोधनलाई ठूला नोट कै रुपमा राखेको भए पनि कुल मुद्रामा यसको अंश अत्यन्तै सानो हुने उनले आँकलन गरेका छन् । साथै, तीमध्ये केही पछिल्लो घटना क्रममा खरानी भइसकेको उनको बुझाइ छ । ‘नोटबन्दी गरे पनि हाम्रो सिस्टम यति भ्रष्ट एवं निकम्मा छ कि कुनै न कुनै माध्यम तथा प्रक्रियाबाट ती नोट पुनः सिस्टममा फर्कने छ र भारतमा जस्तै सो कदम पूर्ण रुपले असफल हुने छ,’ उनले भने, ‘नोटबन्दी भनेको सरकारले लिने अत्यन्तै कठोर कदम हो, यसलाई हल्का रुपले लिने गल्ती गर्नु हुँदैन ।’ उनका अनुसार अवैध रुपमा ठूला नोटको परिचालन मार्फत हुने कालो धन निष्क्रिय पार्ने प्रमुख लक्ष्य सहित अन्य केही कारण देखाई सन् २०१६ मा भारतमा गरिएको नोटबन्दी ९९.३ प्रतिशत मुद्रा पुन औपचारिक सिस्टममा आएसँगै भारत सरकारको सो कदम पूर्ण रुपले असफल भएको थियो । नोटबन्दी जस्तो कठोर कदम लागू गर्ने क्रममा भारतको अर्थतन्त्रमा सर्वत्र गम्भीर नकारात्मक असर पर्नुको साथै लामो समय सम्म सर्वसाधारणले अत्यन्तै कठिन अवस्था झेल्नु परेको थियो ।
लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो १९ औँ साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कामना सेवा विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले १९ औँ वार्षिक साधारण सभा असोज २४ गते, काठमाडौंमा बिहान ११ बजे डाकेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, चालु आवको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड, राष्ट्र बैंकको डिभिजनमा पनि क्षति
काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७/३८ करोड रुपैयाँ बराबरकाे नगद र सुन लुटिएको बताए । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरेर ३७/३८ करोड रुपैयाँ लुटिएको छ । राष्ट्र बैंकको केही डिभिजनमा पनि क्षति पुर्याएको उनको भनाइ छ । ‘राष्ट्र बैंक परिषर बाहिर एनआरएनए भवनमा आक्रमण हुँदा सो भवनमा रहेका डिभिजनमा क्षति पुगेको छ । तर, कोर काम भएको ठाउँमा भने आक्रमण भएको छैन । तर, बैंकका ६८ वटा शाखा कार्यालय र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ,’ उनले भने, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरी ३७/३८ करोड रुपैयाँ लुटिएको छ ।’ सो शाखाबाट लुटपाट गर्नको अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘लुटेर पनि कहाँ लैजाला र ? सिसिटिभी हेरिरहेका छौं ।’ यस्तै, नबिल बैंकको चाबहिल शाखा, राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखा आक्रमण गर्न गएपनि धेरै क्षति नभएको उनले बताए । तर, अन्य ठाउँमा बैंकलाई लक्षित गरेर भन्दा पनि सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा आगजनी र तोडफोड गर्दा बैंकका शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुगेको उनको भनाइ छ । ‘बैंकहरू नै लुट्ने नै भन्दा पनि भाटभटेनीभित्र रहेको एटीएम तोडफोड गरिएका छन् । उनीहरुको उद्देश्य एटीएम भन्दा पनि भाटभटेनी थियो,’ उनले भने, ‘सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा रहेका बैंकको शाखा र एक्सटेन्सन काउण्टरमा आक्रमण भएको छ । तर, बैंक नै आक्रमण गरौं भनेर गएको भने देखिँदैन ।’ जेनजी आन्दोलनको समयमा भुक्तानी प्रणाली नियमित र डिजिटल पेमेन्ट एकछिन पनि नरोकिएको उनको दाबी छ । उनका अनुसार निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित छ । लकरमा राखिएको पैसा सुरक्षित छ । बैंक खातामा राखेको रकम जोखिममा छैन ।
पुनः निर्माण तत्काल अगाडि बढाउने, सरकारका कर्मचारीले बैठक भत्ता नलिने
काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनः निर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ । सोमबार भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको प्रक्रिया प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/सार्वजनिक खरिद अनुगमन कार्यालयले तत्काल अगाडि बढाउने प्रस्ताव अघि सारेको छ । बैठकले भनेको छ, ‘क्षतिग्रस्त संरचनाबारे प्रकोपपश्चातको आवश्यकता मूल्याङ्कनका लागि राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउन प्रस्ताव गर्नुपर्छ ।’ सचिव बैठकले वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्ने जिम्मेवारी पाएको सन्दर्भमा तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भय रहित वातावरणमा आम निर्वाचन गराउने कार्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको छ । यस विषम परिस्थितिमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, खानेपानी, स्वास्थ्य उपचार, सार्वजनिक यातायात, खाद्यान्न तथा औषधि आपूर्ति, टेलिफोन, विद्युत्, न्याय सम्पादनलगायत अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बद्ध निकायहरूले तत्काल आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको छ । निर्णयमा भनिएको छ, ‘२३ र २४ गतेको विरोध प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति हुन पुगेका भौतिक संरचना, यन्त्र, उपकरण, सवारीसाधन, फर्निचर, सूचना प्रणाली लगायतको वास्तविक क्षति तथा नोक्सानीको यथार्थ विवरण सम्बन्धित मन्त्रालय/निकायले तयार गर्नका साथै क्षतिपूर्तिका लागि गर्नुपर्ने कार्यको विस्तृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय/निकायले तत्काल कार्य प्रारम्भ गर्नेछ ।’ यस्तै, हालको विषम परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने, सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, कार्यालयले गर्ने राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार, कार्यशाला, अन्तरक्रिया जस्ता कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने गराउने र प्रदेश तथा स्थानीय तहको हकमा समेत सोही अनुसार गर्न गराउन अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले चालु आर्थिक वर्षमा स-साना रकम विनियोजन भएका आयोजना (टुक्रे आयोजना) को हकमा दायित्व सिर्जना भइ नसकेका आयोजना सबै मन्त्रालय तथा निकायले कार्यान्वयन नगर्ने र त्यस्ता आयोजनामा विनियोजित रकम क्षतिग्रस्त संरचनाको पुनः निर्माण/मर्मत सम्भार तथा यन्त्र उपकरण खरिदका लागि रकमान्तर/स्रोतान्तर गर्ने निर्णय पनि गरेको छ । आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचरलगायतका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने, ‘जेनजी’ युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रक्रिया चुस्त, मितव्ययी र प्रभावकारी बनाउन बाधक देखिएका मापदण्ड, कार्यविधि तथा निर्देशिका तत्काल खारेजी वा संशोधनको प्रक्रिया अगाडि बढाउने र नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्नुपर्ने कार्यालयमा कर्मचारी दरबन्दी रिक्त रहेको भए सम्बन्धित कार्यालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल पदपूर्ति गर्ने बैठकले निर्णय गरेको छ । सरकारले प्रदर्शनका क्रममा विभिन्न सरकारी निकाय, संस्थान र निजी घर तथा व्यावसायिक प्रतिष्ठानबाट चोरिएका/लुटिएका सामान सम्बन्धित निकाय वा नजिकको प्रहरी चौकीमा फिर्ता बुझाउन सार्वजनिक आह्वान गर्ने निर्णय भएको बैठकपछि जारी विवरणमा उल्लेख छ ।
कोरला नाकामा ३ सय कन्टेनर आईपुगे, थप १ हजार ५ सय कन्टेनर दसैँका सामान लिन जाँदै
काठमाडौं । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोरला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौंमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोरला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो । भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । बेनी, जोमसोम हुँदै कोरला नाकामा करिब ३ सय कन्टेनर पुगेका र थप १ हजार ५ सय कन्टेनर दसैँका सामान लिन कोरला जाने क्रममा रहेको उनले बताए । ‘कोरला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरू उत्साही भएका छौँ । गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरलाबाट सामान ल्याउँदा सस्तो पर्छ,’ उनले भने । कोरला नाकामा रहेको भन्सार कार्यालयका अधिकृत रमेश खड्काले दसैँका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरू बोकेका कन्टेनरहरू रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरलामा आएका बताए । समुद्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा प्रदेश सरकारले गत वर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट १५१ वटा विद्युतीय गाडी आयात भएका छन् । नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैँका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ । दशैँको मुखमा कच्चा पदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोरला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।