अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याब’ भवनसहित दर्जनौँ सवारी साधन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा अर्थ मन्त्रालयले ठूलो क्षति व्यहोर्नुपरेको छ । मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा रहेको ‘प्रिफ्याब’ भवन पूर्णरूपमा क्षति भएको छ । अर्थ मन्त्रालयका १६ वटा चारपाङ्ग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रूपमा क्षति भएका छन् । आन्तरिक राजस्व विभाग मातहतका दमक, इटहरी, विराटनगर, लाहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखरास्थित आन्तरिक राजस्व कार्यालयहरू पूर्णरूपमा क्षति भएका छन् । त्यसैगरी कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयहरू तथा इलाम र सिन्धुलीस्थित करदाता सेवा कार्यालयहरू आंशिक रूपमा क्षति भएका छन् । भन्सार विभाग मातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरू पूर्ण रूपमा क्षति भएका छन् भने विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयहरू आंशिक रूपमा क्षति पुगेका छन्, अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । उनका अनुसार महालेखा नियन्त्रक कार्यालय मातहतका काठमाडौं उपत्यकाका ३ र उपत्यकाबाहिरका ४ गरी जम्मा ७ वटा कोष तथा नियन्त्रक कार्यालयहरूको भौतिक संरचना क्षतिग्रस्त भएको छ । आन्दोलनका क्रममा ठूलो क्षति भए पनि अर्थ मन्त्रालय र मातहतका निकायहरूले आफ्नो सेवा भौतिक रूपमा दिन थालिसकेका छन् । प्रवक्ता पाण्डेयले भने, 'मिति २०८२ भाद्र २३ र २४ मा भएको प्रदर्शनबाट मन्त्रालय र अन्तर्गतका निकायहरूमा पुगेको भौतिक क्षतिबाट प्रभावित सेवा तथा राजस्व संकलनलाई सुचारु गर्ने सन्दर्भमा उच्च व्यवस्थापक समूहको बैठक बसेको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका केन्द्रीय निकायहरूको प्रमुख भौतिक संरचना, बजेट, भुक्तानी र राजस्व व्यवस्थापनसँग सम्बन्धित सूचना प्रविधि प्रणाली सुरक्षित रहेका छन् र २०८२ भाद्र २३ देखि रोक्का रहेको भुक्तानी प्रणाली सुचारु गरिएको छ ।' उनका अनुसार भन्सार कार्यालयहरूबाट भदौ २६ गतेदेखि नै सेवा प्रवाह सुरु भइसकेको छ भने आन्तरिक राजस्व विभाग मातहतको अनलाइन सेवा निरन्तर सञ्चालनमा छ । अर्थ मन्त्रालय तथा मातहतका अधिकांश कार्यालयहरूले आइतबारदेखि भौतिक सेवा पनि सुचारु गरेका छन् । अर्थ मन्त्रालयका अनुसार मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र मातहतका विभाग तथा कार्यालयहरूमा पुगेको क्षतिको थप विवरण संकलन गर्ने कार्य भइरहेको छ । पूर्ण तथा आंशिक क्षति भएका कार्यालयहरूको सरसफाइ कार्य कार्यालय प्रमुखको नेतृत्वमा कर्मचारीहरूले सुरु गरिसकेका छन्, जसले सेवा प्रवाह गर्न सहज वातावरण बनाउन सहयोग पुर्याइरहेको छ । सवारी साधन क्षति भएका कार्यालयहरूका लागि अत्यावश्यक सवारी साधन अन्तर–कार्यालयीय समन्वयमार्फत आन्तरिक रूपमा व्यवस्थापन गर्ने व्यवस्था सम्बन्धित विभागका महानिर्देशकले मिलाउने अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी मातहतका विभाग तथा कार्यालयहरूबाट हुने सेवा प्रवाह सहज बनाउन आवश्यक निर्णय लिन विभागहरूलाई निर्देशन दिइएको छ । साथै सेवा सहज बनाउन अन्य प्रक्रियागत विषय तथा सञ्चालनमा रहेका सूचना प्रविधि प्रणाली सुरक्षित गर्ने जिम्मेवारी पनि सम्बन्धित विभागलाई दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
काठमाडौं उपत्यकाका विद्यालयहरूमा पठनपाठन शुरु
काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरू क्रमशः सञ्चालन हुन थालेका छन् । सोमबारबाट काठमाडौं उपत्यकाका विद्यालयहरू सुचारु हुन थालेका हुन् । जेनजी आन्दोलनले त्रस्त विद्यालयहरू केही दिनका लागि बन्द गरिएको थियो । जेनजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएसँगै विद्यालयहरुले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए । अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन शुरु गरेका छन् । तर जेनजीका मागहरु पूरा नभएको भन्दै आइतबार साँझ जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आन्दोलन गर्दै नाराबाजीसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेसँगै स्थिति पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयको आँकलन छ । प्रधानमन्त्री कार्कीले जेनजीसँग छलफल नै नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै गुरुङ समूहले नाराबाजी गरेको थियो । उनीहरुले आफूहरुका माग पूरा नभए आन्दोलन नरोकिने पुनः सडकमा आउने चेतावनी दिएका छन् ।
पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल
गण्डकी । पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए । उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो पाँच रुपैयाँ छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो ८३ रुपैयाँ, अरुवा सोना मनसुली चामल प्रतिकिलो ५९ रुपैयाँ, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो ८५ रुपैयाँ, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो ५९ रुपैयाँ, चिनी प्रतिकिलो ९५ रुपैयाँ र जेठो बुढो चामल प्रतिकिलो २४५ रुपैयाँमा उपलब्ध गराउने जनाइएको छ । त्यस्तै प्रतिकिलो १० रुपैयाँ छुटसहित अरुवा बास्मती चामल प्रतिकिलो १२० रुपैयाँ, चिनो प्रतिकिलो २५५ रुपैयाँ, कागुनो प्रतिकिलो २५५ रुपैयाँ र जुम्ली मार्सी प्रतिकिलो २२५ रुपैयाँमा उपलब्ध गराइने उनले जानकारी दिए ।
हुलदंगा बीमा नेपाल रिमा मात्रै, हिमालयन रि जोगियो
काठमाडौं । नेपालका बीमा कम्पनीहरूले हुलदंगाको पुनर्बीमा नेपाल रिइन्स्योरेन्समा मात्रै गरेको पाइएको छ । यस अर्थमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण भएको क्षतिको ठूलो दबाब नेपाल रिमा पर्ने देखिएको छ । हिमालयन रि भने यस पटकको हुलदंगा बीमा क्षतिको भुक्तानी दिनुपर्ने दबाबबाट जोगिएको छ । सामान्यतया कुनै पनि बीमा कम्पनीले जारी गरेको बीमाको जोखिमलाई पुनर्बीमा कम्पनीहरूले बाँडफाँड गर्ने गर्छन् । हुलदंगा बीमाको हकमा पनि यही लागू हुन्छ । एक बीमा कम्पनीका स्रोतका अनुसार हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी ३५ प्रतिशत बीमा कम्पनीबाट र ६५ प्रतिशत रिइन्स्योरेन्स कम्पनीबाट बाँडफाँट हुने प्रावधान छ । स्रोतका अनुसार हुलदंगाको पुर्नबीमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरूसँग पनि गरिएको छ । गत २२ गते युवापुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर गरेको प्रर्दशनका कारण सार्वजनिक र निजी सम्पत्तिमाथि ठूलो क्षति पुग्यो । विश्वकै ठूलो चेन होटलमध्येमा पर्ने हिल्टन होटल पुनःनिर्माण नै गर्न नमिल्नेगरी जलेको छ । प्रारम्भिक अनुमान अनुसार हिल्टनमा मात्रै ८ अर्ब रुपैयाँको क्षति भएको छ । जसमा बीमा मात्रै ५ अर्ब रुपैयाँको रहेको खुलेको छ । त्यस्तै, भाटभटेनीका देशभरका दुई दर्जन स्टोरमा क्षति पुगेको छ । यसबाट पनि अर्ब रुपैयाँको दाबी बीमा कम्पनीमा पर्ने देखिएको छ । नेपाल बीमा प्राधिकरणले उक्त हुलदंगा तथा आतंकजन्य गतिविधिबाट के कति क्षति पुगेको छ मूल्यांकन गरी भुक्तानी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ। नेपालमा हुलदंगा र आतंकवादसम्बन्धी व्यवस्था निर्जीवन बीमा व्यवसायअन्तर्गत जमिनमा आधारित सम्पत्ति तथा घरसम्बन्धी बीमाको स्वीकृत बीमालेख तयार गरी त्यसका लागी आवश्यक पर्ने बीमादर निर्धारण तालिकासमेत निर्माण गरी प्रचलनमा ल्याउनका लागि बीमादर सल्लाहकार समितिको सिफारिसमा बीमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० जारी गरेको छ । सोही निर्देशनको परिच्छेद २ मा हुलदंगा तथा आतंकवादजन्य क्षति उल्लेख गरिएको छ । निर्देशनको परिच्छेद ३ मा बीमादरसम्बन्धी व्यवस्था गरिएको छ । सोही परिच्छेदको बुँदा ३० मा अनुसूची १६ मा रहनेगरी हुलदंगा तथा आतंकवादसम्बन्धी बीमादर निर्धारण गरिएको छ ।
चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दैः खुद्रा बिक्री, लगानी र रोजगारी निराशाजनक
काठमाडौं । अगस्ट महिनामा चीनको अर्थतन्त्रको मन्दी अझै गहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रमुख आर्थिक सूचकाङ्कहरूले अपेक्षाभन्दा कमजोर प्रदर्शन गरे । आन्तरिक माग सुस्त रह्यो र औद्योगिक क्षमता नाघ्ने अवस्थाविरुद्धको बेइजिङको अभियानले उत्पादन घटायो । राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार अगस्टमा खुद्रा बिक्री वार्षिक आधारमा ३.४ प्रतिशत बढ्यो, जुन रोयटर्स सर्वेक्षणमा विश्लेषकहरूले अनुमान गरेको ३.९ प्रतिशतभन्दा कम हो र जुलाईको ३.७ प्रतिशत वृद्धिदरभन्दा सुस्त छ । एलएसईजीका तथ्याङ्कअनुसार औद्योगिक उत्पादनको वृद्धिदर पनि जुलाईको ५.७ प्रतिशतबाट घटेर अगस्टमा ५.२ प्रतिशतमात्र भयो, जुन अगस्ट २०२४ पछि सबैभन्दा न्यून हो । अर्थशास्त्रीहरूले भने यो दर जुलाईकै जस्तै रहने अपेक्षा गरेका थिए । स्थिर सम्पत्ति लगानी (फिक्स एसेट इन्भेस्टमेन्ट) वर्षको सुरुदेखि अगस्टसम्म जम्मा ०.५ प्रतिशतमात्र बढ्यो, जुन जनवरीदेखि जुलाईसम्मको १.६ प्रतिशत वृद्धिदरभन्दा तीव्र सुस्त हो र अर्थशास्त्रीहरूको १.४ प्रतिशत वृद्धिको अपेक्षाभन्दा पनि तल हो । यस अवधिमा रियल इस्टेट लगानी १२.९ प्रतिशत घटेको छ । उत्पादन र युटिलिटी क्षेत्रमा (बिजुली, इन्धन र पानी आपूर्ति) लगानी क्रमशः ५.१ प्रतिशत र १८.८ प्रतिशत बढेको देखियो । कन्फरेन्स बोर्डको चीन सेन्टरका प्रमुख अर्थशास्त्री युहान झाङका अनुसार स्थिर सम्पत्ति लगानी प्रायः राज्य स्वामित्वका उद्यमहरूले धानेका छन्, जबकि निजी क्षेत्रको लगानी घटेको छ । उनले भने, ‘उत्पादन क्षेत्रमा लगानी ’सामान्य र असमान’ देखिएको छ, मुख्यतया पूर्वाधार, उच्च प्रविधि र औद्योगिक उन्नतिमा राज्यको नीतिगत लगानीका कारण । तर, रियल इस्टेट गतिविधि कमजोर नै छ ।’ अगस्टमा चीनको सर्वेक्षण–आधारित सहरी बेरोजगारी दर ५.३ प्रतिशत पुगेको छ, जुन जुलाईको ५.२ प्रतिशतभन्दा केही बढी हो । तथ्याङ्क ब्यूरोले यसलाई स्नातक सिजनका कारण भएको बतायो । ‘हामीलाई थाहा छ कि बाह्य वातावरणमा अझै धेरै अनिश्चितता र अस्थिरता छन्, र राष्ट्रिय अर्थतन्त्र बहुविध जोखिम र चुनौतीहरूको सामना गरिरहेको छ,’ तथ्याङ्क ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘हामीले पूर्ण रूपमा म्याक्रो नीतिहरू लागू गर्नुपर्छ, रोजगारी, व्यवसाय र बजारको विश्वास स्थिर राख्नमा ध्यान दिनुपर्छ, सुधार र खुलापन र नवप्रवर्तनलाई गहिरो बनाउनुपर्छ, जसले स्थिर र स्वस्थ आर्थिक विकासलाई प्रोत्साहन दिनेछ ।’ अगस्टमा मोटर गाडी बाहेक खुद्रा बिक्री वार्षिक आधारमा ३.७ प्रतिशत बढ्यो । ग्रामीण क्षेत्रमा खपत वृद्धि सहरी क्षेत्रमा भन्दा छिटो रह्यो, ग्रामीण खपत वार्षिक ४.६ प्रतिशत बढेको देखियो । वक्तव्यपछि पत्रकार सम्मेलनमा एनबीएसका प्रवक्ता फु लिङहुईले उपभोक्ता मुद्रास्फीति टर्निङ पोइन्टमा पुगेको हो कि होइन भन्न गाह्रो रहेको बताए । तर उनले उपभोक्ता मूल्यहरू अस्थिर रहने अपेक्षा गरे । अगस्टमा चीनको उपभोक्ता मूल्य सूचकाङ्क वार्षिक ०.४ प्रतिशत घट्यो, जुन अपेक्षाभन्दा बढी हो र उत्पादक मूल्यहरूमा डिफ्लेशन लगातार तेस्रो वर्ष कायम रह्यो। फुले आयातजन्य मुद्रास्फीतिबारे अनिश्चितता रहेको स्वीकार गरे – जहाँ आयातित वस्तुहरूको मूल्य युआन कमजोर हुनु, विश्वव्यापी वस्तु मूल्य बढ्नु वा बढी भन्सार दरका कारण बढ्न सक्छ । उनले ‘एन्टी–इनभोलुसन’ नीतिहरूको उल्लेख गरे जसले अनावश्यक प्रतिस्पर्धा र मूल्य युद्धलाई नियन्त्रण गर्ने प्रयास गर्छ र यसले अन्ततः उपभोक्ता मूल्यहरूमा असर गर्नेछ । सबैभन्दा बढी वृद्धि भएका वस्तुहरूमा सुन, चाँदी र गहनाका बिक्री १६.८ प्रतिशत बढे, खेलकुद तथा मनोरञ्जन सामग्रीको बिक्री १६.९ प्रतिशत र फर्निचरको बिक्री १८.६ प्रतिशत बढ्यो । सबैभन्दा कमजोर खपत पेट्रोलियम, र तमाखु तथा मदिरा सम्बन्धी उत्पादनहरूमा देखियो । सेवा खपत भने बढ्दो छ, विशेष गरी यात्रा, मनोरञ्जन र यातायातमा जसले खपत बिस्तारै सेवातर्फ सर्ने संकेत गर्छ। गोल्डम्यान साक्सका चीन अर्थशास्त्री लिसेङ वाङका अनुसार खुद्रा बिक्रीमा मन्दी मुख्यतया घरेलु उपकरण र इलेक्ट्रोनिक्सको कमजोर मागका कारण हो किनकि बेइजिङको उपभोक्ता वस्तु एक्सचेन्ज अनुदानको प्रभाव मन्द हुँदै गएको छ । वाङले भने, ‘सेप्टेम्बरदेखि खपत वृद्धि अझै सुस्त हुने अपेक्षा गरिएको छ र लक्षित तथा क्रमिक सहजता आवश्यक रहनेछ ।’ चीनको सीएसआई ३०० सूचकाङ्क तथ्याङ्क सार्वजनिक भएपछि करिब १ प्रतिशत बढ्यो। पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेई झाङले भने, ‘यो मन्दी बजारका लागि आश्चर्यजनक होइन ।’ किनकि लगानीकर्ताहरूले तेस्रो त्रैमासिकमा वृद्धि सुस्त हुने अपेक्षा पहिले नै गरेका थिए । ‘बेइजिङले ५ प्रतिशत वृद्धि लक्ष्य छुट्ने खतरा देखे मात्र ठूलो प्रोत्साहन प्याकेज ल्याउने सम्भावना छ, अन्यथा हालको राजस्व नीति सानो स्तरमा मात्र सहयोगी हुनेछ,’उनले थपे । गोह चेंग लियाङको निर्णयले विश्व चकित, ६ नाति–नातिनी एकै रातमा अर्बपति
मेरो घर जलाइयो, सम्पत्ति खरानी बनाइयो तर हाम्रो यात्रा रोकिने छैन : गोकर्ण विष्ट
काठमाडौं । नेकपा (एमाले) सचिव गोकर्ण विष्टले हालै भएको घटनापछि आफ्नो भावनात्मक विचार सार्वजनिक गरेका छन् । निजी निवासमा आगजनी र सार्वजनिक सम्पत्ति ध्वस्त भएपछि उनले एक विज्ञप्ति जारी गर्दै प्रतिक्रिया दिएका हुन् । विष्टले भनेका छन्, 'यतिबेला हामी विगतको समीक्षा गर्दै आगामी यात्रा तय गर्ने र घटनाका पीडितलाई सहयोग तथा ध्वस्त संरचनाको पुनर्निर्माणमा जोड दिने घडीमा छौं । यतिबेला मैले शोषण, दमन, अन्याय, अत्याचार र विभेदको अन्त्य गर्दै गरिबीबाट जनतालाई मुक्त गर्ने र सशक्त राष्ट्रको रूपमा नेपाललाई माथि उठाउने उद्देश्यका साथ निर्माण भएको हाम्रो पार्टीको यात्रासँगै आफ्नै राजनीतिक यात्रा पनि सम्झिरहेको छु ।' जीवनभर सामाजिक काममै समर्पित रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'जे सकेँ, देश र जनताकै लागि सोचेँ र हरसम्भव प्रयास गरेँ । तर यतिबेला मेरो घर पनि जलाइएको छ। सयौं व्यक्तिको निजी सम्पत्ति र सार्वजनिक सम्पत्ति नष्ट गरिएको छ । देशका ऐतिहासिक र महत्वपूर्ण दस्तावेज खरानी बनाइएको छ । यो कसले र किन गर्यो ? छिट्टै समयले बाहिर ल्याउने नै छ ।' विष्टले आफू इमानदार र मेहनती रहेको दाबी गर्दै थपेका छन्, 'म मेहनत र इमानदारीतामा विश्वास गर्दछु । मेरो राजनीतिक र सामाजिक यात्राको सन्दर्भमा समाजमा उठ्ने जुनसुकै प्रश्नको कसिमासमेत उभिन तयार छु ।' अचानकका घटनाले निराशा ल्याउन खोजे पनि विष्टले पार्टी र कार्यकर्तालाई दृढ सन्देश दिएका छन् । उनले भने, 'कमरेडहरू, अचानकका घटनाले सबैकुरा सकिए जस्तो र आगामी यात्रा पनि रोकिए जस्तो लाग्न सक्छ। तर हाम्रो यात्रा रोकिने छैन । इतिहासका अनेक प्रतिकूलतामा हाम्रो पार्टी नेकपा (एमाले) अझ बलियो भएर उठ्ने छ । यस पटक पनि हामी पार्टीलाई नयाँ जीवन दिनेछौं र अझ बलियो भएर उठ्नेछौं ।' उनको भनाइमा अहिलेको चुनौतीबाट पार्टीलाई पुनः एकजुट बनाउन, जनभावना अनुसार सच्चिन र नयाँ ऊर्जा सिर्जना गर्न जोड दिइएको छ । विष्टले भने, 'एकता, सामूहिकता, आत्मविश्वास र नयाँ ऊर्जा नै हाम्रो शक्ति हो। समयको माग र जनभावना अनुसार सच्चिनेछौं । थप बलियो भएर उठ्नेछौं ।'
संसद् सचिवालयद्वारा प्रदर्शन क्रममा घर लगिएका सामान फिर्ता गर्न आग्रह
काठमाडौं । सङ्घीय संसद् सचिवालय यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनबाट लगिएको सामान फिर्ता गर्न अनुरोध गरेको छ । सङ्घीय संसद् सचिवालय (आन्तरिक सेवा तथा योजना शाखा) ले आइतबार सूचना जारी गरी सङ्घीय संसद् सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका सामान अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएको उल्लेख गर्दै ती सामान फिर्ता गर्न आग्रह गरेको हो । सचिवालयले भनेको छ, 'उल्लिखित मालसामान लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक आह्वान गरिन्छ, भिडिओ/सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने छ ।'