विकासन्युज

जेल फर्कने बेलामा रवि भन्छन् : ‘न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री पाएका छौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय प्राप्त हुने विश्वाससहित कारागार फर्कन लागेको बताएका छन् । उनले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएको भन्दै अब आफूलाई अन्याय नहुने आशा रहेको उल्लेख गरेका छन् । आज आफ्नो जन्मदिन परेको प्रसंग जोड्दै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस र भिडियो सन्देश जारी गर्दै भनेका छन्, 'पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुँदैन भन्ने आशा सहित म कारागार जाँदैछु ।' नख्खु कारागारमा रहेका लामिछाने भदौ २४ गते जेनेरेशन जेड (जेन्जी) आन्दोलनका क्रममा बाहिर निस्किएका थिए। सुरुमा उनले आफू कारागार प्रशासनकै निर्णयअनुसार बाहिर निस्किएको दाबी गरेका थिए । तर, प्रशासनले उनलाई थमाएको भनिएको पत्रबारे औपचारिक जानकारी नदिएपछि यसबारे आलोचना बढेको थियो । आलोचना चर्किएपछि लामिछाने स्वयं कारागार फर्किन लागेका हुन् । उनले यस विषयमा अनावश्यक मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउने

गण्डकी ।  ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयानुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए । यसैगरी, यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ ।  जिल्लामा विकसित घटनाक्रम र शान्तिसुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र कर्फ्यू आदेश आजै बिहान ९ः०० बजेदेखि हटाइएको छ । कर्फ्यू र निषेधाज्ञा हटेसँगै सार्वजनिक यातायात र बजार क्षेत्र सञ्चालनमा आउन थालेका छन् । 

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने - हाम्रो योगदान खेर नजाओस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।   'प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,' डा. रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।    कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् ।  अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।  

रूसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की शहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो। भूकम्पको गहिराइ ३९.५ किलोमिटर थियो । शुरूवातमा यस भूकम्पको  ७.५ म्याग्निच्युड बताइएको थियो, तर पछि ७।४ म्याग्निच्युड रहेको जनाइएको छ । प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले शुरुमै यस भूकम्पका कारण 'खतरनाक' सुनामीका लहरहरू उत्पन्न हुने चेतावनी दिएको थियो, जसको उचाइ १ मिटर (३.३ फीट) सम्म हुन सक्थ्यो । पछि भने, उक्त चेतावनी हटाइयो र 'सुनामीको खतरा अब टरेको' भनेको छ ।  यस भूकम्पको कारण कुनै ठूलो सुनामी उत्पन्न भएको छैन र त्यसले तटीय क्षेत्रहरूमा खास असर गरेको पनि देखिएको छैन । साथै, जुलाई महिनामा क्यामचात्का प्रायद्वीपमा एक अत्यन्त शक्तिशाली भूकम्प ८.८ म्याग्निच्युडको आएको थियो । यस भूकम्पले प्रशान्त महासागरमा ४ मिटर (१३ फीट) उचाइका सुनामीका लहरहरू उत्पन्न गरेको थियो । यो भूकम्प २०११ मा जापानको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । क्यामचात्का क्षेत्रको भूकम्पीय गतिविधि उच्च म्याग्निच्युडका भूकम्पहरूको लागि प्रसिद्ध रहेको र भविष्यमा यस्ता घटनाहरू घट्न सक्ने सम्भावना पनि रहेको छ।  

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडाैं । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् । आज बिहानदेखि नै पूरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगाययका सरसामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो । पुरानै फर्निचर, सरसामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ । आगजनी भएको पाँचौँ दिन पनि सिंहदरबाको मुल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सरसामग्री छरपष्ट छन् । यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठूलै सङ्ख्या स्वस्फूर्तः रुपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् । अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कङ्काल’ अवस्थामा रहेका छन् । मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन् । आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहनुभएका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए । ‘सरसफाइको काम अघि बढाएका छौं, समय लाग्छ, सरसफाइ सकेर मर्मतसम्भारमा लाग्छौं’, प्रवक्ता सापकोटाले भने, ‘कर्मचारीबाट जुटेर गर्न सकिनेसम्मका काम सकेसम्म गर्छौं ।’ आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ । प्रवक्ता सापकोटाले भने, ‘क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचर, टेलिभजन सेटमा क्षति पुगेका छन् ।’ आफैँ जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ । संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरुले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ । शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चानका लागि प्रेरित गर्नेछ । रासस

प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए । प्रमुख डा. रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए ।

जेन्जी आन्दोलन सत्यतथ्य उजागर गरेर मात्र निष्कर्षमा पुग्छ : माधव ढुङ्गेल

काठमाडौं । नेकपा (एमाले) का संगठन विभाग सचिव माधव ढुङ्गेलले हालको समसामयिक राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले एमालेलाई लामो इतिहास बोकेको, संघर्षको मैदानबाट आएका करिब सात लाख सदस्य भएको जिम्मेवार राजनीतिक शक्ति भएको उल्लेख गर्दै, 'हामी जस्ता सुकै अप्ठ्यारो अवस्थाको पनि व्यवस्थित ढंगले समाधान खोज्दै आएका छौँ,' भने । ढुङ्गेलका अनुसार राष्ट्रिय स्वाधीनताको क्षेत्रमा एमालेले खेलेको भूमिका ऐतिहासिक र गौरवपूर्ण रहँदै आएको छ, जसलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । वर्तमानमा चर्चामा रहेको जेन्जी आन्दोलनबारे बोल्दै उनले भने, 'जेन्जी भनेका हाम्रा घरका भाइबहिनी, छोरा–छोरी हुन् । उनीहरूले खोजेको सुशासन र पारदर्शिता नै हाम्रो पनि मुद्दा हो ।' भदौ २३ र २४ गते भएका घटनाबारे उनले स्पष्ट छानबिन हुनुपर्ने औंल्याउँदै, 'घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कडा भन्दा कडा कारबाही हुनैपर्छ,' भनेका छन् । ढुङ्गेलका अनुसार यस विषयमा पार्टीको आधिकारिक धारणा महासचिवको वक्तव्यमार्फत सार्वजनिक भइसकेको छ, र आफूले त्यसकै वरिपरि आफ्ना विचारहरू प्रस्तुत गर्ने गरेको स्पष्ट पारे । उनले थपे, 'पार्टीको आधिकारिक धारणा बाहेक अन्य कुनै समाचारमा मेरो नाम जोडेर प्रसारण भएको भए त्यो मेरो विचार होइन ।'

प्रतिनिधिसभा विघटनविरुद्ध आठ दलले गरे संयुक्त विरोध

काठमाडौं । प्रतिनिधिसभामा रहेका आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । ती दलका प्रमुख सचेतकहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै भदौ २७ गते राति गरिएको भनिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति जनाएका हुन् । संयुक्त वक्तव्यमा उनीहरूले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै यसलाई अस्वीकार गर्ने घोषणा गरेका छन् । उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान विपरीतका कार्यलाई कुनै हालतमा समर्थन गर्न सकिँदैन । प्रमुख सचेतकहरूले प्रतिनिधिसभा विघटन नेपालको संविधानको धारा ७६ को उपधारा (७) विपरीत भएको र सर्वोच्च अदालतले यसअघि प्रतिपादन गरेको नजिरसमेत तोडिएको बताएका छन् । संयुक्त वक्तव्यमार्फत उनीहरूले प्रतिनिधिसभा विघटनको निर्णय तत्काल फिर्ता लिन र संसद्को बैठक तुरुन्त आह्वान गर्न माग गरेका छन् ।