तोडफोडबारे अध्यक्ष ढकाल भन्छन् - आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उद्यमी चन्द्र ढकालले हालैको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको तोडफोड तथा आगजनी घटनाप्रति पीडा व्यक्त गर्दै निजी क्षेत्र निराश नहुन आग्रह गरेका छन् । ढकालले शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफू शून्य पुँजीबाट व्यवसाय सुरु गरेर आजको अवस्थामा आइपुग्दा चार दशकको मेहनत, इमान्दारिता र निरन्तरताले ठूलो भूमिका खेलेको स्मरण गरेका छन् । 'हिजो मलेसियामा रहेका श्रमिकहरूको कठिनाइ देखेर सुरु गरिएको सानो व्यवसाय आज हजारौँ नेपालीको रोजगारीसँग जोडिएको छ । तर अहिले देशकै ठूलो लगानी भएका आयोजनामा क्षति हुँदा मन भारी भएको छ,' उनले उल्लेख गरेका छन् । उनले प्रदर्शनका क्रममा आफ्ना व्यवसायमा पनि तोडफोड र आगजनी भई ठूलो नोक्सानी पुगेको जानकारी दिँदै भनेका छन्, 'अर्बौँ लगानी भएका आफ्नै आयोजना सुरक्षित नहुँदा विदेशी तथा स्वदेशी लगानीकर्ताको मनोबल गिर्ने डर छ । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सार्वजनिक नगर्न आग्रह गरेको थिएँ ।' तर, उद्योगी–व्यवसायी निराश हुन नदिन केही भन्न बाध्य भएको उनले स्पष्ट पारेका छन् । ढकालका अनुसार हालैको घटनामा हजारौँको रोजगारी संकटमा परेको छ, अर्बौँको संरचना खरानी भएको छ र लगानी धरापमा परेको छ । उनले विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला संकट भोगिसकेकाले अहिलेको कठिनाइलाई पनि नयाँ अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 'हामी उद्यमी व्यवसायीहरुले फेरि सम्हालिएर अघि बढ्नुपर्छ । आजैदेखि क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माणमा होमिनुपर्छ, थप लगानी गरेर रोजगारी सिर्जनामा लाग्नुपर्छ,' ढकालले भनेका छन् । उनले नयाँ पुस्तालाई निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको कुरा बुझाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, 'निजी क्षेत्रबिना समृद्ध नेपाल सम्भव छैन । ८१ प्रतिशत भन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई कमजोर पार्ने सुविधा हामीसँग छैन ।' ढकालले सबै व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै लेखेका छन्, 'आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल र साहस कहिल्यै जल्दैन । विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, निर्माण गर्नुछ र भावी पुस्तालाई प्रेरणा दिनुछ ।' यस्तो छ उनको पोस्ट सबैमा नमस्कार जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिएँन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्वर माटोमा सिँचाइ गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो। र अहिले पनि छँदैछ । त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ। हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रूपमा अवस्थित छ । मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी तीन कुरामा ध्यान दिने गर्दथेँ । राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन व्यवसाय बन्नसक्ने सम्भावना । यिनै क्षेत्रमा हामी अघि बढ्दै जाँदा आज हाम्रो व्यवसाय २० हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको प्रत्यक्ष रोजगारीसँग जोडिन पुगेको छ । अप्रत्यक्ष त लाखौँ होला, अहिले म त्यता जान चाहन्न । हामीले सुरु गरेको व्यवसाय जुन–जुन क्षेत्रमा विस्तार भयो, ती सबै केवल रोजगारी सिर्जना गर्न मात्र नभएर तीमार्फत् मुलुकमा साझेदारी र सेवाको संस्कृति निर्माण भएका छन् । अनि जेजहाँ स्थापित र विस्तारित छन् ती सबैमा स्थानीयसँगको बलियो हातेमालो छ। किनभने ‘व्यवसायबाट मैले मात्र आर्जन गरेर मुलुक समृद्ध हुँदैन’ भन्ने भावनाले प्रेरित हाम्रा पाइला सबैसँग लगानी साझेदारी गर्दै अघि बढेका हुन् । प्रत्येक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व रहोस् भनेर हामीले सेयरमार्फत् स्थानीय साझेदारिताको मोडेल अपनाएका छौँ । रोजगारीमै पनि उहाँहरू पहिलो प्राथमिकतामा हुनुहुन्छ । त्यसकारण त हाम्रा पर्यटनलगायतका स्थानीय पूर्वाधारहरू सबैका साझा सम्पत्तिका रूपमा स्थापित र सेवारत रही आएका छन् । हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो । उहाँहरूको त्यही दुःख देखेर उहाँहरूले दुःख जिलो गरेर जम्मा गरेको दुईचार पैसा औपचारिक माध्यमबाट उहाँहरूका घर–आफन्तसम्म पुर्याउने अठोटका साथ मलेसियाबाट सुरु गरेको व्यवसाय आजको विस्तारित स्वरूप उहाँहरूकै आशीर्वादको परिणाम हो भन्ने लाग्दछ । उहाँहरूको यही आशीर्वाद, समग्र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सद्भावमा हाम्रो मेहनत एवं पसिना मिसाउँदा लागेको फलले नै हाम्रो व्यवसायिक जग र ब्रान्डमा मुलुकमा कैयौँ व्यावसायिक राजमार्ग निर्माण हुन सकेको हो। मलाई हरेक पलमा आनन्द दिने माध्यमहरू पनि यिनै हुन् । तर आज भने मेरो मन भारी भएको छ । देश बनाउने सपना साँचेर शून्यबाट सुरु गरेको यात्रामा म यतिखेर जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा छु । अर्बौँ लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँसु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन। मैले यसो गर्दा एकातिर हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ भने अर्कातर्फ मजस्तै क्षति पुगेका अरू व्यवसायीहरूलाई मैले नै अमिलै मनले भए पनि सान्त्वनाको धाप मार्नुपर्ने अवस्था छ। म मुलुकका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । हरेक तह, समूह या सर्कलले अप्ठेरोमा अभिभावकको खोजी त गरिनै हाल्छ । सायद मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भनेको यस्तै समय र परिस्थितिमा होला। सम्पूर्ण निजी क्षेत्रलाई हौसला दिनुपर्ने ठूलो जिम्मेवारी मेरो सामु छ । हिजोका दिनमा भूकम्पले धरहरासँगै व्यवसायीका मनहरू ढलिरहँदा पनि मैले मुलुकका उद्योगी व्यवसायीहरूलाई धुलो टक्टकाएर उठौँ र आफ्ना काम, व्यवसायमा लागिहालौँ भनेर हौसला दिएको अहिले सम्झँदैछु । कसैले कहिल्यै कल्पनै नगरेको कोरोना महामारीले देश र व्यवसाय थिलथिलो पर्दा र आफैँ कोरोनाको कहरमा हुँदा पनि मैले व्यवसायीहरूलाई सटर बन्द नगरौँ, हामी उठ्नुपर्छ भनेर हौसला प्रदान गरेको सम्झँदैछु । अहिले पनि अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ, हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ । यी हरेक दुःखमा म आफैँ पनि घाइते छु तर व्यावसायिक नेतृत्वमा रहेकाले साथीहरूलाई मलम लगाएर उठ्न हौसला दिइरहेको छु । भदौ २३ र २४ गते जेन–जि पुस्ताको प्रदर्शनका क्रममा भएको घुसपैठमा मुलुकभर धेरै उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि आक्रमण भयो । त्यसक्रममा हामीले लगानी गरेका उद्योग व्यवसायमा समेत तोडफोड र आगजनी भयो। ठूलो क्षति पुर्याइएको छ। मुलुकको अर्थतन्त्र सुधार गर्न, वैदेशिक लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन लागिरहेको म एउटा उद्योगी र मुलुककै निजी क्षेत्रको ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा मेरो आफ्नै व्यवसाय सुरक्षित नहुँदा आम स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल गिर्ने र नकारात्मक सन्देश प्रवाह हुने भयले मन अमिलो भयो । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सेयर नगर्न कर्मचारीहरूलाई आग्रह पनि गरेँ । तर, सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक भएपछि, आम उद्योगी–व्यवसायीलाई निराश हुन नदिऊँ, मनोबल खस्कन नदिऊँ भन्ने उद्देश्यले केही कुरा भन्न आवश्यक देखेँ । हो, सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योगी व्यवसायी साथीहरूको उद्योग, व्यवसाय र निजी आवास तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हजारौँको रोजगारी संकटमा परेको छ, अर्बौँको संरचना खरानी भएको छ, लगानी धरापमा परेको छ । यसले हामी सबैलाई मर्माहत बनाएको छ । दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका हामी हालैको आर्थिक मन्दीबाट तङ्ग्रिने प्रयासमा थियौँ । अस्तिको प्रदर्शनका क्रममा धेरै सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भएको छ । तथापि, यावत् प्रतिकूलताका बाबजुद हामी फेरि सम्हालिएर अघि बढ्नुपर्ने बाहेक हामीसँग अर्को विकल्प छैन । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौँ। आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरूलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ । नयाँ पुस्तालाई बुझाऔँ निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन । निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिँदैन । उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रा हात एवं भनौँ कर्ममा छ भने हामीले नै बनाउनु छ देश र जेन–जिहरूमा पनि आशा हामीले नै भर्नु छ। यसरी सोचौँ कि भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस् । उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् । आदरणीय व्यवसायी साथीहरू, तपाईंले आफ्नो जीवनभरको पसिना, सपना र समर्पणका इँटाले बनाएको घर र व्यवसाय आफ्नै आँखा अगाडि दन्दनी जल्दै खरानी भएको देख्नुपर्दा पीडा त हुन्छ नै । सायद मेरा यी शब्दहरूले यहाँहरूको त्यो पीडा उतार्न र सान्त्वना भर्न सक्दैनन् । किनभने यो क्षण भनेको केवल आफ्ना हातले सिर्जना गरेका भौतिक सम्पत्तिको क्षति मात्र होइन कि मन, समर्पण र सपनामाथि लागेको अपुरणीय चोट पनि हो । तर पनि यसरी चित्त बुझाऔँ कि आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन–मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन । तपाईं हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । हाम्रो धैर्यता, संघर्ष र मेहनत गर्ने हाम्रो नियमितता र क्षमता नै हामी सबैको वास्तविक सम्पत्ति हो । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ, र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ। हामी उद्यमी, व्यवसायीहरूले आफूलाई कदापि एक्लो नठानी सबैको दुःखलाई आफ्नै ठानेर फेरि अझै सबल भएर उठ्न र अघि बढ्न लाग्नुपर्दछ। विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ। फेरि उठ्नुछ, अघि बढ्नुछ, निर्माण गर्नुछ र हाम्रा साहस र आत्मबलले भविष्यको पुस्तासम्म नै प्रेरणा छर्नुछ। आउनुहोस् सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ।
सामान्य सेवा मात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो । अहिले यी निकायहरुले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमशः सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ भने अरु संरचनाबाट तत्काल सेवा दिन सक्ने अवस्थामा मन्त्रालय रहेको छ । मन्त्रालयअन्तर्गतका मुख्य तीनवटा सफ्टवेयरहरु र त्यसको तथ्याङ्क सुरक्षित रहेको जानकारी पनि उनले राससलाई दिए । 'बजेट महाशाखाअन्तर्गतका केही शाखामा क्षति पुगेको छ । मन्त्रालयगत बजेट बजेट सूचना प्रणाली (एलएमबिआईएस), भन्सारअन्तर्गतको आसिकुडा र करतर्फको एकीकृत कर प्रणाली (आईटिएस) सुरक्षित छ', उनले भने । उनका अनुसार आगजनीबाट मन्त्रालयका २५ वटा कार पूर्णरुपमा जलेर नष्ट भएका छन् भने २० हाराहारी कारमा आंशिक क्षति पुगेको छ । त्यस्तै ४० वटा मोटरसाइकल जलेर नष्ट भएको प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिए । अहिले देशभरका भन्सार र कर कार्यालयहरुको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । भन्सारको सेवा सञ्चालनमा आइसकेको छ भने आन्तरिक राजस्व कार्यालयको अनलाइन सेवा मात्रै सञ्चालनमा छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालका अनुसार काठमाडौँ उपत्यका बाहिरका चार–पाँच वटाबाहेक सबै कर कार्यालयमा क्षति पुगेको छ । 'सरकारले काम सुरु गर्नु भन्यो भने काठमाडौं उपत्यकाभित्रका कार्यालयहरुबाट तत्काल सेवा दिन सक्ने अवस्थामा छन् । तर, काठमाडौं बाहिरका धेरै वटा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन्', महानिर्देशक दाहालले भने । उनका अनुसार दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, हेटौँडा, वीरगञ्ज, सिमरा, दमौली, पोखरा, भैरहवा, बुटवल, नेपालगञ्ज, डडेलधुरा, धनगडी कर कार्यालय पूर्णरुपमा नष्ट भएका छन् । यी कार्यालयबाट तत्काल सेवा दिन सक्ने अवस्था नरहेको दाहालको भनाइ छ । जतिसक्दो चाँडो सेवा पुनःसञ्चालनका लागि प्रयास भइरहेको उनले बताए । 'कर कार्यालयहरुमा पुगेको क्षतिको विवरण सङ्कलनका लागि अहिले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मुचुल्का बनाउने काम भइरहेको छ । त्रिपाल टाँगेर भए पनि सेवा दिन सकिन्छ कि भनेर वैकल्पिक व्यवस्थामार्फत सेवा दिनका लागि पनि तयारी गर्न भनिएको छ', उनले भने, 'अहिले कर कार्यालयको अनलाइन सेवामा समस्या छैन । धेरै काम अनलाइनबाटै हुने गरेको छ । तर अधिकांश कार्यालयबाट भौतिक रुपमा सेवा दिन सक्ने अवस्था छैन ।' जेनजी समूहबाटै आन्तरिक राजस्व विभागको वेभसाइटमा साइबर आक्रमणसमेत भएको थियो । केही समय ह्याकरको कब्जामा पुगेकोमा त्यसलाई फिर्ता ल्याउन सफल भएको उनले बताए । भद्रपुर, धरान, कावासोती, जुम्ला, कृष्णनगर, सुर्खेत, महेन्द्रनगर कर कार्यालयमा क्षति नरहेकाले तत्काल सेवा दिन सकिने अवस्थामा छन् । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार भन्सार सेवा सञ्चालनमा आइसकेको छ । दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक खाद्यान्न, फलफूल, ग्यास, तेललगायतका वस्तुको जाँचपासलाई प्राथमिकतामा दिइएको उनले बताए । 'भद्रपुर, काकरभिट्टा, विराटनगर, भैरहवा, कैलाली र जनकपुर भन्सार कार्यालयमा धेरै क्षति पुगेको छ । क्षतिको वास्तविक विवरण आइसकेको छैन । अहिले जिल्ला प्रशासन र प्रहरीसँगको समन्वयमा मुचुल्का तयार पार्ने काम भइरहेको छ', बर्तौलाले भने । भौतिक संरचनामा क्षति भए पनि भन्सार जाँचपासका लागि प्रयोग हुने आसिकुडा प्रणालीमा क्षति नपुगेको सीमित स्रोतसाधनबाटै वस्तु जाँचपास सुरु गरिएको उनको भनाइ छ । चीनतर्फतको कोरला नाका भोलि आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । आन्दोलनका क्रममा विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि अहिले अधिकांश सरकारी खाता प्रणाली बन्द गरिएका छन् । महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ओमप्रसाद रिजालले अहिले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मात्रै सञ्चालनमा ल्याउन सकिएको बताए । 'कैलाली कोलेनिकामा पूर्णरुपमा क्षति पुगेको छ । मकवानपुर, विराटनगर, त्रिपुरेश्वरलगायतका कार्यालयमा क्षति पुगेको छ । क्षतिका विवरणहरु सङ्कलन भइरहेका छन्', उनले भने, 'स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र), एकल खाता कोष प्रणाली (टिएसए), कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) लगायतका सरकारी खाता सञ्चालनमा आउन सकेका छैनन् । नयाँ सरकारबाट के निर्देशन आउँछ, त्यहीअनुसार अघि बढ्छौँ ।' रासस
प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना
काठमाडौं । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकामा शनिबार एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हालेकी तपाईंप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मुड्खु भञ्ज्याङको भ्यूटावरबाट देखिएको काठमाडौंको दृश्य (तस्बिरहरू)
काठमाडौं । मुड्खु भञ्ज्याङको भ्यूटावरबाट काठमाडौंको दृश्य रमाइलो देखिएको । शनिबार मौसम खुलेसँगै सहर सफा र चम्किलो देखिन थालेको छ । जेनजी आन्दोलनले काठमाडौंका प्रमुख सार्वजनिक स्थलहरूमा आगोले क्षति पुर्याएको भए पनि, भ्यूटावरबाट हेर्दा सहर शान्त, व्यवस्थित र रमणीय देखिएको छ । वरिपरिको पहाड, हरियाली र राजधानीका ऐतिहासिक संरचनाहरूले अझ मनमोहक बनाएको छ ।
जेनजी भन्छन्– अब हामी विदेश जान नपरोस्
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको वर्तमान परिस्थितिको निकासका लागि कार्की उत्तम विकल्प भएको नागरिकले धारणा राखेका छन् । मुलुकको आवश्यकताअनुसार प्रधानमन्त्री कार्कीप्रति भरोसा गरेर एकताबद्ध भई अगाडि बढ्नुपर्ने उनीहरूको धारणा छ । एक दशकदेखि सत्तामा राज गरिरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई परास्त गर्नु नै विजय भएको युवा अमृत चापागाईंले बताए । उनले मुलुकलाई सही दिशामा अघि बढाउन युवा नेताहरू एकजुट हुनुपर्ने बताए । उनले कार्कीको नेतृत्व मुलुकका लागि आशाको आधार बन्न सक्ने विश्वास समेत व्यक्त गरे । उनले भने, ‘देशले नयाँ अभिभावक पाएको छ । अब मध्यावधि निर्वाचन हुँदैछ । यसप्रति हामी सकारात्मक हुनुपर्छ । विगत दश वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रधानमन्त्री भइराख्नुभएको थियो । अहिले नयाँ नेतृत्व आएको छ । अब मुलुकमा परिवर्तन हुन्छ भन्ने आशा राखेका छौँ ।’ वरिष्ठ अधिवक्ता देवराज कटुवालले कानुनको ज्ञान भएको र देशलाई माया गर्ने व्यक्तिलाई नेतृत्व दिनु सकारात्मक रहेको धारणा व्यक्त गरे । उनले तत्कालका लागि मुलुकको सङ्कट टरेको भए पनि भविष्यमा आउन सक्ने चुनौतीसँग जुध्नका लागि प्रधानमन्त्री कार्की तयार भएर बस्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेको परिस्थितिमा यो भन्दा उत्तम विकल्प अरू थिएन । मुलुकमा परिवर्तन धेरै भए पनि जनताले महसुस गर्न नपाएको अवस्थामा विकल्पको रूपमा कानुन जानेको र देशलाई माया गर्ने मान्छे भएको कारण यो सकारात्मक सन्देश देखिएको छ । उहाँबाट आस गर्न सकिन्छ । तर यस अगाडिका पाइलाहरू धेरै नै अप्ठ्यारा छन् । त्यसकारण अब सबैलाई समेटेर अगाडि बढ्नुपर्छ ।’ अर्का युवा गणेश चौलागाईंले अस्तव्यस्त राजनीतिक परिस्थितिमा अनुभवी व्यक्तिले नेतृत्व लिनु मुलुकका लागि सकारात्मक सङ्केत सङ्केत भएको बताए । उनले युवाहरूको क्रान्तिको जगमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए । मध्यावधि निर्वाचनबाट आउने नेतृत्वले युवा पलायनको अवस्था अन्त्य गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेको विकसित घटनाक्रम हेर्दा अनुभवी मान्छे नै प्रधानमन्त्री बस्दा राम्रो हो । अहिले सबैतिर अस्तव्यस्त भएको छ । सुशीला कार्की प्रधानमन्त्री हुनु राम्रो हो । अब हामी विदेश जानु नपरोस् ।’ नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरिसकेका छन् । साथै फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभा चुनावको मिति तोकिएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन
काठमाडौं । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौं उपत्यकामा शनिबार सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् । जेनजीको प्रदर्शनका कारण गत मङ्गलबारदेखि काठमाडौं उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि सुरु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले भने, 'शुक्रबार सार्वजनिकलगायतका सवारीसाधन फाट्टफुट्ट मात्रै चलेका थिए । बिहानदेखि बाक्लो सङ्ख्यामा चलेका छन् । यात्रुहरुको चहल पहल बढेको देखिन्छ ।' त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाडौंका लागि प्रस्थान गरेकाले काठमाडौंबाट बाहिरी जिल्लामा जाने सवारीसाधन आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । गत मङ्गलबारदेखि उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यु लगाएपछि सार्वजनिक सवारीसाधन बन्द गरिएका थिए । आज बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेको हो ।
नयाँ अन्तरिम सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने इप्पानको घोषणा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ । जेनजी युवाहरूको आन्दोलनपछि नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा नियुक्त एकोमा शुशीला कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै इप्पानले सहकार्य गर्ने जनाएको हो । प्रधान न्यायधीशनको जिम्मेवारी पूरा गरिसकेकी कार्की नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै इप्पानले हरेक क्षेत्रको लागि अत्यावश्यक मानिएको ऊर्जा क्षेत्रमार्फत मुलुकुको समृद्धि हासिल गर्न सकिन्छ भन्ने उच्च मनोबलमा साथ विभिन्न समस्या र चुनौतीहरुबीच लगानी गरिरहेका ऊर्जा उद्यमीहरुको लागि कार्कीको कार्यकाल स्वर्णिम हुने अपेक्षा गरेको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले परिवर्तित अवस्थामा नयाँ अन्तरिम सरकारले लगानीमैत्री वातावरण निर्माणमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउने कार्य गर्ने अपेक्षा राखेको बताए । ‘हामी नयाँ अन्तरिक सरकारले लगानीमेत्री वातावरण बनाउने अपेक्षा गरेको छौ, अहिलेको अवस्थामा देशको पुर्ननिर्माणसँगै आर्थिक समृद्धिको यात्रामा बढीभन्दा बढी लगानीमार्फत नेपाल सरकारसँगै सहकार्य र सहयात्रा गर्न तयार छौ,’ उनले भने । अध्यक्ष कार्कीले नयाँ अन्तरिम सरकारले ऊर्जा उद्यमीहरुले ऊर्जा विकास र विस्तारका लागि हाल भोगिरेहको समस्या र चुनौतीहरु समाधानका लागि अग्रसर हुने अपेक्षा गरेको बताउँदै ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रले योगदान दिईरहेको र आगामी दिनमा अझ बढी दिनका लागि तयार रहेको बताए ।
संविधान खारेज भए नयाँ संविधान आउन सक्दैन : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालको संविधान २०७२ खारेज भए अर्को संविधान आउन नसक्ने बताएका छन् । अत्यन्तै ठूलो लगानीबाट बनेको संविधान खारेज गर्ने सोच कसैले राख्न नहुने बताएका छन् । एक भिडियो जारी गर्दै भट्टराईले पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन् । एमालेको सरकार भएको बखत उक्त सरकारले भौतिक पूर्वाधार निर्माणमा अत्यन्तै ठूला–ठूला काम गरेको भट्टराईले बताएका छन् । 'यसका बाबजुद हामीले केही कमजोरी गर्यौं, त्यसका लागि माफी माग्न चाहन्छु,' उनले भने । तीनै कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टीलाई अर्को उचाइ दिन सबैलाई जुट्न भट्टराईले आह्वान गरेका छन् । 'अब व्यक्ति र पार्टीको रूपान्तरण आजको आवश्यकता हो । आउनुहोस्, देश र पार्टीलाई अझ बलियो बनाउने दृढताका साथ अगाडि बढौँ,' सचिव भट्टराईले भने ।