विकासन्युज

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष डा‍. सुजन कडरियाले पदबाट राजीनामामा दिएका छन् । नेकपा एमालेनिकट विद्यार्थी संगठनबाट राजीनामा दिँदै कडरियाले अब नेपाल आमाको सेवामा स्वतन्त्र चिकित्सकको रुपमा घाइतेहरूको उपचारमा खटिने बताए । सामाजिक सञ्जाल फेसबुकमा कडरियाले देशभन्दामाथि कुनै संगठन नहुने बताएका छन् । सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयाभह हुने उनको भनाइ छ ।   उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कुलले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन । तसर्थ समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु,’ उनले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयावह हुने बताएका छन् ।

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

काठमाडौं । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । 

यातायात व्यवस्था विभागमा आगजनी

काठमाडौं । बानेश्वरस्थित यातायात व्यवस्था विभागमा आगजनी भएको छ ।  जेनजी प्रदर्शनकारीले यातायात व्यवस्था विभागमा आगजनी गरेका हुन् । प्रदर्शन सोमबारदेखि जारी छ ।   

नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतको घरमा आगलागी

काठमाडौँ । मंगलबार प्रर्दशनकारीहरुले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको घरमा आगजानी गरेका छन् ।  प्रर्दशनकारीहरुले बाफलस्थित घरमा आगजनी गरेका हुन् । सोमबारट युवा समूह जेनजीले सुरु गरेको आन्दोलन आज चर्किँदै गएको छ । अहिले धेरै स्थानमा आगजनी, तोडफोडको क्रम जारी छ । प्रदर्शनकारीले भिआइपी नेताहरूको सम्पतिलाई लक्षित गरेर तोडफोड आगजानी गरिरहेका छन् । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । हालैका राजनीतिक तथा सामाजिक घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नरहेको भन्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

माधव नेपालको घरमा पनि आगजनी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको कोटेश्वरस्थित निवासमा आगजनी र ढुंगामुढा प्रहार भएको छ । मंगलबार दिउँसो जेनजीहरूले नेपाल निवासमा आगजनी र ढुंगामुढा प्रहार गरेका हुन् ।  जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । 'सरकार सही ढङ्गले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटक पटक आग्रह गयौँ । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पङ्क्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका ‘जेनजी पुस्ता’ माथिको दमन निन्दनीय छ,' विज्ञप्तिमा उल्लेख छ । महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनका क्रममा गरिएको सात बुँदे समझदारीको औचित्य समाप्त भएको उल्लेख गर्दै पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै अविलम्ब निर्णय गर्नुपर्ने र अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने बताएका छन् ।  ‘जेनजी पुस्ता’को न्यायोचित माग पूरा गर्न जोड गरिरहेको अवगत गराउँदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन सबल भुमिकाका लागि समेत महामन्त्रीद्वय थापा र शर्माले अपील गरेका छन् । सबै राजनीतिक दललाई बिद्यमान स्थितिमा खुला संवादमार्फत संयमतापूर्वक समाधानको पहलमा ऐक्यवद्धताका लागि समेत उनीहरुले अपील गरेका छन् । 

धनगढीमा पनि नेताहरूको घर र कार्यालयमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनका कारण धनगढी पनि तनावग्रस्त बनेको छ । जेनजीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।  उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाएका छन् ।  यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रमन्त्री आरजु राणाको घरमा पनि आगजनी भएको छ ।  यस्तै, कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन् ।   जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।  आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।