विकासन्युज

संसद् भवनमा आगजनी

काठमाडौं । जेनजीले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आगजनी गरेका छन् । हजारौंको संख्यामा संसद् प्रवेश गरेका जेजनीले भवनभित्रै आगजनी गरेका हुन् ।

रास्वपाका सबै सांसदले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले सामूहिक रूपमा राजीनामा दिएका छन् ।  मंगलबार दिउँसो आकस्मिक संसदीय दलको बैठकपश्चात उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । हिजो सभापति रवि लामिछानेले सबै सांसदहरूलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार रास्वपाका सांसदले राजीनामा दिएका हुन् । देशभर जेनजीको आन्दोलन आक्रामक बनेपछि नेताहरूका घर र निवासहरूमा तोडफोड भइरहेको छ ।   

सिंहदरबारमा आगजनी, अवस्था तनावग्रस्त

काठमाडौं । सिंहदरबारमा आगजनी भएको छ । प्रदर्शनकारीले सिंहदरबारमा आगजनी गरेका हुन् ।  अहिले सिंहदरबारको अवस्था तनावग्रस्त छ ।   

धनगढीमा जेनजीहरूको विरोध चर्कियो, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । धनगढीमा जेनजीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामाको माग गरेका छन् । आन्दोलनमा सहभागी जेनजीहरूले प्रदेश सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाउँदै मुख्यमन्त्री शाहको राजीनामा माग गरेका हुन् । साथै केन्द्रमा रहेको संघीय सरकार पनि भ्रष्टाचारमा लिप्त रहेको उनीहरूको आरोप छ । धनगढीका जेनजीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि राजीनामा माग गरेका छन् ।

प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे {तस्बिरहरु}

काठमाडौं । प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसेका छन् । बानेश्वरमा उनीहरुले प्रहरीको बन्दुक खोसेका हुन् ।  

संसद भवनभित्र छिरेर सामान बाहिर फाल्न थाले प्रदर्शनकारी

काठमाडौं । प्रदर्शनकारीहरु बानेश्वरस्थित संसद भवनभित्र छिरेका छन् । प्रदर्शनकारीको ठूलो भीड संसद भवनभित्र छिरेका हुन् । उनीहरुले संसद भवनभित्रको सामान बाहिर फाल्न सुरु गरेका छन् ।   

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

काठमाडौं । राजधानीमा जारी ‘जेनजी’ आन्दोलन आज थप आक्रामक बन्दै गएको छ । मंगलबार बिहानैदेखि आन्दोलनरत प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबारको मुख्य गेट तोड्दै भित्र प्रवेश गरेका छन् । सोमबारदेखि सुरु भएको प्रदर्शन आज पनि काठमाडौंसहित देशका विभिन्न ठूला शहरमा निरन्तर भइरहेको छ । प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमा लगातार ढुंगामुढा र तोडफोड गर्दै विरोध जारी राखेका छन् । उग्र आन्दोलनका कारण देशका मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ । सुरक्षा निकायले सिंहदरबार वरपर कडा निगरानी बढाए पनि प्रदर्शनकारीहरूको भीड नियन्त्रणमा आउन सकेको छैन ।

अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष डा‍. सुजन कडरियाले पदबाट राजीनामामा दिएका छन् । नेकपा एमालेनिकट विद्यार्थी संगठनबाट राजीनामा दिँदै कडरियाले अब नेपाल आमाको सेवामा स्वतन्त्र चिकित्सकको रुपमा घाइतेहरूको उपचारमा खटिने बताए । सामाजिक सञ्जाल फेसबुकमा कडरियाले देशभन्दामाथि कुनै संगठन नहुने बताएका छन् । सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयाभह हुने उनको भनाइ छ ।   उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कुलले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन । तसर्थ समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु,’ उनले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयावह हुने बताएका छन् ।