जेनजीलाई बाबुरामले भने : आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बीचमै नछाड्नू
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बीचैमा जछाड्न जेनजीलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका छन् । ‘अधिकतम् र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ, संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न,’ उनले भनेका छन् । आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ’भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउन आग्रह गरेरका छन् । त्यस्तो कार्य भैहाले पनि त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्ने उनको भनाइ छ । यस्तो छ उनको भनाइ GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल प्रिय नवयुवा साथीहरू, अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन! भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने महान शहीदहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धान्जली! वहाँहरूका शोकसन्तप्त परिवारजनहरूप्रति गहीरो समवेदना! घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना! देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेकोमा म तपाईंहरूप्रति असाध्यै गौरवान्वित छु। भनिन्छ- नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ। नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो। त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ! साथै अर्को एउटा प्रसिद्ध भनाइ पनि छ- History repeats itself, because men repeat their mistakes. (इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्।) त्यसैले यी कुराहरूमा ध्यान दिनुहोला: - आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न। अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ। - संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न। - आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र 'भेडाको छाला ओढेर आउने ब्वाँसाहरू' लाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ र भैहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ। - 'भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्' भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ। नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्न आदिनिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न। तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना! - बाबुराम भट्टराई
कर्फ्यु लागेका क्षेत्रमा बैंक नखुल्ने, आज सेयर कारोबार पनि नहुने
काठमाडौं । काठमाडौंको उपत्यकाका तीन जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेपछि बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बन्द हुने भएका छन् । काठमाडौं, ललितपुर, रभक्तपुर जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्यु क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका कार्यालय नखुल्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानले जानकारी दिए । उनका अनुसार कर्फ्यु लागेका क्षेत्रमा बैंकको डिजिटल सिस्टममा काम गर्ने कर्मचारीहरू भने बैंकमा गएर आन्तरिक रुपमा काम गर्न सक्नेछन् । ‘सकेसम्म कर्फ्यु लागेको क्षेत्रमा शाखा, एटीएममा कर्मचारीहरू नजान नै भनिएको छ । कहिलेकाहीँ अत्यावश्यक परेको छ भने स्थानीय प्रशासनको समन्वयमा जान सकिन्छ । सकेमसम्म नजाने नै हो,’ उनले भने । राष्ट्र बैंकको पनि अत्यावश्यक पेमेन्ट सिस्टम राष्ट्रियस्तरमा चल्ने भएकाले आईटी, पेमेन्टको काम भने सुचारु हुने उनले बताए । ‘कफ्र्यु लागेको क्षेत्रमा आवतजावत नै बन्द गरेपछि नखुल्ने हो । तर, बैंक तथा वित्तीय संस्थाको केन्द्रीकरण भएको हुँदा आन्तरिक रुपमा डिजिटलको काम भने चल्छ,’ उनले भने । साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार पनि नहुने भएको छ । नेप्सेका सहायक प्रबन्धक निरन्जय फुयालका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथभित्र कर्फ्यु जारी गरेको तथा धेरै कारोबार सदस्य, लगानीकर्ताहरुले कारोबार स्थगन गर्न अनुरोध भएको हुँदा सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज भदौ २४ गतेको सम्पूर्ण सेयर कारोबार स्थगन गरिएको छ कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनका अनुसार कर्फ्यु को आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ । नेपाल धितोपत्र बोर्डको कार्यालय भने खुला रहने जनाएको छ ।
राजीनामा नदिने अडानमा प्रधानमन्त्री ओली, घटनाको नैतिक जिम्मेवारी पनि लिएनन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बुझिएको छ । सोमबार भएको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु र सयौं घाइतेको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिए पनि प्रधानमन्त्री ओलीले भने राजीनामा नदिने बुझिएको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका हुन् । प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने उनको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन । प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन,’ गुरुङले भने । सरकारले सोमबारको घटना घुसपैठबाट सिर्जना भएको धारणा राखेको छ । प्रहरीकै बन्दुकको गोली लागेर प्रदर्शनकारीको मृत्यु भए पनि सरकारले भने त्यसको जिम्मेवारी लिएको छैन । अहिले सडकदेखि सामाजिक सञ्जालमा ओलीको राजीनामा माग भइरहेको छ । जेनजीहरूले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि घटेको घटनाबारे सरकारले छानबिन समिति बनाउने निर्णय गरेको छ । समितिले १५ दिनभित्र घटनाको अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोएिको छ । . प्रदर्शनबाट डराउँदै प्रतिबन्ध लगाइएको सामाजिक सञ्जाल पनि फुकुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छोरा फिर्ता दे भन्दै आफन्तको नारा
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा युवाहरू भेला हुन थालेका छन् । जेनजीको प्रदर्शनको दोस्रो दिन आज मंगलबार बिहानदेखि युवाहरू स्वःस्फूर्त भेला हुन थालेका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन-जीको सोमबारको प्रदर्शनमा १९ जनाले ज्याम गुमाएका छन् भने ४ सय घाइते छन् । आधा दर्जन सञ्चारकर्मीलाई गोलि लागेको छ । तर, पनि नडराइ सडकमा उत्रिरहेका छन् । संसद भवन अगाडि साेमबार ज्यान गुमाएका युवाहरूको आफन्त आएर नारा जुलुस समेत गरिरहेका छन् । उनीहरुले छोरा फिर्ता दे भन्दै सरकार विरुद्ध नारा समेत लगाइरहेका छन् ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु
काठमाडौं । काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चित कालीन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को आदेश जारी नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो । चक्रपथभित्रका बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ । कर्फ्यु लागू भएपछि तोकिएको सिमानाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
रगत अभावपछि झापाबाट ७१ पाउन्ड रगत काठमाडौं पठाइयो
काठमाडौं । काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउन्ड रगत काठमाडौं पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौंमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौं पठाइएको सभापति ढकालले जानकारी दिए । जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातीबाट आज बिहान ५ बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए ।
बालेनले भने- साँच्चै नै बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरौटेहरुको बा भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर बोलनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीलाई नै इंगित गर्दै उनले कहिल्यै छोराछोरीका बुबा हुन नपाएकाले अरूका छोराछोरी मर्दाको पिडा थाहा नपाएको बताए । ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्,’ उनले लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस् ।’ त्यसपछि ह्यासट्यागमा केपी ओली एज टेरोरिस्ट लेखेका छन् ।
ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यु आदेश, आवतजावत गर्न समेत नपाइने
काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चार किल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । कर्फ्यु आदेश जारी भएका क्षेत्र भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५): पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णु देवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म । सानेपा क्षेत्र (वडा नं २): पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म । च्यासल क्षेत्र (वडा नं ९): पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म । प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको जनाए ।