२२८ कम्पनीको सेयर मूल्य घट्यो, ६ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ घटेर २७४९ बिन्दुमा झरेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टीलरीको २६ करोड, नेपाल रिपब्लीक मिडियाको २१ करोड र पिपुल्स पावरको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशतले घटेका छन् ।
अमेरिकी अदालत भन्छ- ट्रम्पको ट्यारिफ गैरकानुनी
काठमाडौं । अमेरिकाको एक संघीय अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफलाई गैरकानुनी ठहराएको छ । अदालतले ट्रेड घाटा र सिमाना मुद्दालाई ‘राष्ट्रिय आपतकाल’ भनेर आफ्नो अधिकारको दुरुपयोग गरेको जनाएको छ । अदालतले भनेको छ कि हालका लागि ट्यारिफ लागू रहिरहनेछन् । ट्रम्प प्रशासनसँग सर्वोच्च अदालतमा अपील गर्ने मौका छ । अर्थात् व्यापारी, उपभोक्ता र चीन, भारतलगायतका देशहरू अझै लागू ट्यारिफको असरमा छन् । तर ट्रम्पमाथि दबाब बढिसकेको छ । अमेरिकी संसदको विदेश मामिलाको समितिले ट्रम्पको ट्यारिफमा कदम चाल्न सक्छ । ट्यारिफ ट्रम्पको सबैभन्दा ठूलो नेगोसिएसन हतियार थियो । उनी देशहरूलाई उच्च शुल्कको धम्की दिएर सम्झौता गराउँथे । यदि अदालतले यो हतियार खोस्यो भने ट्रम्पको शक्ति घट्छ र विश्वले अमेरिकी दबाबलाई बेवास्ता गर्न सक्छ । विशेष गरी यस्तो समयमा जब अमेरिकी ट्यारिफबाट पीडित धेरै देशहरू आपसमा नजिक हुँदैछन् । जुलाईसम्म अमेरिका यस ट्यारिफबाट १५९ अर्ब डलर संकलन गरिसकेको छ । यदि सर्वोच्च अदालतले यसलाई अवैध ठहरायो भने यो पैसा फिर्ता गर्नु पर्न सक्छ । न्याय विभागले चेतावनी दिएको छ कि यस्तो भए देशले ‘आर्थिक विनाश’ भोग्न सक्छ । ट्रम्पले सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । उनले चेतावनी दिएका छन् कि यदि फैसला उनीविरुद्ध आयो भने यसले अमेरिका ध्वस्त पार्न सक्छ । यदि सर्वोच्च अदालत ट्रम्पको पक्षमा छ भने ट्यारिफ कायम रहिरहनेछ । नभए अरबौं डलर फिर्ता गर्नु पर्नेछ र अमेरिका नयाँ व्यापार नीति बनाउन बाध्य हुनेछ । ट्रम्पको अदालतमा हार पछि पनि ट्यारिफ बढाउने विकल्पहरू हुनेछन्, तर ती सीमित हुनेछन् ।
भदौ २१ देखि आन्दोलनमा जाने शिक्षकको चेतावनी
काठमाडौं । शिक्षकहरुले आइतबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले यसअघि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरुले सुनुवाई नगरे दोस्रो चरणको आन्दोलन शुरु हुने भन्दै त्यसका लागि तयार रहन पनि सम्पूर्ण शिक्षक, कर्मचारीलाई आह्वान गरे । उनले भने, ‘देशभरीका शिक्षक कर्मचारी साथीहरु दोस्रो चरणको आन्दोलनको तयारीमा छौं । हाम्रा माग, मुद्दाहरु सुनुवाई भएन भने, ऐनले बोकेर आएको भने आमी अत्यन्तै कडा २०८१/८२ को भन्दा पनि कडा आन्दोलन गर्छौं । त्यसका लागि तम्तयार रहन म शिक्षक, कर्मचारी साथीहरुलाई हार्दिक आग्रह गर्दछु ।’ महासंघले विद्यालय शिक्षा विधेयकमा आफूहरुको मुख्य माग सम्बोधन नभएको उल्लेख गर्दै त्यसलाई समावेश गर्न राजनीतिक दलहरुलाई दवाव दिन मुख्यालय धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
म अर्थमन्त्री बनेपछि अर्थतन्त्रमा सुधार भयो : पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्न तर्फ सरकारले काम गरिरहेको बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, ‘सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।’ उपप्रधानमन्त्री पौडेलले पर्यटन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकार प्रतिबद्ध रहेको पनि जानकारी गराए । उनले आफूले सरकार सम्हाल्दा अर्थतन्त्रमा सम्पूर्ण सूचकहरु नकारात्मक भएको उल्लेख गर्दै भने, ‘अहिले अर्थतन्त्रका सबै सूचकहरूमा सकारात्मक परिवर्तन आएको छ । हिजो हामीले सरकार सम्हाल्दा अर्थतन्त्रका सूचकहरू नकारात्मक थिए ।’ त्यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘भ्याट’ छुट दिनसक्ने अवस्थामा सरकार नरहेको स्पष्ट गरे। उनले भने, ‘राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्द्धनका योजना कार्यक्रमहरू ल्याउनुहोस् । सरकार सहजीकरण गर्न तयार छ ।’ उनले मुलुक स्थिरताको बाटोमा अघि बढेको उल्लेख गर्दै भने, ‘अहिलेको सरकार बलियो र स्थिर छ । यही सरकार २०८४ को निर्वाचनसम्म अघि बढ्छ र यसले नीतिगत स्थिरता दिन्छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न विशेष ध्यान दिएका छौं ।’ कार्यक्रममा ‘टान’का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए । उनले भने, ‘सरकारले व्यवसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।’ सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पुर्याउने विभिन्न सङ्घसंस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्यो : गृहमन्त्री लेखक
वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए । 'राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु', उनले भने, 'एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न जरुरी छ ।' गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए । 'अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ', उनले भने, 'चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।' पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । 'भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरु दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ', उनले भने, 'राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय हुन आवश्यक छ ।' पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल प्रहरी मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले मोदीलाई भने– ‘ड्रागन र हात्ती मिल्नु धेरै जरुरी’
काठमाडौं । चीनका राष्ट्रपति सी ‍जिनपिङले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटमा ड्रागन र हात्तीको साथ आउनु धेरै जरुरी रहेको बताएका छन् । सी चिनफिङले भने, ‘विश्व परिवर्तनतर्फ अघि बढ्दैछ । चीन र भारत संसारका दुई सबैभन्दा पुराना सभ्यताहरू हुन् । हामी दुवै संसारकै सबैभन्दा बढी जनसंख्या भएका देश हौं र ग्लोबल साउथको हिस्सा हौं ।’ चीनी राष्ट्रपतिले भने, ‘दुवै देश मित्र बनेर रहनु, राम्रो छिमेकी हुनु र ड्रागन र हात्तीको सहकार्य हुनु धेरै जरुरी छ ।’ यसअघि प्रधानमन्त्री मोदीले पनि सोही बैठकमा भारत र चीनका सम्बन्धलाई एक सकारात्मक दिशा मिलेको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार तियानजिन पुगेका हुन् । २०१८ पछि प्रधानमन्त्री मोदीको यो पहिलो चीन भ्रमण हो । गत वर्ष भारत र चीनबीचको द्विपक्षीय व्यापार करिब १२७.७ अर्ब अमेरिकी डलरको रहेको थियो । चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म शाङ्घाई को–अपरेसन अर्गनाइजेशन (एससीओ) को बैठक भइरहेको छ । यसमा मोदी र सी जिनपिङसँगै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी भएका छन् ।
महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको अवार्डबाट सम्मानित
काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले 'सम्पत्ति गुणस्तर' श्रेणीअन्तर्गत अवार्ड प्राप्त गरेको हो । अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित 'तेस्रो इमर्जिङ्ग एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स' कार्यक्रममा बैंकलाई सम्मान गरिएको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित मानिने यस बैंकिङ कन्क्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता थियो । बैंकले सम्पत्ति संरचना, सम्पत्तिको प्रभावकारी परिचालन तथा गुणस्तर सुधारमा उल्लेखनीय योगदान गरेबापत अवार्ड प्राप्त गरेको हो । यस उपलब्धिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान अझ मजबुत हुने विश्वास लिइएको छ । हालै महालक्ष्मी विकास बैंकले भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकसँग सीमा–पार वित्तीय सेवा प्रवर्द्धन तथा भुक्तानी प्रणाली सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सो समझदारी अन्तर्गत बैंकले ग्राहकलाई भारतबाट नेपालमा प्रत्यक्ष भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराइसकेको छ ।
विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाईडीको त्रैमासिक नाफा तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक घटेको छ । सरकारद्वारा मूल्ययुद्धविरुद्ध चलाइएको अभियानबीच कम्पनीको विस्तारमा अवरोध आएपछि नाफा घटेको हो । विश्वकै सबैभन्दा ठूलो ईभी उत्पादक बीवाईडीको दोस्रो त्रैमासिक (एप्रिल–जुन) शुद्ध नाफा ६.४ अर्ब युआन (८९४.७४ मिलियन अमेरिकी डलर) रह्यो, जुन गत वर्षको तुलनामा २९.९ प्रतिशतले घटेको हो । यसअघि पहिलो त्रैमासिकमा नाफा १००.४ प्रतिशतले बढेको थियो । सोही अवधिमा आम्दानी १४ प्रतिशतले बढेर २००.९ अर्ब युआन पुगेको कम्पनीले शुक्रबार जनाएको छ । पहिलो छ महिनामा नाफा १३.८ प्रतिशतले र आम्दानी २३.३ प्रतिशतले बढेको छ । टेस्लाको सबैभन्दा ठूलो चिनियाँ प्रतिस्पर्धी मानिने बीवाईडीले पछिल्ला महिनामा चुनौती भोगेको छ, किनकि चिनियाँ अधिकारीहरूले मूल्ययुद्ध अन्त्य गर्न आह्वान गरेका छन्, जसले पूरै उद्योगमा नाफाको मार्जिनमा दबाब दिएको छ । बीवाईडीले यस वर्ष विश्वभर ५५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको छ । तर, पहिलो सात महिनामा मात्र २४ लाख ९० हजार कार बिक्री भएको छ, जुन लक्ष्यको ४५ प्रतिशत मात्र हो । ‘बीवाईडीले यस वर्षको महत्त्वाकांक्षी लक्ष्य पुरा गर्ने सम्भावना निराशाजनक देखिन्छ,’ तेस्रो ब्रिजका विश्लेषक रोजाली चेनले भनिन् । नोमुराका विश्लेषकहरूले अगस्ट १२ मा बीवाईडीले यस वर्ष ५ मिलियनदेखि ५.२ मिलियनसम्म कार बेच्ने अपेक्षा गरेको बताएका थिए । चीनमा बिक्रीबाट करिब ८० प्रतिशत आम्दानी गर्ने बीवाईडीको बिक्री जुलाईमा लगातार तेस्रो महिनासम्म घट्यो भने १७ महिनापछि पहिलोपटक उत्पादन पनि घटेको छ । जुनमा रोयटर्सले जनाएको अनुसार कम्पनीले उत्पादन ढिला गरेको र चीनका कारखानामा क्षमता विस्तार योजना पनि स्थगित गरेको छ । बीवाईडी ती प्रमुख अटो निर्मातामध्ये एक हो जसले गत जुनमा चिनियाँ अधिकारीको निर्देशनपछि आपूर्तिकर्तालाई ६० दिनभित्र भुक्तानी गर्ने र मूल्ययुद्ध अन्त्य गर्ने वाचा गरेको थियो । यस वाचापछि विश्लेषकहरूले बीवाईडीलगायत अन्य अटो निर्माताको वर्किङ क्यापिटल (चालु सम्पत्ति र चालु दायित्वबीचको अन्तर) मा अझ कडा निगरानी गरेका छन् । जुन ३० सम्म बीवाईडीको वर्किङ क्यापिटल घाटा १२२.७ अर्ब युआन पुगेको छ, जुन मार्चको अन्त्यमा ९५.८ अर्ब युआन थियो । सन् २०२४ को अन्त्यमा यो १२५.४ अर्ब युआन थियो । बीवाईडी कम्पनीको स्थापना सन् १९९५ मा वाङ चुआनफुले चीनको शेनझेन सहरमा गरेका थिए । सुरुमा कम्पनीले मोबाइल फोन र लिथियम ब्याट्री उत्पादन गर्ने काम गर्थ्याे । ब्याट्री क्षेत्रमा छिट्टै सफलता हासिल गरेपछि यो संसारकै प्रमुख रिचार्जेबल ब्याट्री उत्पादक बन्न पुग्यो । त्यसपछि कम्पनीले अटोमोबाइल क्षेत्रमा प्रवेश गर्ने निर्णय गर्यो र सन् २००३ मा एउटा सानो चिनियाँ अटो कम्पनीलाई किनेपछि विद्युतीय सवारीसाधन (ईभी) उत्पादनतर्फ कदम बढाएको हो । बीवाईडीको वास्तविक उदय सन् २००८ पछि सुरु भयो, जब यसले आफ्नै विद्युतीय कार मोडेल बजारमा ल्यायो । चीन सरकारको ईभी प्रवर्द्धन नीतिले कम्पनीलाई ठूलो फाइदा पुग्यो । समयसँगै कम्पनीले ब्याट्री उत्पादनमा भएको अनुभवलाई सवारीसाधनमा लागू गर्यो र किफायती विद्युतीय कार तथा बसहरू निर्माण गर्दै बजार विस्तार गर्यो। २०२२ मा यसले पेट्रोल–डिजेल कार उत्पादन पूर्ण रूपमा रोक्दै केवल ईभी र हाइब्रिड कार उत्पादन गर्ने घोषणा गर्यो । आज बीवाईडी विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बन्न सफल भएको छ ।