५५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार २१ दिनका लागि ५५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप उठाउन लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
जैशिदेवल युथ क्लवको ३२औं वार्षिकोत्सवमा छैठौं तेक्वान्दो प्रतियोगिता, ८८ खेलाडीबीच प्रतिस्पर्धा
काठमाडौं । जैशिदेवल युथ क्लवले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा शनिबार छैठौं ईन्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २१ को आर्थिक सहयोगमा आयोजना गरिएको एक दिने प्रतियोगितामा विभिन्न समूहका ८८ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धाबाट २३ स्वर्ण, २३ रजत र ४६ काँस्य पदक वितरण गरिएको क्लवले जनाएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले गरेकी थिइन् । कार्यक्रममा क्लवका अध्यक्ष राजेश प्रजापति, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद ध्यान गोविन्द रन्जितलगायतको उपस्थितिमा विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समिति सभापति नुरज बज्राचार्य, काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, काठमाडौं महानगरपालिका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धर, प्रदेश विकास खेलकुद परिषदका सदस्य–सचिव दिपक लामा, काठमाडौं महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष उदय चुडामणि बज्राचार्य, वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नम्बर १९ का अध्यक्ष राजेश श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नम्बर २४ का अध्यक्ष विनोद राज राजभण्डारी, वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतका अतिथिहरूको सहभागिता थियो । यसै क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जनले जैशिदेवल तेक्वान्दो डोजाङ्गलाई दैनिक अभ्यासका लागि दुई लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै, नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सम्पन्न सिनियर ग्रेडिङ्ग परीक्षामा ब्ल्याक बेल्ट प्रथम डान प्राप्त गर्न सफल पाँच खेलाडीलाई मन्त्री केसीले बेल्ट र प्रमाणपत्र प्रदान गरेकी थिइन् । जैशिदेवल युथ क्लवले प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्य राखेको जनाएको छ । क्लबका अध्यक्ष राजेश प्रजापतिले विगतका यस्ता प्रतियोगिताबाट यस डोजाङ्गका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै आएको तथ्य स्मरण गर्दै भविष्यमा पनि आफ्नै खर्चमा खेलाडीलाई विभिन्न प्रतियोगितामा सहभागी गराइने बताए । कार्यक्रममा महासचिव चन्द्र गोपाल प्रधानले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष प्रजापतिले समापनमा धन्यवाद ज्ञापन गरेका थिए ।
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज थप ३ हजार रुपैयाँ बढेर प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च स्तरमा पुगेको छ । आइतबार प्रतितोला ६५ रुपैयाँले वृद्धि भई चाँदीको मूल्य २४२५ रुपैयाँमा पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २३६० रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदी दुवैमा देखिएको लगातारको वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको हो ।
सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा क्यासब्याक सुविधा
काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा उत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ । यस अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा ग्राहकले नेपालभित्रको टिकटमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको टिकटमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्म लागू रहने बैंकले जनाएको छ । सानिमा बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । हाल बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएम सञ्चालित छन् ।
दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने बताएको छ । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट (नयाँ नोट) साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकले केन्द्रीय बैंकसँगै सातवटै प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ । राष्ट्र बैंकसँगै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।
शिव सुन्दर टोल सुधार सेवा समाजको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई नमुना नगरको रूपमा विकास गर्ने आफ्नो संकल्प दोहोर्याएका छन् । शनिबार कागेश्वरी मनोहरा–९ कांडाघारीस्थित शिव सुन्दर टोल सुधार सेवा समाजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मेयर कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी, उद्यमशीलता र रोजगारीलाई प्राथमिकतामा राखी नगरपालिका अगाडि बढाइरहेको जानकारी दिए । उनले नगरकै मुख्य समस्या खानेपानी भएको उल्लेख गर्दै संघीय र प्रदेश सरकारको सहकार्यमा चालु आर्थिक वर्षमै सबै टोलमा खानेपानी पुर्याउने प्रतिबद्धता जनाए । शिक्षा सुधारका लागि विशेष कार्यक्रम अघि सारिएको र स्वास्थ्यतर्फ सुविधासम्पन्न अस्पताल निर्माण र दक्ष चिकित्सकमार्फत सेवा उपलब्ध गराउन पहल भइरहेको उनको भनाइ थियो । मेयर कार्कीले स्वास्थ्य बीमा अभियानलाई टोल समाजमार्फत जनस्तरसम्म पुर्याउन आग्रह पनि गरे । नगरमा उद्यमशीलताको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने योजनाबारे जानकारी दिँदै उहाँले टोल समाजमार्फत स्टार्टअप कार्यक्रम अघि बढाउने तयारी रहेको बताए । नगरपालिकाले अघि सारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुदलगायतका योजनालाई सफल बनाउन टोल सुधार समाजको सक्रियता आवश्यक रहेको भन्दै उहाँले सहकार्यका लागि आह्वान गरे । सो अवसरमा मेयर कार्कीले समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर बुढाथोकी र संस्थापक उपाध्यक्ष भोजराज आचार्यलाई सम्मानपत्र प्रदान गरे । साथै करिब २७ जनालाई आजीवन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरियो । संस्थाले हालसालै पाँच हजार रुपैयाँ एकमुष्ठ तिरेर आजीवन सदस्य बन्ने योजना अघि सारेपछि धेरै टोलवासी आकर्षित भएको समाजले जनाएको छ । कार्यक्रममा नगरपालिकाका पूर्व मेयर कृष्णहरी थापाले खानेपानी समस्याको समाधानका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष रणबहादुर कार्कीले गत वर्ष सम्पन्न कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ वर्षका योजनामा नगरपालिकाको सहयोग अपेक्षा गरे । सहसचिव विदुरचन्द्र लामिछानेले स्वच्छता, शिक्षा, सीप, आत्मनिर्भरता र सूचना प्रविधिको उपयोगमा समाजले जोड दिनुपर्ने धारणा राख्दै खानेपानी समस्यालाई प्राथमिकतामा राख्न आग्रह गरे । कार्यक्रममा विभिन्न टोल सुधार समाजका प्रतिनिधि, स्थानीय अगुवा र टोलवासीको उपस्थिति रहेको थियो ।
स्याङ्जाका युवाले व्यावसायिक कागतीखेतीबाट कमाए मनग्य आम्दानी
वालिङ । यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका छन् । विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् । गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका थिए । कोरोनाका समयमा घरबाहिर हिँडडुल गर्न नभएपछि समयको सदुपयोग गर्दै कागतीखेती गर्ने योजना बनाएर काम सुरु गरेका रेग्मीको अहिले आम्दानीको गतिलो स्रोत नै कागती बन्न पुगेको छ । 'बाँदरको समस्याका कारण खेतीयोग्य जमिन बाँझिदै गएपछि विकल्पका रूपमा कागतीको सम्भावना देखेपछि कागती रोपेको हुँ', उनले भने, 'त्यतिबेला देखेको सपना अहिले आएर साकार हुँदै गएको छ, खुसी छु ।' खेतीपाती नभएपछि बाँझिएको जमिनलाई फाँडेर उनले गाउँमै पहिलोपटक व्यावसायिक रूपमा थालेको कागतीखेती आज नमूनाका रूपमा रहेको छ । कागतीखेतीसम्बन्धी प्राविधिक ज्ञान नभए तापनि युट्युबमा हेरेरै त्यसको प्रयोग गरिरहेको उनले बताए। 'एक सय बोटमध्ये ९० बोटले गत वर्षबाट राम्रो उत्पादन दिन थालेका छन्', उनले भने, 'गत वर्षको तुलनामा यस वर्ष झनै राम्रो उत्पादन छ, गत वर्षभन्दा उत्पादन दोब्बर बढी हुँदै गएको छ ।' झण्डै पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक कागतीखेती गरेका रेग्मीले गत वर्षमात्र झण्डै रु ६० हजारको कागती बिक्री गरेका थिए । यहाँ उत्पादन भएको कागती स्थानीय वालिङ बजारका होटलमा खपत हुँदै आएको छ । उनले कागती प्रतिकेजी रु दुई सयदेखि तीन सयका दरले बिक्री गर्दै आएका छन् । 'यहाँ उत्पादन भएको कागतीले बजार नपाउने भन्ने समस्या अहिलेसम्म छैन', उनले भने, 'कागती व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले पनि बजार मूल्य राम्रो पाएको छु ।' खाली तथा बाँझिएको जमिनमा अझै नयाँनयाँ बोट थप्दै जाने योजनामा उनी छन् । गाउँमा व्यावसायिक रूपमा उनले कागतीखेती गरेर उत्पादनसँगै आम्दानी लिन थालेपछि अहिले त्यहाँका स्थानीयवासी पनि कागतीखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउने तयारीमा छन् । रासस
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
जुम्ला । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए । त्यसैगरी, वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौँ– गिरेगडा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुङ्गा खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि ढुङ्गाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुङ्गाले गर्दा समस्या भएको उनले बताए । उनले भने, 'हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन ।' आज स्काभेटरको सहायताले ढुङ्गा हटाइने र सडक सञ्चालन गरिने उनले बताए । बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ ।