एमक्यूब र बीवाइडीको सहकार्यमा काठमाडौं क्रोनिकल्सको घोषणा
काठमाडौं । नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको 'काठमाडौं क्रोनिकल्स' एक अनौठो र रमाइलो अनुभवका रूपमा सार्वजनिक गरिएको छ । एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिट स्वरूप ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको हो । कार्यक्रम विशेष रूपमा म्यारियटका एमआइसी (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि तयार पारिएको हो । यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको आयोजकहरूले जनाएका छन् । काठमाडौं क्रोनिकल्सको मुख्य आकर्षण भनेकै उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने 'ट्रेजर हन्ट' हो । सहभागीहरूलाई बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा पुर्याइनेछ, जहाँ उनीहरूले पजल समाधान गर्ने, टास्क पूरा गर्ने र ऐतिहासिक स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन् । यो अनुभवले काठमाडौंलाई अन्तर्राष्ट्रिय स्तरमा एमआइसी गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक सम्मेलनलाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिने प्रमाणित गर्ने आयोजकहरूको विश्वास छ । ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थल सहभागीका लागि रमाइलो गर्ने, ज्ञान साटासाट गर्ने र टिम स्पिरिट जगाउने अनौठो अनुभवमा परिणत हुनेछ । कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भई फेयरफिल्ड बाइ म्यारियटमा समापन हुनेछ । समापन समारोहमा विजेता टोलीलाई 'काठमाडौं एक्सपर्ट्स' को उपाधि प्रदान गरिनेछ । एमक्यूब र बीवाइडीबीचको यस सहकार्यले सहभागीलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौंलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण समेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै
गण्डकी । गण्डकी विश्वविद्यालयले चार करोड १५ लाख २४ हजार रुपैयाँको लागतमा परीक्षा नियन्त्रण कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका–३२ मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय निर्माण गर्न लागिएको हो । निर्माणाधीन सो भवनको एक कार्यक्रमबीच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले आज शिलान्यास गरे । समयमा नै गुणस्तरीय भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै उनले गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर आधुनिक प्रविधियुक्त शैक्षिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको जग्गा प्राप्त गर्न स्थानीयवासी र वडाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री थापाले निर्माणाधीन भवन गुणस्तरयुक्त र अपाङ्गतामैत्री हुनुपर्ने आवश्यकता औँल्याए । विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, रोजगार र समाजिक उत्तरदायित्वमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफू सदैव प्रयत्नशील रहेको उनको भनाइ थियो । भवन निर्माणसँगै परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनले धारणा राखे । पोखरा महानगरपालिका–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले विश्वविद्यालयको उन्नयनका लागि स्थानीय तहबाट गर्नुपर्ने साथ सहयोग निरन्तर गर्दै आएको उल्लेख गर्दै आपसी सहयोग र समन्वयबाट अघि बढ्नुपर्नेमा जोड दिए ।
६ सूचकमा बैंकः कुनको सेयर किन्दा राम्रो ?
काठमाडौं । कुनै समय बैंकिङ क्षेत्र पुँजी बजारका लागि हटकेक थियो । बैंकको सेयर खरिदका लागि लगानीकर्ताहरूबीच ठूलो तछाडमछाड हुन्थ्यो । किनभने तत्कालीन समयमा बैंकको सेयर मूल्य उच्च थियो, कारण हो बैंकले दिने लाभांश पनि उच्च थियो । समयक्रमअनुसार नियामकले बैंकको पुँजीको आकारमा वृद्धि गरायो, हाल बैंकहरूको पुँजी ३८ अर्ब रुपैयाँ भन्दा बढी पुर्याएका छन् । बैंकको आकारसँगै सेयर मूल्य पनि विस्तारै घट्न थाल्यो । हाल बैंकहरूको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँदेखि साढे ७ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । जबकि विगतमा बैंकको सेयर मूल्य ९ हजार रुपैयाँसम्म पनि पुगेको थियो । लगानीकर्ताहरुले लगानी गर्दा सम्बन्धित कम्पनीहरूको वित्तीय विवरणको विश्लेषणदेखि अन्य विभिन्न अवस्थालाई अध्ययन गरी लगानी गर्ने गर्छन् । बैंकिङ क्षेत्र पुँजी बजारको एक प्रमुख आधार हो, तर यसको सेयर किन्नु अघि सम्बन्धित बैंकका सूचकहरू कस्ता छन् भनेर हेर्न जरुरी हुन्छ । बैंकमा लगानी गर्ने योजना बनाइरहेका लगानीकर्ताहरूका लागि भने विभिन्न मुख्य सूचकहरूलाई यहाँ उल्लेख गरिएको छ । गत वर्ष वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा साढे २१ अर्ब रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको वितरणयोग्य नाफा २१ अर्ब ६७ करोड ९८ लाख २१ हजार रुपैयाँ पुगेको हो । गत वर्ष १६ बैंकको वितरणयोग्य नाफा धनात्मक भएपनि ४ बैंकको भने ऋणात्मक छ । गत वर्ष सबैभन्दा धेरै वितरणयोग्य नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । ग्लोबल आइएमईको ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । समीक्षा वर्षमा एभरेष्ट बैंकको ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ, नबिल बैंकको ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ५३ लाख ७२ हजार रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको देखिन्छ । एभरेष्ट बैंकको लाभांश क्षमता ३८.३७ प्रतिशत रहेको छ । यस्तै, सानिमा बैंकको २०.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, एनएमबि बैंकको १८.४ प्रतिशत, नबिल बैंकको १७.६४ प्रतिशत, प्राइम बैंकको १४.३३ प्रतिशत लाभांश क्षमता रहेको छ । ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.३४ प्रतिशत, नेपाल एसबिआई बैंकको ११.२९ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, सिटिजन्स बैंकको ५.२५ प्रतिशत, प्रभु बैंकको ४.४४ राष्ट्रिय वाणिज्य बैंकको १.९४ प्रतिशत, एनआईएमबिको १.४४ प्रतिशत लाभांश क्षमता छ । गत वर्ष सबैभन्दा धेरै एभरेष्ट बैंकको रिटर्न अन इक्विटी (आरओई) धेरै रहेको छ । एभरेष्टको आरओई १६.४४ प्रतिशत रहेको छ । जुन वाणिज्य बैंहरुमा सबैभनदा धेरै हो । यस्तै, प्रभु बैंकको १४.९५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १४.१८ प्रतिशत, प्राइम बैंकको १२.५१ प्रतिशत, कृषि विकास बैंकको ११.८८ प्रतिशत, सानिमा बैंकको ११.७३ प्रतिशत, नबिल बैंकको ११.६४ प्रतिशत, सिद्धार्थ बैंकको ११.५ प्रतिशत, माछापुच्छ्रेबैंकको ११.१३ प्रतिशत, एनएमबि बैंकको १०.६६ प्रतिशत आरओई रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) को १०.६ प्रतिशत, नेपाल बैंकको १०.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.६१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.५८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.०१ प्रतिशत, सिटिजन्स बैंकको ५.८१ प्रतिशत, कुमारी बैंकको ५.६८ प्रतिशत, हिमालयन बैंकको ४.०६ प्रतिशत, एनआईसी एशिया बैंकको १.८९ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ । प्रतिसेयर आम्दानीमा एभरेष्ट बैंक नै अग्रस्थानमा छ । एभरेष्टको ३७.९९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३०.१७ रुपैयाँ, कृषि विकास बैंकको २७.६३ रुपैयाँ, नबिल बैंकको २६.३४ रुपैयाँ, नेपाल बैंकको २५.६८ रुपैयाँ, सिद्धार्थ बैंकको २४.१ रुपैयाँ, प्रभु बैंकको २३.१२ रुपैयाँ, प्राइम बैंकको २०.७४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । यस्तै, एनआईएमबिको १९.८ रुपैयाँ, सानिमा बैंकको १८.९३ रुपैयाँ, एनएमबि बैंकको १७.८७ रुपैयाँ, माछापुच्छ्रे बैंकको १७.३१ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६.९१ रुपैयाँ, नेपाल एसबिआई बैंकको १६.५४ रुपैयाँ, ग्लोबल आइएमई बैंकको १४.११ रुपैयाँ, सिटिजन्स बैंको ८.७६ रुपैयाँ, कुमारी बैंकको ८.०७ रुपैयाँ, हिमालयन बैंकको ६.९८रुपैयाँ र एनआईसी एशिया बैंकको १.०८ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । प्रतिसेयर नेटवर्थमा भने नेपाल बैंक अ्रगस्थानमा छ । समीक्षा वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ । यस्तै, नेपाल बैंकको २५९.८१ रुपैयाँ, एभरेष्ट बैंकको २४७.३९ रुपैयाँ, कृषि विकास बैंकको २४१.०४ रुपैयाँ, नबिल बैंकको २३५.५८ रुपैयाँ, एनआईएमबिको २३१.०२ रुपैयाँ, सिद्धार्थ बैंकको २१९.९७ रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २१७ रुपैयाँ, एनआईसी एशिया बैंकको १९७.३ रुपैयाँ, नेपाल एसबिआई बैंकको १८८.५९ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ । यस्तै, लक्ष्मी सनराइजको १८६.६३ रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७७.६३ रुपैयाँ, एनएमबि बैंकको १७६.८१ रुपैयाँ, हिमालयन बैंकको १७५.०७ रुपैयाँ, प्राइम बैंकको १७३.७२ रुपैयाँ, सानिमा बैंकको १६८.८३ रुपैयाँ, माछापुच्छ्रे बैंकको १६३.८ रुपैयाँ, प्रभु बैंकको १६२ रुपैयाँ, सिटिजन्स बैंकको १५५.४२ रुपैयाँ, र कुमारी बैंकको १४२.१९ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको तथ्याङ्क छ ।
लुम्बिनी प्रदेश : राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा गर्ने प्रदेश सरकारको निर्णय
लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले १२ निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानुनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका विषयबारे निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । राजधानी क्षेत्रभित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार सर्तसहित फुकुवाका लागि सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । निर्णयअनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका–१, २ र ३ मा एक कट्ठाभन्दा कम र शीतगङ्गा नगरपालिका–८ र ९ मा एक रोपनीभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन । साथै जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका सर्तहरू पालना गर्नेगरी सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश राजधानी घोषणाअघि २०७७ असोज १६ गते सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो। बैठकले तीन प्रदेश सचिवको जिम्मेवारी तोकेको छ । मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई युवा तथा खेलकुद मन्त्रालय र चुर्णबहादुर ओलीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । प्रदेश निजामती सेवा पुरस्कार छनोटका लागि मापदण्ड स्वीकृत गरेको छ। यस्तै, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन र आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासिकका लागि अस्थायी सङ्गठन संरचना स्वीकृत गरिएको छ । बैठकले सञ्चारमाध्यमसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न अवधारणापत्र स्वीकृत गरेको छ । त्यस्तै, नुवाकोट सांस्कृतिक डबली तिनाउ गाउँपालिकालाई हस्तान्तरण गर्ने, अष्ट्रेलियाको वेन्डिगोस्थित ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासनसँग औपचारिक सम्बन्ध स्थापना गर्दै बुद्धको प्रतिमा स्थापना गर्ने निर्णय पनि भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भूमि व्यवस्थापनसम्बन्धी विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति दिइएको छ भने सामाजिक विकास मन्त्रालयमार्फत दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको छ । स्वास्थ्य मन्त्रालयका तर्फबाट प्रस्तुत गरिएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति नियमावली, २०८२ संशोधन मस्यौदालाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि
काठमाडौं । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी यही भदौ १३ गते बाट राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जीबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एण्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण तथा नेपाल सौर्य विद्युत उत्पादक संघ सहयोगी संस्थाको भूमिकामा रहनेछन् । मिडिया स्पेस सोलुसनस नेपालका अध्यक्ष श्रीजल भट्टराईले यो प्रदर्शनी चौथो पटक हुन लागेको बताए । उनका अनुसार अनुसार यसपटक स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टलहरू रहनेछन् । ती स्टलमा उच्च गुणस्तरका अत्याधुनिक प्रविधि भएका ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामाग्री, वायर, केबल, कन्डक्टर, नवीनतम प्रकारका स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री प्रदर्शनीमा राखिने छन् । नेपालमा बढ्दो जलविद्युत उत्पादनलाई विभिन्न विद्युतीय माध्यममार्फत खपत बढाउने, आयात प्रतिस्थापनमा सहयोग पुर्याउने र ऊर्जा व्यवसायलाई सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको उनले जानकारी दिए । साथै यस प्रदर्शनीले विद्युत, इलेक्ट्रोनिक्स र होम अपलायन्स उद्योगसँग सम्बन्धित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई आपसी साझेदारी, अनुभव आदान–प्रदान र नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको भट्टराईको भनाइ रहेको छ । उनका अनुसार दशैंको अवसरलाई लक्षित गरेर आयोजना गरिएको प्रदर्शनीमा उपभोक्ताहरूलाई विभिन्न ब्रान्डका विद्युतीय सामग्री एउटै स्थलमा हेर्न र मनपर्ने सामान खरिद गर्न सक्ने अवसर मिल्नेछ । नेपालमा दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा नयाँ विद्युतीय सामग्री खरिद गर्ने परम्परा रहेकोले प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्नेछ । प्रदर्शनीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि र वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसाय प्रवद्र्धन गर्ने, नवीनतम उपलब्धीहरूको जानकारी आदान–प्रदान गर्ने तथा उपभोक्तालाई ऊर्जा व्यवस्थापन र दिगोपनाबारे सचेत गराउने लक्ष्य लिइएको उनको भनाइ छ । प्रदर्शनी ३ दिनसम्म चल्नेछ । नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायन्सेस प्रदर्शनीले व्यवसायी, उपभोक्ता र नीतिनिर्मातालाई एउटै मञ्चमा ल्याई ऊर्जा र विद्युतीय बजारलाई दीगो बनाउन आधारभूत योगदान गर्ने आयोजकको विश्वास छ ।
सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २७६३ बिन्दुमा पुगेको छ । आज १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टीलरीको २० करोड, राधी विद्युत कम्पनीको १७ करोड र छिमेकी लघसवित्तको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.०५ र म्युचुअफ फण्ड समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.५८, विकास बैंक ०.९५, वित्त ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत् ०.३२, लगानी ०.३४, र जीवन बिमा समूह ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त १.५०, निर्जीवन बिमा ०.३१, व्यापार ०.०५ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
तीजले होटल तथा पार्टी प्यालेसमा चहलपहल, सुन र कपडा व्यापार भने न्यून
चितवन । तीज पर्वले यहाँको बजार चलायमान बनाएको छ । वर्षातका कारण सुनसान रहेको बजार क्षेत्र तीज अघिदेखि नै चलायमान बनेको हो । मुख्य गरी कपडा, कस्मेटिक, सुन, ब्युटीपार्लर, पार्टी प्यालेस, होटल क्षेत्रमा चहलपहल बढाएको हो । ठूला साना यातायातका साधनको चहलपहल बढ्दा यातायात व्यवसायी पनि लाभान्वित भएका छन् । व्यवसायीले सोचेजस्तो व्यापार भने हुन नसकेको बताएका छन् । गाउँगाउँमा पसल खुलेका र अनलाइनबाट व्यापार हुने भएकाले मुख्य बजार क्षेत्रका पसलको व्यापार भने विगतजस्तो छैन । अघिल्ला वर्षहरुमा तीजमा दर खाने समय लामो हुँदा होटल तथा पार्टी प्यालेसहरुको व्यापार राम्रो हुने गरेको भए पनि अहिले सोचेअनुसार नभएको होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले बताए । उनले भने, 'होटलहरुमा व्यवसाय खासै छैन, पार्टी प्यालेस भने केही चलेका छन् ।' अघिल्ला वर्षहरुमा दर खाने मिति पछि हुने हुँदा केही व्यवसाय उकासिने गरेको भए पनि अहिले तीज छिट्टै आएका कारण अपेक्षाकृत रुपमा व्यापार नभएको उनको भनाइ छ । साउन महिनामा चोखो खाने भएकाले भदौ लागेपछि मात्रै तीजको चहलपहल भएको हो । आम नागरिकसँग क्रयशक्ति कम हुँदा पनि व्यवसायमा सोचेजस्तो हुन नसकेको उनको भनाइ छ । अनलाइन व्यापार राम्रो भए पनि पसलहरुको व्यापार कम भएको कपडा व्यवसायीको गुनासो छ । कपडा व्यवसायी सङ्घका अध्यक्ष गुणराज पौडेलले पछिल्लो समय अनलाइनमा ५०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्मका साडी पाउने भएपछि उपभोक्ता त्यतै केन्द्रित भएको बताए । उनले भने, 'अघिल्ला वर्षहरुमा रु १०/२० हजार बोकेर बजार आउने ग्राहक अहिले रु दुई–तीन हजार लिएर आउने गरेका छन् ।' अघिल्ला वर्षहरुको जस्ता तडकभडक नहुँदा पनि व्यवसायमा सोचेजस्तो नभएको उनले बताए । उनले थपे, 'रमाउने उमेरका युवायुवती विदेश पलायन हुनु र खर्च गर्ने क्षमता समेत घट्नुले व्यवसायमा समेत प्रभाव परेको देखिन्छ ।' आर्थिकमन्दीका कारण मान्छेको चाप भए पनि खरिद गर्ने ग्राहक खासै नभएको उनले बताए । न्यू लोकमान एण्ड सन्स (सुनचाँदी पसल)का सञ्चालक ज्ञानेन्द्रमान शाक्य बजारमा चहलपहल बढे पनि व्यापार निकै घटेको बताउँछन् । उनले भने, 'मानिसलाई खान मुस्किल छ, कसरी सुन किन्नु ?' सुनको मूल्य निकै बढेकाले पनि व्यापारमा कमी आएको उनको भनाइ छ । सुन लगाउँदा जोखिम बढेको भन्दै उनले ‘फटाहा र प्रशासनको आँखा पर्छ’ भनेर पनि सुन लगाउने घटेको बताए । पहिलेको तुलनामा ८० प्रतिशत व्यापार घटेको शाक्यले बताए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ बजारमा मानिसको चहलपहल भए पनि अघिल्ला वर्षको जस्तो व्यापार हुन नसकेको बताउँछन् । उनले भने, 'चाडपर्व सुरु हुँदासमेत व्यापार अपेक्षाकृत रुपमा बजारमा हुन सकेन ।' चाडपर्व मनाउने युवा जनशक्ति विदेश जानुले व्यवसाय अपेक्षाकृत हुन नसकेको उनको अनुमान छ । अहिलेको आर्थिकमन्दीका कारण पनि व्यवसायमा असर देखिएको उनले बताए । रासस
सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार
भीमदत्तनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो । आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथा अनियमितासम्बन्धी एक हजार ६९६ उजुरी परेको बताए । उनका अनुसार त्यसमा ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएका हुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन् । आयोगको महेन्द्रनगरस्थित कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम डडेल्धुराका ११० उजुरी परेका छन् । त्यस्तै दर्ता भएका उजुरीमा कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, अछामका २१०, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी रहेको कार्यालयको तथ्याङ्क छ । आयोगमा परेका उजुरीमध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टको भनाइ छ । त्यस्तैगरि अछाम र बैतडीका १३/१३ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान छ/छ वटा उजुरीउपर विस्तृत अनुसन्धान चलिरहेको आयोगले जनाएको छ । त्यस्तै कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरीमाथि पनि विस्तृत अनुसन्धान हुँदैछ । विस्तृत अनुसन्धानपछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ । आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकरावका कारण पनि आउने गरेको आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धानबाटै फछ्र्योट गर्ने गरेको छ । आयोगले गत आवमा दर्ता भएका उजुरीमध्ये एक हजार २३४ उजुरी फछ्र्योट गरिएको छ । स्क्रिनिङ्गबाट ४८१, प्रारम्भिक छानबिनबाट ७५३ उजुरी फछ्र्योट गरिएको आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ । साथै आयोगले ७३५ उजुरी तामेलिमा पठाएको छ भने दुई उजुरी सुझावसहित तामेली, २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखि पठाएको र १७२ उजुरी अन्यमा गाभिएको छन् । रासस