‘टाटा मोटर्स् कार मेला सिजन-५’ अाजबाट शुरु, गाडी खरिदमा ४ लाख सम्म नगद छुट
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ‘टाटा मोटर्स् कार मेला–५’ शुक्रबारबाट काठमाडौंको नक्साल बैङ्केटमा शुरु गरेकाे छ । उक्त मेलाको उद्घाटन टाटा मोटर्सको नेपालका लागि कन्ट्री म्यानेजर अजित सिंह र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का जनरल म्यानेजर प्रविन खतिवडाले संयुक्त रुपमा गरेका हुन् । उक्त मेला आजदेखि आगामी आइतबार दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म संचालन हुनेछ । वार्षिक रुपले आयोजना गरिने हुनाले ग्राहकहरु यस सिजनको पर्खाइमा रहेर आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको छ । उक्त मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाख सम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्रि वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिने कुरा कम्पनीले जानकारी गराएको छ । विशेष गरि कारका पारखीहरुका लागि लक्षित गरेर आयोजना गरिएको उक्त कार मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्ष उक्त मेलामा ३,००० भन्दा बढी दर्शकहरुले सहभागिता जनाउने कम्पनीले बताएको छ ।
बोर्ड सदस्यको आचारसंहिता लागू, दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४” लागू गरेको छ । बोर्डले बजारमा सुशासन कायम गर्ने उद्देश्यले बोर्डका कर्मचारीहरुको लागि आचारसंहिता लागू गरेको हाे । उक्त आचारसंहिता लागू भएसँगै बोर्ड सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको संस्थापक शेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोश्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न नपाउने भएका छन् । त्यस्तै, बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाको अतिरिक्त बोर्डवाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालिन पदाधिकारीको रुपमा रहन नहुने बोर्डले बताएको छ । बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्रको दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचिकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका सङ्गठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यस्तो संस्था सम्बन्धी हुने छलफल तथा निर्णयमा सहभागी हुन नपाउने बोर्डद्धारा लागू भएको आचारसंहितामा उल्लेख छ । साथै, बोर्ड सदस्यले ओहदाको कर्तव्य पालना गर्दा आफूलाई ज्ञात हुन आएको कुनै कुरा वा बोर्ड वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहितहुने गरी बोर्ड बाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सङ्केत वा प्रकट गर्न नपाउने भएका छन्। बोर्ड सदस्यले अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका सङ्गठित संस्थालाई कुनै प्रकारको सेवा प्रदान गरेको भए बोर्डलाई सो को जानकारी दिनु पर्नेछ । साथै, त्यस्तो संस्थाका सम्बन्धमा बोर्डमा हुने छलफलमा स्वार्थ बाझिने हुँदा त्यस्तो छलफल तथा निर्णयमा भाग लिनु नहुने बोर्डले जनाएको छ । त्यस्तै, बोर्ड सदस्यले बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत सङ्गठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाउने बोर्डद्धारा लागू भएको आचारसंहितामा उल्लेख छ । बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृति बिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कूनै सदस्यबाट स्वीकार गराउन नपाउने भएका छन् । बोर्डले सूचीकृत संगठित संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तयार गर्ने क्रममा रहेको सन्दर्भमा नियमनकारी निकायका बोर्ड सदस्यहरु सुशासित भएमात्र समग्र बजारमा सुशासन कायम गर्न सकिने बोर्डले जनाएको छ । बोर्डले सुशासन कायम गर्न सकिने मान्यता सहित बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार, इमान्दारीता तथा गोपनीयता, वित्तीय अनुशासन, पदको दुरुपयोग, कार्य जिम्मेवारी अनुसार कार्य सम्पादन गर्नु पर्ने, दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन नहुने, शेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने आदि व्यवस्थाहरु समावेश गरि “नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचारसंहिता, २०७४”बनाई लागू गरेको हो ।
प्रभु इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, बीमा कम्पनीहरुको निरीक्षण कडा बनाउने चापागाईकाे भनाई
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २१ औं वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा आयोजित एक कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले बीमा कम्पनीहरुको पुँजी बृद्धि सम्वन्धमा नयाँ मापदण्ड तय गरिएकोमा तोकिएको समयमै कम्पनीहरुले पुँजी कायम गर्न सफल हुने विश्वाश व्यक्त गरेका छन् । साथै, उनले निर्जिबन बीमाको दायरा बृद्दि गर्नको लागि हुलदंगा तथा आतंकबादको बीमा दर परिमार्जन गरिएको बताए । आगामी दिनहरुमा बीमा कम्पनीहरुको निरिक्षण प्रभावकारी बनाउँदै लगिने र बीमा क्षेत्रमा नियम, बिधि तथा कानुन अनुसार काम नगर्नेलाई कारवाही गर्न पछि नपर्ने चापागाईले जनाएका छन् । कार्यक्रममा कम्पनीका अध्यक्ष कुसुम लामाले कृषि तथा बाली बीमा सम्वन्धमा सहकार्य गरि अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताइन् । साथै, उनले बीमा समिति र बीमा कम्पनीहरुले सहकार्य गरी जनचेतनामुलक कार्यक्रम संचालन गरि अगाडी बढ्नु पर्नेका साथै कृषि तथा बाली बीमाको लागि पुर्वाधार बृद्धि गरि अगाडि बढ्नु पर्ने बताएकी छन् । सोहि कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै र आवश्यकता अनुसार शाखा शञ्जाल बिस्तार गरिंदै लगिने बताएका छन् ।
घरवालाले १३ रुपैयाँ बढी बिजुली महशुल उठाए कार्वाही हुने
काठमाडौं । घरवालाले डेरावालासंग तोकिएको भन्दा बढी बिजुली महशुल उठाए कार्वाही हुने भएको छ । विद्युत महशुल निर्धारण आयोगले सुचना प्रकाशित गरी डेरावालसंग प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल असुले ठगी गरेकोमा कार्वाही गर्ने जानकारी दिएको छ । ०७३ असार १६ गते निर्धारण गरेको भन्दा बढी महशुल नलिन आयोगले भनेको छ । घरवालाले डेरवालसंग प्रतियुनिट २४ रुपैयाँसम्म महशुल उठाएको उजुरी आएपछि तोकिएको भन्दा बढी नलिन सचेत गराइएको आयोगका अध्यक्ष जगतकुमार भुसालले बताए । “ग्राहस्थलाई निर्धारण गरेको महशुल दर बढीमा प्रतियुनिट १३ रुपैयाँ हो” उनले भने “यो भन्दा बढी महशुल उठाए ठगिमा कार्वाही हुन्छ ।” उनले प्रतियुनिट १३ रुपैयाँ भन्दा बढी महशुल नतिर्न डेरावाललाई अनुरोध गरेका छन् । कुनै घरवालाले तोकिएको भन्दा बढी रकम तिर्न वाध्य बनाए सिधै ठगी गरेको उजुरी गर्न अनुरोध गरेका छन् । ०७३ मा बिजुलीको महशुल दरमा समायोजन गरी आयोगले प्रस्तावित ग्राहस्थ महशुल दरलाई ७ वर्गमा विभाजन गरेको छ । न्यूनतम शुल्क ३० रुपैयाँदेखि १७५ रुपैयाँसम्म प्रस्ताव गरिएको छ । ३१ देखि ५० युनिटलाई प्रतियुनिट साढे ८ रुपैयाँ र न्यूनतम शुल्क ७५ रुपैयाँ, ५१ देखि ५० युनिटसम्मलाई १० रुपैयाँ महशुल र शुल्क १ सय रुपैयाँ, १५१ देखि २०० युनिटसम्मलाई प्रतियुनिट ११ रुपैयाँ र १२५ रुपैयाँ शुल्क, २०१ देखि ४ सय युनिटसम्मलाई १२ रुपैयाँ र न्यूनतम शुल्क १५० रुपैयाँ र ४ सयदेखि माथिलाई प्रतियुनिट १३ रुपैयाँ र न्यूनतम शुल्क १७५ प्रस्ताव गरेको आयोगले जनाएको छ ।
नेप्सेले योग्यता सच्चाएर चाटर्ड एकाउन्टेन्ट र लेखा क्षेत्रलाई सीईओ बन्न बाटो खुलायो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यता र अनुभवलाई परिमार्जन गरी थप गरेको छ । एक्सचेन्जले बिहीबार सूचना प्रकाशित गरी चाटर्ड एकाउन्टेन्सी वा सो सरह उपाधी हासिल गरी उद्योग वाणिज्य वा लेखा क्षेत्र मध्ये एक वा सो भन्दा बढी क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । उमेरका भने सच्चाइएको छैन् । गत साउन १७ गते सीईओ नियुत्तिका लागि सूचना प्रकाशित गर्दा मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानून विषयमा कम्तिमा स्नातकोत्तर उपाधी हासिल गरी धितोपत्र बजार, पुँजी बजार, बैक तथा वित्तीय क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको थियो ।
युरोपबाट वाइवाइको व्यवसायिक उत्पादन शुरू, बंगलादेशबाट पनि छिट्टै गर्ने लक्ष्य
काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइवाइको यूरोपबाट व्यवसायिक उत्पादन शुरु भएको छ । युरोपको सर्बिया मानव निर्मित वाइवाइ प्लान्टबाट युरोपियन उपभोक्ताका लागि वाइवाइ उत्पादन शुरू भएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहिबार सर्बिया स्थित वाइवाइको प्लान्टमा आयोजित एक भव्य समारोहका बीच व्यवसायिक उत्पादन (कमर्सियल प्रडक्सन)को उद्घाटन गरे । ‘नेपाली उत्पादन विश्वब्यापी ब्राण्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ’, अध्यक्ष चौधरीले भने, ‘यो प्रत्येक नेपालीका लागि गौरवको बिषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौँ ।’ अध्यक्ष चौधरीले वाइवाइ मार्फत् युरोपमा नेपाललाई चिनाउन पाएकोमा आफु गौरवान्वित भएको बताए । यसबाट युवा उद्यमीहरूका लागि नेपालबाट विश्वमा उद्यम व्यवसाय फैलाउन सकिन्छ भन्ने सन्देश र उर्जा प्राप्त हुनेछ भन्ने विश्वास पनि उनले व्यक्त गरे । नेपाली उपभोक्ताको प्रिय ब्राण्ड वाइवाइ अब विश्व व्यापी उपभोक्ता बीच तिब्र गतिमा लोकप्रिय बनिरहेको छ । वाइवाइ चाउचाउको नेपालमा फैलिने क्रमसँगै विश्व बजारमा पनि विस्तार भइरहेको छ । हालै मात्र सिजी इन्डष्ट्रियल पार्क नवलपरासीमावाइवाइको थप एक प्रडक्सन युनिटको विस्तारसँगै नेपालमा ७ वटा प्रडक्सन युनिट रहेका छन् ।केही समयअघि पश्चिम नेपालको बर्दियाबाट वाइवाइ उत्पादन शुरू भएको थियो । निकट भविष्यमा पूर्वी नेपालबाट पनि वाइवाइ उत्पादनका लागि आवश्यक तयारी शुरू भईसकेको छ । भारतीय उपभोक्ता बीच वाइवाइको लोकप्रियता बढ्दो क्रममा छ । भारतमा हालसम्म नौंवटा प्रडक्सन युनिट स्थापना भइसकेका छन् भने थप विस्तार हुने क्रम जारी छ । भारतीय नूडल्स बजारमा वाइवाइले २७ प्रतिशत हिस्सा सहित दोस्रो स्थान ओगटेको छ । नेपाल र भारतपछि वाइवाइ युरोप, अफ्रिका, मध्यपूर्व र एसियाकाअन्य देशहरूमा विस्तार गर्ने रणनीति अनुरूप हाल युरोपबाट उत्पादन शुरू भएको हो ।सन् २०२० सम्ममा अन्तर्राष्ट्रिय थप १० ठाउँबाट वाइवाइ उत्पादन गर्ने योजनाको यो एक अंश हो । सर्बियामा स्थापना भएको वाइवाइको यो १७औँ प्लान्ट हो । सन् २०१७ भित्रै बंगलादेशबाट पनि वाइवाइ उत्पादन शुरू गर्ने लक्ष्य अनुरूप काम भइरहेको छ ।
स्मार्ट फोनले बढायो सम्बन्ध विच्छेद
रोल्पा । रोल्पामा सम्बन्ध विच्छेदका घटना दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । जिल्ला अदालत रोल्पामा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा आएको बढोत्तरीसँगै यस्तो अवस्था देखिएको हो । सम्बन्ध विच्छेदका घटनामध्ये अधिकांशका श्रीमान् वैदेशिक रोजगारीमा रहेको पाइएको रोल्पा जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारी दामोदर दाहालले बताए । सम्बन्ध विच्छेद गर्दा श्रीमानबाट अधिकांश महिलाले नगद जिन्सी लगायतका कुनै पनि सम्पत्ति नलिएरै छुटिृने गरेको बताइएको छ । आधुनिक सूचना प्रविधिले धेरै कुरा सहज बनाएको भए पनि सामाजिक विकृतिसमेत थपेका कारण जिल्लामा सम्बन्ध विच्छेदको घटनाले तीव्रता पाइरहेको छ । जिल्ला अदालतमा आर्थिक वर्ष २०७२/७३ मा ३२३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता रहेकामा आव ०७३/७४ मा यो सङ्ख्या बढेर ३३३ पुगेको दाहालले जानकारी दिए । स्मार्ट फोनको दुरुपयोग, वैदेशिक रोजगारीमा गएका श्रीमान् लामो समयसम्म घरमा नआउनु, गाउँको बसाइ छाडेर शहरकेन्द्रित हुने प्रवृत्ति बढेसँगै सम्बन्ध विच्छेदका घटनासमेत बढिरहेको अधिवक्ता श्रीमन् पोख्रेलले बताए । रासस
आशा लघुवित्तको थप तीन शाखाबाट कारोबार सुरु
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ३ वटा शाखा कार्यालयहरुको कारोवार शुभारम्भ गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा उर्लावारी-मोरङ्, सुरुङ्गा-झापा र बुधवारे(जयपुर)-झापा रहेको छ । सो कार्यक्रमहरुमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, स्थानिय निकायका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयबृद्धिमुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी शाखा कार्यालयहरु स्थापना गरेको जानकारी संस्थाका विभागीय प्रमुख जीवन खनालले जानकारी दिए ।