घडेरी खरिदका लागि २ लाख रुपैयाँ माग्न एकमात्र निवेदन
नुवाकोट। भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका तर, जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदान स्वरुप २ लाख रुपैयाँ दिने सरकारको निर्णय भएपनि नुवाकोटमा त्यसको आकर्षण निकै कम देखिएको छ । भूमिहिन भएर आवास निर्माण गर्न जग्गा खरिदका लागि संकलन शुरु गरेको तीन महिनामा एक थानमात्र निवेदन परेको छ । आवास निर्माण लाभग्राही सूचीमा समावेश भएको तर, आफ्नै नाममा जग्गा नभएका पीडितलाई घर बनाउन जग्गा खरिदका लागि अनुदान स्वरुप बढीमा २ लाख रुपैयाँ उपलब्ध गराउन निवेदन संकलन माग गरे पनि लच्याङबाट एक घरधुरीले मात्र निवेदन दिएका छन् । भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण पहिलो संशोधन कार्यविधिमा सार्वजनिक स्थल, वन क्षेत्र र सरकारी जग्गामा बासोबास गर्दै आएका भूकम्पपीडित लाभग्राही सूचीमा परेका तर जग्गा नभएकालाई घडेरी खरिद गर्न प्राधिकरणले अनुदानस्वरुप २ लाख रुपैयाँ दिन लागे पनि अपेक्षाभन्दा निकै कम निवेदन परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख बेदप्रसाद गौडेलले जानकारी दिए । नुवाकोटमा भूमि अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था भूमि अधिकार मञ्चका अनुसार आफ्नै नाममा जग्गा नभएका पीडितको संख्या ५०० भन्दा बढी रहेका छन् । भूमिहिन भूकम्पपीडितले घडेरी खरिदका लागि २ लाख रुपैयाँ र त्यसपछि निजी आवास निर्माण गर्न थप रु तीन लाख अनुदान पाउने भएपनि जग्गाको अभावमा पीडितले अनुदान सम्झौता समेत गर्न नपाएकाले निवेदन नदिएको हुन सक्ने मञ्चका कार्यालय सचिव कल्पना न्यौपानेले बर्ताए । भूकम्पले नुवाकोटमा ६५ हजार ७५९ घरधुरी पूर्ण क्षति भएकामा आवास निर्माण गर्न ६२ हजार ३७४ धरधुरीले मात्र अनुदान सम्झौता गरेका छन् । भूमिहिन तथा घरको मूली नहुँदा भूकम्पले घर गुमाएर लाभग्राही सूचीमा रहेका अझै तीन हजार ३८५ घरधुरीले सम्झौता गर्न बाँकी छ । रासस
जापानी लगानीकर्तालाई नेपालमा लगानीका लागि सेमिनार गरिने
जापान । नेपालको आर्थिक तथा भौतिक विकासमा प्रमुख साझेदार रहँदै आएको जापान सरकार र जापानी नागरिकले अब सोझै नेपालमा लगानी गर्न पाउने व्यवस्थाका लागि पहल शुरु गरिएको छ । जापानी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने उद्देश्यले जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र जापान एक्ट्रनल ट्रेड अर्गनाइजेसन जिट्रो प्रमुखबीच राजधानी टोकियोमा भएको भेटवार्तामा उक्त पहल गरिएको हो । भेटवार्तामा विदेशमा जापानी लगानीकर्ता र व्यवसायीलाई सहयोगी भूमिका निर्वाह गर्दै आएको जिट्रोले नेपालमा कार्यालय स्थापना मार्फत सघाउ पु¥याउने भन्दै दुवै पक्षबाट तत्काल गर्न सकिने कामका बारेमा छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएको छ । हालसम्मको व्यवस्थाअनुसार भ्रमण वा अन्य उद्देश्यले नेपाल गएर मन परेको क्षेत्रमा सोझै आबद्धता जनाउन चाहने जापानी नागरिकलाई पुनः जापान पुगेर जेट्रो कार्यालयसँग सहमति लिनुपर्ने झन्झट हटाउन नेपालमा कार्यालय स्थापनाका लागि जापानी लगानीकर्तालाई तत्कालका लागि नेपालीसँग लगानी साझेदारी गर्न सघाउने संयन्त्रबारे वैकल्पिक उपायबारे पनि दुवै पक्षबीच छलफल भएको थियो । लगानी गर्न इच्छुकलाई आधिकारिकता प्रदान गरी सहायता गर्ने जापानको आधिकारिक निकाय जिट्रोका प्रमुख हिरोयुकी इसिगे र नेपाली राजदूत राणाबीच भएको भेटमा लगानी बढाउन नेपालमै जिट्रोको कार्यालय स्थापना गर्ने बिषयमा छलफल भएको छ । नेपालको भौतिक तथा औद्योगिक क्षेत्रमा सीमित जापानी लगानीकर्तालाई जिट्रोको कार्यालय स्थापनामार्फत आर्थिक र प्राविधिक क्षेत्रको सबै तहमा पु¥याउन आवश्यक रहेको तर्कसहित नेपाल सरकारका तर्फबाट राजदूतावासले पहल गरेको हो । जसअन्तर्गत तत्कालै राजदूतावासले कार्यालय स्थापनाको पूर्वाधारका लागि पहिलो चरणमा जापानी उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका अवसरका बारेमा जानकारी गराउन जापानमा नेपाल इन्भेस्टमेन्ट सेमिनार गर्नेछ । राजदूत राणाको पहलस्वरुप भएको भेटमा सेमिनारबाट जापानी व्यवसायी तथा लगानीकर्तालाई सिधै लगानी गर्न आवश्यक सहायताको पहल गर्ने विषयमा पनि छलफल गरिएको उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए। रासस
यी हुन नेपालमा निजी विमान चढ्न सक्ने उद्योगी व्यवसायी
काठमाडौं । सरकारले निजी विमान खरिद गरेर चढन् सक्ने बाटो खुल्ला गर्ने तयारी थालेको छ । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उद्योग व्यवस्थापन नियमावलीको मस्यौदा तयार पारेर निजी विमान राख्ने व्यवस्था अघि सारेको हो । यसरी व्यक्तिले विमान खरिद गर्न पाउने भएपछि केहि उद्योगी तथा व्यवसायीलाई जहाज खरिद गरेर चड्न बाटो खुल्नेछ । नेपालमा निजी जहाज खरिद गरेर चढ्न सक्ने व्यक्तिहरुको ठुलै समुह रहेको बताइन्छ । नेपालका एक मात्रै डलर अर्बपति बिनोद चौधरी निजी जहाज चढ्न सक्ने पहिलो उद्यमी हुन् । उनको नेपाल देखि विदेशमा ठुलै लगानी रहेको छ । चौधरी बाहेक आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल, प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन, सिद्धार्थ शमशेर राणा, गोल्छा अर्गनाइजेशनका शेखर गोल्छा, शाहिल अग्रवाल लगायतलाई निजी विमान चढ्न सक्ने व्यवसायीका रुपमा हेरिन्छ । यी नेपाली व्यवासायी बाहेक केहि गैर आवासिय नेपालीहरु पनि निजी जहाज खरिद गर्न सक्ने आर्थिक हैसियतमा रहेका छन् । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, शेष घले र भवन भट्ट पनि निजी विमान खरिद गरेर चढ्न सक्ने व्यवसायीमा पर्छन । कानुनी व्यवस्था नभएपछि नेपालका कुनै पनि उद्योगी तथा व्यवसायीले हालसम्म निजी जहाज खरिद गरेर चढ्न सकेका छैनन् ।
देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढ्यो
काठमाडौं । देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढेको छ । बैंकले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ११५ दशमलब ३८ प्रतिशतले बढाएर २८ करोड पुर्याएको हो । आर्थिक बर्ष २०७२/७३ मा बैंकले १३ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बैंकले एक अर्ब ५ करोड ब्याज आम्दानी गरेको छ भने ५० करोड ब्याज खर्च गरेको छ । १० अर्ब ४१ करोड निक्षेप संकलन गरेको देवः विकास बैंकले ९ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ । एक अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४७ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैंयाँ शुन्य ३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३२ रुपैंयाँ ९७ पैसा रहेको छ । बैंकले खराब कर्जालाई पनि ३ दशमलब ९९ प्रतिशतबाट घटाएर १ दशमलब २४ प्रतिशतमा ल्याएको छ ।
माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले वृद्धि, बैंक अब अर्ब कमाउने सूचिमा
काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ४६ दशमलब शुन्य ६ प्रतिशतले बढाएर एक अर्ब ३० करोड पुर्याउँदै अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको हो । बैंकले आर्थिक बर्ष २०७२/७३ मा जम्मा ८९ करोड मात्रै नाफा कमाउन सकेको थियो । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरेर ५१ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ५ अर्ब ११ करोड छ भने ब्याज खर्च जम्मा २ अर्ब ७९ करोड मात्रै रहेको छ । ६ अर्ब ५९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ५१ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ ९८ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १३६ रुपैंयाँ ४४ पैसा रहेको छ । बैंकको खराब कर्जा शुन्य दशमलब ३७ प्रतिशत मात्रै रहेको छ ।
५ सय मेगावाट बिजुली आयातको तयारी, विद्युतको मूल्य बढाउने भारतको तयारी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ५ सय मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ । लोडसेडिङ हटाउन गत वर्ष ३८५ मेगावाट बिजुली आयात भएको थियो । यो वर्ष कुसाह–कटैया १३२ केभी दोस्रोबाट ५० र परवानीपुर–रक्सौल १३२ केभीबाट ५० मेगावाट बिजुली थप आपूर्ति गर्ने योजना प्राधिकरणको छ । दुबै प्रसारणलाइन निर्माण सम्पन्न भइसकेका छन् । विद्युत प्रसारण गर्न मात्र बाँकी छ । आउदो हिउँदमा विद्युत आपूर्ति बढाई लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिने गरी प्राधिकरणले काम गरिरहेको प्रवक्ता प्रवल अधिकारीले बताए । यो वर्ष लोडसेडिङ मुक्त अभियानलाई निरन्तरता दिन केही चुनौति देखिए पनि यसको सामना गर्न आन्तरिक तयारी भइरहेको अधिकारीले जानकारी दिए । गत वर्ष निजी लगानीबाट ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली थप भइसकेको छ । यस्तै आउदो चैतसम्म १५० मेगावाट बराबरका आयोजना सम्पन्न हुने उनले जानकारी दिए । यो वर्ष बिजुलीको माग अधिकतम् १ हजार ४ सय मेगावाट पुग्ने प्राधिकरणको प्रक्षेपण छ । गत वर्षका लक्ष्मीपूजाको दिन माग बढेर हालसम्मकै उच्च १ हजार ४४४ मेगावाट पुगेको थियो । गत वर्ष बिजुलीको माग औसत १ हजार ३ सय मेगावाट पुगेको थियो । उनले यो वर्ष भारतबाट समेत गरी बिजुली आपूर्ति १ हजार ८० देखि १ हजार १ सय मेगावाटसम्म पुग्ने अनुमान गरेको छ । ३२० मेगावाट अपुग हुने उनले बताए । गत वर्ष ४ सय मेगावाट अपुग हुदा पनि उद्योग बाहेक ग्राहस्थ लोडसेडिङमुक्त थियो । हाल औसत ३ सय मेगावाट बिजुली अपुग हुदा पनि औद्योगिक क्षेत्रमा मात्र दैनिक ३ घण्टा लोडसेडिङ भइरहको छ । गत वर्ष जनताले पनि विद्युत खपत घटाउन सहयोग गरेकाले प्रणालीमा १ सय मेगावाट माग कम भएको उनले जानकारी दिए । सहयोग यो वर्ष पनि निरन्तरता रहे लोडसेडिङ हटाउन सहज हुने उनको भनाई छ । नेपाल–भारतबीच विद्युत वार्ता हुदै, भाउ बढ्ने भारतबाट आयात भइरहेको बिजुलीको भाउ बढ्ने भएको छ । नेपाल र भारतबीच आउदो मंगलबारदेखि विद्युत आदनप्रदान समिति (पावर एक्सचेन्ज कमिटी) को बैठकले यस विषयमा निर्णय गर्ने छ । भारतको नयाँदिल्लीमा बस्ने समिति बैठकले नेपाललाई बेच्ने बिजुलीको नयाँ मूल्य तय गर्ने छ । जसले बिजुलीको मूल्य बढाउने संभावना छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र त्यहाँका केन्द्रीय विद्युत प्राधिकरणका अध्यक्षले बैठकको नेतृत्व गर्ने कार्यक्रम छ । साढे ५ प्रतिशत बिजुलीको भाउ बढ्ने संभावना छ । आदनप्रदान अन्र्तगत गत वर्ष विद्युत प्राधिकरणले २०५ मेगावाट बढी बिजुली खरिद गरेको छ । बैठकमा नयाँ बिजुलीको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने अधिकारीले बताए । उनले बिजुलीको भाउ बढ्ने संभावना रहेको जानकारी दिए । “सकेसम्म हामी मूल्य बढाउन नदिने तयारीमा छौ” उनले भने “यसअघि नै वार्षिक साढे ५ प्रतिशत बढाउने सहमति भएको रहेछ, यसले समस्या पारेको छ ।” लामो केही वर्षयता समितिको बैठक नबस्दा विद्युतको नयाँ मूल्य निर्धारण हुन सकेको थिएन् । बैठक नबस्दा नेपालले पुरानै दरमा बिजुली खरिद गर्दे आएको छ । सन् २०११ यता समिति बैठक बसेको छैन । वर्षेनी साढे ५ प्रतिशतका दरले बिजुलीको मूल्य बढ्ने भनेपनि कार्यन्वयन भएको छैन् । पावर एक्सचेन्जअन्तर्गत बिहार, उत्तरप्रदेश र केही उत्तारखण्डबाट बिजुली आयात हुने गरेको छ । गत मार्चसम्म ३३ केभी प्रसारणलाइनबाट प्रतियुनिट ९ रुपैयाँ ६० पैसा अर्थात ६ भारु, यस्ते १३२ केभी प्रसारणलाइनबाट प्रतियुनिट ९ रुपैयाँ थियो । यो दर चुहावट बाहेक हो । गत मार्चपछि प्राधिकरणले यही दर तिर्दे आएको छ । सम्झौताअनुसार मार्चपछि बिजुलीको भाउ साढे ५ प्रतिशत बढ्नु पर्ने हुन्छ । प्राधिकरणको प्रणालीबाट २३ प्रतिशत बिजुली चुहावट हुने गरेको छ । लोडसेडिङ हटाउन चुनौति भारतबाट थप बिजुली आयात गरेर मुलुकलाई लोडसेडिङमुक्त बनाउने भने पनि यो वर्ष निरन्तरता दिन विद्युत प्राधिकरणले ठुलै संघर्ष गर्नुपर्ने देखिएको छ । गत वर्ष अवस्था अनुकुल हुदै गएपछि विद्युत प्राधिकरणलाइन लोडसेडिङ हटाउन सहज भएको थियो । यो वर्ष भने गत वर्षको जस्तो सहज छैन । एलईडी चिम वितरण र सोलार आयोजनाको काम अघि नबढेपछि लोडसेडिङ हटाउन प्राधिकरणलाई थप चुनौति देखिएको हो । प्राधिकरणले यो वर्ष ९ वाट क्षमताका २ करोड थान एलईडी चिम वितरण गरेर बिजुली दक्षता बढाई १ सय देखि १५० मेगावाटसम्म माग घटाउने योजना ल्याएको थियो । विभिन्न निकायको अवरोधले गर्दा यो प्रक्रिया अवरुद्ध छ । खरिद प्रक्रियामा विवाद भएपछि प्राधिकरण व्यवस्थापनले तत्काल एलईडी चिम ल्याउने योजना अघि नबढाउने निष्कर्षमा पुगेको छ । यस्तै विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा २५ मेगावाटका सोलार प्लाण्ट जडान गरेर विद्युत उत्पादन गर्ने योजना पनि तुहिएको छ । ठेक्का प्रक्रिया विवादस्पद भएको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पुनः बोलपत्र आब्हान गर्न निर्देशन दिएपछि निर्माणको काम अवरुद्ध भएको छ । पुन बोलपत्र आब्हान प्रक्रियामा दाता विश्व बैंकले सहयोग गर्छ वा गर्देन यो अनिश्चित छ । यस्तै पर्याप्त वर्षा नभएपछि कुलेखानीमा पानीको सतह गत वर्षको भन्दा ७ मिटर कम छ । गत वर्ष १ हजार ५१४ मिटर भएकोमा यो वर्ष १ हजार ५०७ मिटर मात्र बाँकी छ । वर्षा कम हुने संभावना भएकाले यो वर्ष कुलेखानी जलासय नभए लोडसेडिङ न्युन गर्ने थप समस्या देखिएको प्राधिकरणका प्रवक्ता अधिकारी बताउछन् । यस्तै २१ निजी कम्पनीबाट यो वर्ष ६१ मेगावाट बिजुली खरिद (पीपीए) गर्ने योजनामा ढिलाइ हुन गएको छ । यो प्रक्रिया हाल सञ्चालक समितिमा गएर अडकिएको छ । यस्तै भारतबाट थप बिजुली ल्याउनका लागि धनगढी–पालिया र टनकपुरमा केही काम हुन बाँकी छ । भारततर्फ भएको ढिलाइले पालिया–धनगढी र टनकपुरबाट थप बिजुली आयात नहुने संभावना बढेको अधिकारीको भनाई छ । यस्तै ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगतको ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन बनाउन भएको ढिलाइले समस्या पारेको छ । भरतपुर–वर्दघाट ठेक्का तोडिएपछि चाइनाको सेन्ट्रल पावर ग्रीड कर्पोरेशनले काम बन्द गरेको थियो । प्राधिरकरणले काम नगरे ठेक्का तोडिने जानकारी गराएपछि केही काम सुरु भएपनि प्रभावकारी रुपमा नभएको अधिकारीले बताए । यस्तै अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत मुज्जफपुरमा पुरानो र अस्थाई ट्रान्सफरमर जडान गरिएकाले कुनै पनि बेला बिग्रन गई विद्युत आपूर्तिमा समस्या पर्ने अधिकारीले जानकारी दिए । पुरानो भएकाले विद्युत कुनै पनि बेला समस्या आउन सक्ने उनको अनुमान छ । यो लाइनबाट १४५ मेगावाटसम्म बिजुली आयात भइरहेको छ । परवानीपुर–रक्सौल आयोजना अन्तर्गत विहारको मोतिहारीमा प्रसारणलाइनको काममा भएको ढिलाइले बिजुली अपूर्तिमा असर गर्ने संभावना छ । भारततर्फ सुस्त गतिमा काम भएकाले हिउँदमा थप बिजुली आउने संभावना न्युन बन्दै गएका अधिकारी बताउछन् ।
एक वर्षमा ३६५ दिन किन ? किन ७०० दिनलाई मानिएन ? – दिवाकर पन्त
दिवाकर पन्त नेपाली पत्रकारितामा डेढ दशकदेखि सक्रिय नाम हो । खासगरी देशको आर्थिक पत्रकारितामा पन्तले कलम चलाउदै आएका पन्त पछिल्लो समययता ज्योतिषका रुपमा समेत सक्रिय छन् । हालै मात्र ज्योतिषहरुको छाता संस्था “नेपाल ज्योतिष परिषद्” को सदस्य बनेका पन्त, युवा ज्योतिषका रुपमा परिचित छन् । त्रिभुवन विश्वविद्यालयबाट आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका पन्तले नेपाल ल कलेजबाट कानूनमा एलएलबी अर्थात स्नातक गर्दै छन् । ज्योतिषको सान्दर्भिकता विषयमा केन्द्रीत रहेर ज्योतिष पन्तसंग गरेको कुराकानी । ज्योतिष दिवाकर पन्त तपाई अब पत्रकार की ज्योतिष ? म डेढ दशकदेखि पत्रकारितामा छु । पत्रकारितामा रहँदै गर्दा मैले ज्योतिष विद्या अध्ययन गरें र यसलाई अहिले म सेवामा उतारेको छु । यसरी हेर्दा यो दुई विधा मेरा लागि छुट्याएर हेर्न सकिने विधा रहेन । संगसंगै हेर्यो भने ठिक होला कि । सरल शब्दमा भन्नुपर्दा ज्योतिष के हो ? ज्योतिष हाम्रो पूर्विय जीवनको ठूलो सम्पत्ति हो । जसले विज्ञानमा आधारित गणितीय तथ्यांकमा टेकेर समाज र त्यसको सबै भन्दा सानो एकाई अर्थात हरेक व्यक्तिको विगत वर्तमान र भविष्यमाथि दृष्टि राख्दछ । खगोलिय ग्रहहरुको चाल समाजको युनिट अर्थात ब्यक्तिसम्म के कसरी पर्छ ? त्यसको प्रभाव कस्तो रहन्छ ? कुन समयमा कुन ग्रह उसको जीवनमा प्रभावी रहन्छ ? भन्ने शुक्ष्म अध्ययन यस विधाले गर्छ । अर्थात कुनै एक ब्यक्तिको समग्र जीवन अध्ययन गर्दछ । उसको सम्भावना केलाउछ, उसको कमजोरी केलाउछ, उसको अनुकुल समयबारे विश्लेषण गर्दछ, उसको कठिन समयका बारेमा अपनाउनु पर्ने सजगता दर्शाउछ । मानिसलाई केवल उसको आसपासको सराउण्डिङले मात्र प्रभाव पार्दैन । खगोलिय प्रभाव समेत उसको जीवनमा पर्छ र त्यसले उसको ब्यक्तित्व, जीवन, पारिवारिक जीवन, स्वभाव, आय आर्जन, स्वास्थ्य, पेशा ब्यवसाय लगायतका तमाम शुक्ष्म तहमा के कस्तो प्रभाव पार्दछ भनि अध्ययन ज्योतिषमा गरिन्छ । त्यसैले ज्योषित समाजको पथप्रदर्शक हो भन्दा हुन्छ । यसले जहिल्यै सकारात्मक मार्गदर्शन गर्दछ । ज्योतिषले कहिल्यै पनि नराम्रो बाटो अपनाउ भनेर कसैलाई पनि सल्लाह दिंदैन । सदैव सद्मार्गबाट जीवनलाई अघि बढाउ भन्ने थेमेटिक सन्देश ज्योतिषको रहन्छ । त्यसैले ज्योतिष ज्योति हो । आधुनिक युगमा विज्ञान प्रविधिको प्रभाव बढेको छ र ज्योतिष क्षेत्रलाई विज्ञान नभई परम्परागत विश्वास मात्र हो पनि भनिन्छ । ज्योतिष शास्त्र विज्ञान हो कि परम्परागत ज्ञान मात्र हो ? संसारमा जति सुकै विज्ञान प्रविधिको विकास भए पनि आखिर मान्छे मान्छे नै हो । विज्ञान प्रविधिले मानिसको स्वरुपलाई पनि परिवर्तन गर्न सकेको छ ? सबै कुरो भनिए झै विज्ञान प्रविधिले मात्र गरेको भए यो संसारमा दुःख भन्ने चिज नै नहुनु पर्ने तर किन छ ? संसारका विकसित देशका समाजमा देखिएका समस्या कति जटिल खाले छन । र, त्यहाँ नयाँ समस्याहरु किन पैदा भैराखेको छ । अमेरिकामा एउटा १६ वर्षको केटाले बन्दुक पड्काएर आफना स्कूलका पचासौ सहपाठी मारिदिन्छ । यता नेपालमा यति जटिलताका बीच पनि नेपाली हासेर बसिराखेको देख्न पाइन्छ । यी दुई घटनालाई केलाएर हेर्नु भयो भने पत्ता लाग्छ कि सबै भन्दा प्रमुख तत्व “मन” हो । मन ठिक हुनुपर्छ । मन ठिक हुन “दवाईको गोलि” खाएर हुन्छ त ? अहँ हुदैन । हो त्यसैले मानिसको मन ठिक पारि समाजलाई ठिक अवस्थामा राख्ने पूर्विय सभ्यतामा विभिन्न संस्कृति तथा विधि छन् । त्यसमध्येको एक वैज्ञानिक आधारमा आधारित क्षेत्र ज्योतिष हो । ज्योतिषलाई परम्परागत विश्वास मात्र हो कि भनेर आशंका गर्नेहरु पनि भेटिन्छन् हाम्रो समाजमा । विश्वास सबै भन्दा प्रमुख तत्व हो । र, त्यो मनबाट आउाछ । त्यसैले मन ठिक हुनुपर्छ । अब रह्यो ज्योतिष विश्वासमा मात्र अडेको छ त ? होईन, ज्योतिष विज्ञान हो । दुनियाका समाज आफ्नो परिवेशमा जीवन जीउने संघर्ष वरिपरि घुमिराखेका बेला हाम्रा पूर्वज ऋषिमुनिले हामी यानेकी पृथ्वीलाई केवल पृथ्वीका गतिविधिले मात्र प्रभाव पार्ने होईन खगोलले पनि प्रभाव पार्दाे रहेछ भनि अध्ययन गरे र सृष्टि गरे यो ज्योतिष विद्या । दुनियाँलाई सौर्य प्रणालीको ज्ञान वैदिक ज्योतिषले दिएको हो । यो दुनियालाई सूर्य उर्जाको स्रोत भएको जानकारी यसले दिएको हो । सौर्य प्रणालीको अर्डर यसले भनेको हो, जसलाई आधुनिक विज्ञानले उही वैदिक ज्योतिषले भनेको अर्डरलाई सदर मात्र गरेको हो । अझ अर्काे महत्वपूर्ण कुरा सौर्य वर्ष गणना जसलाई अग्रेजीमा सोलार क्यालेण्डर भनिन्छ, चन्द्र वर्ष गणना जसलाई अग्रेजीमा लुनार क्यालेण्डर भनिन्छ त्यसको प्रादुर्भाव वैदिक ज्योतिषले गरेको हो । वर्षमा १२ महिना ३६५ दिन हुन्छ भन्ने तथ्य वैदिक ज्योतिषले भनेको छ, उसो भए आधुनिक विज्ञानले किन १८ महिनाको एक वर्ष अनि ७०० दिनको एक वर्ष गणना प्रणाली भनेन ? त्यही वैदिक ज्ञानलाई नै मान्यता दिएको हो नि आखिर । उसो भए यो वैदिक ज्योतिष कसरी परम्परागत विश्वास मात्र भयो, विज्ञान भएन ? यो विज्ञान हो । अर्काे कुरा ज्योतिष विद्याले जुन दिन चन्द्र ग्रहण, खण्डग्रास र खग्रास लाग्छ भन्छ त्यो दिन लाग्छ । जुन दिन सूर्य ग्रहण लाग्छ भन्छ त्यो दिन लाग्छ । यो विज्ञान नभए त फरक पर्नु पर्ने नि ? तसर्थ तपाई हामी जुन संस्कारका आधारमा हाम्रो जीवन पद्धति निर्धारित छ, हाम्रा पिता पुर्खा यसका सर्जक हुन यसमा गौरव गर्न सिकौ । पहिला यसको महत्व बुझौ । आज जसरी योग जसलाई पश्चिमाहरुले योगा भनि भन्छन यसको विश्वब्यापीकरण देखिरहेका छौ । त्यसैगरी शुक्ष्म रुपमा वैदिक ज्योतिष तर्फ विश्वको ध्यान मोडिंदै छ । तर तपाई हामी यो विज्ञान हो कि होईन भनि सधै एउटै वहसमा फसि रहेका छौ । खोई यसको थप विकासमा हामीले ध्यान केन्द्रीत गर्न सकेको ? यस भित्र तमाम सिमा होलान तर ज्योतिषको मूल तत्व विज्ञान हो । ज्योतिष विज्ञान शुद्ध विज्ञान हो कि सामाजिक ? ज्योतिषमा मुलत दुइ विधा छन्, गणित र फलित । यसरी हेर्दा गणितले विज्ञानमा आधारित गणितिय गणनाबाट ग्रह प्रष्टा लगायतका अन्य अध्ययन गर्दछ । त्यसमा टेकेर फलितले विश्लेषण गर्दछ । ज्योतिषका विषयमा यस क्षेत्रमा लाग्ने विद्धानहरुको आ–आफनै केही दृष्टिकोण छन् । ज्योतिषमा केही भौगोलिक, सामाजिक र क्षेत्रगत मान्यता पनि छन् । मेरो अध्ययन र विश्लेषणमा ज्योतिष ६० प्रतिशत पियोर साइन्स र म्याथमेटिकल साईन्स नै हो । २० प्रतिशत सामाजिक विज्ञान हो । १० प्रतिशत मनोविज्ञान हो । १० प्रतिशत विश्वास अर्थात फेथ हो । यी सबैको शतप्रतिशत प्रतिबिम्व ज्योतिष हो । साथै यसमा अलिकति अध्यात्म विज्ञानको कुरा पनि जोडिन आउछ, यसलाई यहाँनेर मैले प्रतिशतमा ब्यक्त गरेको छैन । एउटा राम्रो ज्योतिषले केवल गणितिय गणनाबाट ग्रह प्रष्टा गरेर कुण्डली बनाएर मात्र पुग्दैन । उसले समाजको राम्रो अध्ययन गरेको हुनुपर्छ । ज्योतिष एउटा कुशल मनोपरामर्शदाता पनि हो । ज्योतिषकोमा मानिसहरु निकै गम्भिर खाले समस्या र अन्योल बोकेर आएका समेत हुन्छन् । त्यस्तो अवस्थामा राम्रो ज्योतिषले राम्रो सल्लाह दिएर त्यो समस्याबाट मुक्ति दिलाउने उपायहरु सल्लाह दिएको हुन्छ । उनीहरुलाई सहि परामर्श दिन सक्नु राम्रो ज्योतिषको खुवी हुन आउँछ । त्यसैले ज्योतिष केवल ज्योतिष शिक्षा लिएको मात्र होईन, आधुनिक दृष्टिकोण राख्न सक्ने, विश्व डाइमेन्सनलाई पनि बुझेको हुनुपर्छ । अन्धविश्वासलाई प्रवद्र्धन गर्ने होईन विज्ञानलाई प्रवद्र्धन गर्ने खालको हुनु पर्छ । भाग्यमा मात्र निर्भर गराउने होईन कर्म र भाग्यको मेल गराउने खालको दृष्टिकोण लिएको हुनु पर्छ । त्यसैले ज्योतिष विद्याले समाजको भलाई, ब्यक्तिलाई मानसिक, शारीरिक र मनोवैज्ञानिक रुपमा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह खेलेको हुन्छ । सामाजिक रुपमा हेर्नु हुन्छ भने समाजलाई सकारात्मक पाटोमा डोर्रयाउन भूमिका खेलेका हुन्छन् । ज्योतिषले कहिल्यै पनि नशा गर, रक्सी पिउ, चुरोट खाउ, रण्डीवाजी गर, खराब काम गर, लुट, हत्या गर, समाज बिगार, भाडभैलो मच्चाउ भन्दैन । मानिसका विभिन्न समस्यालाई विश्लेषण गरि उपयुक्त विकल्प सहितका परामर्श दिएर उनीहरुलाई समस्याबाट मुक्त राखि खुशी र सुखी बनाउन प्रयासरत हुन्छ । त्यसैले ज्योतिष विद्यामा सोसल साईन्स र मनोविज्ञानको पक्ष सिक्काको दुई पाटा झै जोडिन आउँछ ।
धनगढी उपमहानगरको बजेट रु एक अर्ब १४ करोड
धनगढी । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको आज भएको प्रथम नगर अधिवेशनमा आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रूपैयाँ बजेट सार्वजनिक गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले उपमहानगरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आब २०७४÷०७५ मा लाग्ने कुल एकीकृत सम्पत्ति करको रकममा १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको जानकारी दिए। अहिलेसम्म धनगढी उपमहानगरले लिँदै आएको सम्पत्ति कर बढी भएको र अवैज्ञानिक रहेको जनगुनासो रहेको थियो । प्रमुख ओडले प्रस्तुत गर्नुभएको बजेटमध्ये चालु खर्चतर्फ २५ करोड ५५ लाख ७५ हजार र पूँजीगत खर्चतर्फ रु ८८ करोड ८५ लाख ८४ हजार रूपैयाँ छ । सार्वजनिक गरिएको बजेटमा सवै वडामा पहिलो पटक प्रत्येक वडालाई रु ५० लाखसम्मका दरले बजेट विनियोजन गर्ने प्रस्ताव गरिएको छ । बजेट रकम सवै वडालाई समानरुपमा विनियोजन गर्ने प्रस्ताव गरेका छाँैं, ओडले भने,—प्रस्तावितमध्ये थप बजेट रकम जनसंख्या र भूगोललाई आधार मानी वडामा क्रमशः ६०÷४० को अनुपातमा भार दिएर समेत बिनियोजन गर्न लागेका छौं ।” प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारहरुको विकास, वातावरण तथा विपद् व्यवस्थापन, सुशासन, आर्थिक तथा सामाजिक विकासलगायतका विषयलाई प्राथमिकता दिइएको छ । सांसद पुष्करनाथ ओझाले अधिवेशनको उद्घाटन गर्दै धनगढी उपमहानगरलाई समृद्ध शहर बनाउने काममा नगरवासीको सकारात्मक सहयोग रहेको बताए । उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले स्थानीय सरकारका रुपमा स्थानीय तहले काम गर्नुपर्ने अबको अवस्थामा उपमहानगरपालिकाका क्रियाकलापमा जनताको साथ र सहयोगको खाँचो रहेको औँल्याए । रासस