विकासन्युज

बाल गोपालले नै जिताएका थिए बंगलादेशमा बन्धबन्धु गोल्डकप

काठमाडौं । बंगलादेशमा केहि बेरपछि सुरु हुने साफ च्याम्पियानसिपको पहिलो खेलमा नेपाल जितको लक्ष्य सहित मैदान उत्रिदैछ । पाकिस्तान बिरुद्ध स्पष्ट जित निकाल्दै अघि बढ्ने मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताएका छन् । सन् २०१६ मा बंन्धबन्धु गोल्डकप जिताएका महर्जन आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विस्वस्त रहेका छन् । नेपाल र पाकिस्तानको अहिलेसम्म १५ पटक भेट भएका छन् । दुबै देशले ५-५ खेल जितेका छन् भने ५ खेलमा बराबरीमा सकिएको थियो ।

बजारमा सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री, यी हुन् कमाउने १० कम्पनीहरु

काठमाडौं । मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर बिक्री भएका छन् । एकैदिन बैंकको १० करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । कुल १७२ कम्पनीको कारोबार भएको दिनभरको बजारमा ५२ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् । मंगलबारको सेयर बजार सामान्य अंकले बढेको छ । सो दिनको परिसूचक ३.९८ अंकले बढेर १२१०.२४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३३ प्रतिशतले बढेको हो । सामान्य अंकले बढेको सेयर बजारमा काबेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । बैंकका लगानीकर्ताले एकैदिन ९.२६ प्रतिशत बढी कमाएका छन् । मंगलबार यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३७ रुपैयाँ रहेको छ । यस विकास बैंकले लगानीकर्तालाई ३५ प्रतिशत बोनस दिने भएको छ । मंगलबार कमाउने १० उत्कृष्ट कम्पनीहरु त्यसैगरी एभरेष्ट बैंकका लगानीकर्ताले ७.९३ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२६ रुपैयाँ रहेको छ । साथै, एनआईसी एशिया, लक्ष्मी र सिभिल बैंकको सेयर मूल्य ४ प्रतिशतले बढेको छ । उता सबैभन्दा बढी अरुण काबेली पावरका लगानीकर्ताले सोमबारको तुलनामा ३.९८ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक १६ अंकले बढेको छ । त्यस्तै, बैंकिङ्, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य समूह सामान्य अंकले उकालो लागेका छन् भने जलविद्युत्, उत्पादनमूलक, माइक्रोफाइनान्स र जीवन बीमा समूह सामान्य अंकले ओरालो लागेका छन् ।

सिमामा तिहार अगावै पटाका भित्र्याउन तस्कर सक्रिय

काठमाडौं । हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ । तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, जानकीटोला, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिमरौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । आउँदो कात्तिकमा हुने तिहार पर्वलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेका छन् । भारतको रक्सौल आदापुर, सिक्टालगायतका भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौंँसम्म पु¥याएबापत २०० प्रतिशतसम्म लिने गरेको व्यापारीहरु बताउँछन् । नेपाल भारत सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीको ध्यान अर्कैतिर गएको मौकाछोपी तथा तिहार अगावै पटाका ल्याउँदा प्रहरीको ध्यान नजाने भएकाले अहिले नै पटाका ल्याउने उपयुक्त समय भएको ती तस्करको भनाइ छ । अति प्रज्ज्वलनशील पदार्थको रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारी बेखबर रहेका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन, जीप, कार, टाँगाजस्ता गाडीमा पटाका लुकाइछिपाई ल्याउने गरेको देखिन्छ । सीमा नाकाबाट अवैधरुपमा भारतबाट पटाका आउने गरेकोबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले सीमा क्षेत्रमा रहेका मातहतका सुरक्षाकर्मीलाई पटाकामा व्यापक रोक लगाउन निर्देशन दिइएको बताए। बारा र पर्सा जिल्लासँग जोडिएका ग्रामीण क्षेत्रका नाकाबाट नेपाल भित्रिने सवारीसाधनमा तस्करले पटाका ल्याउँदा करोडौँ रुपैयाँ विदेशिनुको साथै लाखौँ रकमको कर छली भएको छ । रासस

४ करोड खर्चेर पिच गरिएको चौरजहारी विमानस्थल १५ महिनादेखि बन्द

काठमाडौं । रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् । गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने गरेको छ । गम्भिर प्रकृति र थप उपचारका लागि सिफारिश भएका बिरामीलाई कच्ची बाटोबाट जोखिम लिएर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमार्डाैं लानु परेको स्थानीय गोपाल रेग्मीले बताए । विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । सम्भव भए दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान राख्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिए । प्राधिकरणले छिट्टै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको शर्माले बताए । नागरिक उडययन प्राधिकरणले उडानका लागि जहाजको कमी भएकाले उडान बन्द भएको जनाएको छ । उडान तालिका राखे पनि जहाजको कमीले एउटा उडान हुनसकेको छैन । केही समय अगाडि मात्रै रु साढे चार करोड रकम खर्च गरेर विमानस्थल कालोपत्रे गरिएको थियो । रासस

१०० मेगावाटको तामाकोसी ५ बनाउन ठेकेदार नियुक्त हुँदै, ५ वर्षमा बिजुली बल्ने

काठमाडौं । १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत आयोजना बनाउन प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी लिमिटडले ठेकेदार नियुक्तिको प्रक्रिया शुरु गरेको छ । आगामी वर्षको मध्यदेखि आयोजनाको सिभिल निर्माणको काम थाल्नका लागि कम्पनीले सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरण आपूर्तिका लागि ठेकेदार चयनको काम शुरु गरेको हो । कम्पनीले ठेकेदारको पूर्व योग्यता छनौट (पिक्यु) का लागि आब्हान गरेको छ । यसअघि परामर्शदाता नियुत्तिका लागि पिक्यु आब्हान गरेको थियो । कम्पनीले आयोजना निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम शुरु गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएकाे हाे । परामर्शदाताका लागि तामाकोसीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदाताबीच प्रतिस्पर्धा गराइने छ । २ महिनाभित्र परामर्शदाता नियुक्त भइसक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नसिवमान प्रधानले बताए । आगामी सन् २०१९ को मध्यबाट आयोजना निर्माण शुरु भई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना २ प्याकेजमा निर्माण हुने भएको छ । पहिलो प्याकेजमा सिभिल र हाइड्रामेकानिकल र दोस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन निर्माणको काम राखिएको छ । आयोजना बनाउन सरकारले चीनबाट १५ अर्ब रुपैयाँ अर्थात १५ करोड डलर वैदेशिक लगानी ल्याउन प्रक्रिया शुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ ।आयोजनामा ऋण लगानीका लागि एसियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) बाट ऋण लिन प्रक्रिया शुरु भएको हो । आयोजना बनाउन करिव १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एआईआईबीबाट ऋण लिनका लागि अर्थ मन्त्रालयमार्फत प्रक्रिया अघि बढेको छ । आयोजनामा अहिले नेपाल विद्युत प्राधिकरणले लगानी गरिरहेको छ । आयोजनाको ६८ प्रतिशत स्वामित्व विद्युत प्राधिकरण र ३२ प्रतिशत सर्वसाधारणको हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र बाँकी सर्वसाधारणलार्इ सेयर आईपीओ निष्कासन गर्ने प्रधानले जानकारी दिए । निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट निस्कने पानी सिधै सुरुङमा पठाएर ९९.८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ८ किलोमिटर लामो सुरुङ रहेको छ । यस्तै आयोजनाबाट उत्पादन हुने बिजुली खरिद बिक्री (पीपीए) का लागि प्रारम्भीक छलफल भइरहेको उनले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्सका सदस्यहरु विभिन्न विधामा सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ । इन्स्योरेन्सले होटेल याक एण्ड यतीमा ‘सिटिजन लाइफ बिजनेस अवार्डस नाइट’ कार्यक्रम आयोजना गरि आफ्ना देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई सम्मानित गरेको हो । कार्यक्रममा बैंकले उत्कृष्ट पाँच शाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरेको छ । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बास्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे उपस्थित थिए ।

आईसीएफसी फाइनान्सको भदौ २७ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको आगामी भदौ २७ गते देखि १४ दिनसम्म बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि असोज ९ गतेसम्म कम्पनीको दर्ता पुस्तिका बन्द गर्न लागेको हो । संस्थाको आगामी १५औँ वार्षिक साधारणसभा आगामी असोज ९ गने हुँदै छ । उक्त सभाले चुक्ता पुँजीको ८ प्रतिशत (अर्थात ७ करोड ५ लाख ७३ हजार ७९२ रुपैयाँ) नगद लाभांश दिने कम्पनीको प्रस्तावलाई पारित गर्ने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँ रहेको छ ।

गाडीका लागि आवश्यक १०० अर्बका विभिन्न उपकरणहरु अायात, सबैभन्दा धेरै भारतबाट

काठमाडौं । एक वर्षको अवधिमा झण्डै १ खर्ब रुपैयाँका गाडीका लागि आवश्यक विभिन्न उपकरणहरु नेपालमा आयात हुने गरेको छ । गत आर्थिक वर्षमा ९८ अर्ब ५९ करोड २० लाख ५२ हजार रुपैयाँ बराबरको गाडीका पार्टस, लुब्रिकेन्टस र टायर नेपालमा आयात भएको हो । व्यापार तथा प्रवद्र्धन केन्द्रको तथ्याङक अनुसार ८६ अर्ब २९ करोड ७९ लाख ५३ हजारको विभिन्न मोडलका १ करोड ३८ लाख ९५ हजार ३०१ वटा गाडी र पार्टस आयात भएको छ । भारत, चीन, जापान, जर्मन र कोरिया लगायतका देशबाट गाडी र पार्टस् आयात भएका छन् । ७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बराबरको २२ करोड ९ लाख १२ हजार ९७९ वटा टायर र ट्युव विभिन्न देशबाट नेपाल भित्रिएको छ । सबैभन्दा धेरै भारतबाट ७ अर्ब ३० करोड ४८ लाखको २६ करोड ६६ लाख ३ हजार ९३७ वटा टायर र ट्युव नेपाल आयात भएको छ । यस्तै, ४ अर्ब २९ करोड ५३ लाख ८७ लाखको १ करोड ९१ लाख ९१ हजार ६७३ लिटर लुब्रिकेन्टस आयात भएको केन्द्रले जानकारी दिएको छ । सबैभन्दा धेरै लुब्रिकेन्टस भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३ अर्ब ३३ करोड ६० लाख २१ हजार रुपैँयाको १ करोड ५९ लाख १६ हजार ४०१ लिटर लुब्रिकेन्टस आयात भएको छ । हाल नेपालमा भारत, चीन, जापान, जर्मन र फ्रान्स लगायतको देशबाट लुब्रिकेन्टस आयात भैरहेको छ ।