आशा लघुवित्तको थप तीन शाखाबाट कारोबार सुरु
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ३ वटा शाखा कार्यालयहरुको कारोवार शुभारम्भ गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा उर्लावारी-मोरङ्, सुरुङ्गा-झापा र बुधवारे(जयपुर)-झापा रहेको छ । सो कार्यक्रमहरुमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, स्थानिय निकायका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयबृद्धिमुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी शाखा कार्यालयहरु स्थापना गरेको जानकारी संस्थाका विभागीय प्रमुख जीवन खनालले जानकारी दिए ।
राजस्व चुहावट सम्बन्धि नयाँ ऐन बन्दै, मुद्दाको वर्गीकरण गरिने
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट ऐन २०५२ संशोधनगर्र्ने भएको छ । अद्यावधिक ऐनले गरेका व्यवस्थाहरू अस्पष्ट र समय सान्दर्भिक नभएकोले ऐनको नयाँ ड्राफ तयार गरिएको विभागका महानिर्देशक रामकृष्ण सुवेदीले बताए ।ऐनको ड्राफ बनाएर करिब एक महिनाअघि अर्थमन्त्रालयमा पेश गरिएको विभागको भनाइ छ । विद्यमान ऐनमा देखिएका समस्यालाई नयाँ ऐनमा गरिएका व्यवस्थाले समाधान गर्ने बताइएको छ । ‘विशेषत नयाँ विधेयकमा राजस्व चुहावटको वर्गीकरण गरिएको छ,’ उनले भने ‘प्रकृतिको आधारमा राजस्व अनुसन्धान सम्बन्धि मुद्दालाई अदालत र विभाग आफैले फरफारक गर्ने व्यवस्था गरिएको छ ।’ विधेयक ऐनको रुपमा आएपछि गम्भिर प्रकारका राजस्व चुहावटका मुद्दाहरू अदालतमा जान्छन् भने साना–तिना मुद्दाहरू विभाग आफैले गर्ने सुवेदीले बताए । सबैभन्दा ठूलो कुरा अब ऐनमा नै सूचना प्रविधिको माध्यमबाट राजस्व चुहावटको अनुसन्धान गर्न लागिएको छ । यसका साथै कसुरको प्रकृति हेरी सजायमा छुट हुने व्यवस्था समेत विधेयकमा गरिएको छ । सानो कसुरको सजायकम गर्दा ठूलो कसुरदार पत्ता लाग्छ र त्यसबाट राज्यलाई अझ ठूलो फाइदा हुन्छ भने त्यस्ता सानातिना कसुरलाई माफगर्ने तथा सजायमा छुट दिने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।यसका साथै गैर कर राजस्वलाई समेत राजस्व चुहावटको क्षेत्रभित्र राखेर अध्ययन तथा अनुसन्धान गर्न लागिएको छ । अध्ययनतथा अनुसन्धान गर्ने क्रममा कुनै विषयगत विशेषज्ञ आवश्यकता परेमा त्यस्ता विशेषज्ञ करारमा ल्याउन सक्ने व्यवस्था समेत विधेयकमा गरिएको विभागले जानकारी दिएको छ। नयाँ विधेयकले अनुसन्धान गर्ने दुई महिनाको अवधिलाई बढाएर ४ महिना पुर्याइएको छ । त्यसै गरी आतंकारीलाई थुनामा राख्दा ४५ दिनलाई बढाएर ६० दिनराख्ने प्रस्तावविधेयकमागरिएको छ । यसका साथै हालको ऐनमा करोड अपचलन गरेमा सोही बमोजिमको विगो भराउने व्यवस्था गरिएकोमा अब विगोको सट्टा अपचलन गरेको भन्दा जरिवाना डब्बल अथवा त्रिपल पार्ने योजना विधेयकमा उल्लेख गरिएको छ । दुईअर्ब राजस्व संकलन गर्र्यो विभागले राजस्व अनुसन्धान विभागले गएको वर्ष दुई अर्ब रुपैयाँको राजस्व संकलन गरेको छ । संकलित राजस्व अघिल्लो आर्थिक वर्ष २०७२/७३ को भन्दा ३० करोड रुपैयाँले कमहो । गएको आव २०७३/७४ मा विभाग अनुसन्धानमा भन्दा पनि विभागको आन्तरिक पक्ष तथा नीति निर्माण ररणनीतिहरू बनाउन लागि परेकोले अनुसन्धान कम हुँदा राजस्वमा कमी आएको हो । पछिल्लो समय मूल्य अभिवृद्धि सम्बन्धि कुनै पनि अनुसन्धान नै भएको छैन भन्दापनि फरक नपर्ने विभागउच्च स्रोतले जानकारी दिएको छ । विभागले गएको आवमा भन्सार राजस्व चुहावटबाट ३६ करोड, मूल्य अभिवृद्धिबाट ९९ करोड, अन्तःशुल्कबाट ५ करोड, विदेशी विनिमय अपचलनबाट ३३ करोड र गैर करबाट साढे तीन करोड राजस्व संकलन गरेको छ ।
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगानी बोर्डको उपाध्यक्षको जिम्मेवारीसमेत तोकेका छन् । लगानी बोर्ड ऐन, २०६८ को दफा ३ बमोजिम उनले अर्थमन्त्री कार्कीलाई उपाध्यक्षको जिम्मेवारी तोकेका हुन् । लगानी बोर्ड ऐनअनुसार प्रधानमन्त्रीले तोकेको व्यक्ति बोर्डको उपाध्यक्ष हुने व्यवस्था छ । रासस
युनाइटेड मोदीले साढे १० मेगावाटको जलविद्युत आयोजना बनाउने, गर्यो बोलपत्र आब्हान
काठमाडौं । निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले १०.५ मेगावाटको तल्लोमोदी २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । १० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको युनाइटेडले मोदी खोलामा रहेको तल्लोमोदी २ अयोजना निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । युनाइटेडले ०६९ सालमा पहिलो आयोजना सञ्चालनमा ल्याएको हो । कम्पनीले पहिलो चरणमा आयोजनाको सिभिल संरचनाको निर्माणका लागि बोलपत्र आब्हान गरेको छ । कम्पनीले सेप्टेम्बर ८ मा बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । ठेक्कोको काम सम्पन्न भएपछि अयोजना आउदो हिउँददेखि निर्माण सुरु हुनेछ । दुई आयोजना सम्पन्न भएपछि युनाइटेको जडित क्षमता बढेर साढे २० मेगावाट पुग्ने छ । आयोजना निर्माण गर्न कम्पनीले सिटिजन्स बैंकबाट कर्जा लिदै छ । यसअघि १० मेगावाट क्षमताको आयोजना बनाउन उसले सिटिजन्सबाटै कर्जा लिएको थियो । कास्की र पर्वतमा पर्ने दोस्रो आयोजनाबाट वार्षिक ६ करोड २१ लाख युनिट बिजुली उत्पादन हुने छ । यस्तै पहिलो आयोजनाबाट वार्षिक ६ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ । आयोजना निर्माणका लागि युनाइटेड मोदीले गत वर्ष १६ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारण र स्थानियबासिन्दालाई निष्कासन गरिसकेको छ । आयोजनाबाट उत्पादन हुने बिजुली पर्वतको दिमवा सवस्टेशनमा जोडिने छ । आयोजना नदीको वहाव (रन अफ दी रिभर) प्रकृतिको छ ।
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी भयोउत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिए । त्यसैगरी आंशिकतर्फ ९ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ । अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ । रासस
साझा बसको सेवा बन्द गराउने चेतावनी
बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताए । हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताए । काभ्रे बस व्यवसायी सङ्घका अध्यक्ष डिलबहादुर शाहीले अब साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताए । झण्डै एक महिनादेखि साझा यातायातले जिल्लाको साँगाबाट पनि बस सेवा सञ्चालन गरेपछि धुलिखेलबाट पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ । रासस
बैंक अफ काठमाण्डूको सीईओमा शोभनदेव पन्त नियुक्त, गत वर्षको नाफा १ अर्ब ३० करोड
काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शोभनदेव पन्त नियुक्त भएका छन् । उनले आगामी चार वर्षको लागि नियुक्ती पाएका छन् । ‘पन्तलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको छ । तर केही प्रक्रिया पुरा गर्न बाँकी भएकोले निर्णय सार्वजनिक गरिएको छैन’ बैंक सञ्चालक समितिका एक जना सदस्यले विकासन्युजसँग भने । पन्त यसअघि लुम्बिनी बैंकमा सीईओ थिए । वित्तीय रुपमा गम्भिर समस्यामा परेको लुम्बिनी बैंकमा उनी करिव १२ वर्ष कार्यकारी प्रमुखको भूमिका रहेका थिए र बैंकलाई स्वस्थ्य अवस्थामा फर्काएका थिए । ५९ वर्षिय पन्त विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ क्षेत्रमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको औपचारिक शिक्षा हासिल गरेका पन्तले नविल, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकमा काम गरेको अनुभव छ । पन्तलाई वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने, विश्लेषण गर्न सक्ने, संस्थागत सुशासनमा जोड दिने अनुभवी बैंकर्सको रुपमा उनलाई लिने गरिन्छ । ‘बैंक ठूलो भएको छ । परिपक्व बैंकर्स हुनुहुन्छ । राष्ट्र बैंक, अन्य सरकारी निकायहरुसँग राम्रो सम्बन्ध छ । विदेशी निकायहरुसँग पनि राम्रो पहुँच छ’ एक जना सञ्चालकले नयाँ सीईओको सवल पक्षबारेमा–‘हाई इन्ट्रिग्रिटी भएको मान्छे, व्यक्तिगत स्वार्थ केही पनि छैन । उहाँको नेतृत्वमा बैंकले राम्रो गर्न सक्छ भन्ने विश्वास छ ।’ गत आर्थिक वर्षमा बैंकले करिव १ अर्ब ३० करोड नाफा गरेको उनले जानकारी दिए । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ छ । करिव ६० करोडको एफपीओ र बोनस सेयर निष्काशन गरी बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याँदैछ ।
जडीबुटी उत्पादनका लागि ग्रिन हाउस
दाङ । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकामा जडीबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा, स्युजा, काभ्रे लगायतका गाविसमा जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएको हो । तीन स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जडीबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सूर्यकान्त सिग्देलले बताए । “बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडीबुटी उत्पादन गर्न सकिने सम्भावना छ”, उनले भने । नेपाल जडीबुटी व्यवसायी सङ्घ, दाङका अध्यक्ष सन्तोष सोनीले हाल स्थानीयवासीले व्यक्तिगतरmपमा सानो मात्रामा जडीबुटी उत्पादन गर्दै आएको उहाँले जानकारी दिए । जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएपछि हाल बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रु नौ लाखको लगानीमा ग्रिन हाउस (हरित गृह) स्थापना गरिएको छ । जिआइजेड र नेपाल जडीबुटी व्यवसायी सङ्घको सहयोगमा उक्त हाउसको स्थापना गरिएको हो । ग्रिन हाउसमा खासगरी टिम्बुर, दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षिक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यसहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीयवासी लालबहादुर गिरीले जानकारी िदए । गिरीका अनुसार ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन् भने वार्षिक रु तीन लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखिएको छ । रासस