विकासन्युज

विषादी प्रयोगमुक्त मुक्त अभियान संचालन, किसान, व्यापारी, उपभोक्तालगायत लाई सचेतना जगाइँदै

काठमाडौं १८, मंसिर । कृषि विभाग, बाली संरक्षण निर्देशनालयले शनिबारदेखि यही मङ्सिर २५ गतेसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाउने भएको छ । निर्देशनालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी किसान, व्यापारी, उपभोक्ता लगायत सरोकार भएकाहरुलाई सचेत गर्ने उद्देश्यले सप्ताह मनाउन लागेको बताएको छ । नेपालमा भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताए । उनले भने, “विभिन्न अध्ययनले विषादीको मात्रा तरकारी बालीमा बढी हुने गरेको देखाएको छ । ” गत वर्ष नेपालमा चार सय ५४।६ टन विषादी आयात भएको थियो । निर्देशनालयले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गर्न दुई वर्ष पहिलेदेखि कालिमाटीमा फलफूल तथा तरकारीको अवशेष विश्लेषण सुरु गरेको थियो । शर्माले भने, “हामीले सुरु गर्दा तरकारी र फलफूलमा विषादीको मात्रा बढी पाइए पनि अहिले कम भएको छ ।” सन् १९८४ मा भारतको भोपालमा विषादीको चुहावटबाट २० हजारको मृत्यु भएको स्मरण गर्दै विश्वभर सन् १९९८ देखि विषादी प्रयोगमुक्त दिनका रुपमा डिसेम्बर ३ लाई मनाउने गरिएको हो । नेपालमा भने यसलाई मनाउन लागिएको यस पटक चौथो वर्ष हो । गोरखापत्र दैनिकबाट ।

कलेजो प्रत्यारोपण अब नेपालमै, डेढ वर्ष पहिलेनै चिकित्सक तथा नर्सलाई तालिम

काठमाडौँ १८, कात्तिक । मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ । कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो । स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कले जो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ । नेपालका कलेजो रोगीले कलेजो मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । “मानव अङ्ग प्रत्यारोपण नियमावली आएसँगै कलेजो प्रत्यारोपणमा कानुनी रूपमा सहज भएको छ,” कार्यकारी निर्देशक डा। श्रेष्ठले भन्नुभयो, “कलेजो प्रत्यारोपणका लागि यसअघि नै केन्द्रले चिकित्सक तथा नर्सिङ्ग टोलीलाई तालिमका लागि विदेश पठाइसकेको छ ।” डा। श्रेष्ठले केन्द्रले केही समयमै कलेजो प्रत्यारोपणसम्बन्धी विदेशबाट विज्ञ चिकित्सक टोली आएपछि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण नियमावलीले ब्रेन डेथ भएकाको अङ्ग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुला गरेर थप उत्साहित बनाएको जानकारी पनि दिनुभयो । कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड ५० लाख रुपियाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपियाँमा प्रत्यारोपण गर्ने तयारी गरिएको छ । गोरखापत्र दैनिकबाट ।

नेपाली सेनाले विमानस्थल बनाउने, सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिएकै ठाउँमा विमानस्थल

काठमाडौं १८, मंसिर । सिन्धुलीको चारनाथ भिमानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । मुलुकमा अप्ठ्यारो पदा अत्यावश्यक हवाई सेवा सुचारु गर्न सेनाले वैकल्पिक विमानस्थल निर्माण योजना बनाएको हो । विपत् वा अन्य प्राविधिक कारणले त्रिभुवन विमानस्थल बन्द हुने अवस्था आए वैकल्पिक रुपमा प्रयोग गर्न मिल्ने गरी विमानस्थल बनाउन लागेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जनाए । उनका अनुसार विमानस्थल बनाउने भनिएको क्षेत्रमा हाल सेनाले हवाई जम्पलगायत विभिन्न प्रशिक्षण दिँदै आइरहेको छ । भिमानमा सेनाको करिब ४ सय १५ बिघा जमिन छ । विमानस्थल बनाउन लागिएको दक्षिणी भागमा खिम्ती–ढल्केवर प्रसारण लाइन छ । कान्तिपुर दैनिकबाट ।

एनबी इन्स्योरेन्सको १८औं र १९ औं साधारणसभा सम्पन्न, १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय

काठमाडौं, १७ मंसिर । एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको १८औं र १९औं बार्षिक साधारणसभा शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर, काठमाण्डौंमा सम्पन्न भएको छ । साधारण सभाले एक शेयर बराबर एक शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताए । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । नेपाली बीमा बजारमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले अल्पकालिन र दीर्घकालिन रणनीति बनाउंदै कम्पनीलाई आगामी पांच बर्ष भित्र एक उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने र शेयरधनीहरुलाई उचित मुनाफा दिने लक्ष्यका साथ कम्पनी अगाडि बढेको अध्यक्ष पौडेलले साधारणसभालाई जानकारी दिए । राष्ट्रिय महत्वको बिषय रहेको लघु बीमा, कृषि तथा पशु बीमालाई अगाडि बढाउने क्रममा कम्पनीले जनकपुर, बर्दिवास, ओखलढुéा र सोलुखुम्बुको सल्लेरीमा शाखा कार्यालय खोलिसकिएको छ भने देशको कुना कुनासम्म बीमा पहुंच विस्तार गर्दै लाने रणनीति रहेको उनले बताए । सभामा अध्यक्षले कम्पनीले चालु आ.ब.को प्रथम त्रैमाससम्ममा १६ करोड २२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको, १ करोड २० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराउंदै २०७३ मंसिर १६ गतेसम्म कम्पनीले करिब २४ करोड बीमाशुल्क आर्जन गरेको र ३२ करोड विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुको मुद्दतीमा लगानी गरेको पनि जानकारी गराए । साधारण सभामा संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले कम्पनीले देशभर १७ वटा शाखा कार्यालय, ५ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३० स्थानबाट बीमा सेवा प्रदान गरिरहेको, बन्द रहेका शाखाहरुको पुनःसंचालन गर्दै शाखा सञ्जाल विस्तार तथा आवश्यक जनशक्तीहरुको व्यवस्थापनमा जोड दिई रहेको जानकारी गराए ।

सनराइज बैंकको सर्वाधिक जीवन बीमासहितको घर कर्जा योजना

काठमाडौं, १७ मंसिर । सनराइज बैंकले ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि आफ्नो योजना अन्र्तगत सर्वाधिक जीवन बीमासहितको सुरक्षित घरकर्जा योजना ल्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी बैंकले सुरक्षित घर कर्जा लगानीमा बीमा योजनाले ग्राहकको हितमा काम गर्ने जनाएको छ । बैंकले आफ्ना ग्राहकलाई घर कर्जा सुरक्षाको लागि वीमासँग जोडिदिएको बैकका विभागिय वरिष्ठ प्रबन्धक हरि प्रसाद आचार्यले जानकारी दिए । बैकले सुरक्षित घर कर्जा वीमाको लागि प्रइम लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेको छ । ५ लाखदेखी १ कारोड रुपैंयाँ सम्म कर्जाको सिमा तोकिएको छ भने कर्जा चुक्ताको अवधि १० देखि २० बर्षसम्म राखिएको छ । आचार्यका अनुसार बैकले कर्जा रकम बराबर कर्जा अवधिभर सर्वाधिक जिवन वीमा हुनेछ । यसले गर्दा ऋणिको विचैमा मृत्यु भएमा, दुर्घटनामा पनि अंगभंग भएर ऋण तिर्न नसकेमा वीमामार्फत बैकले आफ्नो रकम असुल गर्नेछ । वीमको लागि २१ बर्षदेखि ५० बर्ष मुनीमा व्यक्ति मात्रै योग्य रहने बैकले जनाएको छ । यदी उमेरका कारण सुरक्षित घरकर्जा लिन नसक्ने अवस्था भएपनि एकाघरका सदस्यले संयुक्त ऋण आवेदन गरी कम उमेरको व्यक्तिको नामबाट वीमा गर्न बैंकले सुविधा दिएको आचार्यले बताए । त्यस्तै बैकले विद्युतिय उपकरण प्रयोगको बारेमा पनि सचेत रहन आग्रह गरेको छ । बैंकले हाल चलनचल्तिमा रहेको एटिएम कार्डमा रहेको म्याग्नेटिक स्ट्रिप सुरक्षा प्रणालि कमजोर रहेको जनाउँदै छिटै नै भरपर्दो र सुरक्षित इएमभि चिप प्रयोगमा ल्याउने तयारी भइरहेको जनाएको छ । पछिल्लो समय बैंकिङ कारोवारमा आम सर्वसाधारणको ध्यानाकर्षण हुँदै गएको अवस्थामा बैकले आफ्नो योजना र विद्युतिय उपकरण प्रयोग सम्बन्धि जानकारी दिएको पुतलीसडक शाखाका प्रबन्धक विष्णु उप्रेतिले बताए । हाल बैंकको चुक्ता पूँजी ५अर्ब ३० करोड रुपैंयाँ रहेको छ भने निक्षेप ५५ अर्ब रुपैंयाँ रहेको बताइन्छ । त्यस्तै ४७ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ  । गत आवमा ९५ करोड रुपैंयाँ नाफा गरेको बैंकका झण्डै ३ लाख २५ हजार ग्राहक रहेको छ । २०६४ सालमा वाणिज्य बैंकको रुपमा स्थापना भएको सनराइजको ६७ वटा शाखा र ११ वटा शाखारहित सेवा केन्द्र र ७२ वटा एटिएम रहेको बैंकले जनाएको छ ।

श्रमिकहरु लगानीका बिरोधी होइनन्: जिफन्ट

काठमाडौ, १७ मंसिर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रिन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आम श्रमिकलाई आव्हान गरेको छ । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको भन्दै श्रमिकबिरोधी कानुनको विरोधमा एकजुट हुन आव्हान गरेका हुन् । उनले मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औद्योगिक व्यवसाय ऐनमा ‘नो वर्क नो पे’ चिन्ताको विषय बनेको बताए । रिमालले भने– ‘काम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर ‘नो वर्क नो पे’ यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । नो वर्क नो पे भनेको श्रम गर्ने श्रमिकको अपमान हो– उनले भने । कारखाना बन्द भयो भने श्रमिकले तलब नलगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको भन्दै रिमालले व्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत हल्ला भएको बताए । उनले भने–‘हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् ।’

डा.केसीको जीवन रक्षाको लागि आइओएमका डिनले दिए राजीनामा

काठमाडौं, १७ मंसिर । डा.गोविन्द केसीको २० दिनदेखिको अनसन अव तोडिने भएको छ । इन्सिच्युट अफ मेडिसिन (आइओएम) का नवनियुक्त डिन केपी सिंहले राजीनामा दिएपछि उनको अनसन तोडिने भएको हो । केसीले नियम विपरित आईओएममा डिन नियुक्त गरिएको भन्दै विगत २० दिनदेखि अनशन बस्दै आएका थिए । DSCN9676 डा. गोविन्द केसीको जीवन भन्दा ठूलो आफ्नो पद नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसमक्ष राजिनामा पेश गरेका हुन् । उनको स्वास्थ्य अवस्था बिग्रदो छ । डा.केसीकै स्वास्थ्यलाई ध्यानमा राखेर आफूले राजिनामा दिएको डा सिंहले बताएका छन् ।

मेलम्चीको सुरुङमा भेटियो सुन जस्तै धातु, सुरक्षा व्यवस्था कडा, खानी तथा भूगर्व विभागमा परीक्षण हुँदै

फोटो साभार : रेडियो मेलम्चीबाट काठमाडौं, १७ मंसिर । मेलम्ची खानेपानी  आयोजनाको सुरुङमा सुनजस्तै पहेलो धातु फेला परेको छ । विहीबार  सुरुङ खन्ने क्रममा त्यस्तो धातु फेला परेको हो । मेलम्ची खानेपानी आयोजना प्रमुख धनश्याम भट्टराईका अनुसार  सुरुङ खन्दा सुन जस्तो धातुहरु भेटिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । आयोजना प्रमुख  भट्टराईका सुरुङ खन्नेक्रममा सुन जस्तै पहेलो धातुहरु धेरै फेला परेको जानकारी दिदै भने, ‘मैले सो कुरा थाहा पाउने वित्तिकै त्यहाँ सुरक्षा व्यवस्था कडा गर्नको लागि निर्देशन दिएको छु ।’ सुरुङ वरपर पनि आधिकारीक व्यक्तिबाहेक कसैलाई छिर्न दिइएको छैन उनले भने –‘सर्वेलेन्स क्यामरा राख्न पनि मैले निर्देशन दिइसकेको छु ।’ भट्टराईका अनुसार त्यस्तो पहेलो धातु पाइपराइट पनि हुन सक्छ, पइपराइट नामक धातु पनि सुन जस्तै गरी टल्किन्छ, । ‘सुन जसरी टल्किने धातु के हो भन्ने विषयमा मैले खानी तथा भूगर्व विभागमा टेष्टको लागि पठाइसकेको छु,’ उनले भने । ‘पोलेर हेर्दा सुन हो भने पग्लिन्छ, ढुंगा हो भने फुट्छ, सफर नामको धातु हो भने वल्छ, तामा हो भने पनि सुन पग्लने तापक्रममा पग्लिदैन त्यसैले मैले पहिलो टेष्ट पोलेर गर्न त्यहाँका कामदारलाई भनेकाे छु,’ प्रमुख भट्टराइले भने । भू–गर्वविद्का अनुसार सबै पहेलो धातु सुन हुदैन टेष्ट गरेर नहेरी सुन हो या अन्य धातु सो बारेमा केही भन्न सकिदैन । प्राविधिक परिक्षणका लागि खानी तथा भूगर्व विभागमा पठाईसकेकोले परिक्षणपछि मात्र सुन या अन्य के हो स्पष्ट हुने छ । आगामी दशैसम्म राजधानीबासीको तिर्खा मेट्ने गरी आयोजनाको सुरुङ निर्माण कार्य तिव्र भइरहेको वेला सुन भेटिएको आशंकाले अब निक्कै दिन आयोजनाको काम प्रभावित हुने सम्भावना देखिएकाे छ ।