झोलुङ्गे पुलले सहज बन्यो यात्रा
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको यात्रा ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलब पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि खोल्सा र जङ्गलमा घुमाउरो बाटो हिड्नुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका–४ का मनमाया चोचाङ्गीले बताइन् । 'धापुङ्ग र महेश गाउँका एक सय पाँच घरपरिवारलाई वडा कार्यालय जान एक घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ,' उनले भनिन्, 'बर्खामा न्युखोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता पनि हटेको छ ।' रु ५७ लाख १० हजार ८६० लागत अनुमान गरिएको पुल उपभोक्ता समितिबाट निर्माण गरिएको हो । उपभोक्ता समितिले रु ६४ हजार नौ सय ६१ बराबरको श्रमदान गरेका छन् । रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पार्ट्स खरिद र उपभोक्ता समितिलाई रु ३१ लख ८३ हजार ९१ भुक्तानी भएको मङ्गला गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख सवइञ्जिनियर रुचेन्द्र अधिकारीले बताए ।
फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी, फोहर विसर्जनमा समस्या
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगरक्षेत्रको फोहर सङ्कलन र विसर्जन कार्य पूर्ण रूपमा अवरुद्ध भएको छ । तीन दिनअघि श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले ११ बुँदे सहमति कार्यान्वयनको माग गर्दै केन्द्रमा तालाबन्दी गरेपछि झलारी, वन समिति, कलुवापुरलगायतका बजार क्षेत्रमा फोहर थुप्रिँदै गएको छ । फोहरमैला व्यवस्थाप केन्द्र निर्माण भएपनि सञ्चालनमा नआउँदा नगरपालिकाले अस्थायी रूपमा सामुदायिक वनकै जग्गामा फोहर विसर्जन गर्दै आएको छ । सामुदायिक वनका उपभोक्ताले अस्थायी रूपमा फोहर विसर्जन गर्दै आएको कार्यमा रोक लगाएपछि बजार क्षेत्रको फोहर सङकलन र विर्षजन हुन सकेको छैन । करिब ३० करोडभन्दा बढी लागतमा एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । फोहरमैला व्यवस्थापन केन्द्र आधुनिक प्रविधिसहित निर्माण गरिएको छ। प्राविधिक अध्ययनअनुसार यस केन्द्रले दैनिक छ टनसम्म फोहर व्यवस्थापन गर्ने क्षमता राख्छ भने करिब दुई दशकसम्म सञ्चालन गर्नसक्ने अनुमान गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्मरबहादुर ऐरका अनुसार केन्द्र निर्माणका क्रममा नगरपालिका र समूहबीच ११ बुँदे सहमति भएको थियो । त्यसअनुसार अन्य क्षेत्रको फोहर नल्याउने, आवासीय क्षेत्रमा मेसवायर जाली जडान गर्ने, प्रत्येक उपभोक्तालाई एलपी ग्यास उपलब्ध गराउने, वनहरा र सनवोरा नदीमा तटबन्ध निर्माण गर्ने, स्थानीयलाई रोजगारी दिनेलगायत प्रावधान राखिएका थिए । यसबाहेक, आर्यघाट क्षेत्र व्यवस्थित गर्ने, डस्टबिनको व्यवस्था गर्ने, प्रभावित बस्तीमा सडक कालोपत्रे र बत्ती जडान गर्ने, सामुदायिक वनको सीमसार क्षेत्र संरक्षण गर्ने, स्वास्थ्य बीमा तथा निःशुल्क उपचारको सुविधा उपलब्ध गराउने, र समयावधि पूरा भएपछि जग्गा फिर्ता गर्ने प्रावधान पनि सम्झौतामा समावेश भएको थियो । ‘सहमति भएको तीन वर्ष बितिसक्दा पनि नगरपालिकाले कुनै बुँदा कार्यान्वयन गरेको छैन’, अध्यक्ष ऐरले भने, ‘नगर कार्यपालिकाको १३५औँ बैठकले कार्यान्वयन गर्ने निर्णय गरे पनि अझै बेवास्ता गरिएको छ ।’ सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव दिलबहादुर साउदले तालाबन्दी गरे पनि नगरपालिकाले हालसम्म संवाद सुरु नगरेको र मौन बसेको बताएका छन् । ‘हामीले बारम्बार सम्झौताका बुँदा कार्यान्वयन गर्न माग गरेका थियौँ, तर नगरपालिका बेवास्ता गर्दै आएको छ’, उनले भने, ‘तत्काल सहमति कार्यान्वयन भएन भने सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गर्नेछौँ ।’ रासस
नाडा अटो शो २०२५ ले तोड्यो रेकर्ड, ४ दिनमै एक लाखभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शो सुरु भएको चार दिनमै १ लाख ४ हजार ३४७ दर्शकले अवलोकन गरिसकेका छन् । यसले नेपाली जनतामा अटोमोबाइल प्रविधिप्रतिको चासो र उत्सुकता उच्च रहेको प्रष्ट पारेको छ । यसपटकको अटो शो अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च राजनीतिक नेतृत्व उपस्थित भएका थिए । यस्तै, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना र नेपाल प्रहरीका उच्च अधिकारी, पूर्व गभर्नर, बैंक तथा वित्तीय संस्थाका शीर्ष व्यक्तिहरू, उद्योगी–व्यवसायी, खेलकुद क्षेत्रका प्रतिनिधि तथा महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीसम्मले समेत अटो शोको अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरबाट पनि सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एसोसिएशनका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्षले यस सफलतालाई नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको केन्द्र बनाउनको लागि नयाँ प्रेरणा भएको बताए । नाडाले यो अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको जनाएको छ ।
बुबाको मुख हेर्ने दिन : दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू
चितवन । ‘पितृदेवो भवः’अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर कुसे औँसीका दिन बाबुको मुख हेर्ने पर्व आज देशभर मनाइन्छ । बाबुप्रति आदर सम्मानका साथ मीठो खाना र राम्रो लगाउन दिने परम्परा रहेको छ । त्यसो त बाबु गुमाएकाहरूले भने धार्मिक तीर्थस्थलमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् । कतिपय आफ्नो साहारा कोही नभए पनि आश्रय लिन यहाँ आइपुगेका छन् । जहाँ हरेक वर्षमा आउने आमा खुवाउने दिन (माता तीर्थ औँसी) र कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन त्यहाँ बस्ने वृद्ध बा र आमाहरू भने कोही दाता आएर बा आमाको सम्मान देला भनेर पर्खिरहेका छन् । देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा रहेका बाहरूको अवस्था अझै दयानीय छ । नुवाकोटबाट आएर बस्नुभएका ७५ वर्षीय कृष्णप्रसाद भट्ट आफन्त भए पनि चाडपर्वमा नसम्झँदा मन अमिलो भएर आउने गरेको बताउछन् । औँसीको दिन भएका दुई भाइ छोराले समेत सम्पर्क नगर्दा आफन्त भन्ने रहेनछन् भन्ने भान भएको उनले बताए । श्रीमतीको निधनपछि छोराहरूलाई आफ्नो खुट्टामा उभिने बनाएर छाडेका भट्ट छोराहरूको सम्झनामा निकै निरास बन्ने गर्छन् । उनले भने, 'वृद्धावस्थामा निकै समस्या हुँदोरहेछ, छोराहरूको साहरा चाहिने समयमा उनीहरूनै सम्पर्कमा छैनन् कसरी साहारा पाउनु ।' अहिले त भगवान्को भरोसामा जीवनलाई छाडेको उनको भनाइ छ । उनले थपे, 'अहिले त जो सम्झेर आउँछन् तीनै छोराछोरी हुन् ।' अहिले आश्रममा आएर जस्ले बा भन्छ र मीठो खान दिन्छ तीनै छोराछोरी हु जस्तो लाग्ने गरेको उनले बताए। उनी विगत आठ वर्षदेखि यही आश्रममा आश्रय लिएर बस्दै आएका छन् । दुई पटकसम्म वैवाहिक सम्बन्धमा बाँधिएर पनि श्रीमती र छोरा/छोरी नभएपछि निकै उदास भएर आश्रममा दिन काट्दै आएका छन् । भरतपुर महानगरपालिका–६ गीतानगरका ८६ वर्षीय शमशेरबहादुर विश्वकर्मा । उनको वैवाहिक जीवन सफल हुन नसकेपछि उनी आश्रममा आएर बस्न थालेका हुन् । जन्मिएका छोराछोरीहरू नबचेपछि श्रीमतीले पनि उनलाई छाडेर गइन् । एक्लो जीवन बिताउनका लागि आश्रममा आएका विश्वकर्मा अहिले आश्रममा आउने जति सबैलाई छोराछोरीको रूपमा लिँदै आएका छन् । उनले भने, 'आफ्ना त छैनन् । जो आउँछ त्यसैलाई छोराछोरीको रूपमा लिनुपर्ने बाध्यता छ,' उनले सुनाए, 'बाबुको मुख हेर्ने दिन जो आउँछ त्यो नै आफ्नो छोराछोरीजस्ता लाग्छ उहाँले सुनाउनुभयो । बा खुवाउने दिन भन्छन् आफ्नो त कोही छैन जसले दिन्छ त्यही छोराछोरी हुन् ।' बागलुङबाट आएर देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्दै आएका ७७ वर्षीय मणिरत्न पौडेल अविवाहित हुन् । उनका भाइ र बहिनी बागलुङमा नै छन् । समाजमा देखेर आफूलाई विवाह गर्न मन नलागे पनि वृद्धावस्थामा कोही आइदिएहुन्थ्यो भन्ने आभास हुने गरेको उनले सुनाए । परिवारका सदस्य नहुँदा चिन्ता नभए पनि अहिले कसैले बा भनेर बोलायो भने पनि मन फुलेर आउने गरेको सुनाउँदै उनले भने, 'जसले आफूलाई बा भन्छ त्यसको दुःख जति मलाइनै परोस् भनेर भन्ने गरेको छु । सबै आफ्नै हुन् । जसले बा भन्छन् सबै सन्तान आफ्नै हुन् ।' देवघाट क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र तीन वटा आश्रममा ८० जना वृद्धवृद्धा रहेका छन् । यस क्षेत्रमा रहेको कल्पबासमा ३० जना कल्पबासी र १० वटा आश्रममा आश्रित वृद्धवृद्धाहरूको हरेक वर्ष आउने चाडपर्व यस्तै हुने गरेको छ । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा अहिले ३५ जना वृद्धवृद्धा रहेका छन्। जसमा १७ जना वृद्ध र १८ जना वृद्धा रहेका छन् । उनीहरूको व्यवस्थापनमा दाताहरूको भर पर्नुपरेको उनले बताए । सुरुआती समयमा समाज कल्याण कार्यालयबाट केही बजेट आए पनि अहिले बजेट नहुँदा भवन मर्मतदेखि आश्रितहरूको दैनिकीमा समेत दाताको भर पर्नुपरेको उनको भनाइ छ । उनले भने, 'जन्मोत्सव, वैवाहिक उत्सव, पितृकार्यलगायतमा सहयोग गर्ने दाताको भरमा अहिले दैनिकी चलाउनुपरेको छ ।' सरकारी कुनै पनि निकायबाट बजेट प्राप्त नहुँदा अहिले दाता खोज्नुपर्ने अवस्था आएको उनले बताए । क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले असहाय वृद्धवृद्धाको बसोबास, खानपानी र उपचारको व्यवस्था गरिएको भए पनि बजेट पर्याप्त हुन नसकेको बताए । दाताहरूको सहयोगमा भए पनि यहाँ रहेका वृद्धवृद्धाको उचित व्यवस्थापन गर्न सकिएको भन्दै उनले कुनै कमीकमजोरी नहोस् भन्ने गरी काम गरिएको बताए । उनले भने, 'समस्याका बीच पनि वृद्धवृद्धाहरूको स्वभावअनुसार सेवा दिएका छौँ । यसलाई निरन्तर राख्न सक्नुपर्छ ।' यसैबिच प्रेस चौतारी नेपाल चितवन शाखाले देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा दरखाने कार्यक्रम गरेको छ । शाखाले शुक्रबार साँझ वृद्धवृद्धाहरूलाई भोजन गराएर दरखाने कार्यक्रम गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । उनका अनुसार शाखाले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ । रासस
अरिङ्गालको परिकारको स्वाद चाख्न बेनी आउने कि !
म्याग्दी । म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको रोजाइमा परेको छ । होटललाई अरिङ्गालको माग धान्न र पु-याउन हम्मे परेको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिङ्गाल हुने गरेको बताए । 'स्थानीयबासी मात्र नभएर अरिङ्गालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउन थालेका छन्,' उनले भने, 'स्वादिलो र तागतिलो हुने भएकाले अरिङ्गालको उपभोग बढेको छ ।' थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिङ्गाल बिक्री हुन्छ । प्रतिप्लेट फ्राई अरिङ्गालको मूल्य रु ६०० देखि ७५० सम्म पर्छ । अग्ला रुखमा चढेर शिकारीले अरिङ्गालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिङ्गालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ । खबरा, लामाखेत, अर्थुङ्गे, जामुनाखर्क, बैसरी, माझखर्क, रिसिनचौतारीका युवाले अरिङ्गालको गोला बेच्न बेनीमा ल्याउँछन् । सिङ्गा, बरङ्जा, कुहुँको अरिङ्गाल तातोपानी र ताकम, धारापानी, बिम, देविस्थान, निस्कोट, अर्मनको अरिङ्गाल दरवाङ, बाबियाचौरको होटलमा खपत हुन्छ । गोलासहितको एक किलो अरिङ्गाल रु तीन हजारदेखि तीन हजार ५०० मा बिक्री हुने गरेको अरिङ्गाल शिकारी तमबहादुर पुनले बताए । अरिङ्गाल शिकार गर्ने र पाल्नेले लार्भा बेचेर एक याममा रु एक लाखभन्दा बढी आम्दानी गर्छन् । बेनी –६ जामूनाखर्कमा व्यवसायिक रूपमा अरिङ्गालपालन गरेका अशोक र गीता पाइजा शाहीले माग धान्नै नसकेको बताए । गत वर्ष ३० किलोग्राम लार्भा उत्पादन गरेका शाही दम्पतीले यो वर्ष २५ गोला पालेर एक क्विटल लार्भा बेच्ने लक्ष्य राख्नु भएको छ । एक गोलाबाट एक पटकमा आठ किलोग्रामसम्म लार्भा निकाल्न सकिन्छ । प्रत्येक दुई/दुई महिनामा लार्भा निकाल्न सकिन्छ । जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा कात्तिकसम्म ब्यापार हुन्छ । अरिङ्गाल पाल्नु र शिकार गर्नु सजिलो काम भने होइन । रुखको टुप्पा, भिरमा हुने अरिङ्गाल शिकार गर्दा र सार्दा सावधानी अपनाउनुपर्छ । अरिङ्गाल रिसाएर टोक्यो भने ज्यानै जान पनि सक्छ । अरिङ्गाल शिकार गर्नेका लागि बजारमा पोशाक किन्न पाइने भएकाले जोखिम घटेको र सजिलो भएको छ । रातो र कालो जातका अरिङ्गाल हुन्छन् । आगोले गोला पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, टोकेर घाइते हुने, रुखमा चढ्दा लडेर घाइते तथा ज्यान जाने जोखिम पनि उत्तिकै छ । रासस
सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प
काठमाडौं । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन ।
अकबरे खुर्सानीमा रोग फैलिँदा व्यावसायिक खेती प्रभावित, किसान चिन्तित
भोजपुर । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो । लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले बताए । 'यस वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ' उनले भने, 'एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौँ । फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु ।' थापाजस्तै व्यावसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । स्थानीय कृषक गीता विष्टकाअनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ । 'खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौँ' उनले भने, 'बारीमा भएका प्रायःसबै बोटमा रोग लागेको छ । बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ । फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ ।' रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ । करिब एक हजार ५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा जसो बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक विष्टले बताए । पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । तर, रोग–किराको जोखिमले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ । रासस
आज मनसुन सक्रिय हुने, यी प्रदेशहरूमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन केही सक्रिय हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।