विकासन्युज

प्रधानसेनापतिमा पुर्णचन्द्र थापा

काठमाडौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। रासस

कुमारी बैंकका ग्राहकलाई नेपाल क्यान्सर अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर(राजीव गान्धी क्यान्सर संस्थान तथा रिसर्च सेन्टरसँग आबद्ध)मा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले सातदोबाटाको उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न औषधोपचार सेवामा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसअघि कुमारी बैंकले देशविदेशका विभिन्न अस्पतालहरुबाट उपचार गराउँदा आफ्ना समस्त ग्राहकलाई कुमारी डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुटको सुविधा दिँदै आइरहेको छ ।

ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिट सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र देवः विकास बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । आइतबार(आज) सम्पन्न उक्त सम्झौतामा ज्योति विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र देवःविकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पछि ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देवस् विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट रेमिटेन्स सेवा प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताएका छन् । हाल ज्योति विकास बैंकको कुल ६० वटा र देवः विकास बैंकको ५१ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

एनसीसी बैंक र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेड र सन नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्नो जुनसुकै शाखाबाट लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने छ । उक्त सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

विद्युत् प्राधिकरण र अपि पावरबीच २५ वर्षको लागि पीपीए सम्झौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । आइतबार दुई कम्पनीबीच अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको पीपीए भएको हो । उक्त पीपीएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार पाल्न निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७.३० रुपैयाँमा २५ वर्षको लागि पीपीए भएको हो । उत्पादित विद्यूत परवानीपुरको ११ केभी परवानीपुर सबस्टेसनमा जोडिनेछ । ‘प्राधिकरणले १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले भने– ‘ भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम शुरु गर्नेछ ।’ कम्पनीले यस अघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ । अपिले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ । सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पीपीए आह्वान गरेको थियो । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धी कार्य्विधि २०७४’ लागू भएपछि सोलार पिपिएको दर प्रतियुनिट ७.३० रुपैयाँ कायम गरियो । यसअघि अपि पावर कम्पनीले छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । कम्पनीले भविश्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभाग विच साउन २५ गते ४० मेगावट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ । अपि पावरले छोटो समयमा धमाधम जलविद्युत आयोजनाहरु निर्माण गरी सेयरधनीहरुलाई उचित प्रतिफल दिने हेतुले अगाडि बढीरहेको छ । नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न अपि पावरले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

वैदेशिक लगानी प्रतिवद्धता ११४ प्रतिशत बढ्यो, गत वर्ष ३ खर्ब ५० अर्ब ५८ करोड

काठमाडौं । उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ११४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको असारसम्म ४९६ उद्योगका लागि ३ खर्ब ५० अर्ब ५८ करोड ८० लाख रुपैयाँको लगानीको प्रतिवद्धता भएको छ । आव २०७३/७४ मा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगमा १ खर्ब ६३ अर्ब १७ करोड ४० लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । पछिल्ला वर्षमा उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको सरकारी तथ्याँकले देखाएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्न उद्योग क्षेत्रमा लगानी बढेको हो । संविधान निर्माण भएपछि नेपालमा लगानीको वातावरण सिर्जना भएको हो । विभागका महानिर्देशक शिवराम न्यौपाने संविधान निर्माणसँगै मुलुकमा लगानीको वातावरण निर्माण हुँदै गएकाले नेपालमा लगानी गर्नेको संख्यामा वृद्धि हुँदै गएको बताउछन् । “लगानीको वातावरण सिर्जना हुँदै गएकाले पछिल्लो समय विदेशबाट नेपालमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ,” उनी भन्छन् । लगानी भएका क्षेत्रमध्ये ऊर्जामूलक क्षेत्रमा बढी लगानी रहेको छ । विभागका अनुसार ३७ जलविद्युत् उत्पादन केन्द्रका लागि झण्डै २ खर्ब ३३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ लगानी भित्रिएको छ । १३० उत्पादनमूलक उद्योगमा ७७ अर्ब २६ करोड ४० लाख लगानी भित्रिएको छ । १५९ पर्यटन उद्योगमा २३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको लगानी प्रतिवद्धता गरिएको छ । ११४ सेवामूलक उद्योगमा ५ अर्ब १२ करोड ९० लाख, चार निर्माण उद्योगमा ४ अर्ब ७३ करोड १० लाख, २२ कृषि उद्योगमा २ अर्ब ५१ करोड ७७ लाख, चार खनिज उद्योगमा २ अर्ब ४२ करोड २२ लाख र २४ सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ७५ करोड ३० लाख लगानीको प्रतिवद्धता गरिएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का प्रथम उपाध्यक्ष अच्युत गुरागाईँ स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउछन् । “होटल र रेष्टुरेन्ट क्षेत्रमा भारत र चीनका व्यवसायीको लगानी बढी छ,” उनी भन्छन् । विभागले १० करोडभन्दा कम लगानीका उद्योगलाई साना उद्योग, रु १० देखि २५ करोड रुपैयाँसम्म लगानी भएका उद्योगलाई मझौला र २५ करोड रुपैयाँभन्दा बढी लगानीका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । विभागमा दर्ता भएका उद्योगमध्ये ७८ ठूला, ७६ मझौला तथा ३४२ विदेशी लगानीका साना उद्योग छन् । ठूला उद्योगका लागि ३ खर्ब २८ अर्ब ५२ करोड १७ लाख, मझौला उद्योगका लागि १४ अर्ब ९२ करोड २८ लाख र विदेशी लगानीका साना उद्योगका लागि ७ अर्ब १४ करोड ४२ लाख रुपैयाँको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा उद्योग क्षेत्रमा आएको प्रतिवद्धता पूरा भए २७ हजार ३३९ नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाउनेछन् । आव २०७३/७४ मा ५१० उद्योग खोल्नका लागि लगानी भित्रिएको थियो । ९७ ठूला, ८२ मझौला र ३३१ साना उद्योग खोल्नका लागि विभागमा दर्ता भएका थिए । स्वदेशी लगानीका साना तथा घरेलु उद्योग दर्ता साना तथा घरेलु उद्योग विभागमा र साना तथा घरेलु उद्योग विकास समितिमा दर्ता हुँदै आएको छ । पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको समयमा उद्योग क्षेत्रमा वातावरण सिर्जना भएका कारण उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको विभागले जनाएको छ । संविधान निर्माणसँगै मुलुकमा तीनै तहको निर्वाचन भएर स्थायी सरकार बनेकाले लगानी सुरक्षित महसुस गरेर उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत् उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ ।

दुई कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले दुई धितोपत्र दलाल कम्पनीकाे सेयर कारोबारमा रोक लगाएको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले  एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) नं (७) र मार्केट सेक्युरिटिज प्रालि (ब्रोकर नं ५)को कारोबारमा रोक लगाएको हो । बोर्डको नियमअनुसार ०ं६ प्रतिशत नियामक शुल्क भुक्तानी गर्नुपर्नेमा सो नबुझाएको पाइएको छ । नेपाल धितोपत्र व्यवसायी नियमावाली २०६४ को नियम ३२ अनुसारको दस्तुर बुझाउन अटेर गरेका कारण कारोबारमा रोक लगाइएको नेप्सेले जनाएको छ ।

सेयर बजार १४ अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि नै निरन्तर घट्ने ट्रेण्डमा रहेको सो दिनको नेप्से अन्ततः १४.०३ अंकले घटेर ११९६.२९ अंकमा झरेको छ । बजारमा कुल १६० कम्पनीको ३२ करोड ५२ लाख रपैयाँको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच भएको छ । संस्थाको दिनभर ३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता ५८३ रुपैयाँ रहेको छ । त्यसैगरी, ओम डेभलपमेन्टको २ करोड, नबिल बैंकको प्रमोटरका साथै साधारण सेयर र नेपाल इन्भेष्टमेन्ट बैकको एक करोड रुपैयाँ भन्दा बढीको प्रमोटर सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक १०३ अंकले घटेको छ । त्यस्तै, फाइनान्स र अन्य समूह ५ अंकले घटेका छन् भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।