चर्नावती खोला जलविद्युत आयोजना प्रभावितका लागि आइपीओ खुल्ला
काठमाडौं, १६ मंसिर । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चर्नावती खोला जलविद्युत आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ । सय रुपैयाँ अंकित सो सेयर दुइ करोड ६० लाख बराबरको हुने छ । कम्पनीले दोलखामा चर्नावती खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो आयोजना ३.५ मेगावाट क्षमताको रहेको छ । दोलखाको भिमेश्वर नगरपालिकाको वडा नम्वर ८, ९ र ११, मागपौवा गाविसको वडा नम्वर ५ र काटाकुटी गाविस को वडा नम्वर ६ का बासिन्दा सो आयोजना प्रभावित बासिन्दा हुन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नु पर्ने हुन्छ । त्यस्तै काठमडौमा एनएमवी क्यापिटलको कार्यालय र नेपाल हाइड्रो डेभलपर कम्पनीको कार्यालयबाट पनि आवेदन दिन सकिने छ । त्यस्तै सेयर आवेदनका लागि डिम्याट खाता पनि अनिवार्य गरिएको छ । कम्पनीको १९ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत सेयर निष्कासन गरेको हो । त्यस्तै कम्पनीले तीन लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन पनि गर्दे छ । साधारणसेयर जारी पछि कम्पनीको चुक्तापुँजी २६ करोड पुग्ने छ । मंसिर १६ गतेदेखि निष्कासन भएको सेयर छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सकिने छ ।
विद्युत् चोरी तथा चुहावट नियन्त्रण गर्न ऊर्जा मन्त्रालयको निर्देशन
काठमाडौं, १६ मंसिर । ऊर्जा मन्त्रालयले हाल काठमाडौं उपत्यकामा जारी रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई निरन्तर अगाडि बढाउन, चुहावट नियन्त्रण गर्न र विद्युत् चोरी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । गत दसैँबाट सुरु भएको विद्युत्भार कटौतीमुक्त अभियान अगाडि बढिरहेको सन्दर्भमा आगामी दिनमा पनि त्यसलाई थप प्रभावकारी बनाउन तथा मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने विषयमा ऊर्जाले प्राधिकरणसँग कार्ययोजनासहित आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक र विभागीय प्रमुखलाई मन्त्रालयले लामो समयदेखि रोकिएका आयोजना तथा मन्त्रालयले गर्नुपर्ने सहयोग विषयमा समेत प्रष्ट खाका ल्याउन भनेको छ । निकट भविष्यमा नै भारतबाट थप विद्युत् आयात हुन लागेको सन्दर्भमा त्यसको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न, सवस्टेसनको सुधार तथा प्रणाली व्यवस्थापनमा समेत ध्यान दिन उर्जाले निर्देशन दिएको छ । आगामी एक महिनाभित्र ढल्केबरमा सवस्टेसनको काम सम्पन्न हुने तथा थप ८० मेगावाट विद्युत् उपलब्ध हुने हुँदा आवश्यक व्यवस्थापन जरुरी छ । ऊर्जामन्त्री जनार्दन शर्माले कुनै पनि आयोजनाका काम रोकिन नहुने, एक हप्तामा सबै आयोजनाको प्रगति प्रतिवेदन पठाउनुपर्ने र विद्युत् चुहावट नियन्त्रण अभियानलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । विद्युत्भार कटौतीमुक्त अभियान प्राधिकरणको सफलताको कडी भएको मन्त्री शर्माको भनाइ छ । उनले अभियानलाई थप व्यावहारिक र तत्काल सम्पन्न गर्न सकिने योजनाको अपेक्षा आफूले गरेको बताए । टनकपुरमा थप क्षमताको ट्रान्सफर्मर जडान हुने प्राधिकरणले भारतबाट थप विद्युत् ल्याउन भारतको टनकपुरमा रहेको प्राधिकरणको सवस्टेसनमा १०० एमभिएको ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सञ्चालनमा रहेको ५० एमभिएको ट्रान्सफर्मरबाट थप विद्युत् ल्याउन नसकिने भएकाले ट्रान्सफर्मरको क्षमता थप गर्न लागिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । प्राधिकरणका उच्च अधिकारी र भारतका अधिकारीले गरेको स्थलगत अध्ययनको क्रममा हाल सञ्चालनमा रहेको सवस्टेसनमा अर्को ट्रान्सफर्मर राख्ने स्थान अभावका कारण सानो क्षमताको ट्रान्सफर्मर हटाएर सय एमभिएको ट्रान्सफर्मर राख्न सुझाव दिएका थिए । हाल टनकपुरबाट ३० मेगावाट विद्युत् आयत गरिएको छ । क्षमता थप भएपछि थप ३० मेगावाट विद्युत् आयात हुनेछ । सवस्टेसनको सुधार आवश्यक भारतबाट आयात गरिएको विद्युत् सहजरुपमा काठमाडौं ल्याउन समस्या भइरहेको सन्दर्भमा प्राधिकरणको अध्ययन टोलीले केही सवस्टेसनको सुधार गरे समस्या समाधान हुने निष्कर्ष निकालेको छ । प्रसारण प्रणालीमा रहेको समस्याका कारण अहिलेसम्म भारतबाट आयात गरिएको विद्युत् काठमाडौं उपत्यकामा जोड्न सकिएको थिएन । ढल्केबरमा ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त भएको विद्युत् ढल्केबर–चन्द्रनिगाहपुर–हेटौँडा हुँदै काठमाडौंको स्युचाटार सवस्टेसनमा बिजुली जोडिने गरी काम सुरू भएको छ । सो कार्यका लागि चन्द्रनिगाहापुर, हेटौँडा र स्युचाटारको सवस्टेसनमा विशेष सुरक्षा प्रणाली जडान गर्नुपर्ने अध्ययन समितिको ठहर छ । यस्तै विशेष सुरक्षा उपकरण जडान गरिने सवस्टेसनमा ढल्केबर, चन्द्रनिगाहपुर, कमाने, भरतपुर, बुटवल, भक्तपुर, हेटौँडा र लमही रहेका छन् । आठवटै सवस्टेसनले १८० मेगावाट बिजुली प्रवाह गर्ने क्षमता राख्दछ । आगामी एक महिनाभित्र भारतको विद्युत् प्रणालीसँग नेपालको केन्द्रीय ग्रिड जोडिने भएकाले सुरक्षात्मक प्रणाली जोड्न आवश्यक रहेको प्रवक्ता अधिकारीको भनाइ छ । प्राधिकरण प्रणाली योजना विभागका उपप्रबन्धक मनिलनिधि तिवारी र प्रणाली सञ्चालन विभागका सहायक प्रबन्धक विनोद लोहनी रहेको प्राविधिक टोलीले भारतको विद्युत् प्रणालीलाई नेपालको केन्द्रीय प्रणालीमा जोडन आवश्यक प्राविधिक मापदण्ड तथा सुरक्षा उपकरण जडानसम्बन्धी अध्ययन प्रतिवेदन तयार छ । सोही प्रतिवेदनका आधारमा कार्यान्वयन प्रक्रिया अगाडि बढाएर एक महिनाभित्र कार्यान्वयन गर्ने र मुलुकलाई नै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारीमा प्राधिकरण रहेको छ । प्राधिकरणले भारतबाट करिब ६०० मेगावाट बिजुली आयात गर्दैछ । जसअनुसार ढल्केबर–मुजफ्फरपुर, कटैया–कुसाह, परावनीपुर–रक्सौल र टनकपुरबाट थप बिजुली आयात गर्ने लक्ष्य छ । हाल भारतबाट आइरहेको बिजुलीमा २२० मेगावाट थप गर्दा देशभर विद्युत्भार कटौती नहुने प्राधिकरणको अनुमान छ । भारतबाट गत आवमा ३४७ मेगावाटसम्म बिजुली आयात भएको थियो । रासस
डा केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा गोविन्द केसीका माग सम्बोधन गर्न बिहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्। शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ उनले सो निर्देशन दिएका हुन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले त्यसमा चासो दिएका हुन् । सो अबसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने बताए । यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वमा बनेको कार्यदलले आज सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । रासस
नेप्से परिसूचक ७ दशमलब ८४ अंकले ओरालो, १ अर्ब २० करोडको कारोबार
काठमाडौं, १६ मंसिर । साताको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । बिहीबार परिसूचक ७ दशमलब ८४ अंकले ओरालो लागेर १६०० अंकमा झरेको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सुधार भएको छ । सो दिन १३८ कम्पनीको १६ हजार ४३ लाख कित्ता सेयर १ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार विकास बैंक, उत्पादनमूलक र अन्य समूह बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक, उत्पादनमूलक र अन्य समूहको परिसूचक क्रमशः ९, ३ र २ अंकले उकालो लागेका छन् । हाइड्रोपावर, होटल, बीमा र बैंकिङ् समूहको परिसूचक क्रमशः ४२, ३७, ३६ र ११ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको परिसूचक सामान्य ५.०३ अंकले झरेको छ । बजारमा सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । विजया लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था र नेपाल ग्रामीण विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
अरुण सेक्युरिटिज र ओपल सेक्युरिटिजलाई कारबाही गर्यो नेप्सेले
काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेन्जले दुई वटा ब्रोकर कम्पनीहरुलाई अनिश्चितकालको लागि निलम्वन गरेको छ । नेप्सेले धितोपत्र बोर्डको निर्देशन भन्दै ब्रोकर नम्वर ३ अरुण सेक्युरिटिज र ब्रोकर नम्बर ४ ओपल सेक्युरिटिजलाई निलम्वन गरेको हो । उनीहरुलाई के कारणले निलम्वन गरिएको हो भन्नेबारेमा नेप्सेले विस्तृत विवरण दिएको छैन । अरुण सेक्युरिटिजलाई नेप्सेले बारम्बार कारबाही गर्दै आइरहेको छ भने ओपल सवेक्युरिटीजले पनि केहीसमययता कारबाही भोगिरहेको छ ।
साउदीमा कामदारको बिजोग, कुटनीतिक पहलमा सरकार कमजोर रहेको सरोकारवालाको भनाइ
काठमाडौं, १६ मंसिर । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपालीहरु पिडित भएका छन् । रोजगारीका लागि साउदी जानुपूर्व कामदारसँग भएका कुनै पनि सम्झौता रोजगारदाता कम्पनीले लागू नगर्दा त्यहाँ कार्यरत नेपाली कमदारहरु पीडित भएका हुन् । बुधबार आयोजित ‘वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा देखिएका समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारको कुटनीति कमजोर भएकोले साउदीमा नेपाली कामदार पीडित हुनुपरेको बताए । पूर्व श्रम तथा रोजगारमन्त्री कमल चौँलागाईले पछिल्लो समय साउदीमा नेपालीहरुले सेवा सुविधा नपाएर पिडा खेपीरहनु परेको बताए । ‘त्यसै पनि अहिले युद्धको भयले साउदी जाने नेपाली कामदारको संख्या घटिरहेको छ, उनले भने, तर भएका नेपाली कामदारहरु समेत पिडित भइरहेका छन्, यसबारे सरकारले चाँडो कुट्नीतिक पहल चाल्नुपर्छ,’ चौलागाईले भने । बैदेशिक रोजगार विभागका माहानिर्देशक विश्वराज पाण्डेले साउदी अरेबियाको समस्याबारे आफूहरु जानकार रहेकोले त्यसको समाधानका लागि पहल भईरहेको बताए । ‘सरकारी स्तरबाट पहल भईरहेको छ ।’ उनले भने, ‘विगतमा भन्दा हामीले समस्या केही समाधान गरिसकेका छौँ ।’ नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयका सहसचिब भरत भुर्तेलले पनि साउदीमा नेपालीहरुले दुख पाइरहेको भन्ने कुरा स्वीकार गरे । उनले भने, ‘साउदीको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छ ।’ कार्यक्रममा नेपाली साझा मंचका उपाध्यक्ष भक्त बहादुर (हमाल) मल्लले कार्यपत्र पेश गरेका थिए । कार्यपत्रमा साउदीमा बैदेशिक रोजगारका क्रममा भए÷गरेका सम्झौता, तलब ज्याला, बीमा, भीसाको समस्या, रेसिडेन्ट परमीट, काममा देखिएका समस्याहरु, कामदारका गुनासो, लेवर कोर्टका समस्या, नेपाली महिला कामदारको समस्या, जेलको कठिनाई, दुतावासको सहयोगमा अभावलगायतका समस्या उल्लेख गरिएको थियो ।
सुनको मूल्य ६ सयले घट्यो, बिहीबार प्रतितोला सुन ५४ हजारमा कारोबार
काठमाडौं, १६ मंसिर । सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५४ हजार प्रतितोला कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भारत सरकारले चलनचल्तीका ठूला दरका नोटमा प्रतिबन्द लगाएसँगै सुनको मूल्यमा गिरावट आएको हो । सवैभन्दा बढी सुन खपत हुने भारतमा ठूला दरका नोटम प्रतिबन्ध लगाएपछि यसको प्रभाव सुनको मुल्यमा परेको सुनचादी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । यसदिन चाँदी तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ ।
शिखर इन्स्योरेन्सले १० प्रतिशत एफपीओ जारी गर्ने, सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत पुर्याउने
काठमाडौं, १६ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको सेयर हिस्सा ४० प्रतिशत र प्रवद्र्धकको सेयर हिस्सा ६० प्रतिशत बनाउने गरी नयाँ सेयर निष्काशन गर्न लागेको जनाएको छ । हाल कम्पनीको सेयर पुँजी ५० करोड ९९ लाख रुपैयाँ छ । त्यसमा सर्वसाधारण समूहको सेयर ३० प्रतिशत र प्रवद्र्धकको सेयर ७० प्रतिशत रहेको छ । बीमा समितिको चाहाना, पुँजी बढाउदै कम्पनीलाई बलियो बनाउने उदेश्य र सर्वसाधारण समूहको सहभागिता बढाउने उदेश्यले सर्वसाधारण समूहको सेयर हिस्सा १० प्रतिशतले वृद्धि गर्ने निर्णय गरिएको कम्पनीका अध्यक्ष विकास राणाले विकासन्युजलाई बताए । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । नयाँ सेयर निश्काशन गर्दा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुन सक्ने उनले बताए । ‘मूल्य निर्धारण गर्दा ३/४ वटा प्राविधिक पक्ष पनि हेर्नुपर्छ, नेपाल धितोपत्र बोर्डको पनि सहमति लिनु पर्छ । हाम्रो मूल्याङकनमा प्रतिकित्ता १४०० देखि १५०० रुपैयाँसम्म प्रिमियम मूल्य निर्धारण हुनसक्छ’ राणाले भने । कम्पनीको १२ औ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर दिने निर्णय गरिसकेको छ । बाेनस सेयर जारी गरेपछि एफपीअाे जारी गरिने अध्यक्ष राणाले बताए ।