विकासन्युज

१अर्ब ४० करोड चिनियाँ लगानीमा जलविद्युत् आयोजना बन्दै, २ वर्षमा बिजुली बल्ने

काठमाडौं । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो । याम्बालिङ हाइड्रोपावर प्रालिले बुधबार पत्रकार सम्मेलन गरी आगामी दुई वर्षभित्र याम्बालिङ जलविद्युत् आयोजना सम्पन्न हुने जानकारी दिएको छ । प्रालिका अध्यक्ष कमानसिंह लामाले एक अर्ब ४० करोड रुपैयाँको लगानीमा जलविद्युत् केन्द्र निर्माणका लागि सम्झौता भएको बताए । “शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि आगामी दिनमा ४० मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको छ,” उनले भने । चालीस मेगावाट जलविद्युत् उत्पादनका लागि ९ अर्ब ४० करोड रुपैयाँ लाग्ने अध्यक्ष लामाले बताए । उनले याम्बालिङ हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स-साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको बताए । “याम्बालिङ खोलामा सदाबहार बग्ने पानीलाई विद्युत्मा परिणत गर्ने उद्देश्यका साथ जलविद्युत् उत्पादन गर्न लागेका हौँ,” उनले भने । जलविद्युत् उत्पादन भएको विद्युत् गृहबाट ३३ केबी प्रसारण लाइनमार्फत छ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित सवस्टेशनमा लगेर जोड्ने योजना रहेको छ । रासस

नक्कली प्रमाणपत्र देखाई जागिर खाने ३ जना विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र देखाई जागिर खाने ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । फरक संस्थामा काम गर्ने ३ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । विद्यालयमा जागिर खाने रञ्जन कुमार कठायत, परेवा कुमारी घर्ती र खानेपानीमा काम गर्ने भरना राई विरुद्ध मुद्दा परेको हो । कठायतले कमला आधारभूत विद्यालय हर्नामाडी दोभानचौर मकवानपुरमा कार्यरत रहेका थिए । कठायतले बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा एसएलसी पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा नियुक्ति लिएको खुल्न आएको हो । यसैगरी जनज्योति माध्यमिक विद्यालय, आरखोला ,पाछावाङ, रोल्पामा कार्यरत शिक्षिका घर्तीले भारतको उत्तर प्रदेशबाट हाईस्कूल पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा नियुक्ति भएको खुल्न आएको हो । यस्तै खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय, सल्लेरी, सोलुखुम्बुमा महिला कार्यकर्ता रापअनं प्रथम पदमा कार्यरत झरना राईले पटनाबाट मध्यमा तह पास गरेको झुट्टा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा नियुक्ति भएको खुल्न आएको हो । तिनै जना विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।

सेयर कर्जा ४.४ प्रतिशत बढ्यो, ९ महिनामा १ अर्ब ८० करोड लगानी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा (मार्जिन नेचर लोन) लगानीमा ४.४ प्रतिशत वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाको सेयर कर्जा लगानी बढेर १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ४.२ प्रतिशत मात्र बढेको थियो । गत वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाको सेयर कर्जा लगानी १ अर्ब ५८ करोड ९० लाख रुपैयाँ थियो । हालसम्म सेयर कर्जा बढेर कुल ४२ अर्ब ४७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर कर्जा २६.९ प्रतिशत बढेको छ । यस्तै, २५ देखि ५० लाखसम्म ९ र २५ लाखभन्दा मुनिको सेयर कर्जा ४.५ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । १ करोड रुपैयाँ भन्दा माथिको सेयर कर्जा लगानी २ प्रतिशत घटेको छ । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउँदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ । वाणिज्य बैंकको प्राथमिक पुँजी, कर्जा लगानी र निक्षेप परिचालन अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत पुगेको छ । अधिकांश बैंक थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको छ । यता केन्द्रीय बैंकले सेयरमा हुने लगानीलाई अनुत्पादन क्षेत्रमा गणना गरेपछि बैंकले लगानी घटाउँदै लगेका छन् । लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन सकेन यसको असर सेयर कारोबारमा परेको हो । बजारमा हकप्रद, थप निष्कासन (एफपीओ) र साधारण सेयर (आईपीओ) को आपूर्ति बढेको अवस्थामा महंगो ब्याजदर र लगानीयोग्य पुँजी नभएपछि ठुला लगानीकर्ता बजारमा नआए लगानीकर्ताको भनाई छ । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको हो । १८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । सेयर कर्जामा लगाइएको पुँजीगत जोखिम भार पनि शतप्रतिशत घटाइनु पर्ने माग फोरमले गरेको छ । फोरमले सेयर कारोबार अनलाईनमार्फत गराउन सरकारको ध्यानकर्षण गरेको छ । सेयर कर्जामा लगानी गर्ने सानाठुला गरी १५ लाख लगानीकर्ता रहेका छन् ।  

वली एन्ड एसोसिएट्सको नयाँ कार्यालय स्टारमलमा

काठमाडौं । वली एन्ड एसोसिएट्सले आफ्नो नयाँ कार्यालय पुतलीसडकको स्टारमलमा विस्तार गरेको छ । एसोसिएट्सले आज(बुधबार)बाट उक्त सुविधा सम्पन्न कार्यालयको विस्तार गरी शुभारम्भ गरेको छ । स्टारमलको तेस्रो तलामा रहेको यस कार्यालयबाट यही ११ गतेसम्म बिहान १० बजेबाट ५ बजेसम्म उद्घाटन समारोह हुनेछ । उक्त अवसरमा आउने विद्यार्थीहरुलाई निशुल्क परामर्श दिने एसोसिएट्सले जनाएको छ । एसोसिएट्सले सन् २००२ देखि अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि परामर्श दिँदै आएको छ ।

अस्थिर राजनीति र शिक्षा क्षेत्रमा बेथितीले उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् : बासु नेपाल

नेपाली युवाहरु स्वदेशमा अध्ययनको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । राजनीतिक अस्थिरता र सम्भावनाको प्रयोग हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । विद्यार्थीलाई विदेश अध्ययन गर्न पढाउने मध्यको एक हो, प्रोफेश्नल भिषा एण्ड एजुकेसन सभिर्सेस । उनले १३ वर्षदेखि कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । उनी शैक्षिक परामर्श क्षेत्रमा स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यसमिति सदस्य पनि थिए। २ वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतमा काम गरिसकेका छन् । यस संस्थामा रही काम गर्दा शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको लागि उनले निकै प्रयासहरू गरेका छन् । काठमाडौको पुतलिसडकमा रहेको यस प्रोफेश्नलले देशैभरका विद्यार्थीको अध्ययन, अध्यापन, वृद्धि विकास र करियर निर्माणमा महत्वपुर्ण काम गर्दै आएको छ । नेपालको दुरावस्था, सकारात्मक पक्ष, विद्यार्थीको अवसर र चुनौती लगायतका विषयमा प्रोफेश्नलका सञ्चालक बासु नेपालसँग शैक्षिक अवस्थाका बारेमा विकास न्यूजले गरेको कुराकानी : बासु नेपाल, सञ्चालक, प्रोफेश्नल भिसा एण्ड एजुकेशन सभिर्सेस नेपाली उच्च शिक्षा लिन किन विदेश जान्छन् ? नेपालमा उच्च शिक्षाको निकै ठूलो महत्व छ । सबै अभिभावकको चाहना आफ्ना सन्तानले उच्च शिक्षा हासिल गरुन् र आत्मनिर्भर बनुन् भन्ने नै हुन्छ । यसकारण आफ्ना सन्तानले राम्रो उच्च शिक्षा पाउन सकुन भनेर नै देश विदेशमा आफना सन्तानलाई पठाउने गरेका छन् । नेपालको अस्थिर राजनीति, शिक्षा क्षेत्रको बेथिति लगायतले गर्दा नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । यसबाहेक आफन्तको देखासिकी र विदेश मोह पनि नेपालीहरू उच्च शिक्षाको लागि विदेश जाने गरेको पाइन्छ । उच्च शिक्षाका लागि कति संख्यामा विदेश जान्छन् ? उच्च शिक्षाको लागि यतिनै संख्यामा विदेश जान्छन् भन्ने एकिन तथ्यांक त हामीसँग छैन् । तर यो कुरा सत्य हो कि विदेश जान चाहने विद्यार्थीको संख्या भने बढ्दो क्रममा छ । पछिल्लो शिक्षा मन्त्रालयको प्रमाणीकरण शाखाको नो अब्जेक्शन लेटर लिने विद्यार्थीको संख्या भने यो वर्ष ६० हजार भन्दा माथि छ । तर नो अब्जेक्शन लेटर लिने सबै विद्यार्थी अध्ययनको लागि विदेश जान पाउँदैनन् । त्यसको लागि विद्यार्थीको सम्बन्धित देशको भिषा प्राप्त गर्नु जरुरी हुन्छ । एउटै विद्यार्थीले दुई वटा कोर्ष पढ्नका लागि दुई वटा नै नो अब्जेक्शन लेटर लिएका हुन्छन् । तिनीहरुको पनि दोहोरो गनि रहेको देखिन्छ । नेपालबाट कुन देश धेरै पढ्न जान्छन् ? पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा गएका छन् । नेपालमा नपढ्नुको कारण के हो ? नेपालको अस्थिर राजनीति, शिक्षा क्षेत्रको बेथिती र राजनीतिकरण, प्रयोगात्मक शिक्षाको कमी आदिले विद्यार्थीहरू नेपालमा भन्दा विदेशमा उच्च शिक्षा लिन रुचाउने गरेका छन् । नेपालबाट विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुका लागि के कस्ता चुनौति छन् ? विदेश भन्ने बित्तिकै हाम्रो समाजमा के सोचाई राखिन्छ भने विदेश पुगेपछि हाम्रो सबै समस्या समाधान भैहाल्छ । अब हामीले कुनै पनि दुःख गरि रहनुपर्दैन । तर त्यस्तो होइन । विदेश बास्तवमा हाम्रो कल्पना भन्दा बाहिर छ । विदेश अध्ययन गर्न गएका विद्यार्थीका लागि बास्तवमा ठूलो चुनौती छ । नेपालमा हुँदा घरपरिवारको साथमा रहेर आरामले बसिरहेका विद्यार्थीको लागि नयाँ देश, परिवेश, भाषा, रहनशहन, शिक्षा पद्धती सबै एक चुनौती हुन् । यी सबैलाई सामना गरेर एक्लै आफ्ना सम्पुर्ण कार्य गर्नु र उच्च शिक्षा लिनु वास्तवमा धेरै ठूलो चुनौती हो । कन्सलटेन्सीका लागि चुनौती के के छन् ? कन्सल्टेन्सीका लागि यो कार्यमा धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । विद्यार्थीका लागि उचित परामर्श दिनुका साथै विभिन्न देशका शैक्षिक संस्थासँग समन्वय गरी विद्यार्थीलाई सही मार्गदर्शन गर्नु ठूलो चुनौतीको कुरा हो । यो व्यवसायलाई अझै पनि धेरै क्षेत्रबाट सहिनजरले हेर्ने परिपाटी बसिसकेको छैन । जसलाई चिर्नु नै सबैभन्दा ठूलो चुनौती हो । नेपालमा विदेशमा उच्च शिक्षाको लागि जानु भनेको कमाउनको लागि जाने हो भन्ने धेरै विद्यार्थी र अविभावकको सोचाई छ । बास्तवमा यो कुरा साचो होइन । अरु कन्सलटेन्सी भन्दा यो प्रोफेसनलमा के फरक छ ? किन तपाईको विदेश अध्ययन गर्न जाने ? अरु भन्दा के फरक भन्ने कुरा त मैले भन्न सक्दिन । किनकी हामी सबै शैक्षिक परामर्शदातृ संस्थाको क्षेत्राधिकार बराबर छ र एकै कानुनको दायरामा रहेर एकै प्रकारको सेवा प्रदान गरिरहेका छौं । फरक काम गर्ने तरिकामा हुन सक्छ । मैले अरुभन्दा फरक किन भन्दा पनि हामीले प्रदान गर्ने गरेका सेवाका भन्न सक्छु । हामीले विद्यार्थीलाई तथ्यपरक जानकारी, उचित परामर्श र सही मार्ग निर्दैशन प्रदान गर्दछौं यसकारण विद्यार्थीहरू हाम्रोबाट सही सूचना लिएर उच्च शिक्षाका लागि विदेश जान सक्छन् । तपाईहरुलाई शैक्षिक मेनपावर व्यवसायी भन्छन् नि ! के भन्नु हुन्छ ? हाम्रा लागि सबैभन्दा ठूलो चुनौती नै यहि हो । होला यो क्षेत्रमा पनि बेथितीहरू हुनसक्छन् । तर केही बेथितीलाई लिएर सम्पूर्ण व्यवसायीलाई त्यसो भन्न मिल्दैन । यस कुरालाई सरकार र सम्बन्धित निकायले पनि यस विषयमा जिम्मेवार हुन र व्यवसायलाई व्यवस्थित गर्न जरुरी छ । विदेश (भारत बाहेक) अध्ययन गर्न जाने हरेक बिद्यार्थीका लागि बाहिर शिक्षा शुल्क पठाउनको लागि नो अब्जेक्शन लेटर जरुरी छ । शिक्षा मन्त्रालयले नो अबजेक्सन लेटर दिने बेलामा नै विद्यार्थीले पढ्न जान लागेको देश, शैक्षिक संस्था, बिषय आदिको बारेमा सबै बुझेर मात्र लेटर प्रदान गर्ने हो भने मात्र पनि यस क्षेत्रमा रहेका बेथिती धेरै कम गर्न सकिन्छ ।  

जनता बैंकको एकैसाथ थप ५ शाखा सञ्चालनमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ थप ५ शाखाबाट कारोवार शुरु गरेको छ । बैंकले सिराहाको गोलबजार, रसुवाको नौकुण्ड तथा कालिकास्थान, रामेछापको दोरम्बा र जुम्लाको तातोपानी गरी उक्त पाँच शाखा सञ्चालनमा ल्याएको हो । यस मध्ये कालिकास्थान शाखा एक्स्टेनशन काउन्टरलाई स्तरोन्नत गरी शाखामा रुपान्तरण गरिएको हो भने बाँकी ४ शाखाहरु नयाँ खोलिएका हुन् । यी शाखाहरु मार्फत स्थानीय उद्योगी, व्यापारी तथा सर्वसाधारणले सम्पूर्ण आधुनिक बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । यससँगै जनता बैंकको शाखा सञ्जाल ११५ पुगेको छ । साथै, बैंकले ४० शाखारहित बैंकिङ्ग, १ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

नेपालमै पहिलो पटक अक्सन मेला हुँदै, ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह-कम्पनी सिप्रदी अर्स्योड प्रा.लिले नेपालमा गाडीहरुको अक्सन मेला आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् । यही जेठ ११ र १२ गते थापाथलीमा हुने यस मेलामा ग्राहकहरुले आफूलाई मन परेको गाडी खरिद गर्न सक्नेछन् । साथै, ग्राहकहरुले मेलामा वारेण्टी सहित गाडीहरुको नामसारी पनि गरिनेछ ।

उपसचिव खगेन्द्रप्रसाद सुवेदी ५० हजार हातमा लिने बित्तिकै पक्राउ

काठमाडौं । उप सचिव खगेन्द्र प्रसाद सुवेदी ५० घुस लिदाँलिदै पक्राउ परेका छन् । सुवेदीले विद्यालयमा योजना पारिदिने भन्दै ५० हजार घुस लिदै गर्दा पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई, सुनसरी जिल्ला शिक्षा कार्यालयका समन्वय अधिकृत उपसचिवमा कार्यरत सुवेदीले भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने प्रयोजनका लागि घुस मागेका थिए । घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सुवेदीलाई पक्राउ गरेको हो । सुवेदीलाई सुनसरी, इनरुवा नगरपालिका स्थित निजको सरकारी निवासबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।