रुद्राक्षको खेती गर्ने सोचमा हुनुहुन्छ ? प्रवद्र्धन केन्द्रले यसरी वितरण गर्दैछ २० हजार विरुवा
काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले २० हजार रुद्रक्षको विरुवा खरिद गर्ने भएको छ । पुरानो र नयाँ रुद्राक्ष गरी केन्द्रले २० हजार वटा विरुवा टेण्डर प्रक्रियाबाट खरिद गर्न लागेको हो । केन्द्रका निर्देशक नविनराज शर्माले यसरी खरिद हुने विरुवा सुनसरी र संखुवासभाका किसानलाई वितरण गरिने बताए । उनले रुद्रक्षको बजार बढ्दै गएकोले वातावरण अनुसार जो कोहि कृषकले यसको खेति गर्न सक्ने बताए । केन्द्रले २ वर्ष परानो विरुवा १२ हजार वटा माग गरेको छ भने डेढ वर्ष पुरानो विरुवा ८ हजार वटा माग गरेको छ । २ वर्ष पुराना विरुवा खरिद गर्नका लागि केन्द्रले १८ लाख ६० हजार रुपैंया तोकेको छ भने डेढ वर्ष पुरानो विरुवालाई ११ लाख २० हजार रुपैंया तोकेको छ । खरिद प्रक्रियामा सहभागी जनाउन चाहने फर्म वा कम्पनीलाई केन्द्रले जमानत स्वरुप साढे ४६ हजार र २८ हजार दिनेछ । केन्द्रले विरुवा खरिद गरेर सुनसरी, भोजपुर र संखुवासभाका उद्योग वाणिज्य संघलाई हस्तान्तरण गर्नेछ । संघले कृषकलाई एकदिने तालिम दिएर विरुवा वितरण गर्नेछ । रुद्राक्षको अन्तराष्ट्रिय बजार बढ्दै गएपछि नेपालमा यसको खेति बढाउन लागिएको निर्देशक शर्माले बताए । रुद्रक्षको विरुवा असारदेखि असोजसम्म रोप्न सकिन्छ ।
‘गतिशिल पूँजी बजार’ले लगानीकर्ता अन्योलमा
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारबारे ‘पूँजी बजारको विस्तार गरि आन्तरिक लगानी परिचालनलाई गतिशिल बनाइनेछ ।’, लेखिएको छ । पूँजी बजार सम्बन्धी सरकारको आधिकारीक धारणाबारे लगानीकर्ताले भने मिश्रित प्रतिक्रिया दिएका छन् । त्यति मात्रै होइन, गतिशिल पूँजी बजारबारे सेयर बजारका पण्डितहरु नै अन्यौलमा देखिएका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले उत्साह व्यक्त गरे । सरकारले ल्याएको निती तथा कार्यक्रमले पूँजी बजारको दिर्घकादिन विकास र विस्तारलाई समेटेको दावी गरे । उनीले अब सेयर बजारमा स्वर्णिम युग सुरुहुने दावी समेत गरे । ‘पहिलो पटक सरकारले नीति तथा कार्यक्रममा पुँजी बजारलाई यति प्रष्ट भाषामा समेटेको छ, यसले अब सेयर बजारमा स्वर्णिम युगको आरम्भ हुने अपेक्षा गरेका छौं’, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले भने । उनले अनलाईन कारोबार सुरु हुनै लागेको, एनआरएनहरुको प्रवेशबारे गृहकार्य भैरहेको र सरकारले नीति तथा कार्यक्रमबाटै सेयर बजारको विकास र विस्तारमा ठोस काम गर्ने बताउनुलाई निकै सकारात्मक रुपले लिएको बताए । सेयर बजारका जानकार ज्योति दाहालले भने गतिशिल बनाउने भन्ने शब्दावली नै बहुअर्थी रहेको बताए । उनले सरकारको निती तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने तात्विक कारण नरहेको पनि बताए । यद्यपी रियल सेक्टरका कम्पनीलाई पूँजी बजारमा प्रवेश गर्न प्रोत्साहन गर्ने र ऋण पूँजी संकलन(डिबेञ्चर र बण्ड) जारी गर्ने तर्फ नीति तथा कार्यक्रमले संकेत गरेको उनको बुझाई छ । इन्भेष्टर्स फोरमकै महासचिव राजन लम्सालले पनि नीति तथा कार्यक्रमबाट सेयर बजारका लगानीकर्ता उत्साहित हुनुपर्ने कारण नभएको बताए । ‘गतिशिल बनाउने भनेको के हो ? पुँजी बजार त सधै गतिशिल नै हुन्छ, यो अमुर्त कुरा भयो, लगानीकर्ता उत्साहित हुनुपर्ने ठोस कारण छैन, अब हामी बजेटलाई कुर्नुको विकल्प छैन’, महासचिव लम्सालले भने ।
जोशी हाइड्रोपावरको आईपीओ आजदेखि, छिटोमा जेठ २२ गते बन्द हुने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासिन्दाले आईपीओका लागि आवेदन दिन पाउने छन् । न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने सिद्धार्थले जानकारी दिएको छ । कम्पनीले ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।आयोजना बनाउन प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
साढे २८ करोड रुपैयाँ राख्न बैंक खोज्दै नेपाल ट्रष्ट
काठमाडौं । नेपाल ट्रष्टले आफुसंग भएको साढे २८ करोड रुपैयाँ वचत रकम मुद्धति निक्षेपमा राख्ने भएको छ । कार्यालयले मुद्धति निक्षेपमा रकम राख्नका लागि १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ । कार्यालयले निष्क्रिय कर्जा अनुपात ६ प्रतिशत भन्दा कम भएकालाई मात्र निक्षेप राख्न दिने भएको छ । मुद्धति निक्षेको ब्याजदर, मासिक, द्धैमाशिक, त्रैमाशिक, चौमासिक र ६ महिना र वर्ष दिनका लागि दिन सक्ने ब्याजदर तोकेर प्रस्ताव पेश गर्न भनेको हो ।
नेशनल लाईफ इन्स्योरेन्सले आधारभूत सेयरधनीलाई हकप्रद रकम जम्मा गर्न भन्यो, कालो सुचीमा परेकाले नपाउने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक तथा आधारभूत सेयरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न भनेको छ । कम्पनीले चुक्तापुँजीको १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनलाई हकप्रद वापतको रकम ३५ दिनभित्र जम्मा गर्न भनेको हो । नेशनलले एनआईबीएल एस क्यापिटलको पुतलीसडक शाखामा रहेको खातामा हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको हो । कालो सुचीमा परेका आधारभूत सेयरधनीले हकप्रद खरिद गर्न नपाउने कम्पनीले जनाएको छ । बोर्डले गत शुक्रबार चुक्तापूँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको होे । कम्पनीले ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ ।हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ ।
शुभम् पावरको आईपीओ जेठ २० देखि, १००० हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । शुभम पावर लिमिटेडले जेठ २० गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओका लागि न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म दरखास्त दिन पाइने बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २४ गतेसम्म तोकिएको छ । कम्पनीले प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । २० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणलाईै निष्कासन गरेपछि कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत लगानी हुने छ । आईपीओबाट ६ करोड र संस्थापकको १४ करोड रुपैयाँ स्वामित्व रहने छ । कम्पनीले हाल ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ । आयोजना बनाउन १४ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।
सिरहामा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठाैं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि उक्त बैंकिङ सेवा सञ्चालन गरेको हो । बैंकको अनुसार शाखा आइतबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको उद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल द्वयले संयुक्त रुपमा गरेका थिए । शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लागयतयको सुविधा पाउने बताइएको छ । मुलुकभर हाल बैंकले २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।
आर्थिक गणनाका लागि विवरण दिन बैंकलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक गणनाका लागि तथ्याङ उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंकले सोमबार बैक तथा वित्तीय संस्थालाई निर्देशन दिदै आर्थिक गणना संकलन गर्न आउने कर्मचारीलाई विवरण उपलब्ध गराएर सहयोग पुर्याउन भनिएको छ । केन्द्रीय तथ्याँक विभागले विवरण उपलब्ध गराउनका लागि परिपत्र जारी गर्न अनुरोध गरेपछि केन्द्रीय बैंकको यस्तो निर्देशन आएको हो । आर्थिक गणना वैशाख १ देखि जेठ ३१ गतेसम्म हुने छ ।