विकासन्युज

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको साधारणसभा जेठ १८ मा, ४ करोड १७ लाखको बोनस सेयर दिने

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा जेठ १८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँको बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । सभाले समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको पनि निर्वाचन गर्ने बैंकले जनाएको छ ।

नेपाल सेवा लघुवित्तको आईपीओ निष्कासन आजसम्म

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आइतबारदेखि बन्द हुने भएको छ । सर्वसाधारणबाट माग गरेको भन्दा बढीकोका खरिद आवेदन परेपछि निष्कासन आइतबारसम्म हुने संस्थाले जनाएको छ । सेवाले बैशाख १२ गतेदेखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । २ प्रतिशत अर्थात ३ हजार ६०० कित्ता आईपीओ कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । सेयर निष्कासन बन्द छिटोमा बैशाख १६ गते र ढिलोमा जेठ २ गतेसम्म तोकिएको थियो । न्युनतम् ५० र अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन पाइने छ । आईपीओ निष्कासनपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

कामना सेवा विकास बैंकको हकप्रद बिक्री नभएपछि पुनः लिलामीमा, बैशाख ३१ गते बोलपत्र पेश गर्ने अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकको हकप्रद सेयर बिक्री नभएपछि पुनः लिलामी गर्न लागिएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी ८ लाख ४९ हजार ९६३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ ६ लाख ३७ हजार ८१६ र सर्वसाधारणतर्फ २ लाख १२ हजार १४६ कित्ता हकप्रद लिलामी गर्न बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले प्रक्रिया सुरु गरेको छ । हकप्रद खरिदका लागि बैशाख २४ देखि खुला भई ३१ गतेसम्म बोलपत्र पेश गर्न सकिने एनएमबीले जनाएको छ ।

राप्ती हाइड्रोले जेठ १ देखि ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले ३३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको ८ लाख २१ हजार ७३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ १ गतेदेखि खुला भई असोज ४ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले ५ मेगावाटको रुकमगाड जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।

सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद निष्कासन बैंशाख ३१ गतेदेखि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैंशाख ३१ गतेदेखि हकप्रद सेयर निष्कासनन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १० बराबर ४ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन बन्द असार ३ गते हुने छ । हकप्रद निष्कासनपछि चुक्तापुँजी बढेर १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।

९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतीय कम्पनीले पायो लाइसेन्स, २०७९ असोजदेखि बिजुली बल्ने

काठमाडौं । सरकारले भारतीय कम्पनीलाई ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति (लाइसेन्स) दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ३०औ बैठले प्रवद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडलाई २५ वर्षका लागि विद्युत उत्पादनको लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डको निर्णयसंगै एसजेवीएनलाई लाइसेन्स दिन बाटो खुला भएको छ । वोर्डले आउदो साताभित्र एसजेवीएनलाई लाइसेन्स दिने भएको छ । बैठकले आयोजना निर्माणका लागि लगानी जुटाउन प्रवद्र्धक एसजेवीएनलाई आगामी असोज १२ गतेसम्मलाई म्याद थप गरेको छ । लाइसेन्स नपाएपछि एसजेवीएनले आयोजनाको निर्माण सुरु गरिसकेको छ । एसजेवीएनले आउँदो ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । भारत सरकार स्वामित्वको एसजेविएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम शुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम हुनेछ । भारत निकासीका लागि निर्माण हुन लागेको आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ । आयोजना प्रभावित स्थानियबासिन्दालाई १ अर्ब ६० करोड रुपैयाँको सेयर वितरण र मासिक ३० युनिट बिजुली निःशुल्क दिने छ । निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । प्रभावित ६ गाविसमा एसजेवीएनले निःशुल्क विद्युतीकरण गर्नेछ । भारत सरकारले अरुण तेस्रोमा ९२ अर्ब रुपैयाँ लगानी गर्न एसजेवीएनलाई स्वीकृत दिइसकेको छ । विद्युत उत्पादन प्याकेजका लागि स्टेट बैंक अफ इण्डियाले ८० अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएको छ । कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । यस्तै २६८ किलोमिटर लामा ४०० केभी क्षमताको प्रसारणलाइन बनाउन पञ्जाव नेसनल बैंकसंग ऋण सम्झौता भइसकेको छ । पञ्जावको मुख्य लगानी रहेको एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । आयोजनाको बाँध र डाइभर्सन सुरुङ संरचना निर्माणको ठेक्का भारतको जयप्रकाश एसोसियट्स (जेपी) लिमिटेडले पाएको छ । प्याकेज १ अन्र्तगत आयोजनाको बाँध र ३ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माणलगायत संरचना बनाउने जेपीले ठेक्का पाएको हो । पहिलो प्याकेजको काम १८ अर्ब रुपैयाँमा सक्ने गरी सम्झौता भएको छ । दोस्रो प्याकेजको काम गर्न पटेल इन्जिनियरिङ लिमिटेडले पनि १८ अर्ब रुपैयाँमा ठेक्का पाएको छ । दोस्रो प्याकेजमा विद्युतगृह र ८ किलोमिटर लामो सुरुङ निर्माण, तेस्रो प्याकेजमा इलेक्ट्रोमेकानिकल र चौथो प्याकेजमा हाइड्रोमेकानिकल र प्रसारणलाइनको अन्र्तगत काम हुने भएको छ । सबै प्याकेजको ठेक्काको काम भइरहेको छ । आयोजना संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरुण नदीमा पर्छ । बाँध नुम र पाथिभरा तथा विद्युत्गृह दिर्दिङ गाविसमा पर्छ । बाँधबाट विद्युतगृहसम्म ११ किलोमिटर लामो सुरुङ खन्नु पर्नेछ ।

निर्माणाधीन आयोजना समयमै सक्न ऊर्जाको पहल, आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना समयमै सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विशेष पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सम्बन्धित आयोजनाका प्रमुखसहितको टोलीले संयुक्त रुपमा माथिल्लो त्रिशूली थ्री ए, रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ । ऊर्जामा आत्मनिर्भर बनाउन र पेट्रोलियम पदार्थको आयात कम गर्दै जाने लक्ष्यका साथ मन्त्रालयले निर्माणाधीन आयोजनालाई तोकिएको समयमा पूरा गर्न विशेष पहल गरेको हो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएका आयोजनालाई समयमै सक्दामात्रै भारतबाट आयात भइरहेको विद्युत् ल्याउनु नपर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सहयोग पुग्ने लक्ष्यका साथ उच्च सरकारी अधिकारीले स्थलगत अनुगमन तथा निरीक्षण कार्यलाई तीव्र पारेका हुन् । उच्च सरकारी टोलीले शुक्रबार माथिल्लो त्रिशूली थ्री ए आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी भौतिक निर्माण सकिएको छ । तर आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निर्माण गरिराखिएको प्रसारण लाइन निर्माणको काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । नुवाकोटमा केही सामुदायिक वनमा जग्गा प्राप्तिको विषयमा सहमति हुन नसक्दा समस्या भएको छ । लामो समय भूकम्पका कारण आयोजना निर्माणमा समस्या आएको थियो । आयोजनालाई आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण जटिलता कायम रहेको पाइएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीका अनुसार आयोजना निर्माण प्रक्रियाले गति लिएको र तोकिएको समयमा नै निर्माण सम्पन्न गराउन आफूहरु तयार रहेको बताएका थिए । कूल ६० मेगावाट क्षमताको सो आयोजना प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजना हो । नुवाकोटमा निर्माणाधीन यो आयोजनाले १४२ वटा टावरको निर्माण गर्नुपर्छ, जसमध्ये ७० वटा टावर निर्माण भएका छन् । ती टावरसहित ११० वटा टावरको फाउण्डेसनको काम पनि सकिएको छ । साथै थप १० वटा टावरमा अहिले फाउण्डेसनको काम भइरहेको छ । सरकारले निर्धारण गरेको मुआब्जामा स्थानीयले चित्त बुझाएका छैनन् । २०७० सालमै सरकारले उक्त क्षेत्रको मुआब्जाको टुंगो लगाएको भए पनि स्थानीयवासीले अहिलेसम्म रकम बुझ्न नमानेका कारण समस्या थपिएको छ । “स्थानीय शान्तिबजारदेखि त्रिशूली थ्री बी हबसम्मको भागमा १३२ केभीका छवटा टावर निर्माण गर्नुपर्छ तर स्थानीयवासीको विरोधका कारण फाउण्डेसनको कामसमेत शुरु गर्न सकिएको छैन”, आयोजना प्रमुख जोशीले भने । यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य ६० प्रतिशत सकिएको छ । आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ । तर आयोजनास्थलदेखि चिलिमे हवसम्म निर्माण गर्नुपर्ने प्रसारण लाइन र चिलिमे हवदेखि त्रिशूली थ्री बीसम्म निर्माण गर्नुपर्ने प्रसारण लाइन निर्माणको काम अगाडि बढ्न सकेको छैन । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले केही समय पहिलेमात्रै सीमित साधारण शेयरसमेत निष्काशन गरिसकेको छ । आयोजनाका प्रमुख माधव कोइरालाले आयोजनाको पछिल्लो अवस्था र भोग्नुपरेको समस्याका बारेमा मन्त्री पुन, सचिव उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई जानकारी गराएका थिए । यस्तै चिलिमे कम्पनीकै सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट र साञ्जेन ४२ दशमलव ५ मेगावाट क्षमताका दुई आयोजना निर्माणका क्रममा छन् । आयोजना प्रमुख किरण श्रेष्ठले आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। मन्त्री पुनसहितको उच्चस्तरीय टोलीले आयोजना प्रमुख, निर्माण व्यवसायी, परामर्शदाता र स्थानीय जनप्रतिनिधिसँग संयुक्त छलफल गरी आयोजना तोकिएको समयमा निर्माण सक्नुपर्नेमा जोड दिएको थियो । मन्त्री पुनले भने, “आयोजना तोकिएको समयमा पूरा हुनुपर्छ, समस्या भए सरकारलाई भन्नुहोस्, समाधान गर्न तयार छ, कुनै पनि बहानामा आयोजना रोकिनु हुँदैन ।” ऊर्जा सचिव उपाध्यायले आयोजनाको महत्वलाई आत्मसात् गरेर काम गर्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनालाई तोकिएको समयमा पूरा गराउन प्राधिकरणका तर्फबाट हरसम्भव प्रयास गरिएको र कुनै समस्या देखिए तत्काल समाधान गरिने गरिएको बताए । रासस

ध्रुव अधिकारीको नेतृत्वमा नेपाल कुराँश संघ गठन

काठमाडौं । नेपाल कुराँस संघ गठन भएको छ । प्रथम साधारण सभाले ध्रुवराज अधिकारीको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।  कुराँश खेल मार्सट आर्टको एउटा बिधा अन्तर्गत पर्छ । राष्ट्रिय खेलकुद परिषदमा दर्ता भैसकेको संघको बरिष्ठ उपाध्यक्षमा जीवन राई चयन भएका छन् भने सचिवमा हरिराम ढुंगाना निर्वाचित भएका छन् ।सदस्यहरुमा भने सञ्जिव गुरुङ, यसु लामा र पद कुँवर निर्वाचित भएका छन् । उज्वेकिस्तानबाट सुरु भएको कुराँश खेल पछिल्लो समय संसारभर लोकप्रिय बन्दै गैरहेको छ । नेपालमा पनि कुराँश खेलको विकासका लागि संघ गठन गरिएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष जीवन राईले बताए ।