२७७० बिन्दुमा नेप्से, ६ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७७० बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र कालिका पावरको १८ करोड र हिमालयन डिस्टीलरीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ प्रतिशतले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ प्रतिशतले घटेका छन् ।
मधेसी नेताको दोहोरो चरित्रले मधेश आन्दोलन ओइलाएको अनिल झाको दाबी
काठमाडौं । नवगठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसकेन्द्रित दलका नेताको दोहोरो चरित्रले मधेस आन्दोलन ओरालो लागेको बताएका छन् । सोही आन्दोलनलाई प्रभावकारी बनाउन आफूले सद्भावना पार्टी पुनर्गठन गरेको दावी झाको छ । आफू र आफ्नो दल पटक–पटक जनताबाट टेष्टेड हुन चाहेको झाले बताए । उनले पाँच–पाँच वर्षमा जनताको परीक्षामा परीक्षीत हुनु नै लोकतन्त्रको असली सुन्दरता रहेको बताए । अन्य मधेशी नेतालेजस्तो काठमाडौंमा आएर पहाडिया नेतासँग घाँटी जोड्ने अनि मधेश झरेपछि तिनको खैरो खन्ने दोहोरो चरित्र आफूले प्रदर्शन नगर्ने पनि झाले बताए ।
२५ अर्बको कारोबारमा सिमेन्ट उद्योगको नाफा १.१४ अर्ब रुपैयाँ मात्रै
काठमाडौं । पुँजी बजारमा सूचीकृत ४ वटा सिमेन्ट उद्योगले १ अर्ब भन्दा बढी नाफा गरेका छन् । शिवम् सिमेन्ट, घोराही सिमेन्ट इण्डष्ट्रिज, सोनापुर मिनिरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १४ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा गरेका हुन् । समीक्षा अवधिमा घोराही सिमेन्टबाहेक अन्य तीन वटा सिमेन्ट उद्योगको नाफा बढेको हो । गत वर्ष चारवटै सिमेन्ट उद्योगले २५ अर्ब रुपैयाँ बराबरको गरेका छन् । गत असारसम्ममा चार वटा उद्योगको सञ्चालन आम्दानी २३.७० प्रतिशत अर्थात् ४ अर्ब ७८ करोड ६४ लाख १८ हजार रुपैयाँ बढेर २४ अर्ब ९८ करोड ६ लाख ९६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । अघिल्लो वर्ष २० अर्ब १९ करोड ४२ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार गरेका थिए । गत वर्ष सबैभन्दा धेरै कारोबार सर्वाेत्तम सिमेन्टले गरेको छ । यस कम्पनीले ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको जनाएको छ । यस्तै, शिवम् सिमेन्टले ७ अर्ब ७६ करोड रुपैयाँ, घोराही सिमेन्टले ५ अर्ब ५ करोड रुपैयाँ र सोनापुरले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार गरेका हुन् । घोराही सिमेन्ट गत वर्ष ६६ करोड ३ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नोक्सानी घटाएको हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४४ करोड ७० लाख ८० हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५ करोड ८ लाख ४३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष ४ अर्ब ४७ करोड ७९ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल नाफा १ अर्ब २ करोड ५९ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३० करोड ८५ लाख हजार रुपैयाँ कुल नाफा थियो । गत वर्ष कम्पनीको बिक्री लागत ४ अर्ब २ करोड ४८ लाख ६२ हजार रुपैयाँ, प्रशासनिक तथा वितरण खर्च २८ करोड ९० लाख २९ हजार रुपैयाँ, वित्तीय लागत ८९ करोड २० लाख ६९ हजार रुपैयाँ रहेको छ । अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा अर्ब ३८ करोड २७ लाख ६६ हजार रुपैयाँ र सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेको छ । सर्वोत्तम सिमेन्टको गत वर्ष खुद नाफा ५७२.५१ प्रतिशत १ अर्ब ४५ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १४ करोड ९३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ३ लाख ४८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ३७ करोड २३ लाख ३९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेर २ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ र अन्य आम्दानी २१८.०२ प्रतिशत बढेर २१८.०२ प्रतिशत बढेर १६ करोड १९ लाख ६९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रशासन खर्च ५६.१८ प्रतिशत बढेर १६ करोड ३५ लाख ६३ हजार रुपैयाँ, वितरण खर्च १७५.३७ प्रतिशत बढेर ४८ करोड ८५ लाख ८९ हजार रुपैयाँ र कुल खर्च ५४.३८ प्रतिशत बढेर ९४ करोड ८१ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटी १२.८५ प्रतिशत बढेर ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १६.९ड रुपैयाँ बढेर २०.१९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ । सोनापुर मिनरल्स एण्ड आयलको गत वर्ष खुद नाफा ६१ लाख ५० हजार रुपैयाँ धनात्मक छ । अघिल्लो वर्ष कम्पनीले ४७ करोड १० लाख ८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५९.४७ प्रतिशत बढेर २ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १ हजार ८५६.७० प्रतिशत बढेर १ करोड २२ लाख ४९ हजार रुपैयाँ र कुल नाफा ७१२.५० प्रतिशत बढेर ७० करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ करोड ६४ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा गत वर्ष ४३ करोड ७० लाख ४५ हजार रुपैयाँ धनात्मक भएको छ । ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २८८.८६ प्रतिशत बढेर १ अर्ब १२ करोड ९२ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० पैसा धनात्मक भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १५.३२ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ । शिवम् सिमेन्टको गत खुद नाफा २०५.८५ प्रतिशत बढेर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ, अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल नाफा ६६.२९ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ गरेको छ । समीक्षा वर्षमा कम्पनीको बिक्री लागत ९.४४ प्रतिशत घटेर ६ अर्ब ३ करोड ४९ लाख १७ हजार रुपैयाँ गरेको छ । कम्पनीको प्रशासनिक खर्च २१.४६ प्रतिशत बढेर २७ करोड ५१ लाख ३६ हजार रुपैयाँ, वितरण खर्च ३.६७ प्रतिशत घटेर ६५ करोड ५३ लाख ४६ हजार रुपैयाँ, वित्त लागत ७९.५० प्रतिशत घटेर १ करोड १ लाख ८६ हजार रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख ६९ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ८.५४ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ, सेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य जगेडा कोष १०.४६ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ ।
‘पूर्वराजाको जग्गा छानबिन गर्दैछौं, सहकारीको समस्या एक वर्षभित्र समाधान हुन्छ’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालसम्म ६-७ हजार बचतकर्ताको बचत भुक्तानी भइसकेको बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त घोषणा भएका ३ सहकारीको समस्या समाधान भइसकेको र २ सहकारीको समस्या समाधानको चरणमा रहेको जानकारी दिए । '५६ हजार बचतकर्ताको आंशिक भुक्तानी अझै बाँकी छ, तर अबको डेढ वर्षभित्र यो समस्या समाधान हुन्छ,' मन्त्री अधिकारीले भने । उनका अनुसार पूर्वराजाको सम्पत्ति खोजी कार्य पनि एकसाथ अघि बढाइएको छ । 'नेपाल ट्रष्टको नाममा कहाँ–कहाँ जग्गा छ भनेर खोज्दैछौं, केहीमा सफलता मिलिसकेको छ, केही अझै बाँकी छन्,' उनले भने । मन्त्री अधिकारीले सहकारीको समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको भन्दै बचतकर्ताले चाँडै राहत पाउने विश्वास दिलाए । सहकारी संस्थालाई अनिवार्य रूपमा ६ महिनाभित्र प्राधिकरणमा दर्ता गर्ने व्यवस्था गरिँदै
सहकारी संस्थालाई अनिवार्य रूपमा ६ महिनाभित्र प्राधिकरणमा दर्ता गर्ने व्यवस्था गरिँदै
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) पूर्ण संरचनासहित औपचारिक रूपमा सक्रिय बनेको छ । एनसीआरएले प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण संरचनासहित औपचारिक रूपमा सक्रिय बनेको जनाएको हो । विज्ञप्तिका अनुसार प्राधिकरणको बोर्ड अध्यक्ष खगराज शर्माको नेतृत्वमा गठन भएको छ । बोर्डमा गुरुप्रसाद पौडेल (सदस्य, कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक), मदन कोइराला (सदस्य, सहसचिव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय), डा. रमेश चौलागाई (सदस्य, नियुक्ति मिति २०८२ बैशाख २), सी.ए. मटेश खनाल (सदस्य, नियुक्ति मिति २०८२ बैशाख २) र शेषनारायण पौडेल (बोर्ड सचिव तथा कार्यकारी निर्देशक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण) रहेका छन् । अहिलेसम्म प्राधिकरणले ११ वटा बोर्ड बैठक सम्पन्न गरी विभिन्न नीतिगत तथा कार्यान्वयन सम्बन्धी निर्णयहरू अगाडि बढाइसकेको विज्ञप्तिमा उल्लेख छ । सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा १०३ मा तोकिएका काम, कर्तव्य र अधिकारलाई कार्यान्वयन गर्न प्राधिकरण सक्रिय छ । यसअन्तर्गत आवश्यक कानून, कार्यविधि, निर्देशिका र मापदण्डहरूको तर्जुमा तथा संशोधन प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता मापदण्ड, २०८२ तर्जुमा भई कार्यान्वयनको तयारीमा छ । यसका लागि अलग्गै दर्ता सफ्टवेयर निर्माण भई आगामी २०८२ भदौ महिनाभित्र लञ्च गर्ने तयारी भइरहेको छ । साथै सहकारी संस्थाको नियमन तथा सञ्चालनका लागि नियमाकीय मापदण्ड २०८२ जारी भइसकेको र कार्यान्वयन चरणमा रहेको प्राधिकरणले जनाएको छ । यससँगै सहकारी संस्थाको उजुरी व्यवस्थापन र अनुगमन प्रणाली पनि कार्यान्वयनमा ल्याइएको छ । हालसम्म ४५ वटा सहकारी संस्थासम्बन्धी उजुरी दर्ता भइसकेको र तीमध्ये सञ्चालक तथा सरोकारवालालाई सोधपुछ गरी बचत फिर्ता गर्ने निर्देशन दिने काम भइरहेको छ । प्राधिकरणले आगामी दिनमा सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा ६ महिनाभित्र प्राधिकरणमा दर्ता गर्ने व्यवस्था गर्ने जनाएको छ । यसका लागि अनलाइन दर्ता प्रणाली सुरु गरिनेछ । साथै सातै प्रदेशमा सहकारी नियमन र प्रतिवेदन प्रणाली सम्बन्धी प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी पनि छ । सहकारी संस्थाको नियमन, सुपरिवेक्षण र नियमित प्रतिवेदन प्रणाली विकास गरी बचतकर्ताको सुरक्षालाई सुनिश्चित गरिने प्राधिकरणको भनाइ छ। उजुरी तथा छानबिन प्रक्रिया सुदृढ गर्दै समस्या उन्मुख सहकारी संस्थामाथि स्थलगत नियमन सुरु गरिने पनि योजना रहेको छ । सहकारी संस्थाहरूले तोकिएको मापदण्ड पालना नगरेमा प्राधिकरणले पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने र आवश्यक परे संस्थाको दर्ता खारेज गर्न समेत सिफारिस गर्न सक्ने अधिकार राख्छ । साथै पदाधिकारी वा कर्मचारीले कानुन उल्लंघन गरेमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने र कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रावधान ऐनमा उल्लेख छ । प्राधिकरणले आवश्यक परे निरीक्षण अधिकारी तोक्ने, प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा सहकारी संस्थाको अनुगमन तथा सुपरिवेक्षण गर्ने, उजुरीमा कारबाही गर्ने तथा बचतकर्ताको हितमा प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने अधिकार पाउने विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणले आन्तरिक नियन्त्रण प्रणाली, कर्मचारी व्यवस्थापन, संगठन तथा व्यवस्थापन सर्वेक्षण, कार्यसम्पादन स्तर सुधार, आम्दानीका स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलाई दीर्घकालीन लक्ष्यका रूपमा लिएको छ ।
दिपलको उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने
काठमाडौं । मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो । एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ । कम्पनीका अनुसार नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ । नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । 'यस वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वंयमा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’
नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । पौडेललाई आजैबाट लागू हुने गरी नियुक्त गरिएको हो । बैंक तथा वित्तीय क्षेत्रमा पौडेलको लामो अनुभव रहेको छ ।
ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर, १० लाखसम्म जित्ने अवसर
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आगामी दशैं–तिहारलाई लक्षित गर्दै 'दशैं-तिहार, १० गुणा उपहार' अफर घोषणा गरेको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म थप छुट जित्ने अवसर पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूलाई थप प्रोत्साहन स्वरूप २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर समेत प्रदान गरिनेछ । यस्तै, हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार यसले ह्युन्डाई ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । भदौ २ गतेदेखि लागू हुने यो अफरमार्फत कम्पनीले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर विशेष अफरको लाभ लिन आमन्त्रण गरेको छ ।