रिलायन्स फाइनान्सको ६ लाख ५२ हजार कित्ता सेयर लिलामीमा, साधारण सेयरको मूल्य १०० नजिक पुगेपछि संस्थापक सेयर बिकेन
काठमाडौं । रिलाइन्स फाइनान्सको ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीमा आएको छ । त्यसमध्ये ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयर रहेको छ भने १ लाख १० हजार ६२६ कित्ता साधारण सेयर छ । फाइनान्सको भित्री अवस्था विग्रेकोले संस्थापकहरु मध्ये धेरैले हकप्रद सेयर खरिदको लागि आवेदन नगरेको बताइएको छ । साथै साधारण सेयर मूल्य १०० रुपैयाँ नजिक पुगेकोले संस्थापकले सेयर नकिनेको हुनसक्ने जनाईएको छ । यस फाइनान्सको सोमबार सेयर प्रतिकित्ता १२१ रुपैयाँमा कारोबार भएको छ । सामान्यतय साधारण सेयरको मूल्य भन्दा आधा मूल्यमा संस्थापक सेयर किनबेच हुने गरेको छ । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटलले उक्त सेयर लिलामीमा राखेको छ । फाइनान्सले गत मंसिरमा हकप्रद सेयर निष्काशन गरेकोमा आवेदन नपरेको सेयर लिलामीमा राखेको जनाएको छ ।
म्याग्दीको सरकारी कार्यलयमा ई–पेमेन्ट शुरु
म्याग्दी । म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई पहिलो पटक ई–पेमेन्टमार्फत भुक्तानी गरिएको थियो । सरकारी कार्यालयमार्फत व्यक्ति, आपूर्तिकर्ता, निर्माण व्यवसायी, उपभोक्ता समितिलाई गर्ने भुक्तानीलाई सरल, सजिलो र छिटो बनाउन विद्युतीय प्रविधिको प्रयोग गरिएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेल्वासेले बताए । उनका अनुसार विद्युतीय भुक्तानी प्रणालीमार्फत सफ्टवेयरको प्रयोग गरेर कार्यालयको खाताबाट सिधै भुक्तानी पाउनेको खातामा रकम जम्मा हुने भएकाले चेक बनाउन कोलेनिका पुग्न, चेक साट्न बैंकको शाखामा पुग्न र लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । ई–पेमेन्ट सुविधाका लागि इन्टर पेमेन्ट सिस्टममा सदस्य भएका बैंकमा खाता भएको हुनुपर्ने कोष नियन्त्रक बेल्वासेले बताए । सेवाको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश राजकुमार कोइरालाले छिटोछरितो सेवा प्रवाह, आर्थिक अनुशासन कायम गर्नका लागि विद्युतीय भुक्तानी प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । महालेखा नियन्त्रकको कार्यालयका उपमहानिर्देशक नेत्रप्रसाद भट्टले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन विद्युतीय भुक्तानी प्रणाली लागू गरिएको बताए । गत वर्ष सिंहदरबारका मन्त्रालयमा लागू गरिएको विद्युतीय भुक्तानी प्रणालीको परीक्षण सफल भएपछि आगामी वैशाखदेखि ७७ वटै जिल्लामा विस्तार गर्ने तयारी भएको जानकारी दिए ।-रासस
जेफ बेजोस बने सर्वाधिक धनी, बिल गेट्स दोश्रो नम्बरमा, सेयर कारोबारी वारेन बफेट तेश्रो(सूचिसहित)
काठमाडौं । विश्वका सर्वाधिक धनीहरुको सूचि सार्वजनिक भएको छ । गत बर्ष तेश्रो नम्बरमा रहेका जेफ बेजोस पहिलो नम्बरमा आईपुगेका छन भने पहिलो नम्बरका बिल गेट्स दोश्रो नम्बरमा पुगेका छन् । गत बर्ष दोश्रो नम्बमा रहेका सेयर कारोबार वारेन बफेट भने तेश्रो नम्बरमा पुगेका छन् । (सूचि हेर्न यहाँ क्लिक गर्नुहोस्) गत बर्ष ७२.८ बिलियन अमेरिकी डलर सम्पति रहेका बेजोस यसपाली ११२ बिलियन अमेरिकी डलर कमाउँदै संसारकै सबै भन्दा धनी व्यक्ति बनेका छन् । गत बर्ष ८६ बिलियन डलरसहित एक नम्बरमा रहेक बिल गेट्स भने यसपाली ९० बिलियन अमेरिकी डलरसहित दोश्रो नम्बरमा पुगेका छन् । गत बर्ष ७५.६ बिलियन डलरसहित दोश्रो नम्बरमा रहेका वारेन बफेट भने यसपाली तेश्रो नम्बरमा धकेलिएका छन् र उनको सम्पति ८४ बिलियन डलर पुगेको छ । संसारका सर्वाधिक धनीमा परेका यी तिनै जना अमेरिकी नागरिक हुन् । सर्वाधिक धनी १० मध्ये सात जना अमेरिकी नागरिक रहेका छन् ।
विद्या भण्डारीलाई राष्ट्रपति दोहोर्याउने एमालेकाे निर्णय, मध्यरातमा के के भयो बालुवाटारमा ?
काठमाडौं । नेकपा(एमाले)ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने निर्णय गरेको छ । मंगलबार मध्यरातमा सम्पन्न एमाले स्थायी कमिटी बैठकले भण्डारीलाई दोश्रो कार्यकालका लागि पुनः राष्ट्रपति बनाउने निर्णय गरेको हो । पार्टी बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै भण्डारीले शितल निवासको दोश्रो इनिङ पक्का गरेकी हुन् । खनाल यस अघि पनि राष्ट्रपतिका आकांक्षी थिए । आजै राष्ट्रपतिका लागि भणडरीको मनोनयन दर्ता हुनेछ भने २९ गते निर्वाचन हुनेछ । भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी थिइन् । मध्यरातमा के के भयो बालुवाटारमा ? राष्ट्रपतिको उम्मेदवार छान्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ४ बजेका लागि स्थायी कमिटीको बैठक डाकिएको थियो । तर बैठक भने ढिलो गरि ६ बजे मात्रै सुरु भयो । भण्डारीलाई राष्ट्रपति बनाउने ओली पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुषालले असहमति जनाए । त्यसपछि बैठक लम्बियो । पटक पटक बिभिन्न कोणबाट सहमतिको प्रयास भयो । भ्mलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका बामदेव गौतम मौन बसे । माधव नेपाल, गोकर्ण विष्ट र योगेश भट्टराईहले मध्यमार्गी धारणा राखे । त्यसपछि झलनाथ खनालले आफ्नो पक्षमा सहमति नहुने बुझेपछि स्थायी कमिटीमा निर्वाचन गराउने मनसाय व्यक्त गरेका थिए । तर बामदेव गौतमले नै साथ छाडेपछि स्थायी कमिटीमै अल्पमतमा पुगेको देखेपछि उनी पछि हटे र विद्या भण्डारीको शितल निवासमा दोश्रो इनिङ पक्का भयो । ‘पटक पटक छलफल भयो तर सहमति जुटेन, स्थायी कमिटीमै चुनाव गराउन खोज्दा पनि बामदेव गौतम लगायतले साथ छाडेपछि अल्पमतमा परिने स्पष्टै थियो, त्यसैले जेएन कमरेड पछि हट्नुभयो’, एमाले उच्च श्रोतले भन्यो ।
दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् कर्णालीको समृद्धि हो – मन्त्री भण्डारी
दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशको विकास र शान्ति बहालीमा कुनै सम्झौता नहुने बताए। उनले जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । दिगो विकासका लागि जुनसुकै नागरिकले दिएका राम्रा सुझाव र सल्लाह सहजै ग्रहण गरेर अगाडि बढ्ने पनि उनको भनाइ छ । कर्णाली प्रदेशको समृद्धिका लागि पहिलो काम दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् भएको उनले उल्लेख गरेका छन् । शपथ ग्रहण गरेको चौथो दिनमै शान्ति सुरक्षाको खाका तयार पारेर यो अभियान प्रदेशभर लैजाने सिलसिलामा पहिलो कार्यक्रम दैलेखमा गरिएको भण्डारीले स्पष्ट पारे । उनले भने – ‘कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्छौं । ठूला आयोजनाको जिम्मा लिएकाहरुले ढिलाइ गरे कालोसूचीमा राख्छौं ।’रासस
प्रदेश १ को सरकारद्वारा १०० दिने कार्यक्रम सार्वजनिक, गुनासो सुन्नेदेखि आयआर्जनको नीतिसम्म
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुस्त एवम् प्रभावकारी रुपमा कार्य सञ्चालन गर्न र नागरिकका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको स्पष्ट पारेका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सरकारको सय दिनको कार्यक्रमलाई सार्वजनिक गर्दै मन्त्रालयको भौतिक संरचना, वित्तीय साधनस्रोत र मानव संसाधनको विकासमा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै सरकारको आवश्यक कानून, अल्पकालीन नीति तथा रणनीति तयार पारी सोको कार्यान्वयन गर्ने जानकारी दिए। उनका अनुसार प्रत्यक्ष रुपमा सरोकार राख्ने निकायहरुमा गुनासो सुन्ने अधिकारी, नागरिक हेल्प डेस्क, वडापत्र, विद्युतीय डिस्प्ले सूचना बोर्ड र सूचना केन्द्र स्थापना गर्नुका साथै महिनामा एकपटक नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने छ । सरकारको सय दिने कार्यक्रममा जग्गामा चक्लाबन्दी नीति, उत्पादकत्व वृद्धि, कृषि, मासु, अण्डाको बजारीकरण, सहकारीको माध्यमबाट आयआर्जनको नीतिको अवलम्बन गरिने उल्लेख छ । ग्रामीण क्षेत्रमा चिकित्सकलाई बस्न प्रोत्साहन गर्ने, स्वास्थ्य शिविरको सञ्चालन गर्ने, विद्यार्थी भर्ना शतप्रतिशत पुर्याउने, दक्ष जनशक्ति उत्पादनमा जोड दिने, प्रत्येक जिल्लामा एक–एक प्राविधिक शिक्षालयको स्थापना गर्ने, स्वास्थ्य बिमा लागू गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, सबै रीतिरिवाज र भाषा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम पनि समेटिएका छन् । रासस
कृषकका समस्या हल गर्न ‘कृषकसँग मन्त्री कार्यक्रम’
पोखरा । प्रदेश नं ४ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकका समस्या बुझी त्यसको समाधानमा सहयोग पुर्याउने लक्ष्यका साथ ‘कृषकसँग मन्त्री कार्यक्रम’ अघि सारिएको बताए । प्रेस क्लब पोखराद्वारा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उनले कृषिप्रतिको अनिच्छालाई कम गराउँदै यसलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न उक्त कार्यक्रम आवश्यक भएको बताए । कृषकसँग मन्त्री कार्यक्रमअन्तर्गत कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने उनको भनाइ छ। ‘कृषिको व्यावसायिकीकरणका माध्यमबाट यसतर्फ सर्वसाधारणलाई आकर्षित गरी बाँझो जमिनलाई उत्पादनमुखी बनाउनु आवश्यक छ’, उहाँले भने, ‘कृषिको विकासलाई लक्षित गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।’ प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उनको जोड छ। प्रदेश सभा सदस्य कुमार खड्काले प्रदेश नं ४ लाई पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने धारणा राख्दै रोजगारीको खोजीमा विदेशिएका युवालाई यही नै रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए। अर्का प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश नं ४ मा प्रकृति पदत्त स्रोत साधनको संरक्षण र विकास गर्दै त्यसैका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । प्रदेश सभा सदस्य हरिशरण आचार्यले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै जुट्नुपर्नेमा जोड दिएका थिए। रासस
भक्तपुर क्यान्सर अस्पतालमा नयाँ एनेक्स वार्ड
भक्तपुर । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले भक्तपुरस्थित क्यान्सर अस्पतालको नयाँ एनेक्स वार्डको मंगलबार उद्घाटन गरेका छन् । अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा उनले सो वार्डको उद्घाटन गरेका हुन् । सो अवसरमा क्यान्सर, एचआइभीका बिरामीलाई अधिकांश अस्पतालमा भेदभाव र लाञ्चना हुने गरेको बताउँदै प्रदेश प्रमुख कोइरालाले सबै अस्पतालबाट यस्ता भेदभाव र लाञ्छना हटाउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुर शिक्षा र स्वास्थ्यको गन्तव्यको क्षेत्र भएको बताउँदै भक्तपुरलाई प्रदेशको स्थायी राजधानी बनाए सबै जिल्लाका आमनागरिकलाई सहज हुने बताएका छन् । अस्पतालका सल्लाहकार दिवाकर राजकर्णिकारले अस्पतालमा बिरामीको चाप बढ्दै गएअनुसार भवन र भौतिक संरचनाको अभाव भएको बताए । कार्यक्रममा अस्पतालका मेडिकल डाईरेक्टर प्रा.डा.ऋषिकेश नारायण श्रेष्ठका अनुसार सन् २०१३ मा करिब ३४ हजार बिरामीले सेवा लिएकोमा सन् २०१७ मा ६८ हजार बिरामीले सेवा लिएको र तीन हजार चारसय क्यान्सरका बिरामीको उपचार भएको छ । प्रत्येक दिन यस अस्पतालमा ९६ बिरामीको उपचार भइरहेको र ओपिडिमा ३०० बिरामीले सेवा लिइरहेका छन् । रासस