विकासन्युज

मध्य चैतमा १७ वटा ठुला बस, महिलालाई ड्राइभिङ गर्ने अवसर

काठमाडौं । राजधानीमा आउदो चैत १७ गते १७ वटा ठुला बस आइपुग्ने भएका छन् । दिगो सहरी यातायात प्रालिले २०७५ वैशाख १ गतेदेखि सञ्चालनमा आउने गरि ठुला बसहरु ल्याउने तयारी गरेकाे हाे । सञ्चालनमा आउने ठूला बसबाट ४० जनालाई रोजगारीको अवसर सिर्जना भएको छ । प्रालिले रोजगारीका लागि महिलाहरुलाई अवसर दिने जनाएको छ । ‘१७ बस सञ्चालनका लागि २० चालक र २० सहचालक आवश्यक छ, यदि ४० जना नै महिला चालक र सहचालक भेटियो भने हामी सबै सेवा महिलाबाट नै प्रदान गर्छौ’ आयोजनाका प्रमुख लालप्रसाद गुरागाइले बताए । ‘अहिले बस ड्राइभिङ गर्ने कर्मचारी पाउन गाह्रो छ, हामीले सरकारसँग पनि राय मागिरहेका छौं, विशेषगरी महिला चालक र सहचालकबाट हामीले सेवा दिन खोजेका हौं” उनले भने “यसले सवारी साधनमा हुने महिला हिंसामा पनि कमि आउँछ ’ अहिले यातायातले बसमा सामाजिक सचेतनाका लागि कस्ता किसिमको स्टीकर टाँस्ने भन्ने विषयमा छलफल भैरहेको जनाएको छ । सञ्चालनमा आउने १७ वटा बस पार्किङका लागि अहिले एसियाली विकास बैंक (एडिबी)ले ‘डिपो’ निर्माण गरिरहेको छ । बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ । प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । बसमा यस्तो सुविधा हुनेछ ५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । बस गुड्ने रुट ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । विवाद मिलिसक्यो सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ । यस्तो छ प्रालिले पहिचान गरेको रुट एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।

डेढ महिनामा अमेरिकी डलर ३ रुपैयाँ महंगियो, राष्ट्र बैंकले तोक्यो १ डलर बराबर १०४.६०

काठमाडौं । डेढ महिनायता अमेरिकी डलर पुनः मजवुत भएको छ । डलर मजवुत भएर १ डलर बराबर १०४ रुपैयाँ ६० पैसाँ पुगेको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो ।     डेढ महिनामा नेपाली रुपैयाँ डलरसंग ३ रुपैयाँ ८ पैसा कमजोर भएको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले १ डलर बराबर १०४ रुपैयाँ ६० पैसा बिक्री मूल्य तोकेको छ । माघयता डलर कमजोर हुन थालेको हो । गत असारको तुलनामा पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैैंकले जनाएको छ । गत पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसामा झरेको थियो । गत असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ थियो । भारतीय अर्थतन्त्र कमजोर हुदै गएका कारण भारुको अवमूल्यन भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बिहीबार १ डलर बराबर ६५ रुपैयाँ १० पैसा भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो । डलर कमजोर हुँदाका फाइदा डलर कमजोर भएपछि आयातित वस्तुको लागत सस्तो हुन गई उपभोक्ता मूल्य घट्छ । यसले गर्दा उपभोक्तालाई फाइदा हुन्छ । गत आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धि कम गराउने एउटा तत्व डलर कमजोर भएकाले हो । गत वर्ष उपभोक्ता मूल्यवृद्धि ४ प्रतिशत तल रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले साढे ७ प्रतिशतमा सीमिति गर्ने भनेको थियो । यस्तै राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार पनि कम हुन्छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने सावाँ र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकट सस्तो हुने गरेको छ । विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि कम हुन्छ । गत वर्ष नोक्सान कम हुनुको एउटा कारण डलर कमजोर हुनु हो । डलर कमजोर हुदाका वेफाइदा आयात बढेर भुत्तानी सन्तुलनमा असर पर्छ । वैदेशिक रोजगारीमा जानेले पठाउने रेमिट्यान्स आप्रवाहमा कमी आउने र कामदारलाई नोक्सान हुने देखिन्छ । यस्तै विदेशबाट प्राप्त हुने पेन्सनवापतको रकम आप्रवाहमा कमी हुन्छ । निर्यातबाट प्राप्त हुने डलर आम्दानी कम हुन्छ । सरकारको भन्सार राजश्वमा कमी, पर्यटकलाई नोक्सान हुने देखिन्छ । यस्तै ठुला होटलको आम्दानीमा केही कमी हुन्छ ।

बीमा ऐन उच्च प्राथमिकतामा, बैशाखमा संसद पठाइने

काठमाडौं । अर्थमन्त्रालयले बीमा ऐनलाई उच्च प्राथमिकतासहित अघि बढाएको छ । बीमा समितिले तयार पारेको नयाँ बीमा ऐनको मस्यौदामा अर्थ मन्त्रालयले राय दिएर कानुन मन्त्रालय हुँदै पुनः बीमा समितिमा फर्किएको छ । हाल बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको नेतृत्वमा समिति समिति गठन गरेर थप छलफल भैरहेको छ ।‘बीमा ऐन हाम्रो पहिलो प्राथमिकतामा छ, बैशाख भित्र संसदमा पठाउने तयारी छ’, अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले भने । २०४९ सालमा बीमा ऐन आएपछि हालसम्म संसोधन भएको छैन् । समितिले पुरानो ऐनलाई विस्थापन गर्ने योजनासहित नयाँ बीमा ऐनको मस्यौदा तयार पारेको थियो । ऐनमा बीमा कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख बढीमा ८ वर्ष (दुई कार्यकाल) मात्र बस्न पाउने, व्यवस्थापनको सिलसिलामा कुनै पनि गल्ति भएमा कार्यकारी प्रमुखले जिम्मेवारी लिुनपर्ने व्यवस्था गरिएको छ । प्रस्तावित ऐनमा नै कम्पनीको अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, कप्लाइन्स मेनेजरका योग्यता, जिम्मेवारी तोकिएको छ । नयाँ बीमा ऐनले नेपालको बीमा क्षेत्रको विकासमा ठुलो योगदान दिने पाण्डेले बताए । बीमा समितिको सञ्चालक समेत रहेका पाण्डेले समितिलाई अधिक स्वायत्ततासहित शसक्त नियामक निकायका रुपमा स्थापित हुनेगरि ऐनको मस्यौदा तयार भएको पनि बताए ।

श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई । गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उनलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व निकालिएको शवयात्रामा हजारौँ प्रशंसक सहभागी भएका थिए । विशेष रूपमा सिङ्गारिएको एउटा ट्रकमा राखेर उनको शवलाई सात किलोमिटर टाढा रहेको अन्त्येष्टि स्थलमा लगिएको थियो । शवयात्राका कारण लामो समय मुम्बईको सडकमा ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो भने अन्त्यष्टीस्थलसम्म पुग्न झण्डै दुई घण्टा लागेको थियो । दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो । सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘बाथ टब’मा डुबेर भएको जानकारी गराएको थियो। आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन ५४ वर्षीया श्रीदेवी संयुक्त अरब इमिरेट्स गएकी थिइन्। सन् २०१३ मा भारत सरकारले उनलाई देशकै चौँथो ठूलो नागरिक सम्मान पद्मश्रीबाट विभूषित गरेको थियो । श्रीदेवीले करिब तीन सय चलचित्रमा अभिनय गरेकीछिन् । रासस/एएफपी

इजिप्टमा रेल दुर्घटना, १५ को मृत्यु ४० घाइते

कायरो । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिएका छन्। रासस/सिन्ह्वा

राष्ट्रिय वाणिज्य बैंकलाई ९ करोड हानी पुर्याएको आरोपमा दुई पक्राउ

विराटनगर । रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई ९ करोड ६१ लाख रुपैयाँ हानी नोक्सानी पुर्याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरिएको हो । यही फागुन २ गते सोही बैंकका भन्सार काउन्टर इन्चार्ज वरिष्ठ सहायक तोरणराज राउतलाई पक्राउ गरिएको थियो । सोही घटनामा संलग्न भन्सार एजेन्ट सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसका विराटनगर–७ को सातघुम्ती बस्ने ४६ वर्षीय सुरेश बोहरा र ललित बोहरा फरार भएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए। भन्सार कार्यालयको भन्सार काउन्टरमार्फत प्रज्ञापनपत्र बमोजिमको भन्सार दस्तुरबापतको रकम भन्सार क्लियरिङ प्रयोजनार्थ भन्सार कार्यालयको खातामा जम्मा गर्ने र बैङ्कले भन्सार तिरेको रसिद दिने चलन छ । तर बैङ्कका ती कर्मचारी र भन्सार एजेन्ट मिलेर डिपोजिट गर्ने प्रयोजनार्थ गत पुस ९ देखि माघ १९ गतेका बीच सात दिनमा आठ वटा एकाउन्टपेयी चेक लिएर भन्सार क्लियरेन्स रसिद दिइएको कारण सो बरावरको रकम बैंकलाई हानी नोक्सानी हुन गएको नायब प्रहरी उपरीक्षक कोइरालाले जानकारी गराए। ती आठ एकाउन्टपेयी चेकमा नबिल बैंकको एक, सिटिजन्स इन्टरनेशनल बैंकको तीन, एभरेष्ट बैंकको एक, नेपाल एसबिआई बैंकको एक, सिद्धार्थ बैंकको एक र नेपाल बंगलादेश बैंकको एउटा छन् । बैंकका कर्मचारीले ‘गुड फर पेमेन्ट चेक’ वा ‘मेनेजर चेक’ लिनुपर्नेमा सो नलिएको देखिएको छ । पक्राउ परेका दुवै जनामाथि उच्च अदालतबाट म्याद थप गरी बैकिङ कसूर तथा सजाय ऐनअन्तर्गत कारबाही थालिएको प्रहरी जनाएको छ । जाहेरीको आधारमा नगद रसिदको अध्ययन गर्दा उक्त काउन्टरबाट झापा, मोरङ, सुनसरी, पर्सा र काठमाडौँलगायतका ४६ कम्पनी र व्यवसायीको नाममा सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिसबाट कारोबार भएका देखिएकाले ती कारोबारको भुक्तानी सम्बन्धमा विवरण माग गरिएको बताइएको छ । रासस

सरकारले विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने

काठमाडौ । सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुलुकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आयजस्ता महत्वपूर्ण सूचकांकमा सुधार ल्याउन अझै समय लाग्ने भएकाले उक्त प्रस्ताव सन् २०२१ मा लान लागिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । विकासशील राष्ट्र हुन कूल राष्ट्रिय आय, मानवीय संसाधनको विकास र आर्थिक जोखिमको अवस्था गरी तीन मुख्य सूचकांक रहेका र तीमध्ये मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएकाले तत्कालै विकासशील राष्ट्रमा स्तरोन्नति हुनसक्ने अवस्था विद्यमान नरहेको उनले जानकारी दिए । नेपाललाई अझै पनि सहुलियतपूर्ण अन्तर्राष्ट्रिय सहयोग तथा व्यापारमा सहजीकरणको आवश्यकता भएकाले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको मन्त्री खतिवडाले बताए। राष्ट्रसंघमा आर्थिक स्तरोन्नति सम्बन्धमा प्रत्येक तीन÷तीन वर्षमा समीक्षा बैठक हुने गर्दछ । सरकारले सन् २०१८ को समीक्षा बैठकमा उक्त प्रस्ताव लैजाँदा जोखिम बढ्ने देखिएकाले सन् २०२१ मा मात्रै लैजान खोजिएको हो । यसअघि राष्ट्रिय योजना आयोगले पनि सन् २०२१ मा उक्त प्रस्ताव लैजान तत्कालीन सरकारलाई सुझाव दिएको थियो । रासस

विप्लवकाे चेतावनीपछि भारतीय मिडियाले सलमान खानलाई नेपाल नजान दिए दवाव

काठमाडौं । मदिराको प्रवद्र्धन गर्नका लागि नेपाल नजान भारतीय सञ्चार माध्यमले वलिउडस्टार सलमान खानलाई दवाव दिएका छन् । भारतको चर्चित मिडिया हिन्दुस्तान टाइम्स, बम्बे टाइम्स, स्टार अफ वलिउड र न्युज वल्र्ड इण्डियाले नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले खानलाई नेपाल नआउन दवाव दिएको समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेका छन् । खानको फागुन २६ गते हुने द वङ टुर नेपाल कन्सर्ट भाड्ने घोषणा गरेको भन्दै ती मिडियाले सलमानलाई नेपालमा नजान सुझाएका हुन् । मंगलबार नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति प्रकाशित गरी कन्सर्ट नरोकिए भयानक परिणाम आउने चेतावनी दिएपछि भारतीय मिडियाले पनि सुरक्षाको कारण देखाउदै सलमान खानलाई नेपाल नजान भनेका छन् । आउदो २६ गते खान सहितका भारतीय कलाकारहरुले सैनिक मञ्च टुँडीखेलमा विशेष सांस्कृतिक कार्यक्रम गर्दैछन् । उनको यो क्रियाकलापले नेपालको संस्कृतिमाथि हस्तक्षेप हुने कलाकर्मीको भनाई छ । बहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानी रहेको गोरखा ब्रुअरीले मदिराको बजार प्रवद्र्धनका लागि सलमानलाई नेपाल ल्याउन लागेको हो । नेपाली कलाकारको अवमूल्यन गरी मदिराको प्रवद्र्धन गर्न गोरखा ब्रुअरीले भारतीय कलाकार ल्याएर नेपालको संस्कृतिमाथि अतिक्रमण गरेको छ । गोरखा ब्रुअरी कर छलीको काण्डमा पर्दै आएको छ । द वाङ टुर नेपाल कार्यक्रममार्फत रक्सीको प्रवद्र्धनको लागि नेपाल आउने र प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट मूल्य राखिएको छ । यो कार्यक्रम ओडिसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको हो । खानका लागि नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात भएको र नेपाली कला संस्कृतिमा माथीको ठूलो अपमान समेत भएको बताइएको छ ।