बुक क्लोजको गलत सूचनाबारे टेलिकमलाई धितोपत्र बोर्डको पत्र
काठमाडौं । बुक क्लोज सम्बन्धी गलत सूचना प्रवाह गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेपाल टेलिकमसँग स्पष्टीकरण माग्ने भएको छ । बोर्डले पत्र लेखेरै टेलिकमसँग स्पष्टीकरण माग्न लागेको हो । टेलिकमले पुस ९ गते सूचना प्रकाशित गरेर पुस १२ गतेदेखि बुक क्लोज गर्ने भनेको थियो । तर नेपाल स्टक एक्सचेञ्जले बुक क्लोजको सूचना एक हप्ता अघि नै प्रकाशित गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न भनेपछि टेलिकमले पुस १२ गते नेप्सेलाई पत्र लेखेर १६ गतेदेखि मात्रै बुक क्लोज गर्ने जानकारी गराएको थियो । १२ गते बुक क्लोज हुने भन्दै सेयर बेचेका लगानी कर्तालाई अन्याय भएको भन्दै बोर्डले टेलिकमलाई पत्र काट्न लागेको हो । ‘आजै टेलिकमलाई पत्र लेखेर खास के भएको हो, त्यसको विवरण माग्दैछौं, त्यसपछि थप अध्ययन हुन्छ’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजसँग भने ।
एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ८१६
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएपछि बैंकको सेयर मूल्य १ हजार १७४ रुपैयाँबाट घटेर ८१६ रुपैयाँ पुगेको छ ।
महालक्ष्मी विकास बैंकले सेयर कर्जा लिन बोलायो, ११.९९ प्रतिशतमा ३ दिनभित्र दिने
काठमाडौं । वाणिज्य बैंकहरुले भन्दा महालक्ष्मी विकास बैंकले सस्तो दरमा सेयर कर्जा दिने भएको छ । वाणिज्य बैंकहरुले न्युनतम १२ देखि १५ प्रतिशतसम्म सेयर कर्जा दिने योजना ल्याइरहेका बेला महालक्ष्मीले ११.९९ प्रतिशत ब्याजमा सेयर कर्जा दिने भएको छ । काम सुरु गरेको ३ दिनभित्र कर्जा पाइने महालक्ष्मीले जनाएको छ । १ वर्षका लागि बैंकले महालक्ष्मी सेयर कर्जा योजना ल्याएको हो । व्यक्ति तथा संस्थालाई कर्जा दिने बैंकले जानकारी दिएको छ । यसअघि सिभिल बैंकले १२ प्रतिशत ब्याजमा सेयरधितो कर्जा ल्याएको थियो । सानिमा बैंकले १५ प्रतिशत घटी सेयर कर्जा नदिने जानकारी दिएको छ । पछिल्लो समयमा सेयर बजार घट्न थालेपछि यसलाई बढाउन बैंकहरुले योजनाका साथ सेयर कर्जा योजना ल्याएका हुन् ।
ग्रीन डेभलपमेन्ट बैंकको ४ सय प्रतिशत हकप्रद सेयर माघ २ देखि
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि फागुन ८ गतेसम्म एक सय रुपैंयाँ मूल्यका १ः ४ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । पुस १६ गतेअघि सेयर खरिद गरेका लगानीकर्ताहरुले हकप्रद सेयर पाउनेछन् । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।
मुद्दति निक्षेपको ब्याज बढेर १२.२५ प्रतिशत पुग्यो, सेयरमा लगानी भन्दा बैंकको मुद्दतिमा फाइदा
काठमाडौं । वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याज दर बढाएर १२.२५ प्रतिशत पुर्याएका छन् । मुद्धति खातामा रहेको निक्षेप बाहिरन नदिन बैंकबीच व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाउन होडबाजी चलेको हो । केही दिनअघि मात्र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर साढे ११ प्रतिशत बनाएको एक साता नबित्दै ग्लोबल आईएमई बैंकले १ वर्षका लागि स्पेशल ब्लक डिपोजिट भन्दै वार्षिक १२.२५ प्रतिशत ब्याज दिने गरी मुद्धति निक्षेप योजना ल्याएको छ । यसैगरी ग्लोबलले यो योजना बिहीबारदेखि नै लागु हुने जानकारी दिएको छ । यसैगरी सिभिल बैंकले बिहीबार बढाएर १२.२२ प्रतिशत पुर्याएको छ ।तरलता अभावको संकेतहरु देखिन थालेपछि बाणिज्य बैंकहरुले आफ्ना मुद्दति निक्षेपकर्ताको रकम बाहिरिन नदिन ब्याजदर धमाधम ब्याजदर बढाएका हुन् । गत वर्ष लगानीयोग्य पुँजी नभएपछि बैंकले महंगो ब्याजमा व्यक्तिगत निक्षेप लिएका थिए । त्यसबेला यस्तो निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुगेको थियो ।सेयर बजार निरन्तर घटिरहेकाले त्यहाँबाट पाउने प्रतिफल ८ प्रतिशत भन्दा कम रहेका बेला लगानीकर्तालाई मुद्दति निक्षेपमा लगानी गरेर बढी प्रतिफल पाउने देखिएको छ । बैंकको बढ्दो ब्याज दर, बढी सेयर आपूर्ति र राजनीतिक अस्थिरता कायम रहेकाले सेयर बजार निरन्तर ओरालो लागेको छ । सिभिलले २२२ दिनका लागि यो योजना ल्याएको हो । न्युनतम ३ लाख रुपैयाँ हुनुपर्ने र यसको ८० प्रतिशतसम्म कर्जा पाउने सिभिलले जानकारी दिएको छ । अधिकाँश बैंकले छोटो अवधिका लागि भन्दै निक्षेप तान्न बढी ब्याज दिने योजना ल्याएका हुन् । एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल गत वर्ष बढी ब्याज दिएर लिएको निक्षेप परिपक्व हुदै गएकले त्यसलाई लक्षित गरेर यो योजना ल्याएको बताए । “बजारमा पुँजीको अभाव हैन, निक्षेप रोक्नका लागि यस्तो योजना ल्याएको हो” उनले भने । मुद्धति निक्षेपमा कम ब्याज दिदै आएको स्ट्याण्डर्ड चाटर्ड बैंकले समेत बुधबार बढाएर १० प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएको छ । कुमारी बैंकले पनि १ सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार ल्याएको छ । यस्तै सेन्चुरी कर्म्शियल बैंक ११, लक्ष्मी बैंकले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका हुन् । यसअघि माछापुच्छे् बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना ल्याइसकेका छन् । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् । तरलता अभावको सम्भावना कायमै भएकाले गत बर्ष लिएको निक्षेप बाहिरिन सक्ने सम्भावना देखेपछि ब्याजदर बढाउनु पर्ने बाध्यता भएको बैंकरले भनाइ छ । गत वर्ष बैंकहरुले महंगोमा दरमा उठाएको मुद्धति निक्षेप परिपक्व हुन थालेको छ । केहीको पुस र अधिकाँशको माघमा परिपक्व हुदैछ । केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी ४० अर्ब रुपैयाँ छ । पर्याप्त तरलता हुदाहुदै बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएको राष्ट्र बैंकको भनाई छ । केही बैंकमा लगानी योग्य पुँजी देखिइसकेको बैंकरको भनाई छ । सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईयो ) १५ प्रतिशत भन्दा कम ब्याजमा कर्जा दिन नसक्ने बताउछन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा अधिकांश बैंकको आधार ब्याजदर १० प्रतिशत हारहारीमा रहेको थियो । बैंक अफ काठमाण्डुले आधार दर १०.८६ प्रतिशत रहेको जानकारी दिएको छ । प्रभु बैंकले आधार ब्याज दर ९.८० र नविल बैंकको ७ प्रतिशत तल रहेको छ ।
कोकाकोलाले नेपाली बजारमा ल्यायो ‘फुच्चे प्याक’, मूल्य ४० रुपैयाँ
काठमाडौं । कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल ‘फुच्चे प्याक’मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले उपभोक्ताहरुलाई थप विकल्प प्रदान गरेको हो । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको कम्पनीले जानकारी दिएको छ । यसको मूल्य ४० रुपैयाँ तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो । नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ‘हामीले बजारमा कोकाकोला, फ्यान्टा र स्पाईटलाई नयाँ सानो पेट बोतलमा ल्याउन पाएकोमा निकै खुसी छौं। ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका हौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुने छ ।’
हिसिलाले जितिन् ‘लिरिल फ्रेश फेस सिजन ४’ को उपाधि, पुरस्कारमा १ लाख नगद र स्कुटर
काठमाडौं । लिरिल फ्रेश फेस सिजन ४को उपाधी हिसिला महर्जनले जितेकी छिन् । सात सय भन्दा बढी इन्ट्रीबाट छानिएर उत्कृष्ट ३ मध्ये महर्जनले विजेताको उपाधी प्राप्त गरेकी हुन् । महर्जनले पुरस्कारमा एक लाख रुपैेयाँ र हिरो डुएट स्कुटर जितेकी छिन् । विश्व प्रसिद्ध साबुनको ब्राण्ड लिरिल, युनिलिभरको आयोजनामा “लिरिल फ्रेश फेस”कोचौथो संस्करण हिजो राती समाप्त भएको छ । अद्भुत र नवीनतम् टाष्कहरु र प्रख्यातहस्तीहरुले भरिपूर्ण एपिशोडहरु भएको यो सिजनले हजारौं प्रशंसकहरुको मन जित्दै यसले आफ्नो विजेतापाउन सफल भएको कम्पनीले जानकारी दिएको छ । फिनालेमा प्रसिद्ध गायक नीतेश जङ्गकुँवर र आयुष्मान देशराज श्रेष्ठ जोशील विशेष निर्णायकको रुपमा उपस्थित थिए ।
सम्भावित लोडसेडिङ टर्यो, भारतले दिनेभयो १४५ मेगावाट बिजुली
काठमाडौं । भारतकोे एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले नेपाल विद्युत प्राधिकरणलाई १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिने भएको छ । भारतको नयाँ दिल्लीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्चस्तरिय टोलीबीच बुधबार भएको द्विपक्षिय वार्तामा एनभीभीएनले थप ३ महिना अर्थात आउँदो मार्चसम्म बिजुली दिन सहमत भएको हो । एनभीभीएनले अर्को सम्झौता नभएसम्मका लागि पुरानो दरमा बिजुली दिन सहमत भएको छ । बिजुली आयात निरन्तरता दिनका लागि घिसिङ बुधबार दिल्ली गएका थिए । आगामी ३ महिनाका लागि बिजुली दिन सहमत भएको घिसिङले जानकारी दिए । ढल्केबर–मुज्जफरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदै छ । नेपाल र भारतको सचिव स्तरिय संयुक्त स्थायी समितिको बैठक स्थगत भएपछि विद्युत प्राधिकरणले गत मंगलबार बिजुली आयातको म्याद पुनः ३ महिना थप गर्न एमभीभीएनलाई अनुरोध सहितको पत्र पठाएको थियो । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । यो सस्तो दर हो । भारतबाट १४५ मेगावाट बिजुली आयात निरन्तरता नभए लोडसेडिङ हुने थियो । यो वर्ष लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ ।