विकासन्युज

सन्तपुरको नमुना बस्ती बनाउन २ करोड अपुग

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकार द्धय सिताराम कट्टेल‘ धुर्मुस र कुन्जना घिमिरे‘ सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट बिधिबत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ । बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक सौचलय, भ्यु टावर, प्राईमरी बिद्यालय, बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएपनि त्यो भन्दा कममै बस्ती सम्पन्न गर्ने प्रयास गरिरहेको धुर्मुसले जानकारी दिएका छन् । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् । तर पनि बस्ती निर्माणका लागि फाउण्डेशनलाई २ करोड अपुग छ । सहयोगीहरु बस्तीमै पुगेर सहयोग हस्तान्तरण गरिरहँदा हस्तान्तरण सम्ममा सहयोग संकलन हुने कुरामा उनि आशावादी पनि छन् । बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिरहेका छन् । निर्माणको काम बिहान ६ बजेदेखी सुरु र बेलुकी साँझ सम्म निरन्तर चलिरहन्छ ।

प्राइम कमर्शियल बैंकको शाखा गोरखाको घेरुङमा

  काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखाको सहीद लखन गाउँपालिका घैरुङमा शाखा विस्तार गरेको छ । बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उदघाटन गरेका छन् । बैकको कार्यालय संख्या ५२ पुगेको छ ।      

पाँचथरको भालुचोकमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि पाँचथरको हिलिहाङ गाउँपालिका भालुचोकमा ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सेवाको लागि स्थानिय वीरेन्द्रकुमार योङ्गहाङ्गलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १०८ वटा शाखा, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५७ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग, मोबाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जानकारी दिएको छ ।

एनएमबी माइक्रो फाइनान्सको अध्यक्ष लामाले लिए सपथ

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आगामी ४ वर्षका लागि उत्तम ब्लोन लामा पुनः नियुत्त भएका छन् । नवनिर्वाचित अध्यक्ष लामालाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडलले सपथग्रहण गराएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण लिनुपर्ने प्रावधान छ । गत मंसिर १५ गते १५ पोखरामा सम्पन्न ५औं वार्षिक साधारण सभाबाट लामा सञ्चालकमा निर्वाचित भएपछि गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबी माइक्रोफाइनान्स एनएमबी बैंकको सहायक संस्था हो ।

पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : प्रमुख शाक्य

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिएका छन् । पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उनकाे यस्तो धारणा अाएकाे हो ।  प्रमुख शाक्यले भने , “सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस् ।” उनले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए । “पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो”, प्रमुख शाक्यले भने, “यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु । “रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं”, उनले भने , “सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।” विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो । रासस

२४९८ परिवार भूकम्प पीडितलाई एकिकृत बस्तीमा नयाँ घर

काठमाडौं । २४९८ परिवार भूकम्प पीडितलाई एकिकृत नमुना बस्तीमा सारिने भएको छ । तीमध्ये पनि ९६ परिवारलाई एकिकृत बस्तीका लागि घडेरी उपलब्ध गराईसकिएको छ । पुननिर्माण प्राधिकरण नापी शाखाका प्रमुख कमल प्रसाद घिमिरेका अनुसार हालसम्म २४९८ परिवार भूकम्प पीडितलाई स्थानान्तरण गरेर एकिकृत बस्तीमा सार्नुपर्ने निर्णय भएको हो । अझै करिब ५ सय परिवार भूकम्प पीडितलाई स्थानान्तरण गर्नुपर्नेबारे थप अध्ययन भैरहेको छ । हालसम्म ९६ परिवार भूकम्प पीडितले घर बनाउन घडेरी पाईसकेका छन् । नुवाकोटको उर्लेनीका २४ परिवारले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । त्यस्तै, रसुवाको डाँडागाउँका थप २४ परिवारले पनि नुवाकोटको शान्तिबजारमा घडेरी पाईसकेका छन् । प्राधिकरणले केहि दिन अघि मात्रै रसुवाको डाँडागाउँका थप ४८ परिवारलाई रसुवाकै बोगटीटारमा घडेरी उपलब्ध गराईसकेको छ । सरकारले स्थानान्तरण गरिनुपर्ने भूकम्प पीडितहरुलाई प्रति परिवार २ लाख रुपैंयाँका दरले घडेर खरिदका लागि उपलब्ध गराउने नीति लिएको छ । एकिकृत बस्ती विकासको योजना अनुसार खरिद हुने घडेरीमा प्राधिकरणले वत्ति, पानी, ढल, विद्यालय लगायतका संरचनाहरुको निर्माण भने आफैंले गरिदिनेछ । घडेरी पाउने भूकम्प पीडितहरुले घर बनाउन थप ३ लाख नगद समेत पाउनेछन् । केहिदिन भित्रै रसुवाका १० परिवार, नुवाकोटको उर्लेनीका थप ४७ परिवार र घ्याङफेदीका ७० परिवारलाई एकिकृत बस्तीमा घर बनाउन घडेरी उपलब्ध गराउने कार्यक्रम तयार भएको पनि घिमिरेले जानकारी दिए । त्यस्तै सिन्धुपाल्चोकको तीन ठाउँका भूकम्प पीडितलाई घडेर उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने गोरखाको पाइप लाइनमा रसुवाकै १० परिवार केरौँजामा एकिकृत बस्ती निर्माणका लागि स्थलगत अध्ययनको चरणमा पुगेको छ । भूकम्पले बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका पीडितहरुलाई एकिकेत बस्तीमा सार्ने योजना अन्तर्गत पुननिर्माण प्राधिरणले आफ्नो काममा तिब्रता दिएको हो ।

सरकारी ढुकुटीमा देखिएको संकट, व्याजदरमा उच्च वृद्धि र बैंकर्समा देखिएको डर

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सरकारी ढुकुटी असन्तुलित हुँदै गएको, बैंकहरुले दिनदिनै उच्च दरले व्याज बढाउन थालेको, तरलता संकट आउँदै छ भनेर बैंकर्सहरु डराउँदा बजारमा धेरै आशंका उत्पन्न भएको भन्दै बैकर्सहरुलाई संयमित हुन आग्रह गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापकहरुलाई नै वित्तीय साक्षरता आवश्यक देखिएको बताए । ‘एक हप्ताअघि बैंकहरुले १० प्रतिशत व्याजदरको विज्ञापन छापे, ५ दिनअघि साढे १० प्रतिशत व्याजको विज्ञापन छापे, तीन दिन अघि ११ प्रतिशत व्याजदरको विज्ञापन छापे, आज साढे ११ प्रतिशत व्याजदरको विज्ञापन छापियो’ आइतबार साँझ गुडविल फाइनान्स कम्पनीले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि कार्यक्रममा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले भने–‘यो राम्रो अभ्यास होइन । बैंकको नेतृत्वमा बसेका जिम्मेवार व्यक्तिहरुले पनि बैकिङ नबुझेको जस्तो देखियो । बैंङ्कर्सहरु आफैले मार्केटलाई प्यानिक बनाईरहेका छन् ।’ बैकिङ बजारमा तरलताको समस्या नभएको उनको दावी छ । बैंकिङ क्षेत्रमा अहिले पनि ३२ अर्ब रुपैयाँ अधिक तरलता रहेको उनले भनाई छ । तर सरकारी ढुकुटीमा भने असन्तुलन देखिएको उनले बताए । चालु आर्थिक वर्षमा राजश्व आम्दानीले सरकारी खर्च धान्न नपुगेको भन्दै उनले भने-‘यो राम्रो संकेत होइन ।’ ‘संघीयता कार्यान्वयन गर्नु पर्ने, स्थानीय निकायलाई बजेट निकासा गर्नु पर्ने अवस्थाले राजश्व आम्दानीले सरकारी खर्च धान्न पुगेको छैन’ उनले भने–‘यस्तो संवेदनशील अवस्थामा बैंकका निक्षेपकर्ता, ऋणी सबैलाई ढुक्क हुने वातावरण बनाउनुपर्छ । ठूलै संकट आउन लागे झै दिन दिनै कर्जा र निक्षेपको व्याज बढाउने र सर्वसाधारणमा के के न हुन लागे जस्तो सन्देश प्रवाह गर्ने काम गर्नु भएन ।’ पुस मसन्तमा सरकारी राजश्वमा पैसा धेरै जम्मा हुन जान्छ, एक वर्षअघि उच्च दरमा लिएको निक्षेप फिर्ता हुन सक्छ, त्यसले सीसीडी रेसियो असन्तुलिन हुन सक्छ भन्ने आँकनसहित बैकर्सहरु डराएको उनले बताए । ‘राष्ट्र बैंकले विकल्पहरुको बारेमा सोचिरहेको छ, तपाईहरु डराउनु पर्दैन’ उनले भने । सरकारको खातामा ३४८ अर्ब रुपैयाँ संचित रहेकोले सरकारलाई खर्च गर्न समस्या नभएको पनि उनले बताए । ‘विगत तीन वर्षदेखि सरकारले सबै आम्दानी खर्च गर्न नसकेर संचित हुँदै गएको रकम ३४८ अर्ब रुपैयाँ अझै खर्च भएको छैन । यो रकम खर्च बढ्दै गएको छ । बजारमा तरलता आउँछ’ उनले भने । तरलता अभाव सम्बन्धी डर वित्त कम्पनी तथा विकास बैंकहरु भन्दा केही वाणिज्य बैंकहरुमा धेरै देखिएको उनले बताए । ‘वाणिज्य बैंकहरुको भूमिकाले विकास बैंक र वित्त कम्पनीलाई पनि तर्साउने अवस्था सिर्जना भईराखेको छ’ उनले भने–‘नेपाल बैंकस संघ, विकास बैंकर्स संघ, वित्त कम्पनी संघ लगायतका संस्थाहरुबीच समन्वय गरी स्थायीत्व कायम गर्न सहयोग आवश्यक छ ।’ उनले बैंकहरुलाई रोजगारी सिर्जना गर्ने, उद्यमशिलता विकास गर्ने क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे । उनले १८ प्रतिशत वयस्कले बैकिङ सेवा प्रयोग गर्न नजानेको बताएका छन् । ‘उनीहरुले कुनै पनि प्रकारको वित्तीय संस्था सेवा लिएका छैनन्, उनीहरुको पहँुचमा वित्तीय सेवा पुगेको नै छैन’ डेपुटी गभर्नर श्रेष्ठले भने । ‘आई एम एमबीए एप’ सार्वजनिक गुडविल फाइनान्सले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम सार्वजनिक गरेको छ । झण्डै ४० प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र पहुँच वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए । स्कूल तहदेखि विद्यार्थीलाई ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि आई एम एमबीएको एप र पुस्तक तयार गरी सार्वजनिक गरिएको उनले बताए । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरेका छन् । साथै सामाजिक दाहित्वको रुपमा फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्रमा राखिने मेयर विद्यासुन्दर शाक्यले बताए ।

कहिले आउँछ एनएमबी बैंकको १ करोड १४ लाख कित्ता एफपीओ ? कति पर्छ मूल्य ?

काठमाडौं । एनएमबी बैंकले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बैंकले केही महिनाभित्रै एफपीओ निष्कासनको तयारी गरेको छ । एफपीओको प्रिमियम मूल्य तय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । एफपीओको मूल्य अहिले यति मूल्य हुन्छ भनेर भन्न नसकिने उनले जानकारी दिए । एनएमबीको प्रतिसेयर मूल्य ४६९ रुपैयाँ छ । हाल नियामक धितोपत्र बोर्डसंग यस विषयमा छलफल भइरहेको केसीले जानकारी दिए । सीईओ केसीले केही महिनाभित्र ल्याउनु पर्ने अवस्था रहेको भन्दै छिट्टै एफपीओ निष्कासन गर्ने बताए । “नियामक धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ” उनले भने “स्वीकृति पाउन साथ एफपीओ निष्कासनको प्रक्रिया सुरु गर्नेछौ ।” बैंकले १ करोड १४ लाख १५ हजार १६२ कित्ता एफपीओ निष्कासनका लागि गत जेठ २२ गते बोर्डमा निवेदन दिएको हो । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । एफपीओ निष्कासनपछि बैंकका चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । चालु आवको पहिलो त्रैमाशमा एनएमबीले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।