नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन दिने कार्य स्थगन गरिएको जनाएको छ । राष्ट्र बैंकले २०७० सालमा सवारी साधान बिक्री गर्ने कम्पनीहरुको लागि सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने अधिकार दिएको थियो । हाल सवारी साधान बिक्रीमा अगुवाई गरेका ठूला अटोमावाईल्स कम्पनीहरुले सहायक कम्पनी खोलेर ग्राहकलाई सवारी किन्न कर्जा सुविधा दिदै आएका छन् ।
सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुन्छ : ओली
शेयरबजारका समस्या राख्दै धितोपत्र दलाल संघ सञ्चालक शितल कोइराला भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् । आगामी सरकार गठन भएपछि पुंजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने ओलीले बताएका छन् । बधाइ दिन पुगेका नेपाल धितोपत्र दलाल संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बताएका छन् । ‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्’ ओलीले भने ‘तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’ ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाएका छन् । ओलीले धितोपत्र दलाल व्यावसायी संघ सञ्चालकहरुलाई भने ‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धमल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’ सञ्चार उद्यमीहरुको टोलीलाई अध्यक्ष ओलीले दलीय सहमतीबाट तयार गरिएको राष्ट्रिय सभागठन सम्बन्धि प्रस्ताव सरकारले स्थानीय तहको निर्वाचन पछि संसदमा पेश नगरेको बताए । ‘नियतबश त्यो प्रस्ताव सरकारले बेला छउन्जेल अगाडि बढाएन अहिले आफ्नो अनुकुल बनाएर अध्यादेशको रुपमा राष्ट्रपतिकँहा पुर्याएको छ ’ ओलीले भने ‘राष्ट्रपतिलाई अकारण विवादमा तान्ने प्रयास स्वरुप यो भइरहेको छ । ’
सेयर बजार १२ अंकले ओरालो
काठमाडौं । साताको अन्तिम सेयर कारोबार १२.३२ अंकले ओरालो लागेर १४७२.१५ अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कुल ४७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टार्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५८ लाख र मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७ अंकले झरेको छ । उत्पादनमूलक समूहको सूचक भने १४ अंकले उकालो लागेको छ । त्यस्तै, दोहोरो अंकले घटेको बजारमा पनि माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२११ रुपैयाँ रहेको छ । बजारमा विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब ६ प्रतिशतले घटेको छ ।
विद्युत प्राधिकरणले भन्योः लोडसेडिङ भएको छैन र हुँदैन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घोषित÷अघोषित कुनै किसिमको विद्युतभार काटौती (लोडसेडिङ) नभएको स्पष्टपारेको छ । विगत केही दिनदेखि विभिन्न आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा अघोषितरुपमा लोडसेडिङ भइरहेको र हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेको भन्दै विद्युत प्राधिकरणको लोडसेडिङको संभावना नरहेको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार प्रेश विज्ञप्ति जारी गरी अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित/अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको जानकारी गराएका छन् । प्राविधिक समस्याका कारण कही कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको उनले बताएका छन् । आपूर्तिमा गुणात्मक सुधार ल्याउन फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको उनले बताएका छन् । हिउँद लागेसँगै नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर माग बढ्ने तर सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा पनि व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरणले प्रतिबद्ध व्यक्त गरेको छ । गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ नगर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको उनले जानकारी दिएका छन् । यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ । नपुग करिब ३ सय मेगावाट औद्योगिक ग्राहकमा तीन घण्टा विद्युत कटौती गरेको जनाएको छ । यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको उनले घिसिङले जानकारी दिएका छन् । हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारणलाइन संरचनाबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारतबाट सहयोग पाइरहेका उनले स्पष्टपारेका छन् । विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा गत वर्षझैं यस वर्ष पनि आफ्नो तर्फबाट सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
मध्यभोटेकोसी जलविद्युतले २ अर्ब ९४ करोडको आईपीओ ल्याउँदै, साधारणसभाबाट पारित
काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न छैठौ वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनको बाटो खुला भएको छ । कुल पुँजीको ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ । ५१ प्रतिशत संस्थापक स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सभाले पारित गरेपछि सेयर निष्कासनको प्राविधिक काम सुरु भएको मध्यभोटेकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मणि काफलेले बताए । उनले इक्रासंग रेटिङको काम सुरु हुन लागेको जानकारी दिए । अहिले सेयर निष्कासन तथा बिक्री प्रवन्धकसंग छलफल भइरहेको काफलेले बताए । प्रथम चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९.५ प्रतिशतले हुन आउने १ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३.५ प्रतिशतले हुन आउने २१ करोड बराबरको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने ६ करोड बराबरको ६ लाख कित्ता सेयर निष्कासन हुने छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि कुल जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड बराबरको ६० लाख कित्ता तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ । सेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड., एस क्यापिटल लिमिटेड, सिबीआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले संयुक्त रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेबार पाएका छन् । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो ३ वर्षमा सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे हाइड्रोपावर लिमिटेड र सर्वसाधारणको लगानीमा निर्माण सुरु भएको आयोजना आउदो सन् २०१९ को जुन ३० मा सम्पन्न हुने गरी नयाँ कार्यतालिका तयार भएको हो । हाल आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको सीईओ काफ्लेले बताए । उनले निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुने स्पष्ट पारे । ठेकेदार चीनको क्वाँङ सी हाइड्रो इलेक्ट्रिक कन्ट्रक्सन ब्युरोले गत मार्चबाट पुनः निर्माण सुरु गरेको हो । सुरुङको कुल लम्बाई ७ किलोमिटर बढी छ । ९ अर्ब रुपैयाँ अनुमानित लागतमा सुरु भएको आयोजनाको काम जुरेपहिरो, भूकम्प र सीमा नाकावन्दीले गर्दा ढिलाइ भएपछि लागत बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । ३४ मेगावाट क्षमताका ३ वटा युनिटबाट वार्षिक ५४ करोड २२ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नदीको बहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाको कुल हेड २३५ मिटर छ ।
प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिहीबार मात्रै सो मात्रा अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बैंकले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत २ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।
एभरेष्ट बैंकको नयाँ निक्षेप खाता संचालनमा, दुर्घटना र औषधी उपचार बीमा पाइने
काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, कुनै पनि ब्रान्चबाट कारोबार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ । त्यसैगरी, बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।
गरिमा विकास र डिप्रोक्स डेभलपमेन्ट बैंकको कहिले देखि बुक क्लोज?
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको आगामी पुस १४ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुँदै छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २८ गते कम्पनीको वार्षिका साधारणसभामा जाँदै छ । त्यस्तै, डिप्रोक्स डेभलपमेन्ट बैंकको पनि आगामी पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुँदै छ । यस बैंक आगामी पुस २७ गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ ।