जाडाेकाे कारण रगतकाे अभाव बढ्दाे, सीई ग्रुप अफ कम्पनीले गर्याे रक्तदान कार्यक्रम
काठमाडौं । सी.ई. ग्रुप अफ कम्पनीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जाडोका कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उदेश्यले सी. ई. ग्रुप अफ कम्पनीले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । यस कार्यक्रमले रगतको अभावलाई सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । बुधबार सी.ई. ग्रुप अफ कम्पनीका प्रमुख बिजय राजभण्डारीले रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै सामाजिक उत्तरदायित्वमा संस्थाको ठूलो भूमिका रहने कुरा बताए । प्रमुख भण्डारीले यसरी रक्तदान गरी सेवा गर्ने मौका पाएकोमा आफु अत्तिनै हर्षित भएको बताए । यस्ता किसिमका सामाजिक कार्यहरु आगामी दिनहरुमा पनि गर्दै जाने कुरामा जोड दिए । उक्त रक्तदान कार्यक्रममा १२५ भन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका थिए । कार्यक्रममा निःशुल्क मधुमेह परीक्षण र डाक्टर परामर्श पनि प्रदान गरिएको थियो ।
साँसद नवराज सिलवाल विरुद्ध उजुरी, पक्रन प्रहरी परिचालन
काठमाडौं । ललितपुर जिल्ला क्षेत्र नम्बर १ का नवनिर्वाचित साँसद नवराज सिलवाल विरुद्ध किर्ते गरेको भन्दै मुद्धा परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी सिलवालविरुद्ध कागजात किर्ते गरेको अभियोगमा बुधबार प्रहरी प्रधान कार्यलय नक्सालमा उजुरी दर्ता गराएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले उजुरी दर्ता गराएको जानकारी दिए । गत साता सर्वोच्च अदालतले सिलवालले प्रहरी महानिरीक्षकमा बढुवाका लागि पेश गरेका कागजात किर्ते भएको भन्दै अनुसन्धान गर्न आदेश दिएको थियो । अदालतको फैसला कार्यन्वयन गर्नका लागि प्रहरी प्रधान कार्यलयमा उजुरी दर्ता भएको हो । प्रहरीले अब औपचारिक रुपमा जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने छ । मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सिलवाललाई थुनामा राखेर अनुसन्धान थाल्ने तयारी प्रहरीको छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले त्रुटी देखिएको भन्दै कार्वाहीका लागि आदेश दिएको हो । सर्वोच्चले सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको छ ।
एनआईसी एशिया बैंकले पायो एकै साथ दुई अवार्ड, बैंकिङ्ग क्षेत्रतर्फ उत्कृष्ट हुन सफल
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रतर्फको “बेष्ट ब्राण्ड अवार्ड” र “बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड” गरी दुईओटा अवार्ड पाएको छ । बैंकले वर्ल्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिट्युट एण्ड स्टार्स अफ द इन्डस्ट्री ग्रुपद्धारा एकैसाथ उक्त दुई अवार्ड पाएको हो । वर्ल्ड सीएसआर डे एण्ड वर्ल्ड सस्ट्याबिलिटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्धारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो । यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्याति प्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।
बैंक अफ काठमाण्डूको संस्थापक सेयर कर्मचारी संचय कोषले उठाउने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गर्न पाउने भएको छ । कोषले सबैभन्दा बढी प्रतिकित्ता २५१ रुपैयाँमा किन्ने प्रस्ताव गरेपछि अधिकाँश सेयर उठाउन पाउने देखिएको हो । कोषले लिलामीमा राखिएको सबै सेयर किन्न आवेदन दिएको थियो । बैंकले न्युनतम प्रतिकित्ता १ सय रुपैयाँ दरले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । बढी मूल्य कबोल गरेपछि संचय कोषले ६१ लाख ५० हजार कित्ता संस्थापक सेयर खरिद गर्न पाउने भएको हाे । १० हजारको हारहारीमा व्यक्तिगत लगायत अन्य आवेदन दिनेले खरिद गर्न पाउने भएका छन् । प्रारम्भीक नतिजाअनुसार ९१७ आवेदकले संस्थापक सेयर खरिद गर्न आवेदन दिएकोमा ८९० जना आवेदकले किन्न पाएनन् । २६ जना सेयरधनीको भागमा करिब ९ हजार कित्ता सेयर परेको छ । उनीहरुले २५० रुपैयाँदेखि ३८० रुपैयाँसम्ममा सेयर कबुलेका थिए । बाँकी सबै संचय कोषले पाएको सेयर बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सेयर लिलामीबाट लगभग १ अर्ब ५५ करोड रुपैयाँ जुटेकाे छ । संस्थागत रुपमा संस्थापक सेयर किन्नका लागि आवेदन दिनेमा एसियन लाइफ इन्स्योरेन्स कमपनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । एसियनले प्रतिकित्ता १८६ रुपैयाँमा ३ लाख २२ हजार ५ सय कित्ता १८६ रुपैयाँमा माग गरेको छ । नेकोले १३० रुपैयाँमा २ लाख ५५ हजार माग गरेको छ । यस्तै आइएमई इन्भेष्टमेन्ट लिमिटेडले २ लाख २५ हजार २१३ कित्ता, वल्र्ड वाइड इन्भेष्टमेन्ट कम्पनीले २ लाख ५ हजार २१२ कित्ता सेयर माग गरेको छ । हिमालयन जनरल इन्स्योरेन्सले १५० रुपैयाँका दरले २ लाख कित्ता माग गरेको छ । बैंकले संस्थापक ५१ र सर्वसाधारणको सेयर अनुपात ४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकलाई अझै एक अर्ब ७६ करोड रुपैयाँ पुँजी जुटाउनु पर्ने हुन्छ । संस्थापक सेयर लिलामी गर्नका लागि बैंकले मंसिर २९ गतेसम्म आवेदन माग गरिएको थियो ।
रनर मोटरसाइकल नेपाली बजारमा, ७ मोडेलका मोटरसाइकलको बिक्री शुरु
काठमाडौं । बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले रनर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड सार्वजनिक गरेको हो। रनर ग्रुप अफ कम्पनीका अध्यक्ष हफिजुर रहमन खान, सोही कम्पनीका प्रमुख कार्यकारी मुकेश शर्मा र रमन मोटर्सका अध्यक्ष बलराम महतो र प्रमुख कार्यकारी रमन महतोले शनिबार ह्यात होटलमा आयोजित एक समारोहका बीच उक्त ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७ मोडेलका मोटरसाइकल तथा १ ओटा स्कुटरको बिक्रि शुभारम्भ भयो। बंगलादेशको रनर ग्रुप अफ कम्पनीका चियर म्यान हफिजुर रहमनले नेपालको रमन मोटर्सका सिईओ रमन महतोलाई कम्पनीको प्रमाण पत्र प्रदान गर्दै, आधिकारिक रुपमा नेपाली बजारमा रनर ब्राण्डाका मोटरसाईकलको कारोबार गर्ने इजाजत दिएका हुन्। रमन मोटर्सले यस अघि कन्ट्रक्सन क्षेत्रमा मात्र काम गर्दै आएकोमा अब भने अटोमोबाईल क्षेत्र पनि काम गर्ने भएको हो। यो सँगै नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधनमा नयाँ ब्राण्डको उदय समेत भएको छ।यसले नयाँ पुस्ताहरुमा नयाँ ब्राण्ड र नयाँपन समेत थपेको कम्पनीले बताएको छ। नेपाली बजारमा अहिले सम्म कुनै पनि ब्राण्ड तथा कम्पनीले दिन नसकेको अधिकतम ६ वर्षको वारेन्टी समेत रनरले प्रदान गरेको रमन मोटर्स्का सिईओ महतोले दाबी गरेका छन् । उनले रनरको सेल्स्पछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । सेल्स्, सर्भिस् तथा स्पेयर पार्टस्सम्मको सुविधालाई मध्यनजर गर्दै बजारमा डिलर तथा वर्कशपहरुको व्यवस्था गरिएको बताएका छन्। हाल काठमाण्डौमा मात्र ९ ओटा र बाहिरी क्षेत्रमा १० वटा रनरको स्पेयर पार्टस्तथा सर्भिस सेन्टरको व्यवस्था गरिएको र कार्यक्रममा प्रमुख अथितिका रुपमा बंगलादेशका नेपालका लागि राजदुतमा सफीविन्ती शामंस्रहेकी थिईन भन्ने उनले बंगलादेशी उत्पादन रनरको नेपालमा उपस्थितिले व्यवसायीक रुपमा मात्र नभई दुई देशबीचको आत्मियतालाई समेत थप उचाईमा पुर्याएको बताएकी छिन् । सँगै रमन मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सुविधा सम्पन्न र वृहत शोरुमका साथै सर्भिस सेन्टर समेत खोलेको छ। यसले रनर मोटरसाईकलको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ। यहाँ मोटरसाईकल विक्रि वितरण गरिनुका साथै विक्रि पश्चातका सबै खाले सेवा तथा सुविधा समेत उपलब्ध गराईने कम्पनीले बताएको छ।
केयर रेटिङले बिहीबारदेखि सेवा आरम्भ गर्दै
काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले बिहीबारदेखि सेवा आरम्भ गर्ने भएको छ । केयर नेपालले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर १ गते रेटिङ सेवा सञ्चालनको अनुमति पाएको थियो । हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले केयर नेपालको सेवा आरम्भ गर्नेछन् । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ । कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५।५ प्रतिशत स्वामित्व रहेको छ । केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको हो । मुनासिव र प्रतिस्पर्धी मुल्यमा नेपालमा रेटिङको काम गर्ने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी साजन गोयलले सम्हालिरहेका छन् ।
ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सङ्खुवासभा जिल्लाको याखा चोकमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुबेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरेका हुन् । साथै, उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
बुधबारको सेयर बजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ४२ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा उतारचढाव आएको छ । बजार खुल्दा १४९३ अंकमा रहेको नेप्से करिब एक घण्टामा १० अंकले ओरालो लागेर १४८३ अंकमा पुगेको थियो । त्यस पछि फेरि एक घण्टाको अवधिमा ९ अंकले बढेर १४९२ अंकमा पुगेको नेप्से पछि पुन ओरालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा ९.२९ अंकले झरेर १४८४ अंकमा आइपुगेको छ । बजारमा नेप्से सहित कारोबार रकममा पनि गिरावट आएको छ । बुधबारको बजारमा कुल १५५ कम्पनीको ४२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जम्मा ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको जस्तै बुधबार पनि सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३१ र २६ अंकले झरेका छन् ।