हिमालय दोलाखाको क्यासकेडको काम अन्तिम चरणमा, पुसको दोस्रोसातादेखि ८ मेगावाट बिजुली उत्पादन हुने
काठमाडौं । हिमालय दोलखा हाइड्रो पावरको लगानीमा निर्माण भइरहेको ८ मेगावाटको क्याकेड आयोजनाबाट पुसको दोस्रो साताबाट बिजुली उत्पादन हुने भएको छ । हिमालयले आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताए । आयोजनाको ४ किलोमिटर लामो नहरको काम सम्पन्न भइसकेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्मित उक्त क्यास्केड आयोजनाको निर्माण लागत १ अर्ब २० करोड रुपैयाँ छ । आयोजनामा एभरेष्ट बैंक, नेपाल एसबीआइ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको लगानी छ । राजदुवाली छेउको इन्टेकमार्फत नहरमा पानी लगाएर राँगापानीमा बनेको विद्युत्गृहमा पुर्याउने आयोजनाले जनाएको छ । हाल विद्युतगृहमा मेसिनको जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । उत्पादित विद्युत्लाई काबेली कोरिडोरमार्फत गोदक सवस्टेशनमा जडान गरिने र त्यहाँबाट राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी भइरहेको छ । विद्युतगृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले जानकारी दिए । विद्युत् लाइनका लागि करिब ३ किलोमिटर लामो ३३ केभी प्रसारणलाइनको समेत काम भइरहेको उनले बताए । कम्पनीले करिब पाँच वर्षअघि नै इलामको राजदुवालीमा ६ मेगावाटको आयोजना निर्माण सम्पन्न गरिसकेको छ । सोही आयोजनाबाट निस्किएको पानीलाई सदुपयोग गरी क्यास्केड आयोजना निर्माण गरिएको हो । यो आयोजना निर्माणसँगै इलामको माइखोलामा हालसम्म अपरमाइ, सानिमामाइ र हिमाल दोलखाका दुई÷दुई वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । रासस
मुक्तिनाथ विकास बैंकले ल्यायो ११ प्रतिशत ब्याज दिने मुद्धति योजना
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सुपर प्रिमियम वचत तथा ट्रिपल २ ट्रिपल धमाका वचत योजना ल्याएको छ । १२ औं वर्षमा प्रवेश गरेको अवसर पारेर बैंकले यस्तो योजना ल्याएको हो । बैंक पुस १९ गते १२ औं वर्षमा प्रवेश गर्दै छ । बैंकले यस निक्षेप योजनामा ११ प्रतिशतसम्म ब्याज दिने छ । यस योजनाअन्तर्गत न्यूनतम मौज्दात ५ हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ८ प्रतिशतका दरले त्रैमासिक ब्याज भुक्तानी हुने बैंकले जानकारी दिएको छ । २२२ दिने मुद्दतीखातामा न्यूनतम १ लाख रुपैयाँमा वार्षिक ११.०० प्रतिशत त्रैमासिक रुपमा बैंकले ब्याज दिने घोषणा गरेको छ । यस योजनाअन्तर्गत खाताखोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ तथा निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सकिने छन् । योजना पुस २ गतेदेखि सुरु भई सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ । व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु यो योजनामा सहभागी हुन पाउने छन् ।
साना किसान विकास बैंकले २६ प्रतिशत लाभांश दिने
काठमाडौं । साना किसान विकास बैंकले सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न १६औं वार्षिक साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । अधिकृत तथा जारी पुँजी १ अर्ब रुपैयाँ पु¥याउन प्रस्ताव पारित गरिएको छ । बैंकले गत असारसम्म ५२ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरी ३८ अर्ब ८५ करोड रुपैयाँ असुली गरेको छ । कात्तिकमा बैंकको लगानीमा रहेको ऋण १४ अर्ब ७४ करोड रुपैयाँ र भाखा नाघेको कर्जा १ प्रतिशतभन्दा कम रहेको छ । बैंकले गत आवमा ३३ करोड ०८ लाख रुपैयाँ खुद नाफा गरेको छ । सरकारको ऋण सहयोगमा सञ्चालित पशुपालन कर्जा कार्यक्रमबाट ८३ हजार साना किसानलाई ७ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ ।६८ जिल्लाका ६६३ साझेदार संस्था एवम् १५८ अनुसरण कार्यक्रम मार्फत ७ लाख १५ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारलाई वित्तीय पहुँचमा जोडेको छ । यस कार्यक्रममा ७७ प्रतिशत भन्दाबढी महिला सहभागिता छ ।
ओम डेभलपमेन्टको हकप्रद सेयर लिलामी पुस ९ गते
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले संस्थापक र साधारण समूहको हकप्रद सेयर लिलामी गर्ने भएके छ । बैंकको संस्थापक र साधारण गरी २ लाख ५२ हजार ६६९ कित्ता हकप्रद पुस ९ गते लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकको ४६ हजार ८२ र साधारणको २ लाख ६ हजार ५८७ कित्ता हकप्रदको आवेदन नपरेपछि लिलामीबाट बिक्री गर्न लागेको हो । चुक्तापुँजी बढाउन ओमले हकप्रद सेयर निष्कासन गरेको थियो ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको साधारण समूहको हकप्रद लिलामी पुस २० गते
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ । फाइनान्सले ४५ हजार ८७६ कित्ता साधारण हकप्रद लिलामीका लागि पुस २० गते अन्तिम मिति तोकेको छ । फाइनान्सले चुक्तपुँजी बढाउन कात्तिक १२ देखि मंसिर १८ गतेसम्म हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेको सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।
सानिमामाई हाइड्रोपावरले सेयरधनीलाई २९ करोड नाफा नबाँड्ने
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले २९ करोड रुपैयाँ खुदनाफा नबाँड्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको खुदनाफा संचित कोषमा राखेर १४ मेगावाट क्षमताको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । गत आवमा कम्पनीले २८ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । कम्पनीले पुस २८ गते छैठौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभामा लाभांश दिने प्रस्ताव गरेको छैन् । सत्प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि चुक्तापुँजी बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी बढेर सेयरधनीलाई ७ प्रतिशत मात्र लाभांश दिने अवस्था आएपछि गत आवमा गरेको नाफालाई संचित कोषमा राखेर मैलुङ जलविद्युत बनाउन लगानी गर्ने सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदाश श्रेष्ठले बताए । “थोरै लाभांश बितरण गर्नुभन्दा नयाँ आयोजनामा लगानी गर्न उपर्युत्त देखेर यस्तो निर्णय गरिएको हो” उनले भने । सानिमामाईले २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । गत आवमा सानिमामाईले बिजुली बिक्री, ब्याज र विविध शिर्षकबाट गरी ८० करोड ५१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै गैरआवासिय नेपालीद्धारा प्रवद्र्धित सानिमामाईले २.५ मेगावाटको सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमा हाइड्रोपावर लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्तिका लागि सभामा प्रस्ताव पेश हुदैछ । सभामा समुह ख तर्फ प्रतिनिधित्वका लागि २ जना सञ्चालक समिति चयनका लागि निर्वाचन गर्ने प्रस्ताव रहेको सानिमाले जनाएको छ । २२ मेगावाटको माई र ७ मेगावाटको माईक्यासकेड गरी २९ मेगावाट क्षमताको २ आयोजना निर्माण सम्पन्न गरेको सानिमाले ५४ मेगावाटको मध्यतमोर र २८ मेगावाटको तल्लोलिखु आयोजनामा बनाउन लागेको हो । कम्पनीमा संस्थापकको ७०, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र सर्वसाधारणको २० प्रतिशत सेयर लगानी रहेको छ । दुबै आयोजना आगामी सन् २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस्तै साढे २ सय मेगावाटको तमोर आयोजना बनाउने तयारी गरेको छ ।
नेरुड लघुवित्त विकास बैंकको साधारणसभा पुस २९ गते, २०.६८ प्रतिशत लाभांश दिने
काठमाडौं । नेरुड लघुवित्त विकास बैंकले २०.६८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको पुस २९ गते हुने ११ औं वार्षिक साधारणसभामा लाभांश दिने प्रस्ताव पेश हुने भएको छ । बैंकले ३ करोड ९७ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३५ लाख १३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुने जानकारी दिएको छ । यस्तै बैंकको अधिकृत पुँजी ३० करोडबाट बढाएर ४० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । सभाले साधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।
चेम्बरले प्रचण्डलाई भेटेर दियो बधाई, आर्थिक समृद्धिमा जोड दिन आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बामगठबन्धनलाई बधाई दिएको छ। चेम्बरदे प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएकोमा बधाई ज्ञापन गरेको हो । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्वरको पदाधिकारी एवं कार्यसमितिको टोलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार भेटघाट गरी बधाई ज्ञापन गरेको छ । भेटघाटमा उनले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर मुलुकको आर्थिक समृद्धि हुने विश्वास लिएका छन् । अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक समृद्धिका लागि कानुनमा भएका त्रुटीहरुलाई सुधार गरी लागनी मैत्री वातावरण निर्माण गर्नुपर्ने अवाश्यकता औंल्याए । साथै उहाँंले आर्थिक विकासका लागि भ्रष्टाचारमुक्त समाजको आवश्यकतामाथि पनि विशेष जोड दिए । भेटघाटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँंगको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । यसकारण निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढन आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि सुझाब दिन निजी क्षेत्रसँंग आग्रह पनि गरे ।