पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मतदान, सबैभन्दा बढी बाजुरामा
काठमाडौं । आज भएको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज शान्तिपूर्ण एवं उत्साहजनकरुपमा भएको आयोगले बताएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भएको थियो । आज बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य बेलुका ५ बजे सम्पन्न भएको थियो । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । रासस
सोलुखुम्बुका तिङलावासीले फेरि गरे चुनाव बहिष्कार, निर्वाचन शान्तिपूर्ण रहेको आयोगको निश्कर्ष
काठमाडौं । सोलुखुम्बुको तिङलाका बासिन्दाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको निर्वाचन आयोगले जनाएको छ । उक्त बहिष्कारको कारणमा क्षेत्र निर्धारण गर्दा आयोगला साबिकको भन्दा अपाएक परेको जनाइएको छ । धेरै स्थानहरुमा मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीको सूचीमा नभएका कारण मतदाताहरु आफ्नो मताधिकारबाट बञ्चित रहेको समेत पाइएको आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ३२ जिल्लाहरुमा पहिलो चरणको निर्वाचन बेलुकी ५ बजे सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो । संविधान, २०७२ जारी भएपछि पहिलो र ऐतिहासिक निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने सुनिश्चितता प्रदान गर्ने देखिएको आयोगले जानकारी दिएको छ । केही समय पहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आजको सम्पन्न भएको निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनका्े दिनमा छिटपुट रहेको पाइयो र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको र उक्त घटनाहरु भएतापनि निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको आयोगले बताएको छ । विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थीतिमा सहजै व्ययवस्थापन गरेको पाइयो । यो निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको समेत पाइयो । स्थानीय तहको निर्वाचनको तुलनामा मतदाताहरुलाई मतदान गर्न सहज भएको देखियो जसका कारण मतपत्र बदरमा कमी आउने सक्नेछ । हाम्रा पर्यवेक्षकहरुले पठाएको सूचनाको आधारमा सामान्य छिटपुट घटना भएको जानकारी आएता पनि तुलनात्मक रुपमा निर्वाचन शान्तिपूर्वक भएको पाईएको छ ।
प्रधानमन्त्री देउवाद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद दिएका हुन्। दोस्रो चरणको निर्वाचन मंसिर २१ गते पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउँदै उहाँले तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् । संविधानले पहिलोपटक मुलुकको सार्वभौमसत्ता अधिकार नेपाली नागरिकमा निहित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाली नागरिकले प्राप्त सार्वभौम अधिकारको प्रयोग निर्वाचनका माध्यमबाट गरेकोमा खुशी व्यक्त गर्नुभएको छ । “नेपाली नागरिकको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव, सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदाझैँ सहयोग र सद्भावको अपेक्षा गर्दछु” विज्ञप्तिमा उल्लेख छ । संविधानअनुसार तीन तहको सरकार निर्माण गर्ने सन्दर्भमा संघीय संसद् र प्रादेशिक संसद्को लागि आफ्ना जनप्रतिनिधि छनोट गर्ने प्रथम चरणको निर्वाचन आज मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम नागरिकले दैनिक रुपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्य शुरु गरिसकेको छन् । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा यही मंसिर २१ गते हुँदैछ । रासस
उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई सरकारले दियो ८ रोपनी घडेरी, बाटो, बत्ति र खानेपानी पनि बनाईदिने
काठमाडौं । नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उर्लेनीका २४ भूकम्प पीडितका लागि प्रति परिवार २ लाखले दरले ८ रोपनी जमिन किनिदिएको हो । सो जमिनमा अब उनीहरुले एकिकृत बस्ती निर्माण गर्नेछन् । त्यसका लागि प्रधिकरणले अतिरिक्त ३ लाख रुपैंयाँ निजी आवास निर्माणका लागि उपलब्ध गराउनेछ । उर्लेनीमा भूकम्पले घर बनाउन नहुने गरि क्षति पुर्याएपछि सरकारले उनीहरुका लागि खरानीटारमा घडेरी किनिदिएको हो । २४ परिवारका लागि घडेरी किनिदिएको प्राधिकरणले सो क्षेत्रमा बाटो, बिजुली, खानेपानी र ढलको संरचना समेत निर्माण गरिदिनेछ । ‘भूकम्प पीडितहरुले नै खोजेको जमिन किनिदिएका हौं, अब उनीहरुले निजी आवास अनुदानबाट घर बनाउनेछन, हामी सडक, विद्युत, खानेपानी र ढल लगायतका पुर्वाधार निर्माण गरिदिनेछौं’, प्राधिकरणका नापी अधिकृत कमल घिमिरले विकासन्युजसँग भने । उर्लेनीका ७१ परिवार भूकम्प पीडितलाई नयाँ स्थानमा सार्नुपर्ने अध्ययनले देखाएको थियो । बाँकी परिवारलाई पनि खरानीटार आसपासमै जमिनको खोजी भैरहेको पनि घिमिरेले जानकारी दिए । प्राधिकरणले ४८ लाखमा ८ रोपनी जमिन खरिद गरेर पीडितका नाममा नामसारी गरिदिएको हो । प्राधिकरणले सडक, पानी, विद्युत र ढल निकासको पुर्वाधार बनाउन प्रति परिवार २ लाखको हाराहारीमा थप लगानी गर्नेछ । एकीकृत वस्ती बिकास सम्बन्धी कार्यबिधी अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराई वा शहरी क्षेत्रमा ३ लाख रुपैयासम्म प्रति घरपरिवारको हिसावले सरकारले पुर्वाधार बिकास लागि खर्च गर्ने व्यवस्था छ । २०७४ असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौं बैठकले जोखिमयुक्त वस्तीका भूकम्प पीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको थियो । यी हुन घडेरी पाउने भूकम्प पीडित लाल बहादुर तामाङ, वुद्धि बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, माइला तामाङ, नर बहादुर तामाङ, माल्सानी तामाङ, हिरालाल तामाङ, डिल्ली बहादुर तामाङ, मान बहादुर तामाङ, लाल बहादुर तामाङ, भिम बहादुर तामाङ, लाल बहादुर थिङ तामाङ, दमाई सिंह तामाङ, इश्वरीमाया तामाङ, निमा थिङ तामाङ, ललितमान तामाङ, मंगल बहादुर तामाङ, पोडे तामाङ, वुदे वाइवा तामाङ, साङमो तामाङ, सुकमान वाइवा तामाङ, फुलमाया तामाङ, माइली तामाङ र रोक्सानी तामाङ
११५ वर्षीया वृद्धाबाट मतदान
नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी िछन् । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गरेकी हुन् । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेका मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए । विसं १९५९ साल चैत १० गते जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताए। यस्तै सूर्यगढी गाउँपलिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारीले पनि आज भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी भए । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मत दिनुभएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिए । रासस
स्थानीय तहमा एक भोट बराबर ५ हजार, प्रदेश र केन्द्रमा कति ?
चुनाव खर्चिलो हुदै गएको निर्वाचन आयोगले गरेको अध्ययनले देखाएको छ । पछिल्ला वर्षमा उम्मेदवारले घोषणापत्र भन्दा पनि नोटपत्रमा बढी जोड दिएका कारण चुनाव महंगो हुन गएको छ । आयोगले ३ चरणमा भएको स्थानिय तहको निर्वाचनमा एक भोटको मूल्य ४ हजार ९२३ रुपैयाँ परेको देखाएको छ । आयोगको यो अध्ययनले चुनाव जित्न राजनीतिक दलका उम्मेदवारले पैसाको खोलो बगाएको देखाएको छ । स्थानीय तहमा देखिएको खर्चको अवस्था हेदा काहाली लाग्दो छ । केन्द्र र प्रदेशको निर्वाचनमा यो भन्दा कयौं गुणा बढी खर्च हुने देखिएको छ । निर्वाचन आयोगका अनुसार सरकार र उम्मेदवारले एक भोट बराबर ४ हजार ९२३ रुपैयाँ खर्च गरेका छन् । जसमध्ये सरकारले मात्रै १ हजार ३ सय ९ रुपैयाँ खर्चिएको छ । गत स्थानीय चुनावमा ७० अर्ब रुपैयाँ खर्च भएको छ । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोग, सरकार र उम्मेदवारबाट ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको खर्च भएको आयोगको जानकारी दिएको छ । यो त देखिएको हिसाव हो । अप्रत्यक्ष रुपमा उम्मेदवारले गरेको खर्चको यो भन्दा कयौं गुणा बढी छ । प्रतिवेदनअनुसार आयोगले स्थानीय तहको चुनावका लागि ७ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको थियो । यसमा सरकारको खर्च १८ अर्ब ४६ करोड रुपैयाँ निस्किएको छ भने उम्मेदवार तथा तिनका दलबाट ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको खर्च भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारले मात्र २५ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ । स्रोतका अनुसार व्यवसायीक क्षेत्रबाट उम्मेदवार बनेकाले चुनाव जित्नका लागि २५ करोड रुपैयाँ बढी खर्च गर्न तयार भएका छन् । केही साता अघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनावमा पैसाको खोलो बगाउन थालिएकाले महंगो हुन गएको बताएका थिए । आयोगले कालो धनको प्रयोग निर्वाचनमा भएको हुन सक्ने भन्दै बढी खर्च गर्ने उम्मेदवारमाथि अनुसन्धान थाल्न सम्पत्ति सुद्धिकरण विभाग र आन्तरिक राजश्व विभागलाई अनुरोध समेत गरेको छ । प छिल्लो समया भएको भड्किलो खर्चलले अब लाखमा खर्च गर्ने उम्मेदवारले चुनाव नउठे पनि हुने दिन आएको छ । यसले गर्दा मुलुकको राजनीति पैसावालको हातमा पुग्ने निश्चित भएको छ ।
सेयर बजार २१ अंकले बढ्यो, यी हुन धेरै कारोबार हुने ६ कम्पनी
काठमाडौं । आइतबार सेयर बजार २१ अंकले बढेको छ । केही दिनदेखि गिरावट आएको सेयरबजार आइतबार बढेर नेप्से परिसूचक १५१४.३४ अंकमा पुगेको छ । बजार बढेपछि आइतबार ५९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार व्यापार बाहेक सबै क्षेत्रको बजार बढेको छ । आइतबार सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंकको भएको छ । स्ट्यान्डर्डको प्रतिकित्ता २ हजार ११५ रुपैयाँमा ६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नेपाल बैंकको ५ करोड ५९ लाख, चिलिमे हाइड्रो पावर कम्पनीको ४ करोड १२ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४९ लाख, एभरेष्ट बैंकको २ करोड ३८ लाख र बुटवल पावर कम्पनीको २ करोड २२ लाख मूल्य बराबरको सेयर किनबेच भएको छ । आइतबार बढी कमाउनेमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता २७५ रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २३५ रुपैयाँ कमाएका छन् ।
०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउन टेलिकमको अनुरोध
काठमाडौं । नेपाल टेलिकमले ०१२३४५६ र १२३४५६ जस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको छ । टेलिकमले सेवा ग्राहीहरुलाई एसएमएस पठाएर त्यस्ता नम्बरबाट आएका फोन नउठाउन अनुरोध गरेको हो । पछिल्लो समय त्यस्ता नम्बरबाट आईरहेका फोन कलहरुका कारण उपभोक्ता ठगिने क्रम बढेको भन्दै टेलिकमले कल नउठाउन भनेको हो । त्यस्ता नम्बरबाट आएका फोनहरुले चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई उल्टै ठगि गरिरहेको टेलिकमले जनाएको छ । त्यस्ता फोन कल कहाँबाट र कसले गरिरहेको छ भन्नेबारे टेलिकमले अध्ययन गरिरहेको जनाएको छ ।