एनएमबि बैंकद्धारा भिसा प्लेटिनम क्रेडिट कार्ड शुरु, १० लाख रुपैयाँसम्मको क्रेडिट सुविधा
काठमाडौं । एनएमबि बैंकले भिसा प्लेटिनम क्रेडिट कार्ड शुरु गरेको छ । सोमबार एनएमबि बैंक र भिसाले संयुक्त रुपमा उक्त कार्डको शुरुवात् गरेका हुन् । यो शुरुवातसँगै एनएमबि बैंक नेपालमा भिसा प्लेटिनम क्रेडिट कार्डको सेवा प्रदान गर्ने दोस्रो बैंक बनेको छ । नयाँ वितरण गरिएको एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्डमा ईएमभी चीप प्रविधि जडान गरिएको छ, जुन कार्ड विश्वव्यापी रुपमा स्वीकार्य हुनुका साथै कारोबारको प्रमाणिकता, छिटो उपलब्धता, अत्यन्त सुविधादायक र सुरक्षित कारोबारको माध्यमका लागि एक अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम रहेको कम्पनीले जनाएको छ । “हाम्रो उद्देश्य हाम्रा बैंकिंङ्ग सेवाहरुको पहुँच विस्तार गर्नु र धेरैभन्दा धेरै मानिसहरुलाई सर्वोत्कृष्ट वित्तिय समाधानहरु उपलब्ध गराउनु हो । यो कार्डले हाम्रा सेवाग्राहीहरुलाई एक उत्कृष्ट आर्थिक प्रणालीको एक हिस्सा हुनुको फाइदा र वास्तविक लाभको सुविधाको अनुभूति दिलाउनमा मद्दत गर्ने” बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । कम्पनीका अनुसार यस क्रेडिट कार्डमा ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, अधिकतम क्रेडिट सुविधा दुई लाख ५० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म दिइने छ । साथै, प्रमुख व्यापारिक केन्द्रमा सामान खरीद गर्दा मात्र यसमा विशेष छुट र सहज कर्जा सुविधा लगायतका सुविधा दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड बैंकले प्रस्ताव गरेको व्यक्तिलाई मात्र उपलब्ध हुनेछ ।
कमोडिटिज मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा, यस्ता छन् विशेषता
काठमाडौं । कमोडिटिज मार्केट्स सम्बन्धी ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तु विनिमय वजार सम्बन्धी ऐन र सो सम्बन्धी नियमावली मंसिर ९ गतेदेखि कार्यान्वयनमा आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ ११ गते ऐनमा लाल मोहर लगाएकी थिइन् । ऐनमै लाल मोहर लागेको ९१ औं दिनमा कार्यान्वयनमा आउने उल्लेख थियो । सोही अनुसार बोर्डले ९१ औं दिन अर्थात मंसिर ९ गतेदेखि नियमावली समेत कार्यान्वयनमा ल्याएको हो । हाल नियमनको दायरा बाहिर रहेको कमोडिटिज मार्केट्स अब बोर्डको मातहतमा आएको छ । नेपालको कृषि क्षेत्रको विकासका लागि कमोडिटिज मार्केट्सले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । यस्ता छन् कमोडिटिज मार्केट ऐन तथा नियमावलीका बिशेषताहरु – वस्तु विनिमयबजार सञ्चालनगर्न कम्पनी संस्थापनागर्नु अघि संभाव्यता अध्ययनप्रतिवेदन,लगानीको स्रोत, सेयर स्वामित्व सम्वन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्था लगायतका विवरण सहित बोर्डवाट पूर्व स्वीकृतिको लागि निवेदन पेश गर्नुपर्ने, – त्यस पश्चात अनुमति प्रदान गर्ने र अनुमति प्राप्त गरेको १ सय ८० दिन भित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने, – वोर्डवाट अनुमतिपत्र लिएर मात्र वस्तु विनिमय वजार सम्वन्धी कार्य गर्न पाइने, न्यूनतम चुक्ता पूँजी सम्बन्धी व्यवस्था निम्नानुसारको हुनुपर्नेः -वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी रु. ५० करोड, -वेयर हाउसको रु. १५ करोड, -राफसाफ तथा फस्र्यौट व्यवसायको रु. ७ करोड -लगानी व्यवस्थापकको रु. ५ करोड, -लगानी परामर्शदाताको रु. १ करोड तथा -वस्तु कारोवार दलालको रु. ५० लाख – देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमय बजार संचालन गर्न चाहिने साधन/स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय वजारलाई अनुमति दिने, -कसैले पनि वस्तु विनिमय वजारको कूल शेयर पूंजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने, -वस्तु विनिमय बजारको अनुमति लिएको तीनबर्ष सम्म शेयर बिक्री गर्न नपाईने र त्यस पश्चात शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृति लिनुपर्ने, – ऐन तथा नियमावलीले तोकएको योग्यता पूरा गरेको व्यक्तिवा संस्थाले मात्र शेयर स्वामित्व लिन सक्ने, – विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने । त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदार वस्तु विनिमयबजार सम्बन्धी व्यवसाय संचालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने, कारोवार गर्न सकिने वस्तुहरुको सूचि निम्न वमोजिम हुने र वोर्डले आवश्यकता अनुसार थप गर्न सक्ने, (क) कृषिजन्यउत्पादन: कपास, अलैंची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुलतथा सोबाट निर्मित जुस । (ख) धातुजन्य वस्तुः आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक । (ग) बहुमूल्यधातुः सुन, चाँदी, प्लाटिनम । (घ) खनिजतैलजन्य वस्तु: कच्चा तेल, पेट्रोलियनपदार्थ, प्राकृतिकग्यास, हिटिड्ड आयल । (ङ) तेल: नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल । (च) अन्य-चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी । – कारोवार पूर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने, -वस्तु विनिमयबजारले कारोबार शुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने, -बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी स्वचालित कारोबार प्रणाली स्थापना गर्नुपर्नेे, – व्यवसायीले ग्राहकको स्पष्ट पहिचान हुने विवरण (केवाइसी) सहितको अभिलेख राख्नु पर्ने, -अनुमतिपत्र प्राप्त संस्थाले बार्षिक, अर्ध बार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने, -बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथाअनुगमन गर्ने, -वस्तु विनिमयबजारले लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्ट फण्ड स्थापना गर्नुपर्ने व्यवस्था रहेको, -ऐन, नियमावली तथा वोर्डले दिएको निर्देशन पालना नगरेमा, कारोवार रोक, अनुमति पत्र निलम्वन, खारेजी, विगो बमोजिमवा रु १० लाख सम्म जरिवानावा ५ वर्ष सम्म कैद हुन सक्ने ।
सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य नियुक्त भएका छन् । उक्त नियुक्ति सम्बन्धि सम्झौता पत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका हुन् । मह जोडीले प्रत्येक परिवारको लागि जीवन बीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने कम्पनीको विश्वास रहेको छ । साथै, जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्ने कम्पनीले जनाएको छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको छ । साथै, आफ्नो २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।
‘सबैभन्दा द्रुतगतिको इन्टरनेट सेवा दिएका छौं’-सजीन राजभण्डारी, स्मार्ट टेलिकम
काठमाडौं । फोन, इन्टरनेट लगायत सबै प्रकारको दुरसञ्चार सेवा प्रदान गर्न एकिकृत लाईसेन्स पाएको स्मार्ट टेलिकमले पछिल्लो समय सशक्त रुपमा सेवा विस्तार गर्दैछ । कम्पनीले हालै चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सञ्चालन गर्ने स्मार्ट टेलिकम तेस्रो दुरसञ्चार कम्पनी हो । ‘स्मार्टको फोरजीको स्पीड फास्ट छ, उपभोक्ताले मन पराएका छन्, नेटवर्क बढाउने चुनौति छ’ स्मार्ट टेलिकमका प्रमुख प्रशासकीय अधिकृत सजीन राजभण्डारीले भने । स्मार्टसेलले आफ्ना ग्राहकका लागि प्रति सेकेण्ड १ पैसामा कल गर्न सक्ने र १ महिनाका लागि भाइबर र ह्वाट्सएपमा निःशुल्क कल गर्न सक्ने योजना ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले १ जिबी डाटा २३५ रुपैयाँमा ३० दिनसम्म प्राप्त गर्न सक्नेछन् भने १४५ रुपैयाँमा ७५० एमबी डाटा १५ दिनसम्म प्रयोग गर्नसक्नेछन् । ‘१० मेगाहर्ज व्याण्डविद क्यापासिटीको फोरजी सेवा भएकोले इन्टरनेट धेरै फाष्ट छ । अरु कुनै पनि कम्पनीको इन्टरनेट सेवा यति फाष्ट छैन’ राजभण्डारीले भने–‘अब टेलिकमको विजनेश भनेको डाटा नै हो । भ्वाइस कल भन्दा डाटाको प्रयोग नै हुने गरेको छ । युवा पुस्ताहरु अनलाईन च्याटमा रमाउँछन् । कुरा गर्न पर्दा पनि म्यासेन्जर, भाईवर, ह्वाट्एपको प्रयोग बढी गर्छन ।’ हाल काठमाडौं र पोखराबाट फोरजी सेवा शुरु गरेको यस कम्पनीले निकट भविष्यमा चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, बीरगञ्ज, विराटनगरमा सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । सहरी क्षेत्रमा होइन, कम्पनीले विकट क्षेत्रमा पनि टावर राख्ने र सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए । ‘हाल कम्पनीले राजधानीमा टावर थप्ने कार्यलाई उच्च प्राथमिकता छ । कम्पनीले काठमाडौं, पोखरा र चितवनमा कभरेट विस्तार गर्न थप २७० वटा टावर राख्ने तयारीमा छ’ प्रमुख प्रशासकीय अधिकृत राजभण्डारीले भने–‘त्यसपछि कम्पनीले विरगञ्ज, बुटवल–भैरहवा, नेपालगञ्जमा सेवा विस्तार गर्दैछ ।’ सहरी क्षेत्रमा होइन, कम्पनीले विकट क्षेत्रमा पनि टावर राख्ने र सेवा विस्तार गर्ने प्रक्रिया जारी रहेको उनले जानकारी दिए । नयाँ टावर विस्तारको लागि आवश्यक सामाग्री खरिद प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । नयाँ टावरका सामान खरिददेखि निर्माणसम्ममा प्रति टावर २५ देखि ६० लाख रुपैयाँ खर्च हुने गरेको राजभण्डारीले जनाकारी दिए । ३५ ठाँउमा सेवा प्रदान गर्दै आएको स्मार्टसेल नेपालको तेस्रो ठूलो दुरसञ्चार सेवा प्रदायक संस्था हो । सन् २००८ देखि नेपालमा सेवा सुरु गरेको यो कम्पनीका १५ लाख ग्राहकहरु छन् । हाल स्मार्टसेलको वार्षिक कारोबार करिब ६० करोड रुपैयाँ रहेको छ । ‘बजार प्रशस्त छ र हामी आक्रामक रुपमा सेवा विस्तार गर्दैछौं’ राजभण्डारीले भने । कम्पनी आगामी २ वर्षभित्र नाफामा लैजाने लक्ष्यका साथ काम गरिरहेको छ । सेवा विस्तार गर्न करिव ८० जना कर्मचारी खटिरहेका छन् । अहिलेको स्पीडमा कम्पनी निरन्तर अगाडि बढेको अवस्थामा आगामी ३ वर्षमा स्माट टेलिकम दोस्रो ठूलो कम्पनी हुने उनले बताए ।
गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा नारायणकुमार भट्टराई नियुक्त भएका छन् । बैंकको संचालक समितिको १४२ औं बैठकले कम्पनीको सीईओ पदमा भट्टराईलाई नियुक्त गरेको हो । संचालक समितिले मंसीर ११ गतेदेखि लागु हुनेगरि भट्टराईलाई सिईओ पदमा ४ वर्षको लागि नियुक्त गरेको हो । नवनियुक्त भट्टराईले पुने यूनिभर्सिटीबाट बीएससी तथा म्यानीपुर यूनिभर्सिटीबाट एमबीए उपाधि हासिल गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरि मिति २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा सहायक महाप्रबन्धक पदमा नियुक्त भएका भट्टराई मिति २०७० साल माघ १ गतेदेखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए । कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेबारी कुशलतापुर्वक निर्वाह गरि सकेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरि सकेका छन् । जीवन बीमा क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिइएको छ ।
कमोडिटिज मार्केट नियमनमा तात्यो धितोपत्र बोर्ड, ऐनसँगै नियमावली पनि कार्यान्वयनमा
काठमाडौं । कमोडिटिज मार्केट्स कार्यान्वयनमा नेपाल धितोपत्र बोर्ड तातेको छ । बोर्डले कमोडिटिज मार्केट्स नियमनका लागि वस्तु विनियम सम्बन्धी ऐन, २०७४ सँगै वस्तु विनिमय बजार सम्बन्धी नियमावली समेत कार्यान्वयनमा ल्याएको हो । वस्तु बजार सम्बन्धी ऐनमा भदौ ११ गते लालमोहर लागेको थियो । लालमोहर लागेको ९१ औं दिनदेखि ऐन कार्यान्वयनमा आउने व्यवस्था थियो । सोही व्यवस्था अनुसार बोर्डले ऐन कार्यान्वयनमा आएको दिन अर्थात मंसिर ९ गतेदेखि नै विनियमावली समेत कार्यान्वयनमा ल्याएको हो । ‘ऐन आएसँगै विनियमावली पनि कार्यान्वयनमा आएको छ, अब वस्तु विनिमय बजार नियमनको दायरामा आएको छ’, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पत्रकार सम्मेलनमा भने । उनले हाल काम गरिरहेका वस्तु विनिमय सम्बन्धी कम्पनी अबैध भएको बताए । ‘अहिले काम गरिरहेका कम्पनीहरु अबैध भए, उनीहरुलाई हाल कायम गरेको कारोबारलाई करार ऐनले हेर्छ र अब नयाँ काम गर्न पाउँदैन, त्यसका लागि बोर्डबाट अनुमति लिनुपर्छ’, बोर्डका अध्यक्ष कार्कीले भने । बोर्डले केहि दिनभित्रै वस्तु विनियम कम्पनी सञ्चालनका लागि दरखास्त आव्हान गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । अनुमति पाएको १८० दिनमा त्यस्ता कम्पनीहरुले आवश्यक पुर्वाधार खडा गरिसक्नुपर्नेछ । उनले हाल सेवा सञ्चालन गरिरहेका कम्पनीहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन र थप कारोबार नगर्न पत्राचार गरिसकेको पनि जानकारी दिए । बोर्डले वेयर हाउस सञ्चालनका लागि १५ करोड, राफसाफ तथा फछ्र्याेट व्यवसाय सञ्चालनका लागि ७ करोड, लगानी व्यवस्थापकका लागि ५ करोड, लगानी परामर्श दाताका लागि १ करोड र वस्तु कारोबार दलालका लागि ५० लाख चुक्ता पुँजी तोकेको छ । ती कम्पनीहरुमा एउटै व्यक्तिले ५ प्रतिशत भन्दा बढि लगानी गर्न भने पाउने छैनन् भने सेयर लिएको तीन बर्षसम्म बिक्रि गर्न नपाउने व्यवस्था रहेको छ ।
नेप्से सामान्य अंकले घट्दा ६५ करोडको सेयर कारोबार
काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ । सामान्य अंकले घटेको बजारमा कुल ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको १२ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ४८ लाख रुपयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याडार्ण्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
एडीबीद्धारा ५ अर्ब ऋण सहयोग, पाँच वर्ष भित्र ८ नगरपालिकामा शहरी पूर्वाधार निर्माण गर्ने
काठमाडौं । एशियाली विकास बैंक(एडीबी)ले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन् । आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी पूर्वाधार निर्माण तथा शहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ । परियोजनाअन्तर्गत ती आठ नगरपालिकामा २०० किमीभन्दा बढी ढल निकास, २४० किमी सडक सुधार, ४० किमी पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन गर्ने स्थल निर्माण गरिनेछ । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजना सम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै शहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए । उनले शहरी विकास मन्त्रालय तथा मातहतका निकायलाई समयमै परियोजना सम्पन्न गर्न आग्रह गर्दै विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर कर्तव्यनिष्ठ हुन अनुरोध गरेका छन् । देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय शहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने बताउँदै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको बताए । रासस