झापामा अर्बौको विकास कार्यक्रम पारेको नेता सिटौलाको दावी
झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा विजय प्राप्त गरेपछिका चार बर्षमा क्षेत्र नं ३ मा १ अर्व बढीका विकास योजना ल्याएको दावी गरेका छन् । शुक्रवार भद्रपुरमा पत्रकारहरुसित अन्तर्क्रिया गर्दै नेता सिटौलाले पहिलो संविधान सभाले संविधान जारी गर्न नसक्दा शान्ति प्रकृया पनि अलपत्र परेपछि दोस्रो संविधान सभा निर्वाचनमा जनतासित परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धता गरेर गएको बताए । उहाँले २०६२र०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्नेहरु परिवर्तकामी झापाली जनताका प्रतिनिधि बन्न अयोग्य भएको बताए । उनले संघीयता र लोकतान्त्रिक गणतन्त्र अस्वीकार गरिरहेको राप्रपालाई एमाले र माओवादीले उम्मेद्वार बनाएकोमा आफू अचम्मित भएको बताउँदै दुवै पार्टीले २०४६ सालको जनआन्दोलनका पहिलो सहिद राम थापाको बलिदानलाई अवमूल्यन गरेको बताए । सिटौलाले आफू परिवर्तनको लडाँईमा अविचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै शान्ति र सम्बृद्धिको सपना पूरा गर्न नेपाली कांग्रेसको विजय अपरिहार्य रहेको बताए । उनले अलपत्र हुलाकी सडक र मेची अञ्चल अस्पतालको स्तरीकरण आफ्नै कार्यकालमा भएको उल्लेख गरे । सिटौलाले खानेपानी, ग्रामीण सडक, सामुदायिक भवन, विद्यालय भवन जस्ता भौतिक संरचनाका काम तीव्र गतिमा भइरहेको बताएका छन् । नेता सिटौलाले प्रदेश नम्वर १ को सरकारी मेडिकल कलेजका रुपमा मेची अस्पताल विकसित हुने प्रकृयामा गइसकेको उल्लेख गर्दै मेची नदी नियन्त्रण र देउनिया खोला पूल निर्माण अगाडि बढिरहेको उल्लेख गरेका छन् । झापाको सदरमुकाम समेत रहेको झापा क्षेत्र नम्वर ३ नेपालको राजनीतिक परिवर्तनको उद्गम भएको उल्लेख गदैै सिटौलाले अग्रगमनका पक्षधर झापाली जनता राजनीतिक परिवर्तनलाई उल्ट्याउनेहरुको पक्षमा जान नसक्ने बताए । उनले सबै मतदातासंग नेपाली काँग्रेसलाई मतदान गर्न अनुरोध गरेका छन् । झापाको क्षेत्र नं ३ मा एमाले र माओवादीको गठवन्धनले उम्मेद्वार उठाएको छैन् । यसैगरी नेता सिटौलाले शुक्रबारै भद्रपुरमा संचारकर्मी, शिक्षक, उद्योपति, विभन्न धर्मका गुरुहरु, वौद्धिक वर्गसित छलफल गरेका छन्।
चिनियाँ टोलीको निष्कर्षः नेपालमा रेलमार्ग निर्माण गर्न सकिन्छ, केरुङ-काठमाडौं प्राथमिकतामा
काठमाडौं । चिनियाँ उपमन्त्री नेतृत्वको उच्चस्तरिय प्रतिनिधीमण्डलले नेपालमा रेलमार्ग निर्माणको सम्भावना रहेको निष्कर्ष निकालेको छ । नेपालमा रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न आएको उपमन्त्री नेतृत्वको टोलीले नेपालमा रेल मार्ग निर्माणको सम्भावना रहेको निष्कर्ष निकालेको हो । टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीसँग मिटिंग माइन्युटमा हस्ताक्षर गर्दै रेल मार्ग निर्माणका लागि द्धिदेशिय सहकार्य गर्ने बताएको हो । ‘नेपालको भुबनोट, प्रशासनिक तथा कानुनी उल्झन र राजनीतिक कारणले केहि जटिलता भएपनि रेलमार्ग बनाउन सकिन्छ भन्ने निष्कर्ष चिनियाँ टोलीले निकालेको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । चिनियाँ रेलवे प्रशासनका उपमन्त्री चेङ चियन नेतृत्वको २३ सदस्यीय टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल मार्ग निर्माणबारे अध्यययन गरेको थियो । अध्ययन टोलीमा रेल चिनियाँ रेलवे प्रशासनका प्राबिधि, वित्तिय व्यवस्थापक लगायतको सहभागीता रहेको थियो । चीनले नेपालमा रेलमार्ग निर्माणमा आफ्नो सहयोग रहने तर प्रशासनिकत जटिलता र नितिगत अस्पष्टता भने समयमै अन्त्य हुनुपर्ने बताएको छ । चिनले पहिलो चरणमा केरुङ हुँदै रसुवागढीबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणमा चासो देखाएको छ । रेल मार्ग निर्माणका लागि चिन संसारमै अब्बल मानिन्छ । चिनले उच्च पहाड र हिमाली भुखण्डमा पनि द्रुतगतिको रेलमार्गहरु निर्माण गरिरहेको छ । आफ्नो महत्वकांक्षी परियोजना ओबिओआरको विस्तारका क्रममा चिनले नेपाल हुँदै आफ्नो रेलमार्ग भारत र दक्षिण एसियासम्म विस्तार गर्न चाहेको छ ।
दुई कम्पनीको १३ करोडको बोनस सेयर सूचिकृत, क-कसको भयो?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एकैदिन दुई बीमा कम्पनीको १३ करोड ६४ लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार मात्र नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सो मात्राको बोनस सेयर सूचिकृत भएको हो । बोर्डमा नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत(एक लाख ४३ हजार ८०४ कित्ता) बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २५ प्रतिशत(अर्थात १२ लाख २० हजार ०४० कित्ता) बोनस सेयर सूचिकृत भएको हो । बोर्डमा यी दुई कम्पनीको गरी जम्मा १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर थपिएको छ । यी दुई कम्पनी सहित धितोपत्र बोर्डमा हालसम्म १२ कम्पनीको एक अर्ब ३५ करोड ९७ लाख ६३ हजार ४८५ रुपैयाँ बराबरको बोनस सेयर सूचिकृत भएको छ ।
२ अर्ब ३३ करोडको हकप्रद सेयर आउँदै, एकैदिन तीन कम्पनीले पाए बोर्डको अनुमति
काठमाडौं । बजारमा विभिन्न तीन कम्पनीका २ अर्ब ३३ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले एकैदिन(कात्तिक २३ गते) तीन कम्पनीलाई सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति सँगै सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र साङ्ग्रिला डेभलपमेन्ट बैंकले कुल २ करोड ३३ लाख कित्ता सेयर निष्कासन गर्ने भएका छन् । सेन्ट्रल फाइनान्सले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको (अर्थात ५० प्रतिशत) हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ। बैंकलाई २ करोड ७ लाख कित्ता सेयर बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट मार्फत बिक्री गर्न बोर्डले अनुमति दिएको हो । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई (३० प्रतिशत) १२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत बिक्री गर्न अनुमति दिएको हो । त्यसैगरी, साङ्ग्रिला डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति पाएको छ । यस बैंकले १०० अंकित दरका १२ लाख ८३ हजार कित्ता सेयर १२ करोड ८३ लाख रुपैयाँमा बिक्री गर्ने भएको छ । बैंकलाई सो मात्राको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्फत निश्कासन गर्न बोर्डले अनुमति दिएको हो ।
नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण
काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले सेवा शुल्कका नाममा ठगी गरेको पाइएको छ । अस्पतालमा स्वास्थ्य सेवा कर बापत ५ प्रतिशत शुल्क उठाउने व्यवस्था छ । तर, अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको छ । विभागका महानिर्देशक कुमार दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘कानुनी प्रावधान अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । अन्य शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन ।’ अनुगमन टोलीले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न अस्पताललाई निर्देशन दिएको थियो । अस्पतालले उक्त शुल्क पनि सरकारलाई नतिरी आफैंले लिइरहेको उनले बताए । जिल्ला जन स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन भोलनाथ पौडेलका अनुसार अस्पतालले मनपरी ढंगले सेवा शुल्क लिन पाउने व्यवस्था छैन । उनले भने, ‘होटल, रेष्टुरेन्टहरुमा सर्भिस चार्ज (सेवा शुल्क) लिइएको थाहा छ । तर अस्पतालमा लिन पाउने व्यवस्था छैन ।’ स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्तचन्द्र ओझाले अस्पतालले स्वास्थ्य सेवाका नाममा ५ प्रतिशत भन्दा फरक अन्य शुल्क पाउने व्यवस्था नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अन्य सेवा शूल्कको विषय हो भने त्यो अर्थ मन्त्रालयसँग सम्बन्धीत छ । तर जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ- ५ प्रतिशत भन्दा बढी लिन पाइन्न ।’ स्वीकृती भन्दा बढी बेड सञ्चालनमा उक्त अनुगमनका क्रममा अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको पाइएको छ । अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिए । ‘१ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ, ‘उनले भने, ‘उनीहरुले २ सय वटा बेडका लागि स्वीकृती माग गरेको पत्र देखाएका छन् । तर निवदेन स्वीकृत नभई बेड सञ्चालन गर्न पाइन्न ।’ स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती निर्देशिका अनुसार अस्पतालले बेड सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागसँग स्वीकृती लिनूपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. ओझाले जानकारी दिए । उनले भने, ‘त्यस्तो पाइएका हामी अस्पताललाई सुरुमा सुध्रने मौका दिन्छौं । त्यसपछि पनि अटेर गरेको पाइएका उक्त अस्पताललाई आंशिक वा पूर्णरुपमा बन्द गर्छौं ।’ ‘सेवा शुल्क सर्वमान्य छ‘ अस्पताल सेवा शुल्क लिनु गलत नभएको नर्भीक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले दाबी गरेका छन् । उनले भने, ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? हामीले लिने सेवा शुल्क बिल्कुल जायज छ ।’ उनले स्विकृती नलिई बेड सञ्चालनमा ल्याएको भन्ने कुरा गलत भएको उनले बताए । उनले आक्रोशपूर्वक कुरा गर्दै भने, ‘कसले भन्यो स्वीकृती नलिई बेड सञ्चालन गर्यौं ?’
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
काठमाडौं । “पहिले पहिले हामी सुतिसक्दा बत्ती हुन्थेन, हामी उठ्दा बत्ती गइसक्थ्यो । अहिले त बत्ती बाल्न पनि पाइएको छ । छोराछोरीलाई पढ्न समस्या भएको छैन । हामी त असाध्यै खुसी छौँ । विद्युत्भार कटौतीको अन्त्यपछि त नयाँ जीवन पाए जस्तो भएको छ”, यो भनाइ हो तारकेश्वर नगरपालिका- ११ नेपालटारका राम मानन्धरको । गत वर्षदेखि मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्यसँगै नागरिकमा खुसियाली छाएको छ । जीवनमा आधारभूत परिवर्तन विद्युत्भार कटौतीको अन्त्यपछि आएकामा यहाँका बासिन्दाले राहतको अनुभव गरेका छन् । “आमा दमको रोगी हुनुहुन्छ, पहिले बिजुली नभएर पानी तताउन समस्या हुन्थ्यो, अहिले त्यस्तो छैन, जनताको यस्तै काम गर्नेलाई मेरो परिवारको मत पक्का”, टोखा नगरपालिका– ९ की शान्ति आचार्यले भने । प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नं ६ का वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीले आफू र आफ्नो गठबन्धनलाई मत माग्दै घरदैलो अभियानमा पुगेका बेला स्थानीयवासीले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको जीवनसँग जोडिएको विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । काठमाडौँ महानगरभित्रका सडककोभन्दा महानगरसँग जोडिएका नगरपालिकाभित्रका सडकको अवस्था झनै खराब छ । तारकेश्वर नगरपालिका प्रवेश गर्ने अधिकांश सडक कच्ची छन् । नाम मात्रको कालोपत्र भए पनि नागरिकले दैनिकजसो धुवाँ र धुलोको समस्या भोग्नु परेको छ । वाम गठबन्धनका उम्मेदवार सुवेदीसँग नागरिकको आग्रह छ, “भत्किएका सडक कालोपत्र गरियोस् ।” “धुलोले व्यापार व्यवसाय गर्न समस्या भएको छ । रुघा खोकी कहिल्यै निको हुँदैन । बिहान लगाएको लुगा साँझसम्म मैलो भइसक्छ, म त धुले सडक कालोपत्र गर्नेलाई मत दिन्छु,” पहिलोपटक मतदानमा सहभागी हुन लाग्नुभएकी फुटुङकी नवीना पाण्डेले भने । मत माग्न पुगेका उम्मेदवारसँग अधिकांश नागरिकले जनजीवनसँग जोडिएको विषयमा जिज्ञासा राखेका छन् । उनीहरुले जिज्ञासासँगै व्यावहारिक कार्यान्वयन हुने उत्तरसमेत खोजेका छन् । केहीले विगतमा विजयी भएकाले जनतालाई फर्केर नहेरेको भन्दै गुनासो पनि गरेका छन् । चुनावको बेला मात्रै सम्झने कि अरु समयमा पनि जनताले आफ्नो प्रतिनिधि भेट्न पाउने हो रु मतदाताले अधिकांश उम्मेदवारसँग राख्ने जिज्ञासा यही यो । संविधान सभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान विजयी भएका थिए । अहिले पनि सो क्षेत्रमा रक्षा मन्त्रीसमेत रहेका प्रधान नै उम्मेदवार छन् । उनले पनि निर्वाचन अभियान शुरु गरेका छन् । प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दै छन् । गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा काँग्रेसले ११ हजार ३१५, नेकपा ९एमाले०ले १२ हजार ७९८, माओवादी केन्द्रले तीन हजार ६९३ र राप्रपाले ९५६ मत पाएको थियो । यस आधारमा सो क्षेत्रमा वाम गठबन्धनको १६ हजार ४९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २७१ मत छ । वाम गठबन्धन चार हजार २२० मतले अगाडि देखिएको छ । सो क्षेत्रको उम्मेदवार रहेका मन्त्री प्रधान काठमाडौँका स्थानीय बासिन्दा हुन् भने माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेका सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र नेता सुवेदीबीच नै सो क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । मतदातासँग भेटघाटमा रहेका सुवेदी जनताको चाहना जस्तै कालोपत्र सडक, विकास निर्माणको एजेण्डालाई साकार पार्न स्थिर सरकार निर्माण गर्ने लक्ष्यका साथ आफू उम्मेदवार भएको बताउँछन् । उनी आफू रोल्पाको भए पनि संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएको, पछिल्लो दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्मको तयारीका कारण आफू र आफ्नो गठबन्धन विजयी हुने विश्वास व्यक्त गर्छन्। “केही मान्छेले म रोल्पाको भएको भन्दै गलत प्रचार गरेका छन्, तर मुलुकको जुनसुकै स्थान पनि मेरो लागि आफ्नै ठाउँ जत्तिकै महत्वपूर्ण छ,” सुवेदीले भने । काँग्रेस उम्मेदवार प्रधान आफूलाई विगतमा पनि काठमाडौँ क्षेत्र नं ६ का जनताले विजयी गराएको र यसपटक पनि आफू नै विजयी हुने बताउँछन् । निर्वाचन प्रचार अभियान शुरु भइसकेको जानकारी दिँदै उनी भन्छन्, “काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्र बनाउने योजना, नीति र कार्यक्रम मसँग मात्रै छ ।” सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११, टोखा नगरपालिकाको वडा नं ८, ९, १० र ११ रहेको छ । तीमध्ये गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका तीन वडामध्ये दुईवटामा काँग्रेस र एउटा वडामा एमाले विजयी भएको थियो । तारकेश्वर नगरपालिकाको आठवटा वडामध्ये सातमा एमाले र एउटामा काँग्रेस विजयी भएको थियो । सोही क्षेत्रमा काठमाडौं महानगरका पूर्व प्रमुख केशव स्थापित पनि प्रदेश सभाको उम्मेदवार छन् । स्थापित भन्छन्, “हामीले निर्वाचन अभियान शुरु गरिसकेका छौँ, हाम्रो गठबन्धन विजयी हुन्छ ।” रासस
राष्ट्रपतिद्धारा चिकित्सा शिक्षा अध्यादेशमा लालमोहर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुचर्चित चिकित्सा शिक्षा विधेयकलाई अनुमोदन गरेकी छिन् । राष्ट्रपति भण्डारीले कार्तिक ६ गते मन्त्रिपरिषदले अध्यादेशका रुपमा पारित गरी पठाएको चिकित्सा शिक्षा विधेयकलाई शुक्रबार अनुमोदन गरेकी हुन् । विधेयकमा मेडिकल कलेज खोल्न निजी क्षेत्रलाई प्रतिवन्ध नै लगाउने गरी अध्यादेश आएको छ । उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाइने छैन् । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको छ । यसले गर्दा मेडिकल क्षेत्रमा निजी लगानी आउने संभावना बढेको छ । एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन पनि पाउने छैन । अब त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिन पनि पाउने छैनन् । अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनुपर्ने छ । संसदबाट पास हुन सकेन भने अध्यादेश स्वत खारेज हुने संवैधानिक व्यवस्था छ ।
नक्कली गुरु रेम्पोछेको नाममा ब्रम्हलूट
काठमाडौं । विश्वकै बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बौद्धनाथ मन्दिर परिसरमा नक्कली गुरु रिम्पोछेको नाममा अनियमितता तथा असुली गर्ने कार्यहरु हुँदा समेत नेपाल सरकारले केही गर्न सकेको छैन । चिनियाँ लामाको उत्तराधिकारी भन्दै राजु लामा अर्थात भूपति नामका एक व्यक्तिले आफूले आफैलाई गुरु रिम्पोछे घोषणा गरेपछि बौद्धनाथ परिसरमा कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने देखिएको छ । नेपाल सरकारले नियुक्त गर्ने बौद्ध क्षेत्र विकास समितिसँग क्षेत्राधिकार विवाद गर्दै हस्तक्षेप गर्दै आएका यिनै नक्कली रिम्पोछेले पछिल्लो समय बौद्धनाथ मन्दिरमा हुने नियमित पूजाआजा समेत भाँड्दै आएका छन् । सार्वजनिक रुपमा सामना गर्न नसक्ने र केही मानिसहरु भेला पारी आफू अनूकूलको काम गर्दै आएका नक्कली रिम्पोछेको हर्कतबारे महानगरीय प्रहरी बृत्त बौद्धमा समेत छलफल भएको बुझिएको छ । यसअघि शाह बंशीय राजाको पालामा राजपरिषद स्थायी समितिको सदस्य समेत रहेका गणेश बज्रको उत्तराधिकारी हुन आएका नक्कली रिम्पोक्षेका कारण बौद्धनाथ क्षेत्रमा अशान्ती बढ्दै गएको स्थानीयबासीले गुनासो गरेका छन् । बौद्धनाथ क्षेत्र मन्दिरमा शान्ति कायम राख्ने सम्बन्धमा बौद्ध प्रहरी कार्यालयमा सहमति गरेपनि नक्कली रिम्पोछे अर्थात राजु लामाले विभिन्न च्यानलबाट शुक्रबार आयोजना गरिएको विशेष पूजा भाँड्ने प्रयास गरेको पूजा आयोजक समितिका एक सदस्यले बताए । घ्याङ गुठीको आवरणमा नक्कली रिम्पोछेले बौद्धनाथ मन्दिर परिसरमा हस्तक्षेप बढाउँदै लगेपनि सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षे गर्न नसकेको र पवित्र मन्दिरमा दुई थरीको राजनीतिले स्थानीयबासी तथा भक्तजनहरुलाई समस्या परेको गुनासो एक भक्तजनले गरेका छन् । बौद्धनाथ क्षेत्र विकास समितिलाई घ्याङ गुठीले विभिन्न काममा अबरोध गर्दै आएपनि स्थानीय प्रशासनले समेत आवश्यक सहयोग नगर्ने गरेको समेत गुनासो सुनिन थालेको छ ।