विकासन्युज

चितवनमा पुनर्निर्माणले गति लियो, चार हजार ५४२ घर परिवारद्धारा पुनःनिर्माण सम्झौता

चितवन । जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ । गुनासो व्यवस्थापनसम्बन्धी यहाँ आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ । जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । यहाँ रहेका भूकम्प प्रभावितमध्ये ५९३ जनाले मर्मतका लागि निवेदन दिएको उहाँले बताए । जिल्लामा अहिले घर निर्माणको काम सकिएको भन्दै पूरै रकम भुक्तानीका लागि ५०० जनाको निवेदन परेको छ । प्राधिकरणले प्राविधिक पठाउन ढिलाइ गरेसँगै घर निर्माणको काम शुरु गर्न नसकिएको कार्कीले बताए । चालू आवमा ८० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ सचिवालयले काम अगाडि बढाएको भए पनि सम्झौताको काम नसकिनुले समस्या देखिएको छ । सरकारले जारी गरेको निर्देशिकाअनुसार कात्तिक मसान्तसम्म सम्झौता गर्नुपर्ने हुन्छ । योसँगै चालू आवभित्र घर निर्माणको काम पनि सक्नु पर्ने हुन्छ । सो कार्यक्रममा प्राधिकरणका सहसचिव नेत्रप्रसाद सुवेदीले आधार र प्रमाणबिना कसैले पनि गुनासो गर्न नपाइने बताए । रासस

बैंकहरु अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाउदै

काठमाडौं । केन्द्रीय बैंकले प्रणालीमा पर्याप्त लगानीयोग्य पुजी (तरलता) भएको बताइरहदा बैंक तथा वित्तीय संस्थाले अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाइ रहेका छन् । बैंक तथा वित्तीय संस्थाले महंगोमा निक्षेप उठाउन थालेपछि बजामा कर्जाको ब्याजदर नघट्ने संभावना देखिएकाे छ । नेपाल राष्ट्र बैंकले आफूसंग भएको लगानी एक वर्षका लागि मुद्दति निक्षेपमा राख्नका लागि बोलकबोल आब्हान गर्दा बैंक तथा वित्तीय संस्थाले वार्षिक १२.६ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । राष्ट्र बैंकले आफूसंग भएको ९६ करोड २३ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्नका लागि कात्तिक १४ गते आब्हान गरेको थियो । गत आइतबार बाणिज्य बैंकले न्युनतम ५ देखि ९.३, विकास बैंकले न्युनतम् ८ देखि १२.६ र वित्त कम्पनीले ७.५ देखि १० प्रतिशत वार्षिक ब्याज दर कबोल गरेर मुद्दति निक्षेप उठाउने प्रस्ताव गरेका हुन् । विकास बैंकले सभैभन्दा बढी महंगो ब्याज दर प्रस्ताव गरेको छ । यसबाट विकास बैंकमा तरलता कम रहेको अनुमान गर्न सकिन्छ । विकास बैंकमा निक्षेप घट्दै गएपछि मंहगो दरमा उठाउन लागेका हुन् । केन्द्रीय बैंकले वाणिज्य बैंकलाई ७६ करोड ९८ लाख, विकास बैंकलाई १४ करोड ४४ लाख र वित्त कम्पनीलाई ४ करोड ८१ लाख रुपैयाँ छुट्टाएको थियो । बैंकहरूले केन्द्रीय बैंकबाट महंगोमा निक्षेप उठाएकाले कर्जाको ब्याजदर अझै घट्ने देखिएको छैन् । बैंकको आधार ब्याज दर १० प्रतिशत माथि रहेको अवस्था कर्जाको ब्याज दर घट्ने संभावना अझै छैन् । कतिपय बैंकको आधार ब्याज दर १२ प्रतिशतसम्म पुगेको छ

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन

खजुरा । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ । यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ । अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु–सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना शुरु भइसकेका छन् । रासस

बहुमतसहित स्थायी सरकार बनाउँछौं– रबिन्द्र अधिकारी

पोखरा । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले कार्यालय उद्घाटनपछि बोल्दै वाम गठबन्धन नेपालको आवश्यक्ता भएको बताए । उनले चुनावमा वाम एकतालाई जिताउन मतदातासँग आग्रह समेत गरेका छन् । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले आगामी निर्वाचनमा वाम गठबन्धनले नै अत्याधिक बहुमतका साथ सरकार निर्माण गर्ने दावी गरेका छन् । उनले देशको आवश्यक्ताले गठबन्धन जुरेको भन्दै देशलाई समृद्धीतर्फ डोहो¥याउने दायित्व पनि गठबन्धनसँग भएको बताए । ‘देशलाई समृद्धी चाहिएको छ । स्थायी सरकार चाहिएको छ । गठबन्धन नगरी बहुमत आउँदैन र स्थायी सरकार पनि बन्दैन, उनले भने–त्यही समृद्धीका र राजनीतिक स्थीरता दिनका लागि गठबन्धन भएको हो ।’ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार कृष्ण थापाले चुनावमा एमाले माओबादी प्राविधिक हिसावले एक नभएपनि चुनाव लगत्तै पार्टी एकता हुने विश्वास ब्यक्त गरे । उनले दुई पार्टीबीच कुनै मतभेद नरहेको भन्दै मिलेर अगाडी बढ्न दुवै पार्टीका नेता कार्यकर्तासँग आग्रह गरेका छन् । थापाले प्रदेशलाई समृद्ध बनाउन आफु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए

परिवार दलद्धारा ४५१ सदस्यीय केन्द्रिय निर्बाचन परिचालन कमिटि गठन

काठमाडौं । नेपाल परिवार दलले महामन्त्री बिनोद डाँगीको नेतृत्वमा आसन्न निर्बाचनको लागि ४५१ सदस्यीय केन्द्रिय निर्बाचन परिचालन कमिटि गठन गरेको छ । बैठकले तिब्र प्रचार प्रसार मार्फत वाम प्रगतिशिल गठबन्धनको अत्याधिक बहुमत ल्याउन क्रियाशिल रहने निर्णय गरेको प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । त्यसैगरी बैठकले परिवार दलले सातै बटा प्रदेशमा चुनाबी सभा तथा अन्तरक्रिया कार्यक्रम दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको उपस्थतिमा गर्ने निर्णय समेत गरेको छ । बैठकले स्वीकृत गरेको प्रचार सामग्रीमा “परिवार दलको आब्हान स् सुर्यमा मतदान“ “सामाजिक एकता, शान्ति र आर्थिक समृद्धिको आधार,  वाम प्रगतिशिल गठबन्धनको स्थिर र बलियो सरकार” भन्ने लगायतका नाराहरु उल्लेख गरिएको छ । परिवार दलले आफ्नो प्रतिबद्धतामा राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्ति, लोकतन्त्र र आर्थिक संमृद्धि , भ्रष्टाचार निवारण र शुशाशन लाइ प्राथमिकतामा राखेको छ । त्यसैगरी असल परिवार र नैतिकवान समाज, सामाजिक सदभाव र मेलमिलाप, कृषि, उर्जा तथा औधोगिक विकास, सामाजिक सुरक्षा तथा गुणस्तरिय जीवन, लगानी मैत्री बाताबरण, प्रेश स्वतन्त्रता र नागरिक अधिकार, वाताबरण संरक्षण, पर्यटन प्रबद्धन र युवा रोजगार तथा बाम प्रगतिशील गठबन्धनको घोषणा पत्रको कार्यन्वयन गर्ने पनि परिवार दलले प्रतिबद्धता जाहेर गरेको छ । प्रतिनिधि सभाको निर्बाचनमा परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल नेकपा एमालेको चुनाब चिन्ह सुर्यबाट समानुपातिक उम्मेदवार भएका छन् । सो दलले केहि महिना अघि कारबाहीमा परेका केन्द्रिय सदस्य शिवजी भट्टराईको कारबाही फुकुवा गरि प्रदेश सदस्यको जिम्मेवारी दिएको छ ।

सिन्धु र काभ्रेमा जिएसएम मोबाइल सञ्चालन

  काठमाडौ । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्नसक्ने भएका छन् । यसबाट सो क्षेत्रका करिब तीन हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ । टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाअन्तर्गत सिम्थली, बेकसिम्ले, मूलाबारी र भीमसेनस्थानका सेवाग्राही यसबाट लाभान्वित हुने विज्ञप्तिमा भनिएको छ ।  दूरसञ्चार सेवाबाट वञ्चित दुर्गम स्थानमा समेत नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।  रासस

सोलु करिडोरबाट मात्रै ३ वर्षभित्र २१७ मेगावाट बिजुली उत्पादन हुदै, निजी क्षेत्रकाे ३५ अर्ब लगानी

काठमाडौं । सोलु करिडोरबाट मात्रै आउदो ३ वर्षभित्र २१७ मेगावाट बिजुली उत्पादन हुने भएको छ । ठुला र साना गरी निर्माणधिन ६ वटा जलविद्युत आयोजना सम्पन्न भई सो परिमाणमा बिजुली उत्पादन हुने भएको हो । यी सबै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । ६ आयोजना बनाउन निजी क्षेत्रले झण्डै ३५अर्ब रुपैयाँ लगानी गर्दैछ । यी आयोजना ढिलोमा आउदो ३ वर्ष अर्थात ०७७ चैतसम्म सम्पन्न हुने नेपाल विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् । हाल निर्माण भइरहेका आयोजनामा ८६ मेगावटको सोलुखोला दुधकोसी, ८२ मेगावाटको तल्लो, २३.५ मेगावाटको सोलुखोला, १८ मेगावाटको माथिल्लो सोलु, ५.२ मेगावाटको जुनिवेसीखोला र २.८ मेगावाटको सिसाखोला आयोजना हुन् । सोलुखोला दुधकोसी आयोजना साहस इनर्जी लिमिटेड, तल्लोसोलु भारतीयको समेत लगानीमा एस्सेल सोलु हाइड्रोपावर, सोलुखोला माथिल्लो सोलु हाइड्रोपावर, माथिल्लो सोलु बेनी हाइड्रोपावर, जुनीवेसी दोभान हाइड्रोपावर कम्पनी र सिसा हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेका छन् । यी कम्पनीले स्थानियबासिन्दालाई १० प्रतिशत सेयर दिदैछन् । यी आयोजनाबाट वार्षिक १ अर्ब २५ करोड ६२ लाख २० हजार युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । सोलुखोला आयोजना सबैभन्द अघि आगामी साउनदेखि बिजुली उत्पादन गर्देछ । आयोजना धमाधम निर्माण भइरहदा प्रसारणलाइनको प्रगति सुस्त भएकाले नेपाल विद्युत प्राधिरकणले वार्षिक अर्बो रुपैयाँ पेनाल्टी भुत्तानी गर्नुपर्ने देखिएको छ । प्राधिकरणले प्रवद्र्धंकसंग न्युनतम ५ देखि ४५ प्रतिशतसम्म पेनाल्टी भुत्तानी दिने गरी विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । हालसम्म प्रसारणलाइनको काममा ढिलाइ भएकाले सो रकम बराबरको क्षतिपूर्ति तिर्नुपर्ने प्राधिकरणका अधिकारी बताउछन् । सोलुको तिम्ला लमानेदेखि सिरहाको मिर्चैयासम्म ९० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारणलाइन निर्माणको जिम्मा भारतको मोहन इनर्जी लिमिटेडले पाएको छ ।

३ महिनामा सेन्चुरी बैंकको नाफा साढे १० करोड

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ३ महिनामा नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १० करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकको खराब कर्जा बढेर १.७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.१५ प्रतिशत मात्र थियो । कर्जा निक्षेप अनुपात ७८.४७, निक्षेप लागत ८, आधार ब्याजदर ११.१३, ब्याज स्प्रेड ३.९४ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा छ । गत असारको तुलनामा बैंकको निक्षेप बढेर ४५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप परिचालन ४२ अर्ब ५९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी बढेर ४० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको कर्जा लगानी ३९ अर्ब ५० करोड रुपैयाँ छ । बैंकको संचित कोष बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ