विकासन्युज

एनएमबी बैंकले ल्यायो अटोलोन योजना, ब्याज पनि नबढ्ने र शुल्क पनि नलाग्ने

काठमाडौं । तपाई गाडी किन्दै हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, एनएमबी बैंकले वार्षिक ब्याजदर नबढ्ने र प्रशासनिक र अतिरित्त शुल्क पनि नलाग्ने गरी एनएमबी अटोलोन योजना ल्याएको छ । ५ वर्षसम्म उपलब्ध अटोलोनमा ब्याज दर नबढ्ने र प्रशासनिक र अतिरित्त शुल्क नलाग्ने ब्यवस्था गरेको बैंकले जानकारी दिएको छ । बैंकले ५ वर्षसम्म स्थिर र २ वर्ष परिवर्तनिय ब्याजदर हुने बताएको छ । ७ वर्षिय कर्जा परिवर्तनिय ब्याज दरमा पनि उपलब्ध भएको बैंकले जनाएको छ । घरकर्जाका ग्राहकले अटोलोन लिदा कर्जा अवधि १५ वर्षसम्म विस्तार गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले टोल फ्रि नम्बर १६६००१२५२५२ नम्बरमा सम्पर्क गर्न भनेको छ । बैंकले ३५ वर्षका लागि होमलोन योजना पनि ल्याएको छ ।

नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै

  चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ । वर्षा र चाडपर्वको समय परेका कारण झण्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो । भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो ।  आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । उनका अनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीहरूका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार भित्तो काट्ने समयमा सवारी रोक्नका लागि रामनगर प्रहरी, प्रहरी चौकी जुगेडी, अस्थायी प्रहरी पोष्ट सिमलताल र इलाका प्रहरी कार्यालय मुग्लिनलाई जिम्मेवारी दिइएको छ । सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँहरूमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इञ्जिनियर शिव खनालले बताए । सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ । खनालले तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षात् अघिसम्म भने काम सकिने बताए । हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ । एक दिनमा तीन सय मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उहाँले बताए। आगामी फागुन मसान्तसम्ममा कालोपत्र गर्ने काम सक्ने गरी काम भइरहेको छ । सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्र गरिने छ । कात्तिक २५ गते शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको सेतीदोभानमा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएकाले त्यसलाई व्यवस्थापन गर्न एक दिनका लागि दिउँसोको समयमा सवारी साधन आवागमन बन्द गर्न लागिएको हो । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आवागमन रोकेर काम गरिने भएको हो । रासस

सेयर ब्रोकर भन्छन्ः आफ्नै रकम भए सेयर किन्नुस, बैंकबाट ऋण लिए डुब्नुहुन्छ

काठमाडौं । सेयर ब्रोकरहरुले अहिले बैंकबाट चर्काे ब्याजदरमा ऋण लिएर सेयरमा लगानी गर्ने उपयुक्त समय नभएको बताएका छन् । उनीहरुले लगानी कर्तासँग भएको आफ्नै रकमबाट सेयर किन्न उपयुक्त समय भएको तर बैंकबाट ऋण लिएर सेयर खरिद गर्दा डुब्ने सम्भावना बढेको बताएका हुन् । बजार निरन्तर घटिरहेकाले बैंकबाट चर्को ब्याजमा ऋण लिएर सेयरमा लगानी नगर्न ब्रोकरले सुझाएका हुन् । अहिलेको अवस्थामा बैंकबाट चर्को ब्याजमा मार्जिन कर्जा लिएर तत्काल नाफा हैन घाटा हुने सेयर ब्रोकर नरेन्द्र सिजापति बताउछन् । हाल बैंकको मार्जिन कर्जाको ब्याज दर १० प्रतिशत भन्दा बढी रहेको र बजार घट्दै गएकाले सेयर बिक्रीबाट तत्काल पाउने प्रतिफल कम हुने भएकाले यस्तो बेला जोखिम नउठाउन सिजापतिको सुझाव छ । “बजार घट्दै गएकाले अहिले आफुसंग भएको बचत रकम पछिलाई हेरेर मात्र लगानी गर्ने हो” उनी भन्छन् “बैंकबाट ऋण लिएर सेयर किने डुब्न सक्छ, बिचार गर्नुपर्छ ।” बैंकबाट चर्को ब्याज तिरेर मार्जिन कर्जा लिदा घाटा नै हुने उनको विश्लेषण छ । उनकाअनुसार अहिले वाणिज्य बैंकको मार्जिन कर्जा १० प्रतिशत भन्दा बढी रहेको, विकास बैंक १२ र वित्त कम्पनीको १५ र सहकारीबाट लिदा सो भन्दा बढी भएको अवस्थामा तत्काल लाभ भन्दा हानी हुने संभावा बढी रहेको उनको भनाई छ । १० प्रतिशत मार्जिन कर्जा लिएर लगानी गर्दा ५ प्रतिशत प्रतिफल पाउने अवस्था पनि नरहेको उनी बताउछन् । आफनो खल्तिबाट लगानी गरेर केही समय कुर्ने लगानीकर्ताका लागि मात्र अहिले उपयुक्त समय भएको उनको विश्लेषण छ । बजार घटिरहेका बेला सेयर किन्ने उपयुक्त समय भएपनि ब्याज दर बढी भएकाले ऋण लिएर सेयर किन्ने अवस्था नभएको अर्का सेयर ब्रोकर नन्दकिशोर मुन्दडा बताउछन् । “अहिलेको ब्याज दरले बजार बढाउन सहयोग गर्दैन किनभने कम्पनीले १० प्रतिशत नगद लाभांश दिन्छन” उनले भने “सेयर किनेकाे मूल्यकाे अाधारमा ४ प्रतिशत भन्दा कम प्रतिफल आउछ र अझै ६ प्रतिशत घाटा छ । ब्याजको कारण नबढ्न सक्छ ।” सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला बेचेर निस्कने भएकाले अहिले नै बजारमा लगानी सुरु गर्नपर्ने उनको सुझाव छ । बैंकबाट ऋण लिएर हैन आफनो वचतको रकम मात्र सेयरमा लगानी गर्नुृपर्छ । “२५ प्रतिशत अहिले लगानी सुरु गर्ने, यो भन्दा तल आयो भने फेरी २५ प्रतिशत लगानी थप्नुपर्छ” उनी भन्छन “एकैपटक सेयरमा लगानी गर्नुहुदैन् ।” पछिल्लो समयमा बजार पनि निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मार्जिक कर्जा ४० अर्ब ४५ करोड रुपैयाँ बढी छ ।

टेलिकमको विभिन्न प्रमोसनल अफरको म्याद थप, माघ २४ गतेसम्म लागू हुने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीको उक्त प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी माघ २४ गते सम्म कायम रहनेछ । कम्पनीले उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिएको बताएको छ । १. अल टाइम डाटा प्याकेज जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ । २. नाइट डाटा प्याकेज जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।  नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । ३. फोरजी डाटा प्याक कम्पनीले जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र १०० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १२०० एमबी, ३०० रुपैयाँमा २००० एमबी र ५०० रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको हो । तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी/थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने छ । ४. नाइट भ्वाइस प्याक नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ । ५. सियुजी प्याकेज कम्पनीले पहिले देखि नै उपलब्ध गराउदै आएको सियुजी प्याकेजलाई पनि निरन्तरता दिएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराइएको छ । सबैभन्दा सस्तो प्याकेज ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सियुजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी, ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्ष्यित गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने छन् ।  ६. फेसबुक/इन्स्टाग्राम डाटा प्याक फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी १०० रुपैयाँमा ५०० एमबी डाटा र २०० रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।  ७. वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याक जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्स्क्रिप्सन अफर उपलब्ध गराइएको छ । अफर अन्तर्गत १ दिनका लागि २४ रुपैयाँ, ७ दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि २५० रुपैयाँका विभिन्न सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराइएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज खरिद गरी सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने छन् । ८. स्ट्रिमिङ प्याक (युट्युब/टिभी/भिडियो) जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने भएको छ । यस अन्तर्गत १०० रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ । ९. भ्वाइस  प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका उपलब्ध छ । ५० रुपैयाँमा ५ दिनका लागि ७५ मिनेट, १०० रुपैयाँमा १० दिनका लागि २०० मिनेट, २०० रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, ३०० रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र ५५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्ने छ । १०. एडिएसएल/एफटिटिएच डाटा प्याक नेपाल टेलिकमले एडिएसएल/एफटिटिएच सेवाका ग्राहकहरुका लागि उपलब्ध गराएको प्रमोसनल अफरलाई पनि निरन्तरता दिएको छ । अफर अन्तर्गत १ एमबिपीएससम्म गतिको एडिएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध हुनेछ । त्यसैगरी भोल्युम बेस्ड एडिएसएल अन्तर्गत १५ जीबी डाटा रु. ३०० मा उपलब्ध हुनेछ । त्यसैगरी २५ जिबी डाटाको रु. ५०० र ४० जिबी डाटाको मूल्य रु. ७०० तोकिएको छ । यी डाटाको गति १ एमबिपीएस सम्म हुनेछ । यी सबै डाटा एक महिनासम्म प्रयोग गर्न सकिने छ । भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. ३०० र अनलिमिटेड डाटाको लागि रु. २०० दर्ता शुल्क तोकिएको छ । यस्तै १० एमबिपीएस गतिको एफटिटिएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जिबी, ६ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि १२०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य कर बाहेक क्रमशः रु. ५,१६०, ९,१२० र १८,२४० छ । त्यसैगरी, १०० एमबिपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याकेज कर बाहेक रु. २३,०४० मा खरिद गर्न सकिन्छ ।

निर्वाचनले लोकसेवाको परीक्षा सर्यो, कहिले हुँदैछ सरेको परिक्षा ?

काठमाडौं । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका कारण लोक सेवा आयोगको परीक्षा सरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अघि लिखिति परिक्षा सञ्चालन नगर्न लिखित पत्र पठाएपछि लोकसेवाले परिक्षा मिति सारेको हो । कहिले हुँदैछ सरेको परिक्षा ? अब सो परिक्षाहरु एक महिनापछि सरेका छन् । आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाका अनुसार निर्वाचन आयोगले आचार संहिता प्रभावित हुने भन्दै कात्तिक १९ गते पत्र लेखेर परिक्षा एक महिना सार्न भनेको थियो । निर्वाचन आयोगको सोही निर्देशन बमोजिम परिक्षा मिति सारिएको कोइरालाले बताए । लोकसेवाले मंसिर र पुसमा लिखित तर्फको प्रथम, दोश्रो तथा तेश्रो पत्रको परिक्षा मिति कायम गरेको थियो ।

मार्क जुकरवर्गलाई धनी बनाइदिँदै नेपाली नेता, समृद्धिको सपना बाढेर करोडौं रुपैयाँ विदेश पठाइँदै

काठमाडौं । ‘समृद्ध मुलुक’ बनाउने घोषणा गरेका नेताहरुले नै फेसबुकका मालिक मार्क जुकरवर्गलाई धनी बनाईदिँदैछन् भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर सत्य आखिर सत्य नै हुन्छ, मुलुकमा समृद्धिको यात्रा आरम्भ भएको बताउँदै नागरिकसँग मत मागिरहेका नेताहरुले मार्क जुकरवर्गको सम्पति बढाउन सहयोग गरिरहेका छन् त्यो पनि नेपालको कानुनी व्यवस्थाको उल्लंघनमार्फत । नेपालको विद्यमान कानुनले फेसबुक लगायतका सामाजिक सञ्जालहरुको प्रमोशन(स्पोन्सर) गर्नुलाई अबैधानिक भनेको छ । सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि शुल्क बुझाउने कामलाई कानुनले नै बर्जित गरेको छ । तर नेपालका अधिकांश नेताहरुले आफ्नो फेसबुक पेज स्पोन्सर गराएर चुनावी प्रचार प्रचार गरिरहेका छन्, जसले नेपालको कानुनलाई उल्लघंन मात्रै गरेको छैन, मार्क जुकरवर्गको सम्पति पनि बढाईरहेको छ । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन्’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने । मुलुकमा कानुनी शासन र त्यसकै जगमा समृद्धि र समानताको यात्रा छेडेको दावी गर्ने मुल राजनीतिक नेतृत्व नै विद्यमान कानुनको उल्लंघन गरेर करोडौं रकम गैर कानुनी ढंगले विदेश पठाउन तल्लिन रहेको यस्ता घट्नाले प्रष्ट हुन्छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देखि प्राय सबै जसो उम्मेदवारले फेसबुक पेज स्पोन्सर गराईरहेका छन् । यति मात्रै होइन, प्रतिनिधी सभाको उम्मेदवार बनेका अधिकांश नेताहरुले फेसबुक स्पोन्सर गरेका छन् । प्रदेश सभाका लागि उम्मेदवारी दिएका धेरै नेताहरु पनि यहि दौडमा सामेल भएका छन् । बिशेष गरि युवा पुस्ताका चर्चित अनुहारहरु गगन थापा, योगेश भट्टराई, राजन भट्टराई, बर्षमान पुन, उदय शमशेर राणा, महेश बस्नेत लगायतले पनि आफ्नो फेसबुक पेजको स्पोन्सर गराएका छन् । उनीहरुले यसरी आफ्नो फेसबुक पेज स्पोन्सर गराएवापत फेसबुकलाई डलरमा भुक्तानी दिनुपर्छ । त्यसका लागि नेपालबाट करोडौं रकम बाहिरिरहेको छ ।

सेयर बजार घट्ने क्रम जारी, नेप्से दोहोरो अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । मंगलबार करिब ९ अंकले घटेको बजार बुधबार दोहोरो अंकले घटेको छ । बुधबार एक बजेसम्म २४ अंकले ओरालो लागेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १७ दशमलब ८३ अंकमा पुग्दा बुधबारको बजार बन्द भएको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से १.२० प्रतिशतले घटेर १४६६ अंकमा अडेको छ । दोहोरो अंकले घटेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्यमा ९.९८ प्रतिशत गिरावट आएको छ । बुधबार स्ट्याण्डार्ड चार्टर्ड बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् ।

एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीलाई तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) र ग्लोबल आइएमई बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ६१ लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।