विकासन्युज

भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद जारी गर्ने, कहिले हुँदै छ बुक क्लोज?

काठमाडौं । भार्गव विकास बैंकले आफ्ना सेयरधनीलाई ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १० बराबर ८ को अनुपात(अर्थात ८० प्रतिशत) हकप्रद जारी गर्न आगामी कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ४७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर प्रतिकित्ता २७९ रुपैयाँमा कारोबार भएको थियो ।

चिलिमे हाइड्रो र छिमेक लघुवित्तको सेयर मूल्य समायोजन, सेयर मूल्य कति ?

काठमाडौं । सोमबार चिलिमे हाइड्रोपावर कम्पनी र छिमेक लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले यी दुबै कम्पनीको बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । नेप्सेले चिलिमेको १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ७८८ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९१३ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले छिमेक लघुवित्तको पनि १९.९ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता १२३२ रुपैयाँ रहेको थियो ।

नेपाल बङ्गलादेश बैंकको कात्तिक १३ गतेदेखि बुक क्लोज

काठमाडौं । नेपाल बङ्लादेश बैंकको आगामी कात्तिक १३ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको छ ।

किन बिकेन अरुण फाइनान्सको ३ लाख ६ हजार कित्ता हकप्रद सेयर ?

काठमाडौं । अरुण फाइनान्स लिमिटेडले ३ लाख ६ हजार २ सय ६० कित्ता हकप्रद सेयर लिलामीमा बिक्रि गर्न लागेको छ । अरुणले बिक्रि नभएको १ लाख ८० हजार ८ सय ८६ कित्ता साधारण तर्फको र एक लाख २५ हजार ३ सय ४७ कित्ता संस्थापक तर्फको हकप्रद सेयर लिलामी गर्न लागेको हो । कम्पनीले न्युनतम एक सय रुपैंयाँ राखेर कात्तिक १४ गतेदेखि २२ गतेभित्र आवेदन दिन भनेको छ । न्युनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम सिमा राखिएको छैन् । ग्लोबल आईएमई क्यापिटल मार्फत लिलामीको हकप्रद सेयर खरिद गर्न सकिने व्यवस्था छ ।

किसान माइक्रो फाइनान्सको हकप्रद भर्नुभयो ? भोली अन्तिम दिन

काठमाडौं । किसान माइक्रो फाइनान्सको हकप्रद सेयर भर्ने समय भोली अर्थात कात्तिक ७ गते समाप्त हुँदैछ । कम्पनीले भदौ ११ गतेअघिसम्म सेयर खरिद गरेका लगानी कर्ताले हकप्रद सेयर भर्न पाउने जनाएको छ । किसान माइक्रो फाइनान्सले एक सय रुपैंयाँ मुल्यका ७८ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको थियो । सिभिल क्यापिटल, किसान माइक्रो फाइनान्सका सबै शाखा र सिभिल बैंकको बिराटनगर, बिरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्जका शाखाहरुबाट हकप्रद सेयर भर्न पाइन्छ ।  

लोक दर्शन रेग्मी मुख्य सचिव, युवराज भुषाल पुननिर्माण प्राधिकरणको सिइओमा नियुक्त

काठमाडौं । सरकारले गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्य सचिवको दौडमा रहेका ङइन्द्र प्रसाद उपाध्याय र शंकर कोइरालालाई पछि पार्दै रेग्मीले मुख्य सचिव पद सुरक्षित गरेका हुन् । यसैबिच, राष्ट्रिय पुननिर्माण प्राधिकरणको सिइओमा युवराज भुषाल नियुक्त भएका छन् । डा. गोबिन्दराज पोखरेलले निर्वाचन लड्न राजीनामा गरेपछि सोमबारकै मन्त्रिपरिषद बैठकले भुषाललाई सिइओ नियुक्त गरेको हो । काँग्रेस नेता रामचन्द्र पौडेलका सम्धि समेत रहेका भुषालले यस अघि पनि प्राधिकरणको सिइओ बन्ने प्रयास गरेका थिए ।

एनआइसी एशिया बैंकको क्रसबोडर कारोबार आजैबाट, ह्याकरले कति रकम चोर्यो, कसलाई नोक्सान भयो ?

काठमाडौं । स्वीफ्ट सर्भर डाउन भई क्रसबोडर कारोबारमा समस्या भोगिरहेको एनआइसी एशिया बैंकले आजैदेखि क्रसबोडर कारोबार सुचारु गर्ने जनाएको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका अनुसार बैंकले आजै नयाँ सर्भर राखेर क्रसबोर्डर कारोबार सुचारु गर्न लागेको छ । बैंकका ग्राहकले विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा बैंकबाट गरिने भुक्तानीलाई क्रसबोर्डर बैङिक कारोबार भनिन्छ । नेपालका बैंकहरुले विदेशमा भुक्तानी पठाउँदा प्रायः स्वीफ्ट सर्भर प्रयोग गर्ने गरेका छन् । तिहारको विदाको समयमा एनआइसी एशिया बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट सर्भरमा ह्याकरले ह्याक गरी विदेशमा रहेका खाताबाट पैसा चोरी गरेको आशंका गरिएको छ । ‘कारोबार शंकास्पद देखिएपछि हामीले उक्त सर्भर बन्द गरेर अनुसन्धान गरिरहेका छौं । उक्त सर्भर बन्द गरिएपछि बैंकले देशबाहिर हुने कारोबार बन्द गरेको छ’ न्यौपानेले भने ‘पुरानो सर्भर बन्द गरेर नयाँ सर्भर जडान गर्दैछौं । आजै मध्यान्नदेखि क्रसबोडर कारोबार शुचारु हुनेछ ।’ आईतबार क्रसबोडर कारोबार रोकिए पनि नेपालभित्र बैंकका सबै शाखाहरुबाट नियमित कारोबार भएको उनले बताए । कति चोरी भयो ? कसको पैसा चोरी भयो ? एनआइसी एशियाको स्वीफ्ट सर्भर ह्याक भएको आंशकाबारे विकासन्युजमा समाचार प्रकाशित भएपछि विभिन्न सञ्चार माध्यमले ५ करोडदेखि ३० करोड रुपैयाँसम्म चोरी भएको अंक समाचार छापेका छन् । खासमा कति रकम चोरी भयो ? यकिन भएको छैन । उक्त बैंकमा कामु प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने–‘वाहिर हल्ला गरिए जस्तो बैंकबाट धेरै रकम बाहिरिएको छैन । प्रचारमा आएजति रकम बैंकको खातामा नै छैन । हुँदै नभएको पैसा कसरी चोरी हुन सक्छ ?’ ‘क्रसबोर्डर कारोबार गर्न विभिन्न देशका बैंक तथा वित्तीय संस्थामा बैंकले खोलेको आफ्नै खातामा शंकास्पद कारोबार भएको देखिएपछि हामीले ती सबै खाताको कारोबार बन्द गराएर अनुसन्धान थालेका छौं । अहिलेसम्म ह्याकरले चोरी गरेको पुष्टि भईसकेको छैन’ उनले भने–यस्तो अवस्थामा यति रकम गलत ट्रान्सफर भयो भनेर कसरी यकिन हुन्छ ?’ बैंकका सबै ग्राहकहरुको खाता पूर्ण सुरक्षित रहेको उनले बताए । बैंकबाट ह्याकरले झिकेको रकम पुष्टि भएमा उक्त रकम बैंकको नोक्सानीमा जाने र त्यसको असर सेयरधनीले पाउने लाभांशमा पर्ने एकजना लेखापरिक्षकले बताए ।

यी १२ तरकारी तथा फलफुल, जसमा बढी छ विषादी रहने खतरा

काठमाडौं । तरकारी र फलफुलबिना पौष्टिक आहार अधुरो मानिन्छ । तर त्यसका सतहमा टासिएका किटनाशक विषादीका बारेमा सबैलाई जानकारी नहुनसक्छ । खेती गर्दा बालीलाई किराबाट जोगाउनका लागि विभिन्न किसिमका किटनाशक विषादी प्रयोग गरिन्छ । त्यसपछि तरकारीलाई बजारसम्म पुर्‍याइन्छ । अमेरिकाको गैरनाफामुलक संगठन इन्भाइरोमेन्छल वर्किङ ग्रुप (इडब्लुजी)ले १२ सबेभन्दा ‘फोहोरी’ तरकारीको नाम सूचि तयार गरेको छ । यसमा स्ट्रबेरी, पालुंगो, आरु, स्याउ, नास्पाती, चेरी, अंगुर, तुलसीको पत्ता, टमाटर, रातो खुर्सानी र आलु पर्छ । विभिन्न किसिमका किटनाशक अमेरिकाको कृषि विभागका अनुसार सन् २०१५ मा ७०६ स्ट्रबेरीको नमुना परिक्षण गरिएको थियो । जसमा करिब ४० प्रतिशतसम्म ७० वटा फरक किसिमका किटनाशक पाइएको थियो । युरोपमा युरोपियन फुड सेफ्टी अथोरिटी (एफ्सा)ले यो वर्ष तयार पारेको रिपोर्ट अनुसार ८४ हजार भन्दा बढी खाद्यान्नको नमुना परिक्षणमा ४३.९ प्रतिशत किटनाशक पाइएको थियो । यद्दपी ‘नो टक्सिङ टू द लिभिङ सानो फाउण्डेशन’ का निदेशक कार्लोस डिप्राडाका अनुसार, कुन फलफुल वा तरकारीमा धेरै किटनाशक हुनसक्छ यसको सामान्यीकरण गर्न सजिलो छैन । संसारभर फरक किसिमका किटनाशकको प्रयोग संसारभरमा खानीकुराको खपत र किटनाशकको प्रयोग एकै किसिमको नभएको विज्ञहरु बताउछन् । कुनै देशमा किटनाशकलाई प्रतिबन्ध लगाइएको छ भने कुतिपयमा स्वतन्त्रता छ । अमरीका र युरोप दुवै क्षेत्रको खाद्य पदार्थमा किटनाशकको मात्रा निकै कम पाइएको छ । तर स्वास्थ्य जगतका केही कर्मचारीहरु धेरै किसिमका किटनाशक एकै ठाँउमा आउदा त्यसको ‘ककटेल प्रभाव’ पर्ने जोखिम रहेको बताउछन्। यो विषयमा केही वैज्ञानिक अनसन्धान गरेपछि पत्ता लगाएअनुसार किटनाशक जस्ता फरक विषालु पदार्थको मिश्रणले प्रजनन क्षमता, वीर्यको गुणवत्ता र बच्चाहरुको दिमागी विकासमा पर्नसक्ने समस्या र हार्मोनको समस्या पैदा गर्न सक्छ । कसरी हटाउने किटनाशक ? डि प्राडाका अनुसार अर्गानिक फलफुल तथा तरकारीको प्रयोग गर्नु नै किटनाशकबाट बच्ने प्रभावमुलक उपाय हो । यद्दपि यो महंगो छ र सजिलै बजारमा नपाइनसक्छ । फल तथा तरकारीलाई मिच्ची मिच्ची धुनाले पनि केही किटनाशक जान्छ । तर यसले किटनाशकलाई पूर्णरुमा सखाप पार्दैन । अमरीकामा धोएपछि नमुना परिक्षण गरेर मात्रै सबैभन्दा हानिकारक फल-तरकारीको सूची बनाइएको थियो । तरकारी र फलफुललाई ताछेर पनि किटनाशकको मात्रा घटाउन सकिन्छ । यद्दपी यसमा फाइबर तथा भिटामिन नाश हुने सम्भावना रहन्छ ।