विकासन्युज

एभरेष्ट बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बैंकले नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । बैंकले आफ्नो मुख्य शाखा सहित विभिन्न शाखाहरुमा वार्षिकोत्सव मनाएको हो । बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रोग्रेशिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो ।  बोर्डको अनुमति पाए पश्चात कम्पनीले सनराइज क्यापिटल मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको छ ।

मंसिर ६ गते नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ८.५० प्रतिशत ब्याज दिने

काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र खरिद गर्न पाउने सीमा घटिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबर पाउने राष्ट्र बैंकले जनाकारी दिएको छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने व्यवस्था गरिएको छ । कात्तिक १२ गतेदेखि मंसिर १ गतेसम्म बिक्री खुला गरी मंसिर ६ गते बचतपत्र निष्कासन हुने छ । बचतपत्रको साँवा भुक्तानी ०७९ मंसिर ६ गते हुने राष्ट्र बैंकले जनाएको छ । चालु आवमा सरकारले नागरिक बचतपत्र उपकरणबाट ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई कात्तिक १ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

तीन बर्ष नपुग्दै चार सिइओले जागिर खाए, भूकम्प पीडितले के पाए ?

काठमाडौं । भूकम्पपछिको पुननिर्माणका लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले तीन बर्षमै तीन जना सिइओ(प्रमुख कार्यकारी अधिकृत) पाएको छ । सुरुमा तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारले अध्यादेश मार्फत गठन गरेको प्राधिकरणको सिइओमा प्रा.डा. गोविन्दराज पोखरेल नियुक्त भएका थिए । संसदले राष्ट्रिय पुननिर्माण प्राधिकरण ऐन पारित गरेपछि केपी ओली नेतृत्वको सरकारले पोखरेललाई हटाएर सुशिल ज्ञवालीलाई सिइओ नियुक्त गर्यो । ओली सरकार ढालेर काँग्रेस माओवादी गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बने । उनले ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई पुनःसिइओ नियुक्त गरे । पोखरेलले प्राधिकरणमा आफ्नो दोश्रो इनिङ सम्हालेपछि पुननिर्माणले गति लिने अपेक्षा गरिएको थियो । तर पोखरेलको दोश्रो इनिङले राम्रो सुरुवात गर्न सकेन् । दोश्रो पटक सिइओ बने लगत्तै पोखरेलले पुननिर्माणको कामलाई भन्दा पनि राजनीतिक गतिबिधीलाई बढि ध्यान दिए । उनले प्युठानमा चुनाव लड्ने योजनासहित नेपाली काँग्रेसको राजीनितक गतिबिधीमा बढि केन्द्रित हुन थाले । अन्तिममा डा. पोखरेल प्युठानबाट उम्मेदवारका लागि सिफारिस भए र उनले प्राधिकरणबाट राजीनामा पनि दिए । पोखरेलको राजीनामा लगत्तै बसेको मन्त्रिपरिषद बैठकले युवराज भुषाललाई प्राधिकरणको नयाँ सिइओ नियुक्त गरिसकेको छ । सिइओ नियुक्त भएका भुषाल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन् । अब भुषालले पुननिर्माण प्राधिकरणको चौथो सिइओका रुपमा कार्यभार सम्हाल्नेछन् । पाँच बर्षभित्रै पुननिर्माणको सबै काम सक्ने योजनासहित पुननिर्माण प्राधिकरण गठन भएको थियो । तर हालसम्म पुननिर्माणको कामले खासै गति लिन सकिरहेको छैन् । सम्पदाहरुको पुननिर्माणले खासै उपलब्धि पाएको छैन भने नीजी घर निर्माणमा पनि ठोस प्रगति भएको देखिन्न । कति भयो त पुननिर्माण ? प्राधिकरणका प्रवक्ता यमलाल भुषाल भन्छन–‘हामीले पाँच बर्षको रोडम्याप बनाएर काम थालेका थियौं, ठ्याक्कै यति प्रतिशत काम सकियो भन्ने अवस्था छैन तर पुननिर्माण सन्तोष जनक नै छ ।’ उनले विकास बुझेका व्यक्तिहरुको नियुक्तीका कारण सिइओ फेरिए पनि काम गर्न असहज नभएको प्रतिक्रिया दिए ।‘विकास निर्माण बुझेका व्यक्तिहरु नै सिइओ भएर आउने भएकाले काम गर्न अप्ठेरो परेको छैन, हामी आफ्नै गतिमा काम गरिरहेका छौं’, प्राधिकरणका प्रवक्ता भुषालले भने । कहाँ पुग्यो पुननिर्माण ? हालसम्म ६२ हजार १ सय ८९ भूकम्प पीडितहरु नयाँ घरमा बनाएर बसिरहेका छन् । ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितमध्ये ६ लाख ४१ हजार ३ सय १० परिवारले अनुदान सम्झौता गरेका छन भने ६ लाख २० हजार ६ सय ४६ परिवारले पहिलो किस्ताको रकम लगेका छन् । १ लाख ४७ हजार ३ सय ८० घर धमाधम निर्माण भैरहेका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएका छन् । संघको ३८ औं वार्षिक साधारण सभा पश्चात भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी, उद्योग तर्फको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष संस्थागत तर्फ वीरेन्द्रलाल श्रेष्ठ छन् भने वाणिज्य तर्फ उपाध्यक्षमा रुपकुमार शाक्य चयन भएका छन् । त्यस्तै, महासचिवमा मनोजबहादुर न्याछ्यों, कोषाध्यक्षमा सचेन्द्रराज जोशी चयन भएका छन् । सदस्यहरुमा उद्योग तर्फ सुनिल शाक्य, सुसन महर्जन, मिलन शाक्य, कृष्ण श्रेष्ठ, रमेश सिं महर्जन र श्रीजेश लाल शिल्पकार चयन भएका छन् । यसैगरी वाणिज्य तर्फ लजना श्रेष्ठ, भूमि नन्दन कर्माचाय, रुपेन्द्र राज शाक्य, महेश श्रेष्ठ, सबिन लाल प्रधान, उसन बज्राचार्य र रुपक मान महर्जन छन् । संस्थागत तर्फ निर्विरोध राजेन्द्र कुमार श्रेष्ठ र एशोसियट तर्फ राकेश भक्त मुल्मी चयन भएका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई मतगणना सके लगतै निर्वाचन समितिले संघको सभाकक्षमा स्वागत गर्दै निर्वाचित प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुद्धारा आइतबार संघको सचिवालयमा शपथ ग्रहण भएको थियो । शपथ ग्रहण संघका वर्तमान अध्यक्ष सबिन श्रेष्ठले नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनलाई गराइएको थियो भने पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनले शपथ ग्रहण गराइएको थियो ।

सिटिजन्स बैंकको ६३औं शाखा बर्दियाको बढैयातालमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखरमा संचालनमा ल्याएको छ । सोेमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उक्त शाखाबाट बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्न माध्यमिक विद्यालयलाई १/१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखाका इन्चार्ज दिनेश कुमार ढुंगानाले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताए । बैंकले हाल ६३ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

चावहिल-दक्षिणढोका र जोरपाटी-सुन्दरीजल सडक मंसिरदेखि मर्मत हुने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले चावहिल-दक्षिणढोका तथा जोरपाटी-सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ । चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी-सुन्दरीजल सडक र चावहिल-दक्षिणढोका-साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका कारण वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका छन् । जोरपाटी–सुन्दरीजल सडक भने मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र र सुरुङ निर्माण गर्न लगिने निर्माण सामग्री बोकेका गह्रुङ्गा सवारी साधनका कारण बिग्रिएको हो । नगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग २०७४ कात्तिक १ गते चावहिलदेखि दक्षिणढोका र जोरपाटी चोकदेखि सुन्दरीजल बसपार्कसम्मको सडक मंसिर महिनाको प्रारम्भसँगै मर्मत गर्ने सम्झौता गरेको प्रमुख सन्तोष चालिसेले बताए । रासस