साल्ट ट्रेडिङको एक लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । बुधबार साल्ट ट्रेडिङ करपोरेसनको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । कम्पनीको एक लाख ६४ हजार १४४ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ रहेको छ ।
मेलम्चीबासीले २५ प्रतिशत रोयल्टी पाउने
काठमाडौं । मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले २५ प्रतिशत रोयल्टी पाउने भएका छन् । व्यवस्थापिका संसदको असोज २० गते पास गरेको अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले मेलम्चीबासीका लागि २५ प्रतिशत रोयल्टी ग्यारेण्टी गरिदिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले लाल मोहर लगाईसकेकी छिन् । ऐन कार्यान्वयनमा आएसँगै मेलम्चीबासीले आयोजनाबाट २५ प्रतिशत रोयल्टी पाउनेछन् । अन्तर सरकारी वित्ति व्यवस्थापन ऐनले पानी तथा अन्य प्राकृतिक श्रोतको उपयोग वापत स्थानीय तहले २५ प्रतिशत रोयल्टी पाउने व्यवस्था गरेको छ । मेलम्ची आयोजनाको प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहले सो रोयल्टी पाउनेछ र सो क्षेत्रको विकासमा खर्च गर्न सक्नेछन् । मेलम्चीबासीले न्युनतम १३ देखि २५ प्रतिशतसम्म रोयल्टी पाउनुपर्ने माग गर्दै आएका थिए । मेलम्ची खानेपानी आयोजना विकास बोर्डका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पनि ऐनमा गरिएको रोयल्टी सम्बन्धी व्यवस्था कार्यान्वयन हुने बताए । ‘मेलम्चीबासीलाई कति रोयल्टी दिने भन्नेबारे अध्ययन गर्न समिति पनि गठन भएको थियो, त्यसले अध्ययन गरेर प्रतिवेदन पनि बुझाएको छ, तर ऐनमै व्यवस्था भैसकेपछि भने कार्यान्वयनमा जान्छ’, कार्यकारी निर्देशक देवकोटाले भने । ऐनले पानी तथा अन्य प्राकृतिक श्रोतहरुको उपयोग वापत केन्द्र सरकारले ५०, प्रदेश सरकारले २५ र स्थानीय सरकारले २५ प्रतिशत रोयल्टी पाउने व्यवस्था गरेको छ । मेलम्ची आयोजनाले सुरुमा प्रभावित स्थानीय नागरिकको सामाजिक उत्थानका लागि मात्रै काम गर्न सकिने भनेको थियो । पछि रोयल्टी कति दिने भन्नेबारे अध्ययन गरेको थियो । कानुनमै २५ प्रतिशत रोयल्टी दिनुपर्ने व्यवस्था आएपछि भने मेलम्ची आयोजना प्रभावितको जीवनस्तर उकास्न ठुलो योगदान पुग्ने सो क्षेत्रका निवर्तमान सांसद शेर बहादुर तामाङले बताए ।
दुध उत्पादन र बजारिकरणको आधारमा सरकारले किसानलाई अनुदान दिने
काठमाडौं । पशु सेवा विभागले दुध उत्पादन तथा बजारीकरणका आधारमा पाइलट कार्यक्रमको आयोजना गरी कृषकलाई अनुदान दिने भएको छ । दुग्ध उत्पादक सदस्यलाई अनुदान कार्यक्रममा सहभागि हुन १५ दिनको सुचना प्रकाशन गरेको छ । सहकारीको मापदण्ड अनुसार दैनिक कम्तिमा ३०० लिटर दुध संकलन र वार्षिक कम्तिमा २०० दिनसम्म दुधको कारोबार गर्ने गरेको हुनुपर्ने छ । यस्तै दैनिक संकलित दुध दुग्ध उत्पादक सहकारी संस्था आफैले प्रशोधन गरी वा उद्योगलाई विक्री गरी दुध वा दुग्धजन्य पदार्थको बिक्रीवितरणको प्रवन्ध गरेको, गत वर्ष छनोटमा परी अनुदान प्राप्त गरेका सहकारी संस्थाहरुको हकमा कम्तिमा १० प्रतिशत दुध संकलन वृद्धि गरेको हुनुपर्ने विभागले जनाएको छ ।
५ अर्ब ९८ करोडको हकप्रद सेयर आउँदै, १४ कम्पनीले पाए बोर्डको अनुमति
काठमाडौं । सेयर बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाको ५ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ । बजारमा १४ वटा कम्पनीले धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर निष्कासन गर्न अनुमति पाइसकेका छन् । बोर्डको अनुमति पाएअनुसार ९ वटा विकास बैंक, ४ वटा फाइनान्स र एक वाणिज्य बैंक गरी १४ वटा संस्थाले आफ्नो चुक्ता पूँजी वृद्धि गर्न बजारमा हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । १. मुक्तिनाथ विकास बैंकः मुक्तिनाथले १० बराबर ४को अनुपातमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केटबाट ६१ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री गर्न लागेको हो । २. जेबिल्स फाइनान्स लिमिटेडः जेबिल्सले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकको बिक्री प्रवन्धकमा सनराइज क्यापिटल रहेको छ । ३. आरएसडीसी लघुवित्त वित्तीय संस्थाः आरएसडीसी लघुवित्त वित्तीय संस्थाले पनि चुक्ता पुँजी वृद्धि गर्न १ बराबरको २ को अनुपातमा २३ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । ४. बेस्ट फाइनान्स लिमिटेडः फाइनान्सले १२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार ८५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल मार्फत सो मात्राको हकप्रद सेयर निष्कासन गर्दै छ । ५. किसान माइक्रोफाइनान्स वित्तीय संस्थाः यस कम्पनीले ७८ लाख रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट मार्फत २४.२२ प्रतिशत हकप्रद सेयर बजारमा बिक्री गर्ने भएको छ । ६. समीट माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकः यस बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले ७ करोड २५ लाख रुपैयाँ बराबरको ७ लाख २५ हजार कित्ता सेयर सानिमा क्यापिटल मार्फत निष्कासन गर्न लागेको हो । ७. एक्सेल डेभलपमेन्ट बैंकः बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १९ लाख २२ हजार कित्ता हकप्रद निष्कासन गर्न बिक्री प्रवन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ । ८. मेगा बैंकः बैंकले सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ बरारबको हकप्रद नविल इन्भेष्टमेन्ट बैंकिङ मार्फत निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । ९. ओम डेभलपमेन्ट बैंकः ओमले पनि ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । बैंकले एनआईबीएल क्यापिटल मार्फत ४९ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । १०. गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सः गुहेश्वरी मर्चेन्ट बैंकिङले ४० प्रतिशत हकप्रद सेयर एनआईबीएल क्यापिटल मार्फत निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ बराबरको १९ लाख ७३ हजार कित्ता सेयर बजारमा ल्याउँदै छ । ११. नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकः बैंकले १२० प्रतिशत हकप्रद सेयर एनआईबीएल क्यापिटल मार्केट मार्फत जारी गर्ने भएको छ । कम्पनीले २६ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । १२. भार्गव विकास बैंकः बैंकले ८० प्रतिशत हकप्रद निष्कासन गर्दै छ । बैंकले एनएमबी क्यापिटल मार्फत २१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । १३. माउन्ट मकालु डेभलपमेन्ट बैंकः बैंकले चुक्ता पुँजी वृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ कित्ता सेयर एनआईबीएल क्यापिटल मार्फत बिक्री गर्ने लागेको हो । १४. रिलायन्स फाइनान्सः रिलायन्स फाइनान्सले पनि कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न ४५ प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । हकप्रद निष्कासन गर्न सनराइज क्यापिटललाई आफ्नो बिक्री प्रवन्धक तोकेको छ । १० अर्ब ६० करोडको हकप्रद सेयर पाइपलाइनमा धितोपत्र बोर्डमा विभिन्न बैंक, वित्त, बीमा, जलविद्युत र उत्पादनमुलक गरी १५ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । चालु आर्थिक वर्ष शुरु भए पश्चात हालसम्म कुल १० अर्ब ६० करोड ३७ लाख रुपैयाँ बराबरको १० करोड ६० लाख ३७ हजार ४२९ कित्ता सेयर पाइपलाइनमा छन् ।
सेयर बजार ९ अंकले उकालो, सबै समूह हरिया
काठमाडौं । बुधबारको सेयर बजार ९ दशमलब १७ अंकले उकालो लागेर १५६८ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ४३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४५ कम्पनीको ११ लाख ११ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार यस कम्पनीको ४ करोड ४० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका ८ समूह: बुधबार कारोबार भएका ८ वटै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९७ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः १४ र ११ अंकले वृद्धि भएका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । सो दिन न्याङ्दी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ५.२२ र ५.०३ प्रतिशत बढेको छ । बुधबार बेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् ।
उपभोक्ता रुवाउने प्याजको भाउ दुई सातामा ४७ प्रतिशतले महंगियो, हरियो तरकारी पनि छोइनसक्नु
काठमाडौं । भान्सामा सबैभन्दा बढी उपभोग हुने प्याजको भाउ बढेको छ । भारतबाट पर्याप्त मात्रामा प्याज नआएपछि यसको मूल्य ४७ प्रतिशतले बढेको हो । समितिका अनुसार अहिले बजारमा प्याज प्रति किलो ५९ रुपैयाँमा किनबेच भइरहेको छ । दुई साताअघि यसको भाउ प्रति किलो ४१ रुपैयाँ थियो ।प्याजमा नेपाल भारतमै निर्भर रहेकाले यसको मूल्यलाई आन्तरिक उत्पादनले प्रभाव नपार्ने डंगोलले बताए । उनले भने, ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ । अहिले भारतबाट प्याज निकै कम मात्रामा आइरहेको छ । व्यापारीले कोल्ड स्टोरमा भएका प्याजलाई बिक्री गरिरहेका छन् । उपत्यका भित्रिने तरकारी मध्ये ५० प्रतिशत भारतबाट आयात हुने गरेको समितिले जानकारी दिएको छ । बजारमा पाइने तरकारीको आधा मात्र नेपालमा उत्पादन हुने गरेको डंगोलले बताए । आलु, प्याज तथा परवरमा नेपाल भारतमै निर्भर रहेको उनले बताए । कालिमाटी आउने तरकारीहरु उपत्यकाको छिमेकी जिल्ला धादिङ, मकवानपुर, नुवाकोट, काभ्रे, सिन्दुली तथा तराईका जिल्लामा उत्पादन हुन्छन् । हरियो तरकारी पनि महंगियो तिहार नजिकीदै गर्दा अन्य हरियो तरकारीको भाउ पनि आकाशिएको छ । चाडपर्वमा तरकारीको खपत बढ्ने भएकाले तरकारीको भाउ बढेको हो ।दुई सातामा तरकारीको भाउ १६३ प्रतिशतसम्मले बढेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । चाडपर्वमा उपभोक्ताको माग बढ्ने र आपुर्ति कम हुनेभएकाले तरकारीको भाउ बढ्दै गएको समितिका योजना अधिकृत रमेश डंगोलले बताए । उनले भने, ‘चाडपर्वमा तरकारीको उपभोग उल्लेखनिय रुपमा बढ्छ । आपूर्तिभन्दा तरकारीको मागबढेकाले तरकारीको भाउ बढ्न गएको हो ।‘कालिमाटीमा दैनिक ७०० टन बराबर तरकारी आयात भइरहेको उनले जानकारी दिए । चाडपर्वको मौका छोप्दै खुद्रा व्यापारी चाडपर्वको मौका छोप्दै खुद्रा व्यापारीले तोकिएको भन्दा बढी मूल्य लिन भएकाले तरकारी भाउ महंगीने गरेको छ । चाडपर्वमा तरकारीको माग बढ्ने भएकाले खुद्रा व्यापारीले यसको फाइदा उठाउने गरेका छन् । थोक बजारमा पाइने तरकारीलाई उपभोक्ताले खुद्रा ४० देखि ६० प्रतिशतभन्दा बढी मूल्य तिर्दै आएको डंगोलले बताए । कुनमा कति बढ्यो ? अहिलेका सिजनका तरकारी काउली, बन्दा, मटरकोसा लगायतका रहेका छन् । कागतीको मुल्य िकलाेकाे ६ सय रुपैयाँ भन्दा माथि पुगेको छ भने कुरिलोको मुल्य ४ सय भन्दा माथि तथा गुन्द्रुको मुल्य २ सय रुपैयाँबाट नाघेको छ त्यसैगरी, काउली सिजनको तरकारी भएर पनि दुई हप्ताको तुलना गर्दा स्थानीय काउलीको थोक मुल्य ५० प्रतिशतले वृद्धि भएको छ । प्रतिकिलो ५२ रुपैयाँ थियो भने अहिले ७८ रुपैयाँ पुगेको संघले जानकारी दिएको छ । सेतो मुलाको थोक मुल्य प्रति किलो २२ रुपैयाँ थियो अहिले ३३ रुपैयाँ भएको छ । दुई हप्ताको तुलनात्मक तथ्यांक हेर्दा यसमा ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ठुलो गोल्भेडाको भाउ प्रति किलो ४७ रुपैयाँबाट बढेर ६२ रुपैयाँ पुगेको छ । यसमा ३१.९१ प्रतिशतले वृद्धि भएको छ । सानो गोल्भेडाको भाउ २२ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ । यसमा १६३.६४ प्रतिशतले वृद्धि भएको देखिन्छ । प्याजको भाउ बढेर प्रतिकीलो ४१ रुपैयाँबाट ५९ रुपैयाँ पुगेको छ । यो ४३.९० प्रशितले बढेको छ । रातो आलुको भाउ भने स्थिर अवस्थामा प्रति किलो ३९ रुपैयाँ रहेको छ भने सेतो आलुको भाउ घटेर २९ रुपैयाँबाट २८ रुपैयाँमा झरेको छ । यो ३.४५ प्रतिशतले सस्तो हुन गएको छ । घिउ सिमी, भन्टा लाम्चो, भटमासकोशा, तितो करेला लगायतका तरकारीमा भाउ बढेको छ । अहिलेको सिजनका तरकारीमा स्कुसको भाउ घटेर प्रतिकीलो १३ रुपैयाँबाट ९ रुपैयाँमा झरेको छ । यसमा ३०.७७ प्रतिशतले मुल्य घटेको छ । च्याउ प्रतिकीलो १४५ रुपैयाँबाट १२५ रुपैयाँमा झरेको छ । यसमा ३०.७७ प्रतिशतले मुल्य तल झरेको छ । त्यसैगरी, बरेला प्रतिकीलो ७८ रुपैयाँबाट ४८ रुपैयाँ भएको छ । यसमा ३८.४६ प्रतिशतले मुल्य घटेको छ ।
केन्द्र र प्रदेशको निर्वाचनमा अलग मत्रपत्र नचाहिने सर्वोच्चको फैसला, निर्वाचन गर्न बाधा नहुने
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र आवश्यक नभएको ठहर गरेको छ । सर्वोच्चको अन्तरिम आदेशले निर्वाचन हुने आशंकाको अन्त्य गरेको छ । न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि सुनुवाई गर्दै अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि मंसिर १० र २१ को निर्वाचन गर्न बाधा नहुने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट र एक्सेस बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र भारतस्थित एक्सेस बैंकबीच विप्रेषण(रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले यी दुई संस्थाबीच बुधबार सम्झौता भएको हो । उक्त सम्झौता अनुसार भारतमा रहेका नेपाली ग्राहकले नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा ‘पृथ्वी रेमिट’ मार्फत भुक्तानी गर्न सक्ने छन् । नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन् । प्रत्येक महिना ५० हजारका दरले वर्षको १२ पटकसम्म नेपालमा पैसा पठाउन सकिन्छ । एक्सेस बैंकबाट पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको रेमिट्यान्स सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सक्ने इन्भेष्टमेन्ट बैंकले जनाएको छ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने बैंकको विश्वास छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकले देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटीएम मार्फत आफ्नो सेवा दिइरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र भारत स्थित एक्सेस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्न सक्ने छन् ।